कांग्रेसको पदाधिकारीमा कसको सम्भावना कति ?

कांग्रेसको पदाधिकारीमा कसको सम्भावना कति ?

काठमाडौं: नेपाली कांग्रेसले १३ औँ महाधिवेशन भएको २६ महिना बितिसक्दा पनि पदाधिकारी चयन गर्न सकेको छैन । गुट भन्दा माथि उठेर काम गर्ने बाचासहित सभापतिमा विजयी भएका शेरबहादुर देउवा पदाधिकारी मनोनयनमा ढिलाइ गर्दा कांग्रेस संगठन र कार्यक्षमतामै असर परेको गुनासो नेताहरुले गर्न थालेका छन् । 

निर्वाचन भएको दुई महिनाभित्र पदाधिकारी मनोनयन गरिसक्नु पर्ने कांग्रेसको विधानमा व्यवस्था गरिएको छ । उपसभापति, महामन्त्री र सह-महामन्त्री अझै मनोनयन हुन सकेका छैनन् । सभापति देउवाले युवा नेता विश्वप्रकाश शर्मालाई २ महिना अगाडि प्रवक्ता मनोनयन गरे बाहेक अरु पदको अझै टुंगो लागेको छैन ।

वैशाख २१ मा मनोनयन ? 

सहमतिका आधारमा पदाधिकारी चयन गर्ने भन्दै सभापति देउवाले वैशाख २१ गते दिउँसो २ बजेको लागि बैठक बोलाएका छन् । एक महिना बढी चलेको केन्द्रीय समितिको बैठक लगत्तै मंगलबार पदाधिकारी मनोनयन गर्न भन्दै बोलाएको बैठक बीचमै स्थगित गरेर देउवा अहिले कैलाली पुगेका छन् । 

पौडेल पक्षको धम्की 

सभापति देउवाले एकलौटी गर्न खोजेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष एकलौटी ढंगबाट पदाधिकारी मनोनयन गरिए बैठक बहिस्कार गर्ने चेतावनी दिएपछि महामन्त्री डा. शांशक कोइरालाको समन्वयमा बैठक ४ दिन पछाडि सारिएको हो ।  

पदाधिकारी मनोनयनकै लागि भनेर नै केन्द्रीय कार्यसमितिको बैठक बोलाएपछि नेताहरुले पदाधिकारीको लागि लविङ तीब्र बनाएका छन् ।  

उपसभापतिमा को को ?

देउवाका निकट विश्वासपात्रका रुपमा रहेका पूर्व गृहमन्त्री विमलेन्द्र निधि, कांग्रेसका पूर्व उपसभापति गोपालमान श्रेष्ठ र संघीय निर्वाचनताका फोरम लोकतान्त्रिकबाट बिलय भएका विजयकुमार गच्छदार उपसभापतिका बलिया दाबेदार हुन् । 


यो पटक देउवाले आफूलाई लामो समयदेखि साथ दिँदै आएका निधिलाई उपसभापति बनाउने सम्भावना रहेको देउवानिकट एक नेता बताउँछन् । 

निधिको राजनीतिक इतिहासममा आईजीपी नियुक्तिबारे मात्रै तत्काली प्रम देउवासँग असहमति जनाएका थिए । त्यही विषयलाई मुद्दा बनाएर अर्का उपभापतिका आकांक्षी श्रेष्ठले निधिलाई प्रहार गरिरहेका छन् । 

देउवापक्षकै श्रेष्ठले गृहमन्त्री रहँदा निधिको कृयाकलापले निर्वाचनमा कांग्रेसलाई क्षति पुगेको आरोप लगएका छन् । देउवासँग निधिभन्दा आफुलाई नजिक देखाउन श्रेष्ठले आफ्नै गुटका निधिमाथि बैठकमै आक्रोश पोखे । श्रेष्ठ कांग्रेसका पुराना नेता पनि हुन् । 

सिलवालबारे विवाद 

देउवा प्रम हुँदा तत्कालीन गृहमन्त्री निधि नवराज सिलवाललाई आईजीपी बनाउनुपर्ने पक्षमा थिए । अर्कातिर देउवा सुदूरपश्चिमका जयबहादुर चन्दको पक्षमा थिए । देउवाको दबाबमा निधिले चन्दलाई नियुक्त गर्न बाध्य भए । तर अदालतले उक्त निर्णय बदर गरिदियो। 

निर्णय बदर गरेपछि देउवाको प्रधानन्यायाधीश सुशिला कार्कीलाई महाअभियोग लगाउने प्रस्तावमा निधिले असहमति जनाउँदै मन्त्री पदबाट समेत राजीनामा दिएका थिए ।  

भूमिका खोज्दै गच्छदार

फोरम लोकतान्त्रिक छाडेर कांग्रेसमा फर्किएका विजयकुमार गच्छदारले समेत आफ्नो भूमिका खोजेका छन् । उनले हालै सम्पन्न कांग्रेसको बैठकमा भनेका थिए, ‘आफ्नै घर सम्झिएर फर्किएँ, जिम्मेवारी दिनु पर्‍यो ।’उनले आफुलाई उपसभापति बनाउनुपर्ने लविङ पनि तीब्र बनाएका छन् । 

