दुर्गममा क्याम्पस : डेरा लिएर पढ्ने दिन गए

दुर्गममा क्याम्पस : डेरा लिएर पढ्ने दिन गए

कुलुङ (भोजपुर) : भोजपुरको साल्पासिलिछो गाउँपालिका खाटम्मा जिमीगाउँकी रितु राई घरकै मिठोमसिनो खाएर गाउँकै पासमा रहेको कुलुङ बहुमुखी क्याम्पस स्नातक तह पहिलो वर्षमा पढ्न घरैबाट धाउने गर्छिन्। गाउँ नजिकै क्याम्पस भएपछि उनले आफ्नो पढाइका साथै घरायसी काममा बाआमालाई सघाउने पनि गरेकी छन्।

‘गाउँमै क्याम्पस भएकाले खाँदबारी, भोजपुर, धरान, इटहरीजस्तो सहरमा महँगो खर्च धानेर पढ्नुपरेको छैन। यहीँ ठिक छ’, रितुले थपिन्, ‘घरमा बाआमालाई मेलापातमा पनि सघाइने, यता घरकै खाना खाएर पनि पढ्न भ्याइने। अन्यत्र गएर व्यर्थ खर्च गरी पढ्नुपरेको छैन।’

भोजपुर सदरमुकामदेखि तीन दिन पैदल हिँडेर पुगिने जिल्लाको उत्तरी दुर्गम गाउँ कुलुङस्थित स्नातक तहको क्याम्पस स्थापना भएपछि रितुजस्ता दुर्गम भेगका विपन्न विद्यार्थीलाई उच्च शिक्षा लिन सहज भएको छ। झण्डै आठ वर्षअघि विपन्न समुदायका विद्यार्थीहरूलाई लक्ष्य गरी स्थानीय आफैंले चन्दा संकलनबाट स्थापना गरेको कुलुङ बहुमुखी क्याम्पसले विपन्न परिवारका विद्यार्थीलाई उच्च शिक्षा लिन सहज भएको हो।

जिल्लाको उत्तरी भेगका दुर्गम गाउँहरूबाट उच्च शिक्षा पढ्न सदरमुकाम र जिल्लाबाहिर जानुपर्ने बाध्यता खेप्दै आएका विपन्न परिवारका विद्यार्थीहरूलाई कुलुङवासीले स्थापना गरेको क्याम्पसबाट लाभान्वित भएका छन्। कुलङ घलेगाउँकी स्नातक तह पहिलो वर्षमा अध्ययनरत सरु राईले पनि गाउँमै क्याम्पस स्थापना भएपछि आफूजस्ता सयौं विपन्न परिवारका विद्यार्थीलाई उच्च शिक्षा लिन सहज वातावरण भएको सुनाइन्। भन्छिन्, ‘घरायसी काम र खाना खाएर पढ्नु त छँदै छ त्यसमा टाढाटाढा कोठाभाडा लिएर उच्च शिक्षा पढाउन नसक्ने आर्थिक रूपले विपन्न परिवारका मजस्ता कयौँ दुर्गम भेगका विद्यार्थीलाई पनि यसले ठूलो सहयोग पुर्‍याएको छ।’

शिक्षा, व्यवस्थापन र मानविकी संकायमा पढाइ हुँदै आएको यस क्याम्पसलाई थप व्यवस्थित बनाउन स्थानीयले निःशुल्क प्रदान गरेको जग्गामा व्यवस्थित भौतिक संरचना निमार्ण गर्ने तयारी भइरहेको छ। गतवर्ष मात्रै स्थानीय तीन भाइ रमेश कार्की, अर्जुन र विदुरले आफ्ना स्वर्गीय पिता लोकबहादुर कार्की र माता थलिमायाको नाममा ५० लाख बराबरको छात्राबास निर्माणका लागि जग्गा र आर्थिक सहयोग गरेपछि क्याम्पस परिसरभित्र दुईतले छात्राबास भवन निर्माण भइरहेको छ। यसका अलावा अर्को दुईतले पक्की भवन निर्माण भइरहेको छ।

क्याम्पस खुलेपछि विद्यार्थीहरूलाई उच्च शिक्षा अध्ययनका लागि बाहिर जानुपर्ने बाध्यता हटनुको साथै सुविधासम्पन्न सहरको क्याम्पसमा पाउने शिक्षा दुर्गम गाउँमै प्राप्त हुँदै आएको जनाउँदै लेखाशास्त्रका प्राध्यापक अशोककुमार यादवले आर्थिक रूपले बाहिर गएर पढ्न सक्ने क्षमता, सामथ्र्य नभएका विपन्न वर्गका विद्यार्थीहरू क्याम्पसमा लाभान्वित हुने गरेको बताए। उनका अनुसार दुई वर्षभित्र डेढ सयको हाराहारीमा स्नातक तहमा विद्यार्थी संख्या बढाउने क्याम्पसले लक्ष्य राखेको छ।

२०६६ सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी सोही वर्षदेखि भौतिक पूर्वाधार जुटाएर स्नातक तहको पढाइ सुरु गरेको यस क्याम्पसबाट तीन सयको संख्यामा विद्यार्थीहरूले उच्च शिक्षा पूरा गरिसकेका छन्। माध्यमिक र क्याम्पस तहको एउटै थलोमा पढाइ हुने उक्त क्याम्पससँगै जोडिएको वीरेन्द्र उच्च माध्यमिक विद्यालयमा कक्षा १ देखि १२ सम्मका करिब सात सयको हाराहारीमा विद्यार्थी अध्ययनरत छन्।

उत्तरी दुर्गम भेगका कुलुङ, ठोटनेरी, चौकीडाँडा, खाटाम्मा, दोभाने, नेपालेडाँडा, घलेगाउँ, जिमीगाउँलगायत दर्जनौं गाउँ र छिमेकी जिल्ला संखुवासभाको सिसुवा, ताम्खु गाउँका विपन्न समुदायका विद्यार्थीहरूलाई बाहिर गएर पढनुपर्ने बाध्यता हटेको छ। जसका कारण ती विद्यार्थीलाई उच्च शिक्षा लिन सहज त छँदै छ भने अर्कोतिर अभिभावकको खर्चसमेत जोगिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.