सहर र समथरतिर लर्को
संसारमा मानव सभ्यताको आदिकालदेखि नै मानिसको स्थानान्तरण सुरु भएको हो । आर्थिक, सामाजिक, राजनीतिक, प्राकृतिक प्रकोप तथा अवसरको खोजी, विभिन्न चीजको अभाव र दबाबका कारण स्थानान्तरण हुने गर्छ । यो विश्वव्यापी मानवीय चरित्र नै हो । नेपाल पनि यो चरित्रबाट अछुतो छैन । तर रोचक के भयो भने नेपालमा आन्तरिक स्थानान्तरणको तुलनामा पहिले नै बाह्य स्थानान्तरणले व्यापकता र ठूलो आयतन ग्रहण गर्यो ।
सन् १२६० मा कलाकार अरनिकोको नेतृत्वमा ८० जना नेपाली चीनको ल्हासा गएको परिघटनालाई नेपालको सन्दर्भमा पहिलो बाह्य स्थानान्तरणका रूपमा लिन सकिन्छ । यस अर्थमा अरनिको वैदेशिक रोजगारीमा जाने पहिलो नेपाली हुन् भनेर व्याख्या गर्ने ठाउँ प्रशस्त छ । त्यो समयमा बाह्य स्थानान्तरण गर्ने मानिस सीपयुक्त थिए । तर अहिले विज्ञान प्रविधिले चमत्कार गरेको समयमा वैदेशिक रोजगारीमा गएका नेपालीमध्ये अधिकांशले अदक्ष कामदारका रूपमा आफ्नो पसिना बगाइरहेका छन् ।
वीर बलभद्र कुँवर पन्जाबका शिखको निजी फौजमा जागिरका लागि गएको पनि इतिहासमा उल्लेख छ । इस्ट इन्डिया कम्पनी र नेपालबीच सन् १८१६ मा भएको सुगौली सन्धिपछि ठूलो मात्रामा नेपाली युवा फौजमा भर्ना भए । त्यसैको निरन्तरता आजसम्म पनि भारतीय र बेलायती सेनामा नेपाली युवा कार्यरत छन् । साथै पहिलो र दोस्रो विश्वयुद्ध दुवैमा नेपाली युवा बेलायती सेनाका तर्फबाट विश्वका विभिन्न भूभागमा लडाइँमा संलग्न रहे ।
कामको खोजीमा बाह्य स्थानान्तरणको हाम्रो इतिहास झन्डै दुई सय ५० वर्ष आसपास पुगेको छ । तर, विषयको अन्तर्यमा पुगेर हेर्दा बाह्य (वैदेशिक रोजगारी) नै आन्तरिक स्थानान्तरणको प्रमुख कारण हो । परिवारको कुनै एक सदस्य साधनस्रोतको व्यवस्था गर्न वा आयआर्जनका लागि बाह्य स्थानान्तरणमा जाँदा परिवारका अन्य सबै सदस्य शिक्षा, रोजगारी, स्वास्थ्य, सञ्चार र अन्य सुविधाका नाममा ग्रामीण बस्तीबाट सहरतिर स्थानान्तरणमा जाने प्रक्रिया आज पनि छ ।
२००७ सालपछि पहाडबाट तराई झर्नेहरूको लर्को हालसम्म पनि कायमै छ । सन् १९७० को दशकताका नेपालमा आन्तरिक स्थानान्तरण हिमाल र पहाडबाट तराईतर्फ अधिक थियो । तर अहिले हिमाल र पहाडबाट तराई मात्र नभई ग्रामीण भेगबाट सहर, समथर र आर्थिक गतिविधिको तीव्रता हुने स्थानमा केन्द्रित छ । तराई क्षेत्रमा लामखुट्टेको व्यापकता र त्यसको टोकाइसँग फैलिने औलो रोगका कारण औलो उन्मूलन नभएसम्म धेरै हदसम्म सहर र तराईतर्फ स्थानान्तरण थिएन ।
पोखरा आसपास र सेरोफेरोका मानिसहरू पोखरामा औलो लाग्छ भनेर दिउँसोको काम सकेर साँझ बास बस्न डाँडातिर उक्लने वा सम्भव भएसम्म आफ्नै गाउँ फर्कने चलन यसको एउटा उदाहरण थियो । औलोको त्रास वा महामारी यतिसम्म थियो कि केही (१५ किमि) परका गाउँमा मरेका मानिसको लास केही सीमित व्यक्तिहरूले डोकोमा बोकेर सेती नदीमा अन्तिम संस्कार गरेका उक्त क्षेत्रका मानिसहरू बताउँथे ।
