खरको छाना हटाउन टिन वितरण

खरको छाना हटाउन टिन वितरण

सन्धिखर्क : अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा खरले छाएका घरलाई खरको छानामुक्त बनाउन जस्तापाता वितरण सुरु गरिएको छ। गरिबका घरमा मात्र खरको छानो भएकाले उनीहरूको जीवनस्तर उठाउन सबैभन्दा पहिले घर निर्माण आवश्यक भएको निष्कर्षसहित गाउँपालिकाले खरको छानोमुक्त बनाउने अभियान सुरु भएको हो। ‘२० वर्षदेखि खरको छानोमा बस्दै आएका छौं। श्रीमान् रोगी हुनुहुन्छ। केही गर्न सक्नुहुन्न। खरको छानो भएकाले पानी आउँदा चुहिन्छ। गर्मीमा आगलागीको डर।

टिन पाएपछि ढुक्क भयो’, छत्रदेव २ बल्कोट झिरबासकी विष्णुमाया नेपालीले भनिन्, ‘घरमा टिन लगाउने कल्पना पनि गरेका थिएनौं। तर, आफैं बोलाएर टिन दिन आए सारै खुसी लागेको छ।’

विष्णुमायाजस्तै छत्रदेव गाउँपालिकाका गरिबहरूको मुहारमा जस्तापाताले हाँसो ल्याइदिएको छ। यस आर्थिक वर्षमा गाउँपालिकामा भएका खरको छानो हटाई जस्तापाता लगाउने निर्णयअनुसार गाउँपालिकासभाले एक करोड २० लाख रुपैयाँ विनियोजन गरेको थियो। १ करोड २० लाखको १ हजार एक सय ३५ बन्डल टिन खरिद गरि वितरण सुरु गरिएको छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेलले जानकारी दिए। खरको छानो भएका ३ सय ३४ घरमा २७ पाताका दरले जस्तापाता दिन सुरु गरिएको अध्यक्ष पोखरेलले बताए।

शुक्रबारदेखि गाउँपालिका वडा नं २ मा कार्यक्रम आयोजना गरी जस्तापाता वितरण सुरु गरिएको हो। सबै वडामा कार्यक्रम गरी जस्तापाता वितरण गरिने गाउँपालिकाका उपाध्यक्ष तुलसादेवी श्रेष्ठले बताइन्। खरको छानोमुक्त बनाउने अभियानले गाउँमा खुसीयाली ल्याएको गाउँपालिकाका प्रशासकीय अधिकृत भेषराज पन्थले बताए। वडा कार्यलयका पदाधिकारी र कर्मचारीले लिएको तथ्यांकका आधारमा जसको घरमा खरको छानो छ उसैलाई मात्र दिने नियम बनाइएको छ।

गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता अर्थात् वृद्ध भत्ता, एकल महिला भत्ता, अपांग भत्ता वितरण गर्दाको दिन निःशुल्क स्वास्थ्य शिविर आयोजना गरी स्वास्थ्य जाँच र औषधि पनि भत्तासँगै वितरण गर्दै आएको छ। गाउँपालिकाका आठ वटै वडामा बाँदरको समस्या भएकाले वर्षको दुई महिना मकै खेती जोगाउन बाँदर हेरालुको व्यवस्था गर्ने र किसानले उत्पादन गरेको खेतीको सुरक्षा गर्ने निर्णय पनि गरेको थियो। छत्रदेवलाई मासु, अण्डा र दूधमा आत्मनिर्भर बनाउने र ‘आफ्नै घर रोजगारीको भर’ भन्ने नारा सार्थक बनाउने अभियान पनि थालिएको छ।

सबै विद्यालयमा आउने शैक्षिक सत्रदेखि अंग्रेजी माध्यममा अध्यापन गराउने, विषयगत शिक्षकलाई विद्यार्थीको नतिजाका आधारमा पुरस्कृत गर्ने तथा विद्यार्थीको गुनासो सुन्न विद्यार्थी गुनासोपेटिका राख्ने निर्णय पनि गाउँपालिकाले गरिरहेको छ। ‘छत्रदेवको सान सुन्दर शान्त र समृद्ध गाउँपालिका हाम्रो अभियान’ भन्ने नारा तय गरी नेपालकै नमुना गाउँपालिका बनाउने गरी कार्य योजना अघि बढाइएको अध्यक्ष पोखरेलले बनाए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.