कांग्रेसले नदेखेको क्षति

कांग्रेसले नदेखेको क्षति

संसद्मा कांग्रेस निकै कमजोर शक्ति बनिसकेको छ। संसद्मा कांग्रेसको जनमतको प्रतिनिधित्व गर्ने निवार्चित सांसदलाई ह्विप जारी गर्ने मुख्य सचेतक र सचेतकमा कांग्रेसले जननिर्वाचित सांसदलाई रोजेन। सभापति देउवाद्वारा मनोनीत सांसदको बलमा संसदीय दलको नेतामा समेत उनैलाई नै रोजियो। पराजयका कारण वाम गठबन्धन भनेर कांग्रेसले जनतालाई दोषी ठहर्‍याएको छ। नेतृत्वको आलोचना गरे कांग्रेस कमजोर हुने तर्क कांग्रेसमा बलियो देखिएको छ। सशस्त्र युद्धकालका जघन्य अपराधबारे एमालेले स्पष्ट बोलिरहेको सन्दर्भमा सगर्व स्वीकार गर्दा कांग्रेसको बौद्धिक शक्ति भने कुनै नेतालाई एक वा दुई नम्बरमा राख्ने भन्नेमा मन्थन गर्दैछ। अहिलेको क्षतिलाई कांग्रेसले क्षति मानेको छैन, त्यसैले थप क्षति हुन बाँकी नै छ।

भारतमा सन् २०१४ को लोकसभा निर्वाचनमा कांग्रेसका राहुल गान्धीलाई उनको परम्परागत निर्वाचन क्षेत्र अमेठीमा भारतीय जनता पार्टी (बीजेपी) कि नेत्री स्मृति इरानीले कडा चुनौती दिइन्, तर इरानी पराजित भइन्। स्पष्ट बहुमत पाएका नरेन्द्र मोदीले इरानीलाई केन्द्रीय मन्त्रिमण्डलमा सामेल गरे। इरानीको कौशल, अनुभव वा अन्य कुनै कारणले भन्दा पनि अमेठीका आफ्ना मतदाताको सम्मानस्वरूप इरानीलाई मन्त्रिमण्डलमा सामेल गरेका थिए मोदीले।

त्यसपछि भएको स्थानीय निर्वाचनमा त्यहाँ बीजेपीले सफलता प्राप्त गरेको देखिएको छ। अमेठी अब राहुलका लागि सुरक्षित छैनन्। नेपाली कांग्रेसले जननिर्वाचित नेतालाई संसद्मा जिम्मेवारी नदिएर आफ्ना मतदातालाई संसद्मा प्रतिनिधिविहीन बनाएको छ। समानुपातिक प्रणालीबाट संसद्मा जानु वैध बाटो नै हो, तर समानुपातिक सांसद जनप्रतिनिधि होइनन्। वैध बाटो नैतिक र न्यायसंगत हुन्छ भन्ने पनि छैन। कांग्रेसमा प्रत्यक्ष निर्वाचनमा नजाने तर समानुपातिक प्रणालीको उपयोग गरेर दलको निर्णय तहमा बस्ने एक खालको बलियो घेरा अध्यक्षको वरिपरि बनिसकेको छ। उता गगन थापाले संसद्मा स्वतन्त्र सांसदसरह प्रस्तुत हुनुपरेको छ। तार्किक रूपमा सम्प्रेषण गर्न सक्ने वक्ता कांग्रेसको अग्रपंक्तिमा छैनन्। यसबाट हुने क्षतिको कांग्रेसले अनुमान गरेकै छैन।

