प्राचिन कान्तिपुरी, मेट्रोपोलिटन काठमाडौं

प्राचिन कान्तिपुरी, मेट्रोपोलिटन काठमाडौं

जुन रफ्तारमा हाम्रा गाउँहरू नगरमा र नगरहरू महानगरमा बदलिँदै छन्, लाग्छ केही वर्षभित्रै नेपाल गाउँविहीन बन्नेछ। अब छिट्टै 'नेपाल गाउँ नै गाउँको देश' भन्ने उक्ति 'उहिलेको कुरा खुइले' हुनेछ। भारतका पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीका महत्वाकांक्षी पुत्र सञ्जय गान्धीले गरिबी हटाउने नाममा झुपडपट्टीमाथि डोजर चलाउँदै गरिब हटाएका थिए।

उसैगरी नेपालका स्वनामधन्य योजना तथा विकासविद्हरू पूर्वाधारको विकासभन्दा पनि धमाधम गाउँलाई नगरमा रूपान्तरण गराउँदै समृद्धिको कागजी उडान भर्दै आइरहेका छन्। नगरपालिका घोषित भएका कतिपय क्षेत्रका बासिन्दा ज्वरो आउँदा सिटामोल र पखाला चल्दा जीवनजल नपाएर जीवनको याचना गर्दै गरेका र रोगबाट थलिएपछि उलिनकाठ चढेर स्वास्थ्य चौकी धाइरहेका तस्बिर र समाचार हामीले पढ्दै र देख्दै आइरहेका छौं। तर, हाम्रा दुर्गम र दूरदराजका बस्तीहरू झुसिलकीराबाट पुतली बनेझैं गरी नगरमा रुपान्तरित हुन भने छाडेका छैनन्।

केही वर्ष अघिसम्म महानगरको पर्याय राजधानी सहर काठमाडौं मात्र हुने गथ्र्यो। तर, पछिल्लो स्थानीय निर्वाचनको सँघारतिर काठमाडौंसँग कुम मिलाउन अन्य महानगर पनि आइपुगे। सुविधा वा पूर्वाधार पुगून् नपुगुन्, हाम्रानिम्ति नगर र महानगर 'स्टाटस सिम्बोल' बनेका छन्।

धुवाँ र धुलोमा निस्सासिँदै हिँड्नु परे पनि, एक गाग्री पानी भरिने आशामा रातभर जाग्राम बस्नु परे पनि, सार्वजनिक यातायातमा झुन्डिएर वा कोचिएर यात्रा गर्नु परे पनि, एक किलोमिटरको दूरी एक घन्टामा तय गर्नु परे पनि हामी महानगरवासी बन्नुमा गर्व गर्छौं। करेसाबारी मासेर सटर थप्दै मुफतमा हात लागेको पैसा विषादी मिसिएको तरकारी खानुमा नै हामी आनन्द मानिरहेका छौं।

गाउँहरूले त्यस्तो के उपद्रो गरे र नगरपालिका बने ? यो धेरैका निम्ति कौतूहलको विषय हुनसक्छ। त्यसो भए हिजोका नगरपालिकाले झनै के उत्पातै गरे र महानगर बने ? यो त 'मिलियन डलर'को प्रश्न हुन सक्छ ती (महा) नगरवासीका निम्ति जसको बाल्यकाल बागमती र विष्णुमतीको स्वच्छ जलाधारमा डुबुल्की मार्दै र बकैनाका हाँगाहरूमा बसेका सारुङलाई गुलेलीले निशाना साँध्दै बितेको होस्, धोबीखोला र मनोहराका मलिला फाँटमा बालावय फुक्काफाल दौडिएको होस्, अनि आरुबखडाका हाँगा र पराले कुन्यूहरूमा किशोरवय मच्चिएको होस्।

के साँच्चै हाम्रो महानगरसँग तीन 'स' सुन्दरता, सुविधा र सुरक्षाको 'मेट्रोपोलिटन' (महानगरीय) चरित्र छ त ?

के उनीहरूका निम्ति दुर्गन्धित नदी, धुलाम्मे सडक, सलाईका काँटीहरूजस्तै गुजुमुजु उम्रिएका घर, ठेलमठेल सडक र फुटपाथहरू नै सहरका अवयव हुन् त ? के साँच्चै हाम्रो महानगरसँग तीन 'स' सुन्दरता, सुविधा र सुरक्षाको 'मेट्रोपोलिटन' (महानगरीय) चरित्र छ त ? काठमाडौंलाई महानगर मानिदिने हो भने विश्वका महानगरहरू पनि के काठमाडौं जस्तै छन् त ? अथवा हिजोआज प्रचलनमा रहेजस्तै विश्वका अन्य सहर काठमाडौंका भगिनी सहर हुन् त ?

