प्रसूतिका लागि एयर लिफ्टिङ प्रभावकारी

प्रसूतिका लागि एयर लिफ्टिङ प्रभावकारी

नेपालगन्ज : यो वर्ष कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट ‘जटिल प्रसूती’ का लागि ‘एयर लिफ्टिङ’मार्फत हेलिकोप्टरबाट उद्धार गरी सुत्केरी गराइएका धेरै उदाहरण हुन्। मंसिरमा कालिकोटकी चन्दा शाही ‘एयर लिफ्टिङ’ सेवामार्फत हेलिकोप्टरबाट उद्धार गरी काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा सुरक्षित मातृत्व सेवा लिन सफल भइन्। मुगुकी हैजली चनराले रातापानी स्वास्थ्य केन्द्रबाट बाजुराको कोल्टी हुँदै गत माघमा क्षेत्रीय अस्पताल सुर्खेतमा सुत्केरी गराइन्। हुम्लाकी सुन्दरी कामीले गत फागुनमा नेपालगन्जको भेरी अञ्चल अस्पतालमा सुत्केरी सेवा पाइन्। मुगुकी असारी टमटालाई सुर्खेतस्थित क्षेत्रीय अस्पताल लगेर चैत पहिलो साता सुत्केरी सेवा दिइयो। डोल्पाकी फूलमाया बिकले चैतको अन्तिम साता नेपालगन्जमा सुत्केरी सेवा लिन ‘एयर लिफ्टिङ’ सेवा पाइन्।

प्रदेशका सबै जिल्ला अस्पतालमा अप्रेसन गरेर प्रसूति सेवाको सुविधा भए पनि दुर्गम गाउँबाट सदरमुकाम र जिल्ला अस्पताल पुग्न दुई, तीन दिन लाग्ने भएकाले आमा र नवजात शिशु जोगाउन हेलिकोप्टर प्रयोग बाध्यकारी भएको छ। चिकित्सक वा स्वास्थ्यकर्मीले गरेको ‘रेफर’ बमोजिम स्त्री तथा प्रस्तुति सेवाका विशेषज्ञ चिकित्सक भएका जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेतको मध्यपश्चिम क्षेत्रीय अस्पताल, नेपालगन्जको भेरी अञ्चल अस्पताल र काठमाडौंमा त्रिवि शिक्षण अस्पताललगायत स्वास्थ्य संस्थामा यस्ता महिलालाई सुरक्षित सुत्केरी सेवा दिइन्छ।

यसरी प्रयोग गरिने हेलिकोप्टर र उपचारमा लाग्ने खर्च सरकारले नै बेहोर्छ। त्यसैले कर्णाली प्रदेशका यी जिल्लामा नेपाल सरकार स्वास्थ्य मन्त्रालयको सुरक्षित मातृत्व कार्यक्रमअन्तर्गत ‘एयर लिफ्टिङ’ सेवा प्रभावकारी बन्दै गएको क्षेत्रीय स्वास्थ्य निर्देशनालयको दाबी छ। निर्देशनालयका जनस्वास्थ्य अधिकृत चेतन निधि वाग्लेका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान भएको र अन्य जिल्लाको तुलनामा बाटोको सुविधा भएकाले जुम्लाबाहेक सबै जिल्लामा ‘जटिल प्रसूति’का लागि ‘एयर लिफ्टिङ’ सेवाको खाँचो रहेको छ। निर्देशनालय सेवाका लागि यो वर्ष ३० लाख रुपैयाँ बजेट छुट्याइएकोमा २६ लाख रुपैयाँ खर्च भइसकेको वाग्ले बताउँछन्। ‘नेपालगन्ज वा सुर्खेतमा हेलिकोप्टर सेवा छैन, काठमाडौंबाट मगाउँदा धेरै महँगो पर्छ’, वाग्ले भन्छन्, ‘एउटा केसका लागि लगभग साढे पाँच लाख रुपैयाँ खर्च हुन्छ।’

क्षेत्रीय स्वास्थ्य निर्देशक रीता भण्डारी जोशी सुरक्षित मातृत्वअन्तर्गत हरेक वर्ष कम्तीमा पनि पाँचदेखि सात जनासम्म सुत्केरीले सेवा पाइरहेको बताउँछिन्। उनले भनिन्, ‘हरेक वर्ष सेवा लिनेको संख्या बढ्दो छ। त्यसैले हामीले बजेट पनि बढाउँदै लगेका छौं।’ निर्देशनालयमा अघिल्लो वर्ष १५ लाख रुपैयाँ मात्र छुट्याइएको थियो। बजेट अपुग हुँदा मन्त्रालयले थप तीन जना सुत्केरीका लागि बजेटको व्यवस्था गरेको थियो। दुई वटाको बजेट निर्देशनालयमा पठाइएको थियो। एक जना सुत्केरीको खर्च स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङको पहलमा मन्त्रालयले गरेको थियो। निर्देशनालयले कर्णालीका विभिन्न जिल्लाका सात जना सुत्केरी महिलाको हेलिकोप्टरबाट उद्धार गरेको थियो।

कर्णाली प्रदेशमा कलिलै उमेरमा बिहे र सन्तान जन्माउने, छोराको चाहनाले होस् वा अन्य कारणले पाको उमेरमा दुईभन्दा धेरै सन्तान जन्माउने महिलालाई जटिल प्रसूतिका समस्या रहेको स्वास्थ्यकर्मीहरू बताउँछन्। अर्कोतिर कम्तीमा चार पटक गर्भवती जाँच नगराएरै बच्चा जन्माउने प्रचलनले पनि महिलाले यस्तो समस्या भोग्नुपरेको स्वास्थ्यकर्मीहरू बताउँछन्। जस्तो: मुगुकी असारी टमटाको बच्चा जन्माउने क्रममा बच्चाको हात पहिले निस्किँदा अप्रेसन गरेर बच्चा जन्माउनुपर्ने भएकाले तत्कालै रेफर गरिएको थियो। काठमाडौंबाट हेलिकोप्टर मगाउनुपर्ने भएकाले तत्कालै ‘एयर लिफ्टिङ’ सेवा दिन नसकिने भएकाले पनि सुर्खेत वा नेपालगन्जलाई केन्द्र बनाएर ‘एयर एम्बुलेन्स’ सेवा दिन सके जटिल सुत्केरी मात्र होइन, दुर्घटनाका घाइतेलाई तत्कालै उद्धार गर्न सकिने सुझाव स्वास्थ्यकर्मी वाग्लेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.