२०४५ मा पृथ्वी राजमार्गको जोगीमारामा एउटा बस दुर्घटनामा परेको थियो। दर्जनौंको मृत्यु भएको त्यस दिन नेपालका सञ्चारमाध्यममा तत्कालीन श्री ५ मुमा बडामहारानीसम्बन्धी समाचारले प्राथमिकता पायो। त्यस दिन पत्रकार विजयकुमारले आफ्नो नियमित टीभी कार्यक्रममा ‘प्रोटोकलमा आधारित समाचार किन’ भन्ने विषय बहसमा ल्याएका थिए। प्रोटोकलमा आधारित सक्रिय राजतन्त्रविरुद्ध तीन दशकसम्म संघर्ष गरेको कांग्रेस आजसम्म पनि नेताको प्रोटोकल सुनिश्चित गर्दैछ। संयोगले तिनै पत्रकार विजयकुमारले अन्नपूर्ण पोस्ट् दैनिकमार्फत नै अहिले हामी वैश्य युगमा भएको र यो पर्फर्मेन्स (क्षमता प्रदर्शन) को युग भएको लेखेका छन्। यो पर्फर्मेन्सको युगमा कांग्रेसमा अझै सुशासन वा निर्वाचनमा पर्फर्मेन्स देखाइसकेका नेताहरूभन्दा नेताको विरोध नगर्ने र सामानुपातिकबाट मौका छोप्नेहरूलाई कार्यकर्ताले नेता मान्नुपर्ने बाध्यता छ।

कांग्रेसको यो अवस्थाका लागि देउवाको प्रमुख योगदान भए पनि यसमा कांग्रेसी कार्यकर्ताको योगदान कम छैन। देउवा लामो राजनीतिक जीवनको कारणले नेतृत्वमा रुचाइए भन्ने तर्कसंगत नै हुन्छ, तर महामन्त्रीमा गगन थापालाई भन्दा शशांक कोइरालालाई कार्यकर्ताले रुचाउनु कांग्रेसीजनको एक भावनात्मक निर्णय थियो। कांग्रेसजनले गरेको त्यो निर्णय नेतृत्व क्षमता, बौद्धिकता वा अनुभवका आधारमा नभएर केवल वंशवादका आधारमा गरिएको थियो। बीपी पुत्रले आफ्नो अक्षमताको प्रदर्शन गरिसक्दा पनि कांग्रेसी कार्यकर्ताले उनका विरुद्ध बोलेका छैनन्। वाम गठबन्धनबाट वाक्क भएर जनता पुनः कांग्रेसलाई नै रोज्छन् भन्ने आशामा अहिलेको कांग्रेस सीमित छ। लोकतन्त्रप्रेमी जनताको पहिलो रोजाइमा कांग्रेस पर्नुपर्ने ठोस कारण यो हुन सक्तैन।

निर्वाचनमा हारको कारणबारे कांग्रेसको केन्द्रीय समितिमा अनेक सहायक तर्कहरू राखिए पनि मूल कारण भने नेतृत्व नै हो। पराजयको कारण प्रतिपक्ष नै हो भन्ने केही नेताहरूको सुगारटाइ शक्तिको भक्ति हो। कांग्रेस नेतृत्व असहमतिको सम्मान गर्न तत्पर देखिएकै छैन, बरु त्यसको प्रतिकार गर्दैछ। कांग्रेस संस्थापनले आफ्नो बचाउमा विश्वसनीय आधारहरू पनि प्रस्तुत गरेको छैन। गगन थापा, धनराज गुरुङ, चन्द्र भण्डारीजस्ता लोकप्रिय युवा नेताहरूलाई विद्रोहीका रूपमा राखेको छ कांग्रेसले। कांग्रेसमा यस्तो अवस्था हुनु वाम गठबन्धनका लागि मात्रै सुखद सन्देश हो।

एक युगान्तकारी निर्णयमार्फत देशकै राजनीतिलाई तरंगित पार्न सक्ने क्षमता कांग्रेसमा जीवित छ। क्षमतावान् कार्यकर्ताहरूको ऊर्जाको अधिकतम सदुपयोग र फटाहाहरूको घेराबाट दललाई मुक्त गर्ने नेतृत्वले हो।