यी प्रश्नको उत्तर काठमाडौंमा आधुनिकताको विकासक्रमको आलोकबाट प्राप्त गर्न सकिन्छ। काठमाडौंको प्राचीनता र सांस्कृतिक वैभबबारे सायदै कसैको सन्देह पाइएला। मुलुकका बाँकी भागको दाँजोमा यस नगरले विशिष्ट सामाजिक, सांस्कृतिक र आर्थिक हैसियत राख्दै आएको तथ्य नेपाल भ्रमणमा आएका विदेशीका खोजपुस्तिकादेखि पृथ्वीनारायण शाह र भानुभक्तसम्मका उद्गारले स्पष्ट पार्छ।

तथापि प्राचीनकालमा धर्म र सभ्यताको चुलीमा पुगेको काठमाडौं (त्यस बखतको नेपालमण्डल) युरोपमा उन्नाइसौं शताब्दीको मध्यतिर 'आधुनिकतावाद' सुरु हुँदा पनि एउटा लामो कालखण्डसम्म बन्द पर्दाभित्र नै रह्यो। त्यो पर्दा उघारिन नेपालले सन् १९५० को प्रजातन्त्र उदयसम्मको दीर्घ प्रतीक्षा गर्नु पर्‍यो।

यदाकदा विदेशी अन्वेषकले नेपालको भ्रमण गरे पनि बाँकी विश्वसँग काठमाडौं (नेपाल नै) ढिलो मात्र जोडिएको तथ्य बेलायती लेखक पर्सिभल ल्यान्डनको पुस्तक 'नेपाल'ले पुष्टि गर्छ। सन् १९२८ मा प्रकाशित उनको पुस्तकमा नेपाल भ्रमण गर्ने युरोपेलीको संख्या १५३ रहेको र तीमध्ये धेरैजसोले सन् १८८१ देखि १९२५ बीचको ४५ वर्षमा नेपालको भ्रमण गरेको उल्लेख छ।

यसबाट पनि सन् १९५० मा जहाँनिया राणाशाहीको पतन अघिसम्म नगन्य संख्यामा विदेशीहरूले नेपालको भ्रमण गरेको प्रमाणित हुन्छ। फ्रान्सेली आरोही मोरिस हर्जोगद्वारा सन् १९५० मा अन्नपूर्ण हिमालको पहिलो सफल आरोहण र सन् १९५३ मा न्युजिल्यान्डका एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गेद्वारा विश्वको सर्वोच्च शिखर सगरमाथाको पहिलो सफल आरोहणपछि नेपाल एकाएक विदेशी सञ्चारमाध्यमको 'लाइमलाइट'मा पुगेको हो।

बन्द पर्दाभित्रको काठमाडौंले कसरी 'फास्ट ट्र्याक'मा आधुनिकता अँगाल्यो त ? त्यसबारे रोचक किस्सा कानपुर, भारतमा जन्मिएका बेलायती लेखक चाल्र्स एलनले यस पंक्तिकारँंग 'द काठमाण्डू पोस्ट'का लागि अन्तर्वार्ताका क्रममा बताएका थिए। चाल्र्स सन् १९६० को दशकमा बेलायती ओभरसिज भोलन्टिएर (भीएसओ)को हैसियतमा नेपाल आएका रहेछन्।

लाग्छ; सहरमा जतिसुकै सपिङ कम्प्लेक्स, मल, डिस्को र पवहरू खोलिऊन् असलमा मेला, पर्व र जात्राले नै काठमाडौंलाई जीवन्त राख्दै आएका छन्। प्राचीनता र आधुनिकताको 'फ्युजन' नै काठमाडौंको 'युनिकनेस' हो।

उनी काठमाडौंमा रहँदा हिप्पीहरूको चुरीफुरी देखिसाध्य थिएन रे ! संयोगवश, एलिजावेथ नामकी एउटी बेलायती युवती 'द राइजिङ नेपालमा' हिप्पीबारे लेख लेख्दी रहिछन्। लेख पढ्दा त उनलाई ती युवती पनि हिप्पी नै हुन् भन्ने लागेको रहेछ। थोरै मात्र विदेशीको बसोबासस्थल काठमाडौंमा एलिजावेथसँग चाल्र्सको भेट छिट्टै भएछ। ती युवतीले आफूलाई हिप्पीबारे रुचि भएको तर स्वयं भने हिप्पी नरहेको खुलासा गरिछन्। पछि चाल्र्स र एलिजावेथ प्रेममा परे। काठमाडौंमै उनीहरूले विवाह गरे।

