बर्सेेनी मर्छन् यार्सा टिप्नेहरु
चैनपुर : बहुमूल्य बुटी यार्सागुम्बा टिप्ने सिजनको सुरुवातमै यसवर्ष जिल्लाको साइपाल गाउँपालिका ३ का २० बर्से भीमबहादुर बोहराको हिमाली क्षेत्र फरालखेतमा हिउँले पुरिएर यसै साता मृत्यु भयो ।
यसपालि मर्नेमा उनी पहिलो हुन् । आठ÷नौ वर्षकै उमेरमा अभिभावकहरूसँग यार्सा टिप्न गइरहने बोहरा यार्सा पाइने ठाउँमा हेरफेर गर्न जाँदा हिमपहिरोले पुरिएपछि बितेका हुन् । घरको एक्लो छोराको मृत्युपछि परिवार शोकाकुल छ । यार्सा टिप्ने सिजनमा बर्सेनि २÷४ जना मान्छेको ज्यान जानु यहाँका मानिसका लागि सामान्य नै भइसक्यो ।
बहुमूल्य बुटी यार्सा ल्याउन सके मनग्य कमाइ हुने हुँदा कलिलै उमेरमा पनि यहाँका स्थानीय यार्सा टिप्न उच्च हिमाली भेगमा जाने गर्छन् । जसले यार्सा संकलकहरूको अमूल्य जीवन नै समाप्त हुँदै गइरहेको छ । त्यस्तै छबिसपाथीभेरा गाउँपालिका ५ थलाराका २० बर्से रमेश जाग्रीको पनि यार्सा टिप्ने ठाउँ खोज्दै जाँदा भीरबाट लडेर मृत्यु भयो ।
यार्सा टिप्ने सिजनको यो सुरुवाती सातामा दुई जनाको मृत्यु भइसक्यो । यार्सा टिपेर फर्किने क्रममा (असारसम्म) कति जनाको ज्यान जान्छ कुनै टुंगो छैन । यसरी बर्सेनि यार्साले धेरैको ज्यान लिइरहेको छ, तर यार्सा टिप्न जानेको संख्या घट्न सकेको छैन । गत वर्ष एकै गाउँका चार जना यार्सा टिपेर फकिँदै गदाँ धुलीमा खोलाको काठेपुल तर्दा खसेर बेपत्ता भएका थिए । यसअघि पनि यार्सा टिप्ने क्षेत्रको राई ढुंगेमा पनि दुई समूहबीच झगडा हुँदा काँडाका एक जनाको ज्यान गएको थियो ।
‘यार्सा टिप्न जाँदा सुर्मा दौलीचौरका बर्सेनि मान्छे मर्छन् ।’ सुर्मा गाउँपालिका वडा नं १ का अध्यक्ष पुस्कल बोहराले भने, ‘हिमालमै मान्छेहरू मर्छन्, उतै दाहसंस्कार हुन्छ । यार्सा टिप्ने सिजनमा कति मरे यकिन विवरण छैन ।’ बझाङको उत्तरी क्षेत्र साइपाल हिमालको क्षेउछाउ, कालापानी माँझा, अमलागाड, इमुलद्वार, सुर्मासरोवरको छेउछाउ, जलजला, चुपी, ढोलढुङ, धनसेरी, पाथीकुण्ड, बिरु, तपोवन, मालीलगायत क्षेत्रमा २० हजारभन्दा बढी मानिस यो सिजनमा यार्सा टिप्न जाने गर्छन् ।
उच्च हिमाली क्षेत्रमा यार्सा पाइने भएकाले भीर पहिरोको बाटो, लेक लाग्ने, हिमपहिरोमा पुरिने, ढुंगा खसेर लाग्ने, खोेला तर्दा बेपत्ता हुनेलगायत समस्या यार्सा संकलकलाई हुने गर्छ । जसका कारण अधिकांश मर्ने गर्छन् ।
यार्सा पाइने क्षेत्र नजिक रहेका गाउँपालिकाहरू साइपाल, सुर्मा, बुंगल नगरपलिका, छबिसपाथीभेरा गाउँपालिकाले यार्सा संकलकहरूबाट कर असुल्ने गर्छ । तर, कर असुले पनि यार्सा संकलन गर्ने ठाउँमा कति मान्छे गए, उनीहरूको अवस्था, बाटोको समस्या शान्ति सुरक्षालगायत अन्य औषधि उपचारको व्यवस्था गर्न सकेको छैन । चैत अन्तिम सातादेखि असार दोस्रो सातासम्म हजारौंको चहलपहल हुने हिमाली क्षेत्रमा पछिल्लो समय यार्सा लुटपाट गर्ने समूहको पनि चलखेल हुने गरेको छ ।
‘यार्सा टिप्ने सिजनमा बर्सेनि ४÷५ जनाको मृत्यु भएको खबर सुन्ने गरेका छौं’, जिल्ला प्रहरी कार्यालयले भन्यो, ‘प्रहरीलाई मृतकका आफन्तहरूले जानकारी नदिने हुँदा हालसम्म यति मरे भन्ने अभिलेख छैन । तर सुरुदेखि मर्नेको आँकडा हेर्ने हो भने २०÷२५ जना छन् ।’ यार्सा टिपिने यो समयमा सरकारकातर्फबाट यार्सा संकलकहरूको जिउधन सुरक्षाका लागि हिमाली क्षेत्रमा प्रहरी परिचालन गरिए पनि टाढाटाढा स्थानमा यार्सा संकलन गरिने हुँदा समस्या भएको प्रहरीको तर्क छ । प्रतिकिलो १५ देखि २२ लाखसम्म बिक्री हुने यार्सा प्रतिगोटा तीन सयदेखि एक हजारसम्म बिक्री हुने गरेको स्थानीय बताउने गर्छन् । जिल्लाको काँडा, सुर्मा, नौबिस, छबिसदहबगरका स्थानीयका बाहिरी जिल्लाका मानिस पनि आफ्ना कलिला सन्तान लिएर तीन महिनासम्म हिमालमा बस्ने गर्छन् ।