२००७ सालपछि पहाडबाट तराई झर्नेहरूको लर्को हालसम्म पनि कायमै छ । सन् १९७० को दशकताका नेपालमा आन्तरिक स्थानान्तरण हिमाल र पहाडबाट तराईतर्फ अधिक थियो । तर अहिले हिमाल र पहाडबाट तराई मात्र नभई ग्रामीण भेगबाट सहर, समथर र आर्थिक गतिविधिको तीव्रता हुने स्थानमा केन्द्रित छ ।
त्यसैले तराईतर्फ घरजम गर्न जानेको संख्या औलो उन्मूलन नभएसम्म त्यति थिएन । तर जब सन् १९५० को दशकमा औलो उन्मूलन घोषणा भयो, तब पहाडबाट तराई झर्नेको लर्को विवाहको जन्तीझैं भयो । यसको प्रत्यक्ष प्रभाव जनसंख्याको भौगोलिक वितरणमा स्पष्ट देखियो । सन् १९७१ सम्म तराईको तुलनामा पहाडको जनसंख्या बढी थियो । तर सन् १९८१ देखि पहाडको तुलनामा तराईको जनसंख्या बढी देखिन थाल्यो भने पूर्वपश्चिम राजमार्गछेउमा कैयौं नयाँ सहर विकास भए ।
देशभित्रको जनसंख्याको स्थानान्तरण विश्लेषण गर्दा ठूलो मात्रामा परिवारहरू बसाइँसराइ गरेको पाइन्छ । किनकि वर्तमानमा धेरै ग्रामीण बस्ती बाह्य स्थानान्तरण (वैदेशिक रोजगारीका) कारण पुरुषविहीन भएका छन् । तर हाम्रो सांस्कृतिक परम्पराका कारण पनि महिलाको स्थानान्तरण वैवाहिक अवस्था र पुरुषको निर्णयमा पनि भर पर्ने गरेको जगजाहेर छ ।
मान्छेको आर्थिक र सामाजिक सम्बन्धका कारण पनि स्थानान्तरण गर्नेको संख्यामा विविधता आएको छ । जस्तो कि आन्तिरक रूपमा स्थानान्तरण हुनेमध्ये तुलनात्मक न्यून आय हुनेहरू मोटरबाटो भएको सहरोन्मुख ठाउँ र नगरपालिका आसपास झरेका छन् । मध्यम आय हुनेहरूले जिल्ला सदरमुकामलाई बसोवासका लागि रोज्छन् ।
त्यसका पछाडि ऐतिहासिक सम्बन्ध र विरासत, शान्तिसुरक्षा, शिक्षा, आर्थिक गतिविधि र यातायात सञ्जालको सहजताले भूमिका निर्वाह गरेका हुन्छन् । नेपालको सन्दर्भमा उदयपुरको कटारी र गाईघाट, रुकुमको रुकुमकोट र खलंगा बजार, तनहुँको बन्दीपुर र दमौली, पाल्पाको तानसेन र रामपुर, संखुवासभाको खाँदबारी र चैनपुर, बैतडीको गोकुलेश्वर र पाटन, अछामको साँफेबगर र मंगलसेन यसका केही प्रतिनिधि उदाहरण हुन् । बाक्लो बस्ती भएका र निरन्तर जनसंख्या वृद्धि भइरहेका सहरअन्तर्गत यी क्षेत्र पर्छन् ।
उच्चशिक्षा, विदेश यात्राको तय, उच्च आय, सक्रिय उमेरसमूह र प्रविधियुक्त विषयमा ज्ञान तथा सीप भएका व्यक्तिले ठूला सहर वा राजधानीतर्फ आफ्नो बसोवासको गन्तव्य बनाएका छन् । जस्तो राजधानी काठमाडौं, पोखरा, भरतपुर, विराटनगर, इटहरीलगायत मुख्य सहर यो समूहमा वर्गीकरण गर्न सकिन्छ । यद्यपि, यी यावत् प्रसंगसँगै पछिल्लो दशकमा घरजग्गाको अत्यधिक मूल्यवृद्धि र महँगो जीवनशैलीले सहरतर्फको स्थानान्तरण ‘आडम्बर’ देखाउने औजार बनेको हो कि भन्नेको मत पनि कमजोर छैन ।
आन्तरिक स्थानान्तरणको हकमा पूर्वाञ्चल (प्रदेश नं १), मध्यमाञ्चल (प्रदेश नं ३) र पश्चिमाञ्चल (प्रदेश नं ४) क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् । त्यसो त बसाइँसराइ गर्ने प्रत्येक १० मा नौ जना ग्रामीण क्षेत्रबाट सहरी क्षेत्रतर्फ गएका छन् । नेपाल जीवनस्तर सर्वेक्षण २०१०÷२०११ ‘क’अनुसार नेपालको जनसंख्याको २० प्रतिशतभन्दा धेरै जनसंख्या आन्तरिक रूपमा स्थानान्तरण भएको देखिन्छ ।
