आगलागीबाट करिब ५० लाखको क्षति
इटहरीः इटहरी ४ स्थित पारुहाङ चोकमा गएराति भएको आगलागीमा परी चार जना व्यवसायीको ५० लाख बराबरको क्षति भएको छ ।
आगलागीमा पदम अधिकारीको फ्रेस हाउस जल्दा १८ लाख रुपैयाँ बढीको क्षति भएको छ । उनको मोटरसाइकल , ल्यापटपलगायतका सामानसमेत जलेका छन् । यस्तै बालकुमार राईको खाजा घर जल्दा साढे १० लाख बढीको क्षति भएको पीडितले जानकारी दिएका छन् ।
चार महिना अघि मात्र विदेशीकुमार श्रेष्ठले किनेको मासु पसल जल्दा पाँच लाख बढीको क्षति भएको छ । यस्तै मनकुमारी राईको किराना पसलमा आगलागी हुँदा पाँच लाख बराबरको क्षति भएको पीडितले बताए ।
कारण खुल्न नसकेको आगो नियन्त्रणमा लिन सुन्दरहरैंचा, दुहबी लगायतको ठाउँबाट समेत दमकल आएको प्रहरीले जनाएको छ । पीडितहरुले इटहरीको दमकल समयमै आइनपुगेको कारण ठूलो क्षति भएको गुनासो गरेका छन् । आगलागी स्थलबाट तीन सय मिटर नजिक रहेको दमकल समयमै आइनपुगेको स्थानीयको गुनासो छ ।