असारे विकासको चटारो सुरु

असारे विकासको चटारो सुरु

धनगढी :  असारे विकासको चटारो कम गर्नकै लागि दुई वर्षदेखि जेठ १५ मा बजेट ल्याउने गरिए पनि कैलालीका विषयगत कार्यालय र स्थानीय तहमा त्यसको असर परेको छैन । चैतसम्ममा ५० प्रतिशतभन्दा कम बजेट खर्च भएकोमा अहिले तीव्र रूपमा जथाभावी बजेट खर्च गर्न थालिएको छ ।

चैत मसान्तसम्म जिल्लाका स्थानीय तह र विकासे अड्डामा अझै पनि ५० प्रतिशत बजेट खर्च हुन बाँकी रहेको कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीको तथ्यांक छ । कैलालीका १३ स्थानीय तहमा आवश्यक कानुन र कर्मचारी अभावका कारण बजेट खर्च नगरिएको जनप्रतिनिधिले बताएका छन् । ९ महिनाको अवधिमा आधा विकास बजेट विकास खर्च नहुनु र अबका साढे दुई महिनामा बजेट कार्यान्वयनको अवस्था ९० प्रतिशत नाघ्नु असारमा हुने लतरपतर विकास भएको अर्थविद्हरू बताउँछन् ।

कार्यविधि नै ढिला बनेका कारण सोचेअनुसारको विकास बजेट खर्च हुन नसकेको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीले स्विकारे । अब बजेट खर्चको गति बढ्ने उनको भनाइ छ । ‘धेरै योजना सम्झौता भएका छन् ।

ती अहिले निर्माण चरणमा छन्, अब जेठ र असारमा सम्पन्न हुने भएपछि भुक्तानी पनि गर्नुपर्छ । विकास बजेटको कार्यान्वयन प्रतिशत बढ्छ’, उनले भने । वैशाखपछि हतारहतारमा योजना सम्झौता हुने र असार २५ मा भुक्तानी हुने भए पनि असारे विकास मौलाइरहेको अर्थविद् एवं धनगढी इन्जिनियरिङ कलेज प्रमुख शिवहरि मुडभरीले बताए ।

चैतसम्म ५० प्रतिशतभन्दा कम बजेट खर्च भएकोमा अहिले बजेट जथाभावी खर्च गर्न थालिएको छ ।

संघीय सरकारले जेठ १५ मै बजेट ल्याउनू भनेको छिटो योजना सम्झौता गर्नु र समयमै सक्नु रहेको उनको तर्क छ । कोष तथा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार धनगढी उपमहानगरपालिकाको सामान्यीकरण र ससर्त अनुदान गरी ७२ करोड ३९ लाखमध्ये माघ मसान्तसम्म ३२ करोड ८ लाख मात्रै खर्च भएको छ ।

यो ४४ प्रतिशत मात्रै हो । यसमा पुँजीगत र चालू दुवै खर्च रहेकाले पुँजीगत खर्चको अनुपात कम हुन सक्ने कोष तथा लेखा नियन्त्रण कार्यालयका कोष नियन्त्रक मदनराज पाण्डेले जानकारी दिए । स्थानीय तहहरूलाई दिएको बजेटमा खर्चको विवरण माघसम्मको मात्रै आएको कार्यालयको भनाइ छ ।

माघसम्म प्राप्त तथ्यांकअनुसार टीकापुर नगरपालिकाको ४२ करोड ४७ लाखमा १३ करोड २२ लाख (३१ प्रतिशत) र गोदावरी नगरपालिकाको ५५ करोड ४० लाखमध्ये २२ करोड १८ लाख (४० प्रतिशत) खर्च भएको छ । गौरीगंगा नगरपालिकालाई ३९ करोड ७० लाख पठाएकोमध्ये ९ करोड ५ लाख (२३ प्रतिशत), घोडाघोडी नगरपालिकाको ५४ करोड ८१ लाख ३५ हजारमध्ये १६ करोड १९ लाख (३० प्रतिशत) बजेट खर्च भएको छ ।

