लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु : ‘बौद्ध धर्मको उद्गम थलो नेपाल’
लक्ष्मण पोखरेल/सलमान खान
लुम्बिनी : लुम्बिनी बौद्ध जन्मस्थलमात्रै नभई बौद्ध धर्मको उद्गमस्थल र शान्तिको मुहान भएको विज्ञले तर्कपूर्ण पुष्टि गरेका छन्। लुम्बिनीमा सुरु अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै विज्ञले बौद्धसम्बन्धी हरेक प्रसंग लुम्बिनी र आसपासको क्षेत्रबाट फैलिएको बताएका छन्। बुद्ध जन्मस्थलका रूपमा लुम्बिनी पुष्टि भएसँगै पुरातत्वविद्ले कपिलवस्तु सहरको खोजी गरेका थिए। लामो समयको अनुसन्धानले बुद्धको जन्मस्थलसँगै २९ वर्ष बिताएको कपिलवस्तु पनि नेपालमै भएको पुष्टि गरेको हो।
बौद्ध सम्मेलनका दुह्राम विश्वविद्यालयका प्रोफेसर रोविन कनिङघमले पछिल्लो उत्खननले कपिलवस्तुको तिलौराकोटमा शुद्धोधनको दरबार रहेको पुष्टि भएको बताए। बुद्धस्थल नेपालमै रहेको भन्दै उनले उत्खननले थप प्रमाण फेला पर्दै गएको जानकारी दिए। कपिलवस्तु भारतमा रहेको भन्ने भ्रम हटाउन अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको मुख्य विषयवस्तु लुम्बिनी, नेपाल : बुद्ध जन्मस्थल, बुद्ध धर्मको उद्गमस्थल र शान्तिको मुहान राखिएको छ।
यस विषयमा नेपालका १५ र विदेशी सात राष्ट्रका १६ विद्धान तथा अनुसन्धानकर्ताले कार्यपत्र प्रस्तुत गरे। हरेक कार्यपत्रले लुम्बिनीलाई धर्म र दर्शनमात्रै नभई बौद्ध कला र संस्कृतिको उद्गम थलोका रूपमा चित्रण गरेका छन्।
डा. मार्क बवेनले बौद्ध दर्शन, द्वन्द्व र शान्ति स्थापनमा दक्षिण एसियाको चुनौती र अवसर विषयमा कार्यपत्र प्रस्तुत गर्दै बुद्धको शान्ति सन्देशले विश्वकै द्वन्द्व व्यवस्थापनमा महत्वपूर्ण टेवा दिएको बताए। त्यस्तै प्रोफेसर बेर्नाडेट्टे ब्रोस्कम्पले विश्वमा बौैद्ध कला फैलाउन मुस्ताङी कलाको महत्वपूर्ण भूमिका रहेको बताइन्। तिब्बती कलादेखि नेपाल र बाहिर फैलिएका बौद्ध कलामा मुस्ताङी कलाको प्रभाव रहेको उनको कार्यपत्रको निष्कर्ष छ।
सम्मेलनको पहिलो दिन प्रोफेसर केटिएस सारौं, भिक्षु धम्ममूर्ति, भिक्षुणी गुरुमा बोधि शाक्यदिता, डा. सुरेन्द्रमान बज्राचार्य, डा. इरोमी आर्यरत्ने, प्रोफेसर वाङ चुइमेई, डा. मोहन खतिवडा, प्राडा रवीन्द्र पन्त, प्राडा गितु गिरी, भिक्षु रवि मेडन्कर, निरज दाहाल, संजय शाक्यसहितका २२ जना विज्ञले कार्यपत्र प्रस्तुत गरेका हुन्। चाइनिज विहारका दुई हलमा चलेको सम्मेलनमा आइतबार थप ११ कार्यपत्रमाथि छलफल गरी घोषणपत्र सार्वजनिक गरिने बताइएको छ। सम्मेलनमा १७ विदेशी राष्ट्रसहितका करिब सात सय विज्ञ सहभागी छन्। लुम्बिनी विकास कोषले आयोजना गरेको यो तेस्रो बौद्ध सम्मेलन हो।
‘साढे दुई वर्षमा गुरुयोजना’
लुम्बिनीमा सुरु भएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले लुम्बिनी गुरुयोजना साढे दुई वर्षभित्रै सक्ने दाबी गरेका छन्। गुरुयोजना सम्पन्न गर्न करिब ६ अर्ब रुपैयाँ लाग्ने अनुमान भइरहेका बेला मन्त्री अधिकारीले बजेट व्यवस्थापन गर्दै साढे दुई वर्षमा गुरुयोजना सक्ने दाबी गरेका हुन्।
