नेपाल आइडल सिजन - २ : रंगीविरंगी सहभागी

नेपाल आइडल सिजन - २ : रंगीविरंगी सहभागी

काठमाडौं : नेपाल आइडल सिजन टुको अन्तिम अडिसन काठमाडौंमा सुरु भएको छ। ‘मन जित्छ उसले, सुमधुर गाउँछ जसले’ नारा दिइएको सिजन टुको काठमाडौं अडिसनको पहिलो दिन मंगलबार युवाको उत्साहजनक सहभागिता देखियो।

मीनभवनमा रहेको ईपीएस स्कुलमा भएको अडिसनमा कोही हातमा गिटार बजाउँदै गाना गुनगुनाइरहेका थिए त कोही समूहमा त कोही एक्लै एअर फोनमा गीत सुन्दै अभ्यासरत थिए। अडिसनमा मौलिक पोसाकमा सजिएका सहभागी पनि भेटिए। साथै फरक क्षमता भएका र भर्खरै १६ वर्षमा टेक्दै गरेका युवाको पनि बाक्लै जमात देखियो।

सयौं सहभागीका बीचमा आफ्नो पालो कुर्दै थिए, ओखलढुंगाका १८ वर्षीय छविलाल विश्वकर्मा। उनी अडिसन रुमको बाहिर प्रतिस्पर्धीको भीड नियाल्दै थिए। गीतसंगीतमा चासो राख्ने उनलाई १० वर्षअगाडि आमाको मृत्युले ठूलो चोट पुर्‍यायो। बुवाले लगत्तै दोस्रो विवाह गरेपछि उनको पीडा झन् थपियो।

गीतमात्र सुन्दै आएका छविलाल त्यसपछि गीतका शब्द केलाउन थाले। अनि शब्दसँगै गीतको भावमा डुब्न थाले। गरिबीका कारण कक्षा ८ सम्म मात्र पढ्न पाएका उनले अचेल भोकल क्लास लिँदैछन्। काठमाडौंमा मजदुरी गर्दै एक्लो जीवन बिताइरहेका उनी गीतसंगीतमै आफ्नो उज्ज्वल भविष्य देख्छन्। भन्छन्, ‘आज म यहाँ आफ्नो प्रतिभा देखाउन आएको छु, छनोट हुन्छु हुन्न, थाहा छैन।’

अडिसनको भीडमा १९ वर्षीया सम्झना रिजाल पनि थिइन्। उनी आँखा देख्दिनन् तर उनको आवाज निकै सुरिलो छ। सबै खाले गीत गाउने उनी बिहान ८ बजे अडिसन हलमा प्रवेश गरेकी थिइन्। बुवाको साथमा आएकी सम्झनाले भनिन्, ‘गीत नै मेरो जिन्दगी हो।’ अडिसनमा आफू छनोट हुने सम्झनालाई पूर्ण आत्मविश्वास छ।

काठमाडौं अडिसनमा शारीरिक अपांगता भएका महेश राई पनि सहभागी थिए। महेशका बुवा उनलाई ह्विल चियरमा गुडाउँदै छोराको फारम भर्न व्यस्त देखिए। यद्यपि अन्य सहभागीले जस्तो महेशले पालो कुर्न परेन। २१ वर्षीय महेश पहिलो सिजनमा पनि सहभागी थिए। निरन्तर प्रयास गर्नुपर्ने कुरामा विश्वास गर्ने महेश भन्छन्, ‘गीतसंगीतमै जिउने बानी भइसक्यो।’

केही समयअगाडि एक दुर्घटनामा परेर बैसाखीको सहारा लिनुपर्‍यो पुष्पा ढकालले। २७ वर्षीया पुष्पालाई पनि सानैदेखि गीत गाउन मन पर्छ तर आफ्नो आवाज कस्तो छ, उनी ठम्याउन सक्दिनन्। भन्छिन्, ‘आफ्नो आवाज कुन लेबलको छ, त्यो जाँच्न मन छ, यसैका लागि यहाँ आएँ।’ सहभागीमध्ये सबैभन्दा कान्छा अर्नब मानन्धरले त झन् आफ्नो एकल म्युजिक पनि रेकर्ड गरिसकेका छन्। भर्खरै एसईई सकाएर बसेका उनले आफ्नो परिचय गीत गाएर दिए, ‘आमा मैले कति राम्रो सपना देखेको, यस्तो देश कि जहाँ हरियाली छाएको छ, नदीमा जहाँ संग्लो पानी बगेको छ।’

गीतसंगीतमै आफ्नो भविष्य देख्ने र गुन्गुनाउन मन पराउनेको उल्लेख्य सहभागिता रहेको तीनदिने काठमाडौं अडिसनको फाइनल राउन्ड ग्वार्कोको मण्डला हाउसमा बिहीबार हुनेछ।

एपीवान टेलिभिजनले आयोजना गरेको गायन प्रतियोगिता नेपाल आइडलमा १६ देखि ३० वर्ष बीचका युवाको सहभागिता छ। यसअघि पोखरा, धनगढी, नेपालगन्ज, हेटौंडा, धरानमा अडिसन सकेर आइडलको टिम काठमाडौं आएको हो।

एपीवान टेलिभिजनले नेपाल आइडलको दोस्रो सिजनलाई ३४ भागमा प्रसारण गर्नेछ। यही साउन १० देखि साताको दुई दिन एपीवान टेलिभिजनमा नेपाल आइडल प्रसारण हुनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.