'प्रदेश एकको स्थायी राजधानी सर्दैन, हल्लाको पछि नलाग्नू'
चैनपुर (संखुवासभा): प्रदेश नम्बर एकका मुख्य मन्त्री शेरधन राईले स्थायी राजधानी इटहरी तोक्ने हल्ला गलत भएको बताएका छन् । शनिबार सङ्खुवासभाको चैनपुरमा आयोजित मेयर गोल्ड कप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै राईले यस्तो बताएका हुन् ।
सञ्चारमाध्यमले प्रदेशको राजधानी इटहरी सार्ने हल्ला चलाएकाले त्यसको पछि नलाग्न उनले अनुरोध गरे । मुख्यमन्त्रीको हैसियतले नामाङ्कन र स्थायी राजधानी तोक्नेसम्बन्धी सहजीकरण गर्ने जिम्मा भए पनि सर्बसम्मतिबाटै अन्तिम टुङ्गो लाग्ने उनले स्पष्ट पारे ।
अहिले प्रदेशको राजधानी र नामाङ्कनबारे केही छलफल भइरहे पनि औपचारिक छलफल हुन बाँकी रहेको उनले बताए ।
प्राथमिकतमा खेलकुद
मेयर गोल्डकपको उद्घाटन गर्न हेलिकोप्टरबाट चैनपुर आएका राईले प्रदेश नम्बर एकले खेलकुदलाई प्राथमिकताका दिने बताए । उच्च भू–भागमा खेलाइने खेलहरुको पनि सम्भाब्यता अध्ययन गरी खेल सञ्चालन गरेर अन्तराट्रिय जगतको पनि ध्यानाकर्षण गरिने उनले बताए ।
‘राज्यले समेत खेलकुद क्षेत्रमा लगानी गर्न नसकेकाले खेल क्षेत्रको विकास हुन नसकेको हो’, उनले भने, ‘त्यसबाट पाठ सिकेर प्रदेश एकले खेलकुद क्षेत्रमा लगानी गर्ने छ ।’