मैले सन् २००७ मा चाल्र्सलाई भेट्दा उनी आफ्नो विवाहको चालीसौं वर्षगाँठ मनाउन एलिजावेथका साथ काठमाडौं आएका थिए। उनले आफू आएको बखत (सन् १९६० को मध्यकाल) काठमाडौं एकै पाइलामा सत्रौं शताब्दीबाट बीसौं शताब्दीतिर फड्को मार्दै गरेको चाखलाग्दो व्याख्या गरेका थिए। नेपालले बाह्य देशसँग सडक तथा हवाई सम्पर्क बनाएसँगै पश्चिमाहरू नेपाल भित्रिए। पश्चिमासँगै आधुनिकता पनि काठमाडौं भित्रियो।

हुन त महानगर अर्थात् मेट्रोपोलिटनको सीधा साइनो आधुनिकतासँग हुन्छ। तर, काठमाडौं विश्वका ती विरलै महानगरमध्येमा पर्छ, जसको जीवन्तता आधुनिकताभन्दा पनि प्राचीनतासँग जोडिएको छ। तेह्रौं शताब्दीमा पर्सियामा जन्मेका सुफी कवि जमालुद्दिन रुमी कान्तिपुर त आएनन्। उनी कान्तिपुरी नगरी आएका भए आफ्नो सुफियाना परिभाषाको ईश्वर र मानिसबीचको प्रेम यहाँ पक्कै देख्न सक्ने थिए। सुफी फकिरहरू ईश्वरलाई मानिसका प्रेमी मान्छन् र ईश्वरीय अस्तित्व मानिसको अस्तित्वमा निर्भर रहने तर्क गर्छन्।

मानिस र ईश्वर मिलिजुली बसोबास गर्ने कान्तिपुरभन्दा अर्को जीवन्त सहर उनले ब्रह्माण्डभरमै सायदै कतै फेला पार्न सक्ने थिए। आज काठमाडौंले जुन हदको आधुनिकता अँगाले पनि यसले आफ्नो प्राचीन चिनारीलाई अक्षुण्ण राखिराखेको छ। काठमाडौं खाल्डोमा आजपर्यन्त हजारौं वर्षपहिला जस्तै गरी जात्रा र मेला लाग्ने गर्छन्।

लाग्छ; सहरमा जतिसुकै सपिङ कम्प्लेक्स, मल, डिस्को र पवहरू खोलिऊन् असलमा मेला, पर्व र जात्राले नै काठमाडौंलाई जीवन्त राख्दै आएका छन्। प्राचीनता र आधुनिकताको 'फ्युजन' नै काठमाडौंको 'युनिकनेस' हो।

करेसाबारी मासेर सटर थप्दै मुफतमा हात लागेको पैसा विषादी मिसिएको तरकारी खानुमा नै हामी आनन्द मानिरहेका छौं।

विश्व महानगरहरूमध्ये काठमाडौंको एउटा अर्को विशिष्टता यसको भूगोल हो। काठमाडौं उत्रिएको एउटा पर्यटक देवदेवीहरूको आवास अर्थात् देवालयबाट जति आह्लादित हुनसक्छ, यसलाई घेरेका डाँडाकाँडा र उत्तरतर्फ देखिने हिमशृंखलाबाट उत्ति नै रोमाञ्चित बन्नसक्छ। नगरका प्रस्तर गल्ली, ढुंगेधारा, पाटीपौवा, अनगिन्ती मठमन्दिर र विहारहरूले समग्र सहरलाई नै एउटा खुला संग्रहालयको स्वरूप दिएको छ। यसैगरी महानगर भईकन पनि काठमाडौंको आकार स्वयंमा अनुपम छ।

कुनै कार्यक्रममा सरिक हुन वा साथीभाइसँग चियाकफीको बसिबियाँलोका निम्ति पूरै दिन छुट्ट्याउनु पर्ने लन्डन, न्युयोर्क, बेइजिङ वा बम्बईको जस्तो सकस काठमाडौंवासीलाई छैन। तपार्इं सहरको एक कुनादेखि अर्को कुना बढीमा एक घन्टाबीच छिचोल्न सक्नुहुनेछ। यसैगरी तपार्इं यही सहरमा वर्षौंसम्म लुकिरहन पनि सक्नुहुनेछ। आफ्नो सुविधामुताविक देखिन वा लुक्न सकिने, प्रसिद्ध र गुमनाम बाँच्न सकिने काठमाडौं जतिको अदेभुत महानगर विश्व मानचित्रमा विरलै मात्र पाइन्छ।

विश्वका महानगरका लहरमा आधुनिकताका मानकका आधारमा उभिन पनि सक्ने र आफ्नो प्राचीनता र सांस्कृतिक विशिष्टताको मुकुट पहिरिएर छुट्टै चिनारी दिनसक्ने सामथ्र्य सायद काठमाडौंजस्तै थोरै मात्र महानगरहरूसँग हुन सक्ला, संसारमा।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.