सहरको समाजशास्त्र
सहरका दुई थरी परिभाषा छन्। पहिलो —अर्थशास्त्री, विकासविद्, भूगोलशास्त्रीहरूले सहर भनेर भौतिक पक्षमा जोड दिए। उनीहरूले चौडा सडक, अग्ला घर, स्कुल, कलेज, हस्पिटल आदि भौतिक संरचनालाई जोड दिए। कृषि ज्यादै कम हुनुपर्ने, अरू पेसा अँगालेका मानिस धेरै हुनुपर्ने आदिलाई मापन बनाइयो। एकातिर सहर हुन्छ, अर्कोतिर सहरसँग जोडिएको ग्रामीण क्षेत्र हुन्छ। सहरले ग्रामीण क्षेत्रको विकासको मियोका रूपमा काम गर्छ भन्दै सहरलाई परिभाषित गरियो।
दोस्रो, समाजशास्त्रले चाहिँ सडक, घर भौतिक संरचनाभन्दा सामाजिक सम्बन्धको चरित्रका आधारमा सहरलाई परिभाषित गर्छ। सडक र घर नहुने भन्ने होइन। सामाजिक सम्बन्धको चरित्र भन्नाले चारपाँचवटा विषय हुन्छन्। पहिलो, नातागोता कुलगोत्रको सम्बन्ध पातलो हुँदै गएको र नयाँ सम्बन्धहरू गाँसिँदै गएको हुनुपर्ने।
सहर र गाउँको विभेद भनेको गाउँमा थोरै मान्छेसँग गहन सम्बन्ध हुन्छ। एकअर्काको सात पुस्ता थाहा हुन्छ। तर, सहरमा सँगै जोडिएको कोठामा बस्ने मान्छेको बारेमा समेत केही थाहा हुँदैन। सहरमा जात, कुल, क्षेत्रबाट बाहिर निस्कँदै गरेका मानिसहरूको बसोबास हुन्छ। सहरमा पुरानो सामाजिक सम्बन्धका आयाम खुकुलो हुँदै गरेको हुन्छ र जात, पुरुषत्व, जातीयता, भाषाजस्ता जन्मिँदै प्राप्त हुने आयाममा नयाँ आयाम छिर्दै गरेको हुन्छ।
सहरको अर्को चरित्र हरेक व्यक्तिको छुट्टाछुट्टै काम हुन्छ। गाउँमा आफ्नै खेत हुन्छ। त्यहाँ परिवारले काम गर्छ। सहरमा जीविकोपार्जन व्यक्तिकेन्द्रित हुन्छ। परिवारकेन्द्रित हुँदैन। सबैको छुट्टाछुट्टै बैंक अकाउन्ट हुन्छ। छुट्टाछुट्टै पेसा र छुट्टाछुट्टै आम्दानीका स्रोत हुन्छन्। अर्थतन्त्र भासिएको बेला त्यो भासिँदै जान्छ। धेरै मान्छेले काम पाउँदैन। गाउँमा भन्दा सहरमा बढी अर्थतन्त्र उकासिएको हुन्छ। त्यसैले व्यक्तिपिच्छेको पेसा हुन्छ। आम्दानीका सम्भावना बढी हुन्छन्।
सहरमा मान्छेहरू आआफ्नै खुट्टामा उभिएकाले सम्बन्धविच्छेद धेरै हुन्छन्। सहरिया मानिस घरमूलीको अधीनमा हुँदैनन्। परिवारले बाँधेर राखेको हुँदैन। उनीहरूलाई भावनात्मक रूपले बाँधेर राखेको हुँदैन। त्यसकारण सहरमा पुरानो सम्बन्धका आयामहरूबाट मानिस एक किसिमले स्वतन्त्र हुन्छन्। सहरी स्वतन्त्रता भनेको यही हो। यसको अर्थ सम्पूर्ण स्वतन्त्र हुन्छ भन्ने होइन।
सहरी जीवन एकाथरीबाट स्वतन्त्र हुन्छ, अर्कोथरीबाट बाँधिएको हुन्छ। सहरी सम्बन्ध सतही हुन्छ। गाउँमा थोरैसँग सम्बन्ध तर गहिरो सम्बन्ध हुन्छ, सहरमा धेरैसँग हाइहेल्लो हुन्छ तर कमसँग गहिरो सम्बन्ध हुँदैन।
