एउटा सांस्कृतिक सहरको सपना
उपत्यकालाई चारैतिर मन्दिर नै मन्दिरले घेरेको छ। भनिन्छ– भक्तपुर शंख आकारमा छ, काठमाडौं खड्ग आकारमा। यो एउटा दृष्टिकोण हो। तर, यसरी अध्ययन गरियो भने धार्मिक जञ्जालमा फस्छौं। यसको अर्थ मठमन्दिर भत्काउनुपर्छ भन्ने पनि होइन। मठमन्दिर भत्काएर मानिसको भावनालाई ठेस पुर्याउन हुँदैन। मठमन्दिरलाई संरक्षण गर्नुपर्छ। पुराना घर र मठमन्दिर मानव सभ्यताको विकासक्रममा विकास गरिएका मौलिकपनको प्रमाण हुन्।
कला संस्कृति भन्नाले वास्तुकला पनि आउँछ। हाम्रो भूगोल र हावापानीअनुसार घर बनेका छन्। यी घर सभ्यताको विकासमा धेरै लामो समय मेहनत गरेर बनेका हुन्। यिनलाई जोगाउनुपर्छ।
जनताले थालेको विकास
प्राचीन भक्तपुरको वास्तुकला यहाँको पर्यावरण र कलाको ज्ञानको मिश्रित रूप हो। त्यसैअनुसार नै यहाँको बस्ती र घर बनेका थिए। तर, बिस्तारै पैसा हुनेले आफ्नै तरिकाले घर बनाउँदा पुराना प्रविधि मासिँदै गए। मल्लकालसम्म त्यस्तो समस्या थिएन। पृथ्वीनारायण शाहले काठमाडौं उपत्यकामा शासन व्यवस्था स्थापना गरेपछि त्यसमा ह्रास आउन सुरु गर्यो। उनले मौलिक घरलाई मतलव नै गरेनन्। राणाकालमा त बेलायती शैलीलाई मात्र जोड दिइयो। मौलिकपनलाई वास्तै गरिएन। सन् १९९० सालको भूकम्पले भत्किएका मन्दिरको जीर्णोद्धार गरिएन।
२०१९ सालमा भक्तपुर नगरपालिका बन्यो तर त्यो 'नगुलो पालिका' थियो। तलबमात्र पचाउनेलाई नेवारी भाषामा 'नगुलो पालिका' भनिन्छ। हाम्रा साथीहरू त्यहाँ पुगेपछि केही काम भए। भ्रष्टाचार न्यूनीकरण भयो। जनताको मातहतमा सबै काम हुन थालेपछि भक्तपुरको विकास भएको हो।
शौचालयको भक्तपुर कथा
पुराना नगरलाई 'वालसिटी' भन्ने गरिन्छ। अर्थात्, पर्खालले घेरिएको सहर। भक्तपुर पनि त्यस्तै वालसिटी थियो। पर्खाल बाहिर जानुलाई नगर बाहिर जाने भनिन्थ्यो। यहाँका मानिस दिसा बस्न नगरबाहिर जान्थे। यो चलन मल्ल राजाले भित्र्याएका हुन्। उनीहरू भारतबाट आएकाले उतैको चलन लिएर आए। भारतमा 'मैदान जाने' भने जस्तै यहाँ पनि त्यो संस्कृति बाँकी थियो। महिला र पुरुषले दिसा गर्ने अलगअलग स्थान हुन्थे। बाहिर सुँगुरले खान्थ्यो। पछि केही ठूलाबडाको घरमा चर्पी बन्न थाले। त्यो बेला मौलिक प्रकारको ढल थियो।
पुरानो समाज विविधता भएको समाज होइन। त्यस्ता समाजसँग इतिहास जोडिएको हुन्छ। पछि आएर जथाभावी भद्रगोल तरिकाले बसेपछि यसको मौलिकता नै हराउँछ।
२०३० को दशकमा जर्मनीको लगानीमा 'भक्तपुर विकास परियोजना' ल्याइयो। जर्मन ज्ञान, प्रविधि र पुँजी लगानी भएकाले त्यसलाई जर्मन प्रोजेक्ट भनिएको थियो। जर्मन प्रोजेक्टले स्यानिटेसन प्रोग्राम ल्यायो। जर्मन प्रोजेक्टले भक्तपुरको संरचनामा धेरै परिवर्तन गर्यो। उनीहरूले पुरानो ढल भत्काए, नयाँ बनाए। त्यस्तै सार्वजनिक शौचालय बनाए। आफ्नो देशको चलनअनुसार गरे। तर, उनीहरूले बनाएको ढल जाम भयो। यसको मुख्य कारण थियो जनताको चेतनास्तरमा भएको फरक। उनीहरूले हाम्रो जनताको चेतनास्तरलाई बुझ्न सकेनन्। पछि सार्वजनिक शौचालय मासे र घरघरमा बनाउन थाले।
