सुन तस्करी काण्डः एसएसपी दिवेश लोहनी पनि मोरङ प्रहरीमा

सुन तस्करी काण्डः एसएसपी दिवेश लोहनी पनि मोरङ प्रहरीमा

अभियुक्तविरुद्ध बुधबार मुद्दा दर्ता हुँदै 

विराटनगरः साढे ३३ किलो सुन तस्करी काण्ड र सनम शाक्य हत्या घटनासम्बन्धी मुद्दा बुधबार जिल्ला अदालत मोरङमा दर्ता हुँदैछ । 

मोरङ प्रहरीले अनुसन्धान सकेर मिसिल बुझाएपछि सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गर्ने भएको हो । जिल्ला न्यायाधीवक्ता पुण्य पाठकले मुद्दा दर्ताको आवश्यक प्रक्रिया पूरा भएको जानकारी दिए । 

‘मुद्दा दर्ताका लागि अभियुक्तसँग बयान लिएर अभियोग पत्र लेख्ने काम सकियो,’ उनले भने, ‘अभियोग पत्र अदालतमा दर्ता गरिने छ ।’ सरकारी वकिल कार्यालयले अभियोग पत्र दर्ता गरेपछि अदालतमा मुद्दाको बहस हुन्छ । 

कुनै पनि घटनामा प्रहरीले अनुसन्धान सकेर मिसिल बुझाएपछि सरकारी वकिल कार्यालयले अभियोग पत्र तयार गर्दै अदालतमा मुद्दा दर्ता गर्छ । 

सुन तस्करी र शाक्य हत्याको अनुसन्धान मोरङ प्रहरीले गरेको थियो । तस्करी र हत्यामा संलग्न भनिएका विरुद्ध कर्तव्य ज्यान, अपहरण र संगठित अपराध मुद्दा चलाउन प्रहरीले म्याद थप गरेर अनुसन्धान अघि बढाएको थियो । घटना अनुसन्धानका लागि प्रहरीले पाएको ६० दिनको समय सीमा मंगलबार सकिएको छ । 

सोमबार र मंगलबार सार्वजनिक विदा परेपछि प्रहरीले घटनाको अनुसन्धान सकिएको भन्दै मिसिल आइतबार सरकारी वकिल कार्यालयमा बुझाएको थियो । मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले प्रहरीका तर्फबाट अनुसन्धान सकेर मिसिल बुझाइएका कारण मुद्दाको सबै प्रक्रिया सरकारी वकिल कार्यालयबाट अघि बढ्ने जानकारी दिए । 

लोहनी पनि मोरङ प्रहरीमा 

घटनाको सुरुदेखि नै विवादमा तानिएका अपराध अनुसन्धान महाशाखा काठमाडौंका प्रमुख एसएसपी दिवेश लोहनी मंगलबार जिल्ला प्रहरी कार्यालय मोरङको सम्पर्कमा आइपुगेका छन् । सार्वजनिक विदाको दिन उनी दिउँसो ४ बजे विराटनगर आइपुगेका हुन् । 

गृह मन्त्रालयका सहसचिव ईश्वराज पौडेल नेतृत्वको घटना छानविन समितिले लोहनीलाई झिकाउन मोरङ प्रहरीलाई निर्देशन दिएको थियो । निर्देशन अनुसार मोरङ प्रहरीले उपस्थितीका लागि लोहनीलाई पत्र पठाएको थियो । 

उनीसँगै सुरुमै विवादमा तानिएका महाशाखाका डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल पक्राउ परिसकेका छन् । स्रोतका अनुसार सरकारी वकिल कार्यालयले लोहनीविरुद्ध पनि अन्य अभियुक्तसँगै बुधबार अभियोग पत्र तयार पारेर अदालतमा दर्ता गर्ने सम्भावना 
छ । 

छानविन समितिले लोहनीसँग काठमाडौंमा यसअघि बयान समेत लिइसकेको छ । उनीसँग बयान लिएर निगरानीमा राख्दै छानबिन समिति अन्य अभियुक्त पक्राउमा केन्द्रित बनेको थियो । 

घटनाका मुख्य अभियुक्त मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीसँग ‘कनेक्सन’ देखिएको भन्दै यस अघि अवकाश प्राप्त पूर्व डीआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डीएसपी सञ्जय राउत, प्रजित केसी, सई बालकृष्ण सञ्जेल र जवान विष्णु खड्का पक्राउ परिसकेका छन् । 