भजनी नगरपालिकाले ३५ करोड ९५ लाखमध्ये पाँच करोड ५८ (१६ प्रतिशत), लम्कीचुहा नगरपालिकाको ४६ करोड ३८ लाख ९३ हजार बजेटमध्ये आठ करोड ६९ लाख (१९ प्रतिशत) र जोशीपुर, कैलारी एवं चुरे गाउंँपालिकाले विकास बजेटको १६ प्रतिशतभन्दा कम खर्च गरेको पाण्डेले बताए ।

१३ वटै स्थानीय तहले असारसम्म अझै पौने चार अर्ब रकम खर्च गर्नुपर्नेछ । पाण्डेयले स्थानीय तहभन्दा जिल्लाका अरू विकासे अड्डाको खर्च भने तुलनात्मक रूपमा बढी भएको उनको भनाइ छ ।

स्थानीय तहको रकम आधा पनि खर्च नहुनुमा कानुन र कर्मचारीलाई मात्रै दोष देखाउनुभन्दा योजनाको सही समयमा सही सम्झौता पनि आवश्यक रहेको कैलाली उद्योग संघका कोषाध्यक्ष पुष्प कँुवर बताउँछन् ।

ठूला योजनामा उस्तै हाल

ठूला योजनामा पनि पुँजीगत खर्चको अवस्था सन्तोषजनक छैन । ठूलो योजनाको पनि ३८ प्रतिशत मात्रै बजेट खर्च हुन सकेको छ । ‘जिल्लाको कुल विकास बजेटमध्ये चैत मसान्तसम्म ३७ दशमलव ८२ प्रतिशत खर्च भएको छ’, पाण्डेले भने, ‘८ अर्ब २ करोड ९० लाख पुँजीगत बजेट निकासा भएकोमा चैत मसान्तसम्म ३ अर्ब ३ करोड ७० लाख मात्रै खर्च भएको छ ।’ गतवर्षको सोही अवधिमा ३० प्रतिशत बजेट खर्च भएको थियो भने २३ प्रतिशत बजेट फ्रिज भएको कार्यालयले जनाएको छ ।

चालू खर्चतर्फको प्रगति भने विकास बजेटको तुलनामा दोब्बर छ । चालू खर्चका लागि ११ अर्ब ४३ करोड १८ लाखमध्ये ९ अर्ब १ करोड खर्च भइसकेको कार्यालयको भनाइ छ ।

खानेपानी सरसफाइ डिभिजन कार्यालयले चालू आर्थिक वर्षको २२ करोड बजेटमध्ये ११ करोड रुपैयाँ खर्च गरेको छ । हुलाकी सडक योजनाले २७ करोड बजेटमध्ये २६ करोड रुपैयाँ खर्च गरिसकेको छ । मोहना पुल अत्तरिया सडक योजनाले ३० करोडमध्ये १९ करोड रुपैयाँ खर्च गरेको छ । सहरी विकास तथा भवन डिभिजन कार्यालयले एक अर्ब ४५ करोडमध्ये ७६ करोड रुपैयाँ खर्च गर्न सकेको छ । राष्ट्रिय गौरवको योजना रानी जमरा गुलरिया सिँचाइ आयोजनाले एक अर्ब ९२ करोड बजेटमध्ये ९२ करोड खर्च गरेको कार्यालयले जानकारी दिएको छ ।

जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयले २३ करोड बजेटमध्ये १९ करोड रुपैयाँ खर्च गरेको छ । खुटिया–बीपी नगर–दिपायल सडक आयोजनाले १५ करोडमध्ये ७ करोड २४ लाख रुपैयाँ खर्च गरेको छ । यसैगरी क्षेत्रीय सिँचाइ निर्देशनालयले आठ करोड ३८ लाख बजेटमध्ये ७ करोड १४ लाख खर्च गरिसकेको छ । भूमिगत जलस्रोत विकास डिभिजन कार्यालयले ९ करोड ९२ लाख बजेटमध्ये पाँच करोड १८ लाख खर्च गरिसकेको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.