सहरमा 'करप्सन' मौलाएको छ। घर बनाउँदा छिमेकीले दुई इन्च जग्गा मिच्छ। सरकारले पनि पेटी मिच्छ। घरवालाले त्यही पेटीबाट मोटरसाइकल चढ्ने बनाउँछ। हिँड्ने मान्छेलाई गाह्रो हुन्छ। काठमाडौंको सडक अपांगमैत्री मात्रै होइन नागरिक मैत्रीसमेत छैन।
सहरी जीवन व्यावसायिक जीवन पनि हो। व्यावसायिक बन्न लामो समय तालिमको आवश्यकता पर्छ। गाउँमा १३ वर्षदेखि मानिस हलो जोत्न थाल्छ, सहरमा तालिम लिँदालिँदै २४ वर्ष पुग्छ। भविष्यका लागि सीप सिक्नुपर्ने, भाषा सिक्नुपर्ने, सामाजिक सम्बन्धहरूमा घुलमिल हुन सिक्नुपर्ने हुन्छ। त्यसकारण सहरमा सिक्ने प्रक्रिया बढी हुन्छ।
गाउँ, गाउँजस्तो रहेन
पहिला हामी सहर र गाउँ भन्थ्यौं। संसारभरि नै भनिन्थ्यो। ५० वर्ष अगाडिको गाउँ अब संसारमा कहीँ पनि रहेन। गाउँ छुट्टै र सहर छुट्टै हुन्थ्यो पहिला। पहिले भनिनेजस्तो ग्रामीण समुदाय अहिले छैन। अब गाउँ गाउँजस्तो रहेन। गाउँका प्रायः मानिस सहरीकृत भइसके। सहरमा बस्न खोज्ने बढ्दै छन्। कृषि पेसा अपनाएर गाउँमै बस्न चाहने मानिस थोरै छन्। गाउँमा जातीय व्यवस्था भत्किँदै छ। पहिलेको जस्तो झुरुप्प गाउँ र अर्मपर्मको सम्बन्ध अब कमजोर हुँदै गयो। समुदायपना खुम्चिँदै गएको छ। लेनदेनको संस्कृति कम हुँदै गयो।
गाउँको स्वरूप परिवर्तन भयो। उत्पादन र सेवाका केन्द्रहरू सहर बनेपछि गाउँलेहरू सहरतर्फ आकर्षित भए। गाउँको युवा गाउँमै टिकाउन ठूलै मेहनत गर्नुपर्छ। नेपालले मात्रै होइन सबै मुलुकले मेहनत गर्नुपर्छ। तर, कुनै मुलुकले सकेको छैन। गाउँका मानिस औद्योगिक केन्द्रतर्फ ओर्लिने क्रम जारी छ। त्यसकारण भनिएको हो— गाउँ गाउँजस्तो छैन।
गाउँ धेरै हदसम्म सहरमा आ िश्रत छ। धेरै हदसम्म आफैं सहर बन्दै छ। सहर बन्दै गरेको विश्वमा हामी छौं। छुट्टै गाउँ, छुट्टै सहर भेद धेरै रहेन अब। भौतिक रूपमा केही फरक छ तर मानसिक रूपमा गाउँ र सहरको भेद कम छ। आफ्नो सन्तानलाई कस्तो बनाउने भन्नेबारे सहरका मानिसभन्दा नितान्त भिन्न तरिकाले गाउँका मानिसले सोच्दैनन् अब।
आफ्नो पछिल्लो पुस्ताले पनि कृषि पेसा अपनाओस्, गाउँमै बसोस् भन्ने थोरै बूढाबूढी छन्। अधिकांशले छोराछोरीको भविष्य सहरमै देखेका छन्। छोरीछोरीले सहरी मानसिकता बनाऊन् भन्ने बूढाबूढीलाई लाग्छ। यद्यपि त्यसले बूढाबूढीबाट युवाहरूलाई टाढा लगिरहेको छ।
सहरको उत्पत्ति