‘साढे दुईवर्षपछि लुम्बिनीमा निर्माण हुने थप संरचनाको विषयमा छलफल गरी लुम्बिनीलाई अझ बृहद् पर्यटन केन्द्र बनाउने सरकारको योजना छ’, मन्त्री अधिकारीले भने, ‘लुम्बिनीमा पर्यटक ल्याउनेमात्रै नभई आम्दानी बढाउने गरी काम गर्नुपर्छ।’
मन्त्री अधिकारीले लुम्बिनी गुरुयोजनासँगै बृहत्तर लुम्बिनी विकासको कामसमेत अघि बढ्ने बताए। लुम्बिनी, तिलौराकोट, रामग्रामको समग्र विकास गर्न सरकारले चासो दिएको उनको भनाइ छ। ‘प्रधानमन्त्रीले पनि लुम्बिनीको विकासमा चासो दिनुभएको छ’, उनले भने, ‘यस्तो सम्मेलनले लुम्बिनीको विकास र प्रवद्र्धनमा विश्वलाई एक गर्न सक्छ।’
कार्यक्रममा पर्यटन राज्यमन्त्री धनबहादुर बुढा, महायानका तर्फबाट टुकुलोसान नाम्ग्याल रिम्पुचे, जापानका वरिष्ठ भिक्षु इकाङ मिजुतानी, चाइनिज बुद्धिष्ट संघका उपाध्यक्ष यिङसुङ, श्रीलङकाका वरिष्ठ भिक्षु कोटुगोडा धम्मावासा महाथेरो, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राडा नरेशमान बज्राचार्य, संस्कृति मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटालगायतले बौद्ध दर्शनलाई विश्वमाझ फैलाउनुपर्ने बताए। लुम्बिनीको चौतर्फी विकासका लागि विदेशी समुदायले समेत सहयोग गर्ने बताए।
लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मैत्तेय) ले लुम्बिनीमा आयोजित बौद्ध सम्मेलनले बुद्ध दर्शनका माध्ययमबाट संसारलाई उपहार दिने काम नेपालले गरेको बताए। बुद्ध धर्मको उद्गम थलो र कपिलवस्तु नेपालमै रहेको भन्ने सन्देश विश्वभर फैलाउन सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने बताए। सम्मेलनमा सहभागी विज्ञ आइतबार तिलौराकोटको स्थलगत भ्रमणमा समेत जानेछन्।
भद्रगोल व्यवस्थापन
अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको सुभारम्भ निकै भद्रगोल देखिएयो। चाइना बिहारका तीन सय अट्ने सभाहलमा सम्मेलनको आयोजना गरिएपछि उद्घाटन कार्यक्रम नै भद्र्रगोल भएको हो। विकास कोषले निमन्त्रणा गरेका विदेशी पाहुनासमेत भइँमा बस्न बाध्य भए। विकास कोष परिसरमा चार करोड लगानीमा निर्माण भएको सभाहल खाली राखेर बिहारमा कार्यक्रम आयोजना गर्दा भद्रगोल भएको हो। नेपाली सेनाले डेढ महिनाको अवधिमा सभाहल निर्माण गरेको हो।
१ सय ७ जना दीक्षित हुँदै
लुम्बिनी बौद्ध विश्वविद्यालयले पहिलो दीक्षान्त समारोह आइतबार गर्दै छ। विश्वविद्यालय स्थापना भएको ११ वर्षपछि पहिलो पटक दीक्षान्त हुन लागेको हो। लुम्बिनीमा हुने कार्यक्रममा १ सय ७ जना विद्यार्थी दीक्षित हुने रजिस्ट्रार तिलक आचार्यले जानकारी दिए। दीक्षान्त समारोहको अध्यक्षता कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्। लुम्बिनी विकास कोषले बनाएको नयाँ सभाहलमा कार्यक्रमको तयारी गरिएको छ। कार्यक्रममा बुद्धिष्ट एन्ड पालि युनिभर्सिटी अफ श्रीलंकाका उपकुलपति भिक्षु प्रा. गल्ल्याले सुमनसिरी थेरोले दीक्षान्त मन्तव्य दिनेछन्।