लामो लोकतान्त्रिक युद्ध लडेका कांग्रेसका नेताहरूले स्थापित गरेको लिगेसीका कारण कांग्रेस सधैं ऊर्जाशील युवाशक्तिको आकर्षण रहेको एक ऐतिहासिक तथ्य हो। सुवर्णशमशेर–मात्रिकाप्रसाददेखि सुशील कोइरालासम्म कांग्रेसका नेताहरूले कुनै न कुनै लिगेसी कायम गरेका छन्। नेपालको लोकतान्त्रिक आन्दोलनमा एक अग्रणी भूमिका निर्वाह गरेका गिरिजाप्रसाद कोइरालाले कतिपय अलोकप्रिय निर्णय गरे पनि उनको गुणगान गाउनेमा अहिले अग्रपंक्तिमा पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल र बाबुराम भट्टराई छन्, यसबारेमा धेरै लेखिरहनुपरेन। कोइरालाको पहलमा भएको बाह्रबुँदे सहमतिको परिणाम आज देशमा संविधान छ। बन्दुकबाटै जितहारको फैसला भएको भए अहिलेको संविधान सम्भव थिएन। राजतन्त्रको शान्तिपूर्ण अन्त्य कोइरालाकै नेतृत्वमा भयो। सत्ता कब्जाको स्वार्थमा संविधान बन्न नसकेको अवस्थामा सुशील कोइरालाले प्रधानमन्त्री त्यागेर संविधान निर्माण गरे। तर लोकतन्त्र आएपछि लोकतान्त्रिक दल कांग्रेस खुम्चियो।

कांग्रेस नीति निर्माणभन्दा पनि त्यसको कार्यान्वयनमा चुकेको छ। कोइराला युगभन्दा अघि कांग्रेस सरेकै छैन, बरु कोइरालाबाट सिक्नुपर्ने र सिक्नुनपर्ने दुवैमा देउवा नेतृत्व चुकेको छ। देउवाले कोइरालाबाट सिकेका गुण एकछिन हेरौं। २०४८ मा पहिलोपटक प्रधानमन्त्री हुँदा कोइरालाले आर्थिक अनुशासन पालना गर्न सकेनन्। उनले ३६ र ७४ को गुट निर्माण गरे। सुशासनलाई प्राथमिकतामा कहिल्यै राख्न नसकेका देउवाले निर्वाचित अध्यक्ष भइसकेपछि पनि ६० र ४० को विभाजन कायम राखे।

कोइरालाले सुरु गरेको अन्तर्घातको क्रम देउवाकालमा पनि जीवितै छ। कोइरालाले संसद् विघटन गरेको सिक्न देउवालाई समय लागेन। कोइरालाले आफ्नी छोरीलाई राजनीतिमा स्थापित गर्न खोजे, देउवाले आफ्नी श्रीमतीलाई। कोइरालाले दाहालबाट धोखा खाएका थिए। देउवाले पनि दाहालबाट एक मुक्का खानैपर्ने थियो र खाए। कोइरालाले फु गरेर सरकार ढालेको सिकेर देउवाले निर्वाचनको मुखमा ओलीको सरकार ढालेर दाहाललाई सत्ता सुम्पे। सडकमा संघर्षरत भएको बेला कोइरालाले अदालतको अवज्ञा गरेका थिए। देउवाले प्रधानन्यायाधीशमाथि महाभियोग दर्ता गराए।

देउवाले कोइरालाबाट सिक्न नसकेका केही कुरा पनि छन्। २०४६ को आन्दोलनमा वाम दलहरू कांग्रेसको नेतृत्वमा सडकमा आउन चाहन्थे। कोइरालाले त्यसबेला वामदलसँग कार्यगत एकता गर्ने तर संयुक्त मोर्चामा नजाने सैद्धान्तिक अडान लिए। त्यो एक सुझबुझपूर्ण निर्णय थियो किनकि त्यसबेला वाम दलहरूको लोकतन्त्रप्रतिको प्रतिबद्धतामा सन्देह थियो। त्यसबेला पूर्वीयुरोपका कतिपय देशमा कम्युनिस्ट शासन ढल्दै थियो। कोइरालाले वाम दलहरूसँग कार्यगत एकता गरे पनि उनीहरूसँग दूरी कायम राखे। यसबाट वाम दलहरूमा लोकतान्त्रिक पद्धतिलाई मान्नुपर्ने दबाब सृजना भयो। यता देउवा नेतृत्वको कांग्रेसले हँसिया–हथौडामा छापै लगाउने घोषणा गरे।