महामन्त्रीमा तीन 

अर्को शक्तिशाली पद महामन्त्रीमा पनि पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्की र बालकृष्ण खाँडको दाबेदारी छ । भौगोलिक सन्तुलन मिलाउन समेत देउवाले खड्कालाई महामन्त्री बनाउने सम्भावना प्रवल रहेको छ । सुर्खेतका खड्का गृहमन्त्री समेत भइसकेका छन् ।

सुर्खेतमा जित्दै आएका खड्का वाम गठबन्धन बनेपछि २०७४ सालको प्रतिनिधि सभाको निर्वाचन पराजित भए । खड्काले यसअघि सह-महामन्त्री अस्विकार गरेका थिए । 

अघिल्लो कार्यकालमा अर्थमन्त्री रहेका कार्की पनि महामन्त्रीको लागि तीब्र लविङमा छन् । देउवा क्याम्पका निरन्तर र स्थायी सदस्य कार्कीले पनि महामन्त्रीका लागि आफ्नो सम्भावना बलियो रहेको बताइरहेका छन् । 

भोजपुरमा तीन पटक पराजित भएपछि वाम गठबन्धन बनेका बेला सुनसरी झरेर यो पटक प्रतिनिधि सभा सदस्य बनेका कार्की कांग्रेसमा निष्कलंक छविका नेता मानिन्छन् । पूर्वबाट सधैँ देउवालाई साथ दिने नेताका रुपमा पनि उनी चिनिन्छन् । 
 
रुपन्देहीका बालकृष्ण खाँड पनि महामन्त्रीको लागि लागेका छन् । प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा बनाउने अभियानमा सफल खाँड पनि देउवाका विश्वास पात्र हुन् । उनी रक्षामन्त्री समेत भइसकेका छन् । 

सहमहामन्त्रीमा पनि होडबाजी 

देउवा पक्षबाट सहमहामन्त्रीमा प्रकाशशरण महतको नाम अग्रपंक्तिमा छ । तर पौडेल पक्षलाई समेत मिलाएर लानु परेमा सह-महामन्त्री बन्ने महतको बाटो बन्द हुनेछ । देउवा पक्षकै मानबहादुर विश्वकर्मा सहमहामन्त्रीका अर्का आकांक्षी हुन् ।  

पौडेल पक्ष सहमतिमा आएमा सह-महामन्त्री दिने मनस्थिति देउवाले बनाएका छन् । पौडेल पक्षबाट महेश आचार्य, डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु र नवीन्द्रराज जोशी सह-महामन्त्रीका दाबेदार हुन् । पदाधिकारी चयनमा देउवा पत्नी आरजु देउवा पनि एक खेलाडीका रुपमा रहेको चर्चा कांग्रेस वृत्तमा हुने गरेको छ । 

पौडेल पक्षका नेता डा. मिनेन्द्र रिजाल पदाधिकारी चयन सहमतिका आधारमा गर्नु पर्ने बताउँछन् । कांग्रेसमा पदाधिकारी नियुक्तिका बेला छलफल गरेर जान पार्टी सभापति देउवालाई सुझाव दिँदै उनले भने, 'एकलौटी निर्णय भए मान्य हुँदैन, सहमतिका आधारमा पदाधिकारी नियुक्ति गर्नुपर्छ ।' 

पार्टी देउवाले वैशाख २१ पदाधिकारी चयन हुने बताएका छन् । उनले १७ गते बैठकपनि विवादको कारण नभई प्रदेश ७ जानु पर्ने भएकाले स्थगित भएको बताउँदै आएका  छन् । उनी भन्छन्  ‘सोमबार मलाई  धनगढी जाने काम  पर्‍यो, त्यसैले बैठक स्थगित गरिएको हो’, उनले भने, ‘अब २१ गते पदाधीकारी चयन हुन्छन् , त्यसैको लागि हामीले २१ गतेका लागि तोकेका छौं ।’

सभापति देउवाले धनगढी पुगेर  पौडेल पक्षको असन्तुष्टिबारे   भने ‘पार्टीभित्र केही मतभेद भइहाल्छन, तिनलाई समाधान गरेर लगिन्छ’, । युवा केन्द्रीय सदस्य कल्याण गुरुङले रामचन्द्र पौडेलसँग छलफल गरेर सहमतिका आधारमा पदाधिकारी गर्न देउवाले प्रयासरत भएको बताउँछन् । 

‘आज पौडेल आउनुहुन्छ अनि दुई नेताबीच पदाधिकारी चयनबारे छलफल हुन्छ’, कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले भने । केन्द्रीय सदस्य गुरुङका अनुसार २१ गते बस्ने बैठकमा सभापति शेरबहादुर देउवा पदाधिकारीको नाम प्रस्ताव गर्ने छन् । निर्वाचित केन्द्रीय सदस्यहरुले सभापतिको प्रस्ताव गरेका नामको अनुमोदन गर्नेछन् । 

को को हुन् दाबेदार ?

उपसभापतिः विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ र विजयकुमार गच्छ्दार 
महामन्त्रीः पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्की र बालकृष्ण खाँड 
सह-महामन्त्रीः प्रकाशशरण महत, महेश आचार्य, दिलेन्द्रप्रसाद बडु, डा. मिनेन्द्र रिजाल र नवीन्द्रराज जोशी


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.