तार व्यवस्थापन पाइलट प्रोजेक्ट : छानिए चार कम्पनी
काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले अव्यवस्थित रूपमा टाँगिएका तारको व्यवस्थापन गर्न चार कम्पनी छनोट गरेको छ। कम्पनीले काठमाडौं, पोखरालगायत सहरमा नेपाल टेलिकम, इन्टरनेट सेवाप्रदायक कम्पनी र केबल टीभी सेवाप्रदायक कम्पनीले अव्यवस्थित रूपमा टाँगेको तारलाई व्यवस्थापनका लागि पाइलट प्राजेक्ट तयार गर्न पहिलो चरणमा चार कम्पनी छानेको हो।
यसका लागि तीन महिनाअघि अन्तर्राष्ट्रिय स्तरमा परामर्शदाताका लागि आवेदन माग गरिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए। प्राधिरकणले माग गरेको उक्त आवेदनमा ६ कम्पनीले आवेदन दिएका थिए। त्यसमध्ये प्राधिकरणले अन्तिम चरणका लागि चार कम्पनी छानेको हो। छानिनेमा दुई भारतीय कम्पनी, एक मलेसियन र एक दबईका कम्पनी छन्।
भारतीय कम्पनीमा प्राइस वाटर हाउस कुपर्स प्रालि र केपीएजी छन्। त्यस्तै मलेसियन कम्पनी फाइबर टेल र दुबईको साइलेन्स कन्सल्टेन्सी छन्। ‘छनोट भएका चार कम्पनीमध्ये पनि उनीहरूको आर्थिक र प्राविधिक क्षमतालाई अध्ययन गरेर एउटा कम्पनी छनोट गरिनेछ', प्रवक्ता अर्यालले भने, ‘त्यसका लागि प्राधिकरणले चार कम्पनीसँग आर्थिक र प्राविधिक विवरण प्रस्ताव माग गर्नेछ।' आएका प्रस्तावबाट क्वालिटी एन्ड कस्टका आधारमा सबैभन्दा उपयुक्तलाई छनोट गरिनेछ। छनोट भएको कम्पनीले अहिले सहरको शोभा बिगार्ने गरी टाँगिएका तारको व्यवस्थापनका लागि पाइलोट प्रोजेक्ट तयार गर्नेछ। साथै त्यसको मापदण्डसमेत बताउनेछ।
पाइलोट प्राजेक्टमा नेपाल टेलिकम, इन्टरनेट सर्भिस प्रोभाइडर, केबल टीभी सेवाप्रदायक समावेश हुनेछन्। उल्लेखित कम्पनीको तार व्यवस्थापन कसरी व्यवस्थापन गर्न सकिन्छ, त्यसका लागि आवयश्यक पूर्वाधार र प्रविधिको अध्ययन र मापदण्ड तयार पार्ने काम उक्त छनोट भएको कम्पनीले गर्नेछ।
सहरमा अव्यवस्थित रूपमा छरिएका तार व्यवस्थापनका लागि कम्पनी छनोटको प्रक्रिया अघि बढाएको हो।
अहिले नेपाल टेलिकम, इन्टरनेट सर्भिस प्रोभाइडर, केबल टीभी सेवाप्रदायकले सेवा प्रदान गर्न नेपाल टेलिकम तथा नेपाल विद्युत् प्राधिकरणका पोल प्रयोग गर्दै आएका छन्। त्यो पनि व्यवस्थित हुन सकेको छैन। एउटै पोलमा सयौंको संख्यामा तार टाँगिएको छ। ‘त्यसमा पनि कतिपय प्रयोगमा नभएका तार छन्। प्रयोगमा भएका पनि सही तरिकाले प्रयोगमा आएका छैनन्', अर्यालले भने, ‘यसले सहरको आकर्षण बिगार्ने काम गरेको छ।' त्यसलाई व्यवस्थापन गर्न तत्काल के गर्न सकिन्छ। त्यसको दीर्घकालीन व्यवस्थापन कसरी गर्न सकिन्छ भनी निश्चित मापदण्ड तयार गर्ने, सार्वजनिक स्थानमा कसरी तार झुन्ड्याउनेलगायत विषय समेट्ने गरी उक्त कम्पनीले काम गर्ने अर्यालले बताए।
छनोट भएको कम्पनीले पछिल्लो समय प्रयोगमा आएको अप्टिकल फाइबरलाई प्रयोगमा ल्याउने प्रवक्ता अर्यालको भनाइ छ। फाइबरमा एउटा कोरमा धेरै क्यापासिटी हुने भएकाले त्यसैलाई प्रयोग गरेर नेपाल टेलिकम, इन्टरनेट सर्भिस प्रोभाइडर, केबल टीभी सेवाप्रदायक कम्पनीले सेयर गर्न मिल्ने गरी अन्डरग्राउन्ड गर्ने काम गर्ने उनले बताए। अहिले प्रत्येक कम्पनीले छुट्टाछुट्टै तार प्रयोग गर्दै आएको अवस्थामा एउटै तारमार्फत सबैले सेवा विस्तार गर्न सक्नेछन्।
उक्त कम्पनीले अन्डर डगसेट गर्ने, अन्डरग्राउन्ड गर्ने, त्यसको वितरण कसरी गर्ने, त्यसमा हुने डिजाइन र प्रविधिका विषय, खन्दा स्वीकृति लिने, अपरेटरले कुनको सिस्टम भाडामा लिने, भाडामा लिँदा लाग्ने ट्यारिफलगाएतका विषयलाई अध्ययन गरेर त्यसको निश्चित मापदण्ड तयार पार्ने अर्याल बताउँछन्। साथै उक्त कम्पनीले गरेको अध्ययनका लागि पाइलट प्रोजेक्टको डिटेल प्रोजेक्ट रिपोर्ट (डीपीआर) बनाउनेछ।
त्यसका आधारमा प्राधिकरणले कुनै एक ठाउँ छनोट गरी पहिलो चरणमा नमुना परीक्षण गर्नेछ। नमुना परीक्षण सफल भएपछि कम्पनीले तयार पारेको मापदण्ड सबै केबल टीभी, इन्टरनेट सेवाप्रदायक कम्पनी र नेपाल टेलिकमलाई प्रयोगमा ल्याउनसमेत प्राधिकरणले निर्देशन दिनेछ। र, अन्य स्थानमा समेत प्रयोग ल्याइने प्राधिकरणले जानकारी दिएको छ।