२०४८ को निर्वाचनमा कोइरालाले देश दौडाहामा गएर कांग्रेसका कार्यकर्ताहरूलाई तरंगित पार्ने अनेक प्रयास गरेका थिए। यता २०७४ सालमा कांग्रेस एक जिम्मेवार दलको हैसियतले संविधान निर्माण गरेको श्रेय र सत्ताविरोधी मनोभावको लाभ लिएर जनसमक्ष जानुको सट्टा देउवाको सत्ताको बोझ लिएर निर्वाचनमा गयो। आफू अलोकप्रिय भएको बेला कोइराला कृष्णप्रसाद भट्टराईको नेतृत्वमा निर्वाचनमा गएका थिए। स्थानीय निर्वाचनमा हैसियत देखिसकेका देउवाले आफैंलाई प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरे। दल पराजित भएको बेला कोइरालाले देउवालाई संसदीय दलको नेता बनाएका थिए। देउवाले त्यो सिकेनन्।

कोइरालाका दुर्वल पक्ष आत्मसात गर्ने तर असल पक्ष नगर्ने अहिलेको कांग्रेस नेतृत्वबाट कुनै चमत्कारको आशा गर्ने ठाउँ अब छैन। कांग्रेसमा सक्षम कार्यकर्ताको कमी छैन, समस्या नेतृत्वमा छ। बीपी कोइरालापछि कांग्रेसको नेतृत्वमा दुविधा हुँदा कांग्रेस नेतात्रय गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा अघि बढेकाले बीपीपछि पनि कांग्रेसको लोकप्रियता घटेन। २०५० सालतिरै कोइरालाको नेतृत्वलाई चुनौती दिन कांग्रेसमा नेतात्रय आरएसएस (रामचन्द्र, शैलजा, शेरबहादुर) को चर्चा थियो। आरएसएस एकीकृत हुन सकेको भए कांग्रेसमा पुस्तान्तरण त्यसैबेला सम्भव थियो। कांग्रेसमा केजीबी (खुमबहादुर खड्का, गोविन्दराज जोशी, विजयकुमार गच्छेदार) लाई पनि एक अवसर थियो, तर तिनीहरू कोइरालाकै छत्रछायामा रमाए। फलस्वरूप कोइराला शक्तिशाली भए र कोइरालाका बेथितिहरू सिकेर देउवा उदाए।

एक युगान्तकारी निर्णयमार्फत देशकै राजनीतिलाई तरंगित पार्न सक्ने क्षमता कांग्रेसमा जीवित छ। क्षमतावान् कार्यकर्ताहरूको ऊर्जाको अधिकतम सदुपयोग र फटाहाहरूको घेराबाट दललाई मुक्त गर्ने नेतृत्वले हो। प्रकाशमान सिंहले स्पष्ट रूपमा नेतृत्वको आलोचना गरेका छन्, तर आफूलाई विकल्पका रूपमा उनले राख्न सकेका छैनन्। बौद्धिक, चिन्तनशील र स्पष्ट वक्ता हुनुका साथै नयाँ पुस्तालाई कांग्रेससँग जोड्न सक्ने गगनभन्दा अर्को नेता कांग्रेसमा छैन। त्यसैले प्रकाशमान र गगन एक ठाउँमा उभिनु अहिले आवश्यक छ।

अबको पाँच वर्षमा वयस्क हुने युवालाई आकर्षित गर्न सक्ने क्षमता गगनमा छ, तर पाको र बौद्धिक नेता नभई कार्यकर्ता र जनताले पनि पत्याउँदैनन्। त्यो परिपूर्ति गर्न सक्ने नेता हुन् शेखर कोइराला। कांग्रेसका यी तीनै नेताले केही न केही त्याग्नैपर्ने हुन्छ। त्यो हो प्रोटोकल। त्यति गर्न सके नेतात्रय गगन, शेखर र प्रकाशमानको नेतृत्वको कांग्रेस वाम गठबन्धनभन्दा क्रान्तिकारी, परिवर्तनकारी, अग्रगामी र लोकतान्त्रिक देखिनेछ।

–लेखक अमेरिकास्थित टेनिसी स्टेट विश्वविद्यालमा एसोसिएट प्रोफेसर हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.