संसारमा सहरहरू दुईतीन किसिमले हुर्किए। पहिलो उद्यम सहर। दोस्रो आर्मीको सहर र तेस्रो प्रशासन वा राजा बादशाहको सहर। यसमध्ये दुई प्रकृतिको सहर मुख्यतया रह्यो। त्यो हो— एउटा उद्यमको सहर, अर्को प्रशासनको सहर। दक्षिण एसियामा धेरै उद्यमका सहर भए। तीन सय वर्ष अगाडिसम्म संसारका सबैभन्दा ठूलामध्ये भारतका सहर थिए।
भारतको उक्त स्थानलाई पहिला 'कालिकट' भनिन्थ्यो। कपडामा 'कालिको' लेखेका हुन्थे। त्यो स्थान अहिले केरलामा पर्छ। अहिलेको नाम 'कोजिकोडे' हो। चार सय वर्षअगाडि संसारको चौथो ठूलो जनसंख्या त्यो सहरमा थियो।
इन्डियामा उद्योगकेन्द्रित सहर थिए। संसारको सबैभन्दा राम्रो कटनको कपडा इन्डियामा उत्पादन हुन्थ्यो। चार सय वर्ष अगाडिसम्म इन्डिया र चीन संसारका ठूला औद्योगिक सहर हुन्। ती औद्योगिक नगरहरूलाई बचाइराख्न, दिल्ली, आग्रा, लखनउजस्ता बादशाहका सहरहरू धेरै थिए। यी आर्मीका सहरहरू हुन्।
अधिकांशले छोराछोरीको भविष्य सहरमै देखेका छन्। छोरीछोरीले सहरी मानसिकता बनाऊन् भन्ने बूढाबूढीलाई लाग्छ। यद्यपि त्यसले बूढाबूढीबाट युवाहरूलाई टाढा लगिरहेको छ।
पञ्जाबको ठूलो स्वरले बोल्ने मिलिटराइज चरित्र, लडिहाल्ने चरित्र त्यत्तिकै भएको होइन। कलकत्ता औद्योगिक नगरी हो। त्यहाँको कल्चर अर्कै छ। विस्तारै बोल्ने, कला सिक्ने, साक्षरता दर उच्च, महिलाहरूले संगीत सिक्ने कल्चर छ त्यहाँ। पञ्जाबीहरूको त्यस्तो छैन। त्यहाँ अर्कै खालको संस्कृति हुर्कियो। प्रशासनले बनेको सहरहरूमा 'फोर्ट'हरू देख्न सकिन्छ। जस्तै दिल्ली फोर्ट, हैदराबाद फोर्ट भन्ने गरिन्थ्यो।
मल्लकालमा काठमाडौं औद्योगिक नगरी थियो। मल्लकालमा ठूलो नोकरशाही थिएन। आर्मी राख्ने चलन थिएन। स्थायी आर्मी राख्ने चलन संसारका विरलै स्थानमा थियो। मल्लहरूका आर्मी नै थिएनन्। मल्लहरूले पृथ्वीनारायण शाहलाई हराउन अंग्रेजहरूलाई बोलाए। सिन्धुलीगढीमा लडाइँ भएको त्यही कारणले हो।
काठमाडौं कला, कौशल, व्यापार, कृषि, नयाँ मान्छेको आगमनले बनेको सहर हो। नयाँ मान्छेलाई भयंकर स्वागत हुन्थ्यो, त्यतिखेर। यहाँ आएपछि जे जातको भए पनि नेवार हुन्थ्यो। जहाँ श्रमको माग अत्यधिक हुन्छ त्यहाँ त्यस्तो हुने गर्छ। कुन जातबाट आयो भन्ने हेरिँदैन। श्रम गर्न सक्छ कि सक्दैन भन्ने मात्रै हेरिन्छ।
सहरको उत्पादन मुख्यतया व्यक्तिकेन्द्रित हो। सीपकेन्द्रित हो। सहरमा श्रम विभाजन मिहिन किसिमको हुन्छ। नेपालको भित्री क्षेत्रमा गइयो भने दारी काट्ने मान्छे हुन्न। आफैं काट्नुपर्छ। सहरमा श्रम विभाजन मिहिन हुन्छ। एउटा मोटर बनाउन हजारौंले काम गरिरहेका हुन्छन्।
