अनुमति नलिई विद्यालय सञ्चालन

अनुमति नलिई विद्यालय सञ्चालन

गौर : रौतहटमा अनुमतिबिना नै निजी विद्यालय सञ्चालन भइरहेका छन् । यस्ता विद्यालयले महँगो शुल्क लिएर विद्यार्थी भर्नासमेत सुरु गरेका छन् ।गौर नगरपालिका क्षेत्रमा यो वर्ष मात्र दर्जनभन्दा बढी दर्ता नभएका निजी विद्यालय खुलेको जनाइएको छ । कतिपय विद्यालयले अनुमति नै नपाएको माथिल्ला कक्षामा धमाधम विद्यार्थी भर्ना लिइरहेका छन् ।

अभिभावकलाई फकाएर छोराछोरी भर्ना गराउने तर विद्यालय भने दर्ता नै नहुने हुँदा ठगिने गरेको गौर-३ का विनोद पटेलले बताए । यहाँका सगरमाथा बोर्डिङ र न्यू होप बोर्डिङ स्कुलले कक्षा १ सम्मको मात्र अनुमति पाए पनि ८ सम्म कक्षा सञ्चालन गरिरहेका छन् । ग्यालेक्सी, रौतहट बाल एकेडेमी, लक्की, न्यू गोरेटो बोर्डिङ स्कुलले पनि नर्सरीदेखि ८ र १० कक्षासम्मको भर्ना खुलेको सूचना निकालेका छन् ।

शिक्षा ऐनअनुसार नयाँ विद्यालयले पहिलो वर्ष कक्षा १ को मात्र अनुमति पाउने र त्यसपछि प्रत्येक वर्ष मापदण्डअनुसार तह थप गर्दै जाने प्रावधान छ । दर्ताबिनाका निजी विद्यालयले अभिभावकलाई ठगिरहेको गुनासो बढेपछि गौर नगरपालिका कार्यालयले ठग्ने काम तत्काल बन्द गर्न पत्राचार गरेको छ । शिक्षा नियमावलीविपरीत अवैध ढंगबाट सञ्चालनमा रहेका विद्यालयलाई तत्काल कारबाही गरिने गौरका मेयर अजय गुप्ताले बताए ।

‘नगरपालिकाको शिक्षा ऐन राजपत्रमा प्रकाशन गर्दै छौं’, मेयर गुप्ताले भने, ‘दर्ता नभएका विद्यालय र अनुमति नपाएको कक्षा सञ्चालन गरेको पाइए कारबाही गर्छैां ।’

नगरपालिकाका शिक्षा शाखा प्रमुख नन्दकिशोर गुप्ताले निजी विद्यालयको अनुगमन भइरहेको जानकारी दिँदै दर्ताबिना नै विद्यालय खोलिएको पाइएको सुनाए । यस्ता विद्यालयले कक्षा ८ र १० का विद्यार्थीलाई सरकारीबाट परीक्षा दिलाउने गरेको पाइएको छ ।

न्यू होपका प्रिन्सिपल भैरव यादवले आफ्नो विद्यालय ‘प्रि-प्राइमरी’ तहसम्म दर्ता रहेको स्वीकार गर्दै माथिल्ला कक्षा भने कोचिङका रूपमा सञ्चालन गरेको बताए । ‘धेरैले अनुमति नै नलिई १० वर्षदेखि माथिल्ला कक्षा सञ्चालन गर्दै आएका छन्’, प्रिन्सिपल यादवले भने, ‘नियम सबैले माने हामी पनि मान्छौं ।’

जिल्लामा बिनादर्ताका १ सय निजी विद्यालय सञ्चालनमा रहेको जनाइएको छ ।

प्याब्सन रौतहटले यस्ता विद्यालयलाई कारबाही गर्न माग गरेको छ । तल्ला तहको मात्र अनुमति लिएर माथिल्ला कक्षा सञ्चालन गर्ने विद्यालयलाई कक्षा बन्द गर्न आग्रह गरिएको प्याब्सन रौतहटका सचिव गौतम श्रेष्ठले जानकारी दिए । जिल्लामा करिब ५० वटा मात्र निजी विद्यालयले अनुमति लिएर कक्षा सञ्चालन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.