एउटा अधुरो प्रयास
हरेक सहरको आफ्नो स्वरूप र शैली हुन्छ। त्यही मौलिकताले यसको पहिचान निर्माण गरेको हुन्छ। वि.सं. १२०० मा आनन्द मल्लले बनाएको भक्तपुर नेपालकै इतिहासमा पुरानो र विशिष्ट मौलिकताले निर्मित सहर हो। तर, आधुनिकताको नाममा यसको मौलिकता मासिने स्थिति आयो। खासमा उपत्यकाकै मौलिकता मासिने स्थिति आएपछि मैले २०५६ सालमा संसदमा भक्तपुरलाई सांस्कृतिक सहर बनाउने प्रस्ताव राखेँ।
उपत्यकालाई कसरी बचाउने भन्ने चिन्ताले त्यो प्रस्ताव राखेको थिएँ। काठमाडौं उपत्यकालाई सांस्कृतिक र राजनीतिक केन्द्रको रूपमा विकास गर्नुपर्छ भन्ने मेरो मत थियो। त्यो प्रस्ताव राख्नुको उद्देश्य उपत्यकालाई व्यवस्थित बनाउने र भइरहेका कला–संस्कृतिलाई लोप हुन नदिने थियो।
पहिला त्यस्तो नमुना सहर बनाएर हेरौं त्यसपछि अरू ठाउँमा लागू गरौं भनेर भक्तपुरलाई सांस्कृतिक सहर बनाउने प्रस्ताव गरिएको थियो। त्यसबेला मेरो प्रस्ताव उपत्यकाबाहिरका नागरिकले उपत्यकामा अचल सम्पत्ति किन्न नपाउने, जसजसले किन्यो किनिसक्यो अब अरू किन्न नपाउने भन्ने थियो। संसद्मा त्यो प्रस्तावको खुब विरोध भयो। 'हामीलाई काठमाडौंबाट निकाल्न खोज्ने !' भनेर विरोध गरियो।
अर्को प्रस्ताव नगरभित्र मोटरहरू चल्न नदिने भन्ने थियो। निश्चित समयमा मात्रै स्कुल बसहरू चल्न पाउने, दमकल, एम्बुलेन्स चलाउन पाउने भन्ने थियो। त्यसमाथि छलफल नै भएन। 'हामीलाई जंगली युगमा पुर्याउन लाग्यो' भनेर विरोध भयो। संसद्मा प्रस्तुत नै गर्न दिइएन।
मैले त्यो प्रस्ताव त्यत्तिकै राखेको थिइनँ। प्रस्तावको अन्तर्यमा केही तर्क र उदाहरण थिए। पेरिस सहर विभिन्न जातिको अलगअलग टोलबाट बनेको सहर हो। त्यहाँ कामको प्रकृतिअनुसार छुट्टाछुट्टै टोल छन्। भक्तपुरमा पनि त्यस्तै छ। यहाँ प्रजापतिको अलग्गै टोल छ। डकर्मी, सिकर्मीको फरकफरक टोल छ। त्यसको आधारमा समाज बसेको हो।
काठमाडौं उपत्यकालाई सांस्कृतिक र राजनीतिक केन्द्रको रूपमा विकास गर्नुपर्छ भन्ने मेरो मत थियो। त्यो प्रस्ताव राख्नुको उद्देश्य उपत्यकालाई व्यवस्थित बनाउने र भइरहेका कला–संस्कृतिलाई लोप हुन नदिने थियो।
संसारमा प्रायः पुराना सहरहरू त्यस्तै हुन्छन्। पेरिसको मौलिकता नरहने भयो भन्दै पुराना पेरिसवासीले केटाकेटी जन्माए सहुलियत दिनेजस्ता नीति ल्याइयो। अहिले पेरिसको मौलिकता कायम छ। त्यस्तै जर्मनीका घरमा एउटा इँटा पनि तलमाथि गर्न पाइँदैन। एकरूपता कायम गरिएको छ त्यहाँ।
पुरानो समाज विविधता भएको समाज होइन। त्यस्ता समाजसँग इतिहास जोडिएको हुन्छ। पछि आएर जथाभावी भद्रगोल तरिकाले बसेपछि यसको मौलिकता नै हराउँछ।अहिले त १० जना मान्छे १० किसिमले घर बनाएर बसेका छन्। पुराना घर सबै भत्काइएका छन्। घर भत्काउनुपर्ने के आवश्यकता थियो ?
