पानी जोहो गर्न कुवामा ताला

पानी जोहो गर्न कुवामा ताला

भोजपुर : सुक्खा ठाउँमा खानेपानीको जोहो गर्न अकासेपानीलाई पोखरी, ट्यांकी, खाल्डो बनाएर सञ्चित गर्ने, एकपल्ट ल्याएको खानेपानी फारो गरी चलाउने गरेको सामान्यजस्तै भइसकेको छ । भोजपुरको एक गाउँमा खानेपानीको जोहो गर्न कुवामै ताल्चा लगाउने गरिएको छ भन्यो भने पत्यार नलाग्न सक्छ तर यो यथार्थ हो । सुक्खा लागेका बेला दैनिक जीवनयापन सहज बनाउन जिल्लाको मानेभञ्ज्याङस्थित रानागाउँवासी कुवामा तालाबन्दी गर्छन् ।

सुक्खा र गर्मी मौसम सुरु भएसँगै रामप्रसाद राई गाउँपालिका-५ मानेभञ्ज्याङको रानागाउँका बासिन्दाहरू खानेपानी अभाव हुन थालेकाले कुवामा ताल्चा लगाएर पानी जोहो गर्ने गर्छन् । कुवाबाट रानागाउँका करिब १६ घरपरिवारलाई बिहान बेलुका जेनतेन २÷२ गाग्री खानेपानी पुग्छ । खानेपानी अभाव हुँदा पानी जथाभावी चलाउँदा मुहान नरित्तियोस् भनेर कुवामा ताल्चा लगाउने गरेको स्थानीय रमिला रानामगरले जानकारी दिइन् । उनले भनिन्, ‘गाउँका सबैलाई चाहिए जति पानी पुग्दैन । एकचोटीमा सबैलाई दुई गाग्रीजति मात्र पानी पुग्छ । त्यसपछि कुवाको पानी सकिन्छ । पानी थोरै भएकाले लापरवाही नहोस् भनेर ताल्चा लगाएका हौं ।’

पहिले यो कुवामा रानागाउँवासी मात्र नभएर आसपासका ओडारे, जुकेपानी, अगौटे, लट्रीडाँडाका गाउँलेलाई पनि खानेपानी लैजान र चलाउन प्रशस्त पुग्थ्यो । पछि बिस्तारै मुहान सुक्दै गएसँगै कुवामा पानीको मात्रा घट्यो । पानी सुक्न थालेपछि रातिराति जथाभावी पानी लैजाने गरेकाले गत कात्तिक सुरुबाट गाउँलेकै निर्णयअनुसार कुवामा ताल्चा लगाउन थालिएको स्थानीय जितबहादुर क्याप्छाकी मगरले सुनाए ।

‘पहिलापहिला कुवाको पानीले सबैलाई मनग्गे पुग्थ्यो, पछि मुहानको सतह घट्न थालेपछि पुग्न छाड्यो’, उनले भने, ‘खानेपानी नपुगीरहेका बेला वल्लोपल्लो गाउँले रातिराति आएर पानी लैजाने, हामी बिहान जाँदा कुवा रित्तो हुने भएकाले ताल्चा लगाउन सुरु गर्‍यौं । बिहान ५ बजे र बेलुकी ६ बजे हामी ताल्चा खोलेर एक÷दुई गाग्री कति पुग्छ सबैलाई बराबरी पानी बाँड्ने गरेका छौँ ।’

दैनिक जीवनयापन गर्न आवश्यक खानेपानी जोहो गर्दै यहाँका अधिकांश गाउँलेको दैनिकी बित्छ । पानीको संकट भइरहेका बेला गाईबस्तुलाई पानी खुवाउन अत्यन्त कठिन भएको स्थानीय कृष्णकुमारी रानामगरले गुनासो गरिन् । उनका अनुसार खानेपानीको चरम संकटले नै घरपालुवा पशुपन्छी पानी खान नपाएर मर्ने स्थिति आउन लागेको छ । खानेपानी अभावकै कारण बस्तुभाउ पाल्ने रानागाउँका अधिकांश बासिन्दा बेंसी सिक्तेल पिखुवा खोलातिर बसाइ सरेका छन् । रानागाउँ आसपासका ओडारे, लट्रीडाँडा, जुकेपानीमा रहेका तीनवटा कुवामध्ये ओडारेको कुवा सुकिसकेको छ भने जुकेपानीको कुवामा १० घरधुरीलाई दुःखसुख डेढ गाग्रीजति पानी पुग्छ ।

विशेष गरी फागुनदेखि जेठसम्म रानागाउँमात्र नभई ५ सय १७ घरधुरी रहेको मानेभञ्ज्याङमा बर्सेनि खानेपानीको हाहाकार मच्चिने गरेको छ । अर्चले, भोर्लेनी, आमबोटे, गडा, अगौटे, रानागाउँ, गुँरासेलगायत खानेपानी अभाव हुने ठाउँमध्ये अर्चले, भोर्लेनी र अगौटेका करिब ५६ घरधुरी यसअघि नै गाउँबाट विस्थापित भइसकेका छन् भने कतिपय घरधुरी विस्थापित हुने क्रममा छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.