तराई क्षेत्र सबैभन्दा बढी आन्तरिक रूपमा स्थानान्तरण गरेका मानिस बसोवास गर्ने थलो बनेको छ । ग्रामीण बस्तीबाट सहर र सहरबाट बाह्य मुलुकमा मानिसको स्थानान्तरण भइरहेको छ । देशभित्र सबैभन्दा धेरै स्थानान्तरण पूर्वी तराईबाट काठमाडौं उपत्यकामा देखिन्छ । त्यसपछि दोस्रोमा पूर्वी हिमाल र पहाडबाट पूर्वी तराईका साथै सुदूरपश्चिम पहाडबाट सुदूरपश्चिम तराईमा स्थानान्तरणका लागि झर्नेको संख्या पनि उल्लेख्य छ ।
रोचक के छ भने राजधानी आसपासबाट मध्य तराई र मध्य तराईबाट राजधानी काठमाडौंमा स्थानान्तरण हुनेको जनसंख्या पनि उल्लेख्य छ । समग्रमा राजधानी काठमाडौं नै धेरैभन्दा धेरै क्षेत्रका मानिसका लागि स्थानान्तरण भएर आउने पहिलो गन्तव्य बनेको छ । पश्चिम पहाडबाट पश्चिम तराई र मध्यपश्चिम पहाडबाट मध्यपश्चिमकै तराईमा झर्ने पनि ठूलो संख्यामा छन् । स्थानान्तरणको यो स्वरूप नेपालमा निकै लामो समयसम्म चलिरह्यो— औलो उन्मूलन र त्यस आसपासमा भएका केही राजनीतिक परिवर्तनदेखि पछिल्लो समयसम्म ।
तराई क्षेत्र सबैभन्दा बढी आन्तरिक रूपमा स्थानान्तरण गरेका मानिस बसोवास गर्ने थलो बनेको छ । ग्रामीण बस्तीबाट सहर र सहरबाट बाह्य मुलुकमा मानिसको स्थानान्तरण भइरहेको छ । देशभित्र सबैभन्दा धेरै स्थानान्तरण पूर्वी तराईबाट काठमाडौं उपत्यकामा देखिन्छ ।
विशेषगरी २०५२ सालमा सुरु भएको सशस्त्र द्वन्द्वका कारण ग्रामीण बस्तीबाट आन्तरिक र बाह्य बसाइँसराइ भएको छ । शान्तिसुरक्षाको खोजीमा ठूलो संख्यामा मानिस सहरतिर सरेका छन् । पहिलो संविधानसभा निर्वाचनअघि भएको मधेस आन्दोलनपछि पहाडी समुदायका मानिस खास मधेसको भूगोलबाट चुरे आसपास, राजधानी, चितवनलगायत स्थानमा बसाइँ सरेका छन् । यद्यपि, समग्रमा तराई क्षेत्र नै आन्तरिक स्थानान्तरण गर्नेहरूका लागि पहिलो गन्तव्य बनेको छ ।
हाम्रोजस्तो रोजगारी अभाव भएको मुलुकमा कामको खोजीका लागि सबैभन्दा ठूलो आयतनमा जनसंख्याको स्थानान्तरण सहततिर हुने गरेको छ । बसाइँसराइका लागि जागिरपछि शिक्षा दोस्रो महŒवपूर्ण जिम्मेवार तत्व हो । यद्यपि पछिल्लो समय जलवायु परिवर्तन र प्राकृतिक विपद् तथा संकटका कारण पनि स्थानान्तरण हुने जनसंख्या ठूलो छ ।
आन्तरिक स्थानान्तरण÷बाहिरी स्थानान्तरण (वैदेशिक रोजगार)ले नेपाली समाजमा केही तत्कालीन र दीर्घकालीन प्रभाव पारेको छ । स्थानान्तरणले हाम्रा गाउँबस्ती उजाड हुँदै छन् भने काम गर्ने जनशक्तिको अभाव भई जमिन बाँझो हुने क्रम बढेको छ । यसले कृषि उत्पादनमा ह्रास ल्याएको छ भने कृषिजन्य र खाद्यान्न आयात ह्वात्तै बढेको छ । बाहिरी स्थानान्तरणका कारण विप्रेषण आप्रवाहमा वृद्धि भई देशमा गरिबीको रेखामुनि हुनेको जनसंख्या ४२ बाट २५ प्रतिशतसम्म झरेको छ । जनशक्ति अभावले मलामी जानसमेत पर्याप्त पुरुष नपाइने अवस्था छ ।