गाउँमा आफ्नै काम हुन्थ्यो। सहरमा सबैले अर्काको काम गर्नुपर्छ। सहरमा जागिर प्राथमिक भयो। खेती प्रणाली हराउँदै गयो। ६० प्रतिशत मानिसको मुख्य आम्दानीको स्रोत अहिले पनि कृषि हो। अब धेरै घरका लागि त्यो होइन। कृषिको महत्व घट्यो। सहर र गैरकृषि क्षेत्र हावी भयो। अर्काको काम गर्ने भयौं हामी।
अर्थतन्त्र माथि चढ्दा जागिरका अवसर पाइने र मन्दी छाउँदा जागिरबाट निकालिने अवस्था हुन्छ। यहाँ स्थायित्व नहुने काम छन्। आफ्नो काम नहुँदा स्थायित्व नहुने भयो। कामबाट निकालिने, कहिले बढ्ने कहिले चढ्ने, जीवनमा उतारचढाव ल्याइरहने हुन्छ। पुँजीवादमा हार्ने मान्छेहरू धेरै हुन्छन्। जित्ने पनि हुन्छन्।
हार्ने मान्छे अलि बढी हुन्छन्। हार्ने भनेको जिन्दगीभरिका लागि हार्ने भनेको होइन। केही समयका लागि जित्ने, फेरि हार्ने क्रम चलिरहन्छ। त्यसमा सामाजिक लोकतान्त्रिक सरकारको सहयोग चाहिन्छ। हारिरहने बेलामा तनाव हुन्छ। त्यसलाई कसरी मत्थर गर्न सकिन्छ भन्ने देशमा राजनीति र अर्थतन्त्रले हेर्नुपर्छ।
सहरमा वर्ग निर्माण
सहरमा वर्ग निर्माणको प्रश्न समाधान हुन सकेको छैन। मेरो विचारमा सहरमा सबैभन्दा तल्लो वर्गमा बाहिरबाट आएका माइग्रेन्ट पर्छन्; जसको कामको ठेगान छैन। यहाँनिर लेनिनको भनाइ जोड्नु सान्दर्भिक हुन्छ। उनले यस्तो सपना देखे कि सर्वहारा धेरै हुँदै जान्छन्, त्यसपछि उनीहरूले आन्दोलन गर्छन् र राजनीतिक शक्ति उनीहरूको हातमा आउँछ। तर, वर्तमान विश्वमा पूर्ण सर्वहारा कोही नहुने स्थिति आयो।
सबै अर्धसर्वहाराजस्ता भए। उसको गाउँमा जमिन पनि छ, सहरमा ज्यालादारी पनि गर्छ। सहरमा सर्वहाराजस्तो देखिन्छ तर गाउँमा सर्वहारा हुँदैन। यस्तै प्रकृति संसारभरि देखिन्छ। संसारभर सर्वहाराकरणभन्दा पनि अर्धसर्वहाराकरण भयो। अमेरिकामा मजदुर भनेको सर्वहारा हो कि होइन भन्नेबारे बहस छ।
सहरमा श्रम विभाजन मिहिन किसिमको हुन्छ। नेपालको भित्री क्षेत्रमा गइयो भने दारी काट्ने मान्छे हुन्न। आफैं काट्नुपर्छ। सहरमा श्रम विभाजन मिहिन हुन्छ। एउटा मोटर बनाउन हजारौंले काम गरिरहेका हुन्छन्।
त्यहाँका कामदारले कम्पनीमा ३० देखि ४० प्रतिशत सेयर किनेका हुन्छन्। त्यो मालिक हो कि कामदार ? अब छुट्याउन कठिन भयो। उसबाट के भन्न सकिन्छ भने वर्कर र मालिक मिसिने क्रममा छ। अर्थतन्त्र उँभो लागिरहेको बेला त्यो झन मिसिन्छ। त्यस बेला ऊसँग पैसा बचत हुन्छ र सेयर किन्छ।
