असिनापानीले तरकारी बालीमा क्षति
तुलसीपुर : दाङमा परेको असिनापानीले जिल्लाका विभिन्न क्षेत्रमा लगाएको बेमौसमी तरकारी बालीमा ठूलो क्षेति पुर्याएको छ। बमौसममा परेको असिना र हावाहुरीले बारीको तरकारी खेती पूर्णरूपमा क्षति गरेको किसानले बताए। असिनापानीसँगै आएको हावाहुरीले ८० लाख रुपैयाँभन्दा बढीको तरकारी बाली नष्ट गरेको तरकारी किसान भरत केसीले जानकारी दिए। ‘काँक्रा, टमाटर, लौका, बोडी, भिण्डी, सिमी, खुर्सानी, तितेकरेलालगायत तरकारी बाली नष्ट भएको छ’, किसान केसीले भने, ‘वर्षाले किसानलाई ठूलो सास्ती र नोक्सानी दियो।’
जिल्ला कृषि विकास कार्यालयले सार्वजनिक बिदाका कारण क्षतिको विवरण पूर्ण रूपमा नआए पनि ८०÷९० बिघा क्षेत्रफलमा लगाइएको तरकारी खेती नोक्सान भएको जनाएको छ। सोमबार सार्वजनिक बिदा भएकाले जिल्लाको विभिन्न स्थानमा भएको क्षतिको विवरण आउन बाँकी लाखौंको क्षति भएको कृषि कार्यालयका सूचना अधिकारी तिलक केसीले जानकारी दिए।
हावाहुरी र असिनाले तुलसीपुर क्षेत्रमा बढी क्षति गरेको छ। हावाहुरीले लमही–३ टिकुलीगढ र घुम्नाका किसानले पनि झन्डै ५० बिघा जमिनमा लगाएको व्यावसायिक तरकारी खेतीमा क्षति पुर्याएको छ। तरकारी खेतीका लागि पकेट क्षेत्रका रूपमा चिनिएको देउखुरीको मध्यनगर, कश्यपुर, सिसहनियाँमा समेत क्षति पुगेको कार्यालयले जनाएको छ। तुलसीपुर उपमहानगरपालिकाको उरहरी, मोतीपुर हेमन्तपुरलगायत क्षेत्रमा पनि तरकारी बालीमा क्षति पुगेको स्थानीय किसानले बताएका छन्।
हावाहुरीले जिल्लाका विभिन्न ठाउँमा विद्युत् सेवा बन्द भएको छ। विद्युत् वितरण केन्द्र तुलसीपुरमा चट्याङ लाग्दा लाखौं क्षति भएको हो। आइतबार रातिदेखि सोमबार दिनभर दाङको विद्युत् अवरुद्ध भएको थियो। चट्याङका कारण तुलसीपुरबाट वितरण हुने सल्यान, रुकुम, रोल्पा, घोराही र लमहीलगायत ठाउँमा विद्युत् अवरुद्ध भएको तुलसीपुर वितरण केन्द्रले बताएको छ। आइतबार एक्कासी आएको हावाहुरीले जिल्लाका विभिन्न स्थानका निजी घर तथा विद्यालयमा समेत क्षति पुर्याएको छ। प्रहरीले दिएको जानकारीअनुसार हावाहुरीले जिल्लामा तीन जना घाइते भएका छन्।