खाली मेट्रो सिटीको हल्ला छ। मेट्रो सिटी भनेको के हो ? मेट्रो सिटी भनेको ठूल्ठूलो घर बनाउने मात्रै होइन। ठूल्ठूला घरका नयाँनयाँ समस्या यसको नारा दिनेलाई थाहै छैन।
सांस्कृतिक सहरको अवधारणा मैले व्यक्तिगत हितका लागि नभई देशकै हितमा ल्याएको थिएँ। पुराना कला–संस्कृतिलाई जोगाएर राख्ने र नयाँ पुस्तालाई आधुनिक बनाउने योजना थियो।
सय वर्षपछिको भक्तपुर
हरेक नेताले समाजबारे एउटा सपना देखेको हुन्छ। त्यही सपनाअनुसार उसले समाजको निर्माण गर्ने प्रयत्न गर्छ। सपना नदेखेको राजनीति स्वार्थको खेलमात्र हुन्छ। मैले भक्तपुरलाई कस्तो बनाउनुपर्छ भनेर एउटा सपनाको निर्माण गरेँ। त्यो सपना देशका हरेक सहरको सपना पनि हो। मैले किताबकै रूपमा त्यो सपना प्रस्तुत पनि गरेँ। मैले देखेको सय वर्षपछिको भक्तपुरको सपनाका केही चित्र छन्।
भक्तपुरमा प्राचीन शैलीका भौतिक संरचनाको संरक्षण हुनेछ। अबको पाँच वर्षमा हरेक युवाहरूले ५, ६ वटा भाषा बोल्नेछन्। अंग्रेजी अहिले पनि बुझ्छन्। चिनियाँ, जर्मनी र जापानिज भाषा अहिले पनि बुभ्छन्। स्पेनिस भाषा अहिले छैन। त्यो पनि हुनेछ। अहिले हरेक टोलमा करिब २५ जना इन्जिनियर छन्। पछि चिकित्सक र अन्य पेसाकर्मी पनि तयार हुँदै जानेछन्।
हाम्रा विद्यार्थीले नयाँनयाँ कुरा सिक्नेछन्। बौद्धिक र ज्ञानविज्ञानको केन्द्र बन्नेछ भक्तपुर। थियटर र पुस्तकालयहरू खुल्नेछन्। रिसर्च क्लब खुल्नेछन्। दरबार स्क्यावरमा विद्यार्थी निकेतन स्कुल छ। त्यहाँ 'साफुकोठा' भन्ने ठाउँ छ। हाम्रो देशको सबैभन्दा पुरानो र ठूलो अभिलेखालय छ त्यहाँ। मुसलमानको आक्रमणमा ध्वस्त भयो। अब त्यसलाई पुनर्निर्माण गरेर पाँच तलाको बनाइनेछ। माथिल्लो तला शोधकर्ताको निम्ति हुनेछ। विद्यावारिधि अनुसन्धानरत अथवा अन्य अध्ययन अनुसन्धान गर्नेले त्यो कक्षमा ठाउँ पाउनेछन्।
(नेमकिपाका अध्यक्ष बिजुक्छेसँग दीपक सापकोटा र राजु स्याङ्तानले गरेको कुराकानीमा आधारित)