त्यसपछि सहरमा अर्को वर्ग छ— सडकका नाङ्लो पसले। अर्को वर्ग भनेको घूस नखाने तल्ला तहका कर्मचारी हुन्। त्यसपछिको अर्को वर्ग भनेको काठमाडौंको रैथाने हुनुपर्छ जसको पुख्र्यौली जग्गाजमिन हुन्छ, आफ्नै कमाइ पनि हुन्छ। त्यसपछिको अर्को वर्ग ठूला व्यापारीहरू, लगानीकर्ताहरू, समाचारपत्रका मालिकहरू जो अरूलाई काम लगाउँदै आफैं पनि काम गर्छन्।
त्यस्तै अर्को वर्ग पनि छ काठमाडौंमा, तिनीहरू हुन्— काठमाडौंमा पुख्र्यली घर भएका र उच्च श्रेणीको जागिरदार। सबैभन्दा तलका दुईवटा वर्गबाहेक काठमाडौंका अरू वर्गसँग निकै पैसा छ। देशभरको पैसा सोहोरिएर यहाँ केन्द्रित छ।
सार्वजनिक यातायात चढ्दा समाजको एउटा तप्कालाई बुझ्न सकिन्छ। सार्वजनिक यातायात चढ्दाका मेरा आफ्नै अनुभव छन्। बस टेम्पोमा धेरैजसो महिला चढेको देख्छु। सम्पन्नका छोरी स्कुटरसम्म चढ्छन्, धेरै महिला मोटरसाइकल चढ्दैनन्। धेरै महिला टेम्पो र बसमा यात्रा गर्छन्। पुरुषहरू निजी कार, मोटरसाइकलमा र महिलाहरू बस र टेम्पोमा धेरै चढ्छन्।
महिलाहरू धेरै चलायमान भएको संकेत हो यो। महिलाहरू काम गर्न जान थाले। केही मात्रामा सम्पन्नता बढ्यो। महिलाहरूले काम नै नगरे पनि साथीहरूसँग घुम्न जाने, रेस्टुरेन्टमा खान जाने बढ्यो। नातागोतालाई भेट्न जाने, चाडपर्वमा घुम्न जाने, राम्रो लुगा लगाएर देखाउन जाने बढ्यो।
मेरो पाँचसात वर्षको पछिल्लो अनुभवमा सार्वजनिक यातायातमा महिलाहरू भरिभराउ हुने गरेका छन्। सार्वजनिक यातायात चढ्दा उनीहरूको कुरा बुझिन्छ। सबैभन्दा बढी राजनीतिक रूपमा सक्रिय मानिसहरू पनि तिनीहरू नै हुन्। उनीहरूबीच कस्ता कुरा हुन्छन्, सुन्न रोचक हुन्छ। आमप्रविधिको रूपमा के देखियो भने नेपालीहरूमा नकारात्मक कुरालाई बढाएर भन्ने चलन मौलाएको छ।
एकजनाले सुनेको कुरा अर्कोलाई बढाएर भन्ने चलन छ। बढाएर नभन्दा आफ्नो हैसियत कम हुन्छ भन्ने मान्यता छ। यस्तो गज्जबको प्रवृत्ति काठमाडौंमा हुर्किएको छ।
सहरमा 'करप्सन' मौलाएको छ। घर बनाउँदा छिमेकीले दुई इन्च जग्गा मिच्छ। सरकारले पनि पेटी मिच्छ। घरवालाले त्यही पेटीबाट मोटरसाइकल चढ्ने बनाउँछ। हिँड्ने मान्छेलाई गाह्रो हुन्छ। काठमाडौंको सडक अपांगमैत्री मात्रै होइन नागरिक मैत्रीसमेत छैन। मलाई सधैं बिझाइरहने विषय हो यो। सडक फुटपाथसहितको हुनुपर्छ। सडक भनेको मोटर गुडाउन मात्रै हो र ? फुटपाथ चाहिँदैन ? मानिसले साइकल चलाउनु पर्दैन ?
काठमाडौंको सडकमा वर्गीय पक्षधरता ठ्याक्कै देखिन्छ। मोटर चलाउनेलाई मात्रै चाहियो सडक। हिँड्नेलाई वास्तै गरिएन। सहरमा नैतिकता त भएन भएन, कानुनको शासन पनि भएन।
(समाजशास्त्री मिश्रसँग दीपक सापकोटा र राजु स्याङ्तानले गरेको कुराकानीमा आधारित)