२८ जना पक्राउ

घटनामा जोडिएर २८ जना पक्राउ परिसकेका छन् । मुख्य अभियुक्त गोरे सहित २१ जना भन्दा बढी फरार रहेको प्रहरीको दावी छ । पक्राउ परेका र फरार रहेकालाई विपक्षी बनाएर मुद्दा दर्ताको तयारी गरिएको हो । 

सुन तस्करीमा गोरेलाई सहयोग गरेको कुरा भने डीआईजी निरौलाले स्वीकार गरिसकेको स्रोतले बतायो । शाक्यको हत्या भइसकेपछि पनि गोरेसंग भने निरौलाको सम्पर्क भएको पत्ता लागेको थियो ।  
 
सनम हत्याले तानिए प्रहरी

हराएको भनिएको तस्करीको सुन लुकाएको आरोपमा तस्करीका मुख्य नाइके गोरे समूहले करेन्ट लगाएर यातना दिने क्रममा त्यही समूहका सहयोगी मोरङ उर्लाबारीका सनम शाक्यको गत फागुन १८ गते मृत्यु भएको थियो । 

शाक्यको शव विराटनगरको दुर्गाचोक नजिकै गोधुली मार्गमा टेकराज मल्लले चलाएको स्कारपियो गाडीभित्र फागुन १९ गते बरामद भएपछि घटना सुन तस्करीसंग जोडिन पुग्यो । 

स्रोतका अनुसार शाक्यको हत्याबारे सुरुमा गोरेले नै अपराध अनुसन्धान महाशाखामा फोन गरेर जानकारी दिएका थिए । त्यसपछि महाशाखा प्रमुख लोहनीले डीएसपी केसी नेत्रृत्वमा प्रहरी टोली धरान पठाएको बताइन्छ । 

महाशाखा नै मुछियो

केसी नेतृत्वको प्रहरी टोली धरानबाट फागुन १९ गते विहान २ बजे शाक्यको शव राखेकै गाडीमा चढेर इटहरीतर्फ आएको र गोरेसँग रकम बार्गेनिङ गरेको खुलेपछि महाशाखा घटनाको सुरुदेखि नै विवादमा तानिएको थियो । 

महाशाखा टोलीलाई शाक्य हत्यामा संलग्न धेरै व्यक्ति पक्राउ गर्ने सम्भावना हुँदा हुँदै पनि उम्काउन सहयोगीको भूमिका खेलेको र धरानबाट शवलाई विराटनगरमा ल्याएर मात्र बरामद गरेको देखाएको आरोप लाग्दै आएको थियो । 

डिएसपी केसी नेत्रृत्वको टोलीले शवलाई गायव बनाउने योजना बनाए पनि सफल भने हुन नसकेको आरोपसमेत लागेको छ । 

तीनको हत्या 

यस घटनालाई लिएर शाक्य सहित तीनजनाको रहस्यमय हिसावबाट मृत्यु भइसकेको छ । सबैको मृत्युलाई सुन तस्करीसँग जोडेर हेरिएको छ । घटनाका मुख्य अभियुक्त गोरे भने पक्राउ पर्न सकेका छैनन् । 

तस्करीको सुन पनि फेला पर्न सकेको छैन । गोरे भारततर्फ भागेको दावी गर्दै प्रहरीले पक्राउका लागि अन्य मुलुकका प्रहरीसंग पनि सहयोग लिन डिफ्युजन नोटिस जारी गरेको छ । 

भेटिएन सुन 

२०७४ माघ ९ गते दुबईबाट सुन नेपाल भित्रिएको खुलेको छ । त्यसपछि हराएको सुन अहिलेसम्म कहाँ छ भन्ने बारेमा खुल्न सकेको छैन । 

घटना अनुसन्धानका क्रममा बालकृष्ण श्रेष्ठ, वीरेन्द्रमान श्रेष्ठ, दोराम खत्री, लालबहादुर मगर, पुण्यप्रसाद लामा, कपिलराम गिरी, गोपाल कुमार श्रेष्ठ, भुुजुङ गुरुङ, हेमन्त गौतम, सम्बीर प्रसाद तोलाङ्गी, राजु महर्जन, टेकराज मल्ल ठकुरी, मोहन काफ्ले, नरेन्द्र कार्की, लाक्पा शेर्पा, महाविर प्रसाद गोल्यान (चाचाजी), राजन थापा पक्राउ परेका छन् । 

त्यस्तै राजेन्द्रकुमार शाक्य, गोविन्द निरौला, अमरमान डंगोल, तुलाराम थारु, राजन कुमार, माधव घिमिरे भनिने मदनप्रसाद घिमिरे, विकासराज खनाल, प्रजित केसी, सञ्जय राउत, बालकृष्ण सञ्जेल र विष्णु खड्का पक्राउ परेका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.