गाउँबाट सहर र समथरतिरको स्थानान्तरणले एकल परिवार (आमाबाबु र छोराछोरी मात्र) को वृद्धि हुँदै सयुंक्त परिवारको संरचना र हाम्रो संरचना जबर्जस्ती भत्किँदै छ । बाहिरी स्थानान्तरणले श्रीमान् श्रीमती लामो समयसम्म अलग्गै बस्नुपर्ने बाध्यताले गर्दा पनि महिलाको प्रजनन दर घटेर पछिल्लो जनगणनासम्म आइपुग्दा २.१ प्रतिशतमा झरेको छ, जुन सकारात्मक प्रभाव हो । बजार र राजमार्गआसपासमा घरघडेरीको मूल्य ह्वात्तै बढ्नु अर्को प्रभाव हो ।
राणाकालमा पहाडमा हुने गरेको मुखिया प्रथा र त्यहाँ राज्यले लगाउने चर्को करबाट मुक्ति पाउन पनि केही मात्रामा मानिस राणाकालमै पहाड र हिमालबाट दक्षिणको समथर भूभागमा स्थानान्तरण भएको पाइन्छ । राणाकालमा पहाड र हिमालमा जस्तो मुखिया प्रथा र चर्को करको व्यवस्था तराई क्षेत्रमा नभएको हुँदा पनि मानिस तराईतर्फ स्थानान्तरणका लागि आकर्षित भएका थिए ।
राणाकालमा राज्यका अधिकारीले अत्यधिक कर लिने, बलजफ्ती, सित्तैमा काम लगाउने, जग्गाजमिन खोसिदिनेजस्ता कारणले पनि धेरै नेपाली पलायन भएका थिए । उक्त समयमा मुख्यतः तत्कालीन छिमेकी देश सिक्किम, भुटान र भारतमा सानो कृषि कर्मका लागि सित्तैमा जग्गा उपलब्ध हुन्थ्यो । त्यसैले त्यहाँ बगानको विकास र वृक्षरोपणको सुरुवात हुने समयताका केही रोजगारीका अवसर सिर्जना भए । र, मानिस त्यहाँ स्थानान्तरण भए ।
माथि उल्लेख गरिए झै औलो उन्मूलनपछि पहाड र हिमालतिरबाट मानिसहरूको स्थानान्तरण व्यापक मात्रामा भएको थियो भने तत्कालीन समयमा राज्यले पनि स्थानान्तरणको सो प्रवृत्तिलाई रोक्ने कुनै अवस्था थिएन ।
पूर्वपश्चिम राजमार्गको निर्माणसँगै समथर भूभागतिर झर्ने क्रमले व्यापक गति लियो । ठूलो संख्यामा शिक्षालय स्थापना हुँदा नेपालको जनसंख्याको ठूलो हिस्सा हिमाली र पहाडी भेगको दाँजोमा तराईमा बढ्दै गयो । यसले जनसांख्यिक असन्तुलन बढदै गएको छ । देशमा सशस्त्र द्वन्द्वको अन्त्यपछि निर्माण सुरु गरिएको मध्यपहाडी लोकमार्गले पनि केही मात्रामा भए पनि आन्तरिक स्थानान्तरणलाई प्र श्रय दिएको छ ।
उक्त लोकमार्ग छेउमा केही सम्भावित सहर पनि देखा परिसकेका छन् । पछिल्लो समय संघीयतामा देश गएपछि सातमध्ये ६ प्रदेशको प्रादेशिक राजधानी तराई क्षेत्रमा राख्ने सरकारले निर्णय गरेको छ । यसले तराईमा जनसांख्यिक असन्तुलन बढ्नेछ । यसको परिणाम राजनीतिक, सामाजिक, आर्थिक र जनसांख्यिक सबै क्षेत्रमा पर्दै जानेछ ।
नेपाल आफ्नो पुरानो राजनीतिक लयबाट नयाँ बाटोमा अगाडि बढेको छ । संघीय व्यवस्थामा गएपछि आर्थिक विकास, आवादी, बजार विकास र त्योसँगै नयाँ आकांक्षाले युक्त मानिसहरूको स्थानान्तरण देख्नेछौं । र, संघीय संरचनामा देश गएको अवस्थामा सहरमुखी आन्तरिक स्थानान्तरण कति रोकिन्छ भन्नेचाहिँ केही समय कुर्नुपर्नेछ । तर हाम्रो सहरमुखी स्थानान्तरणका पछाडि आजसम्म पनि वैदेशिक रोजगारीका लागि भइरहेको स्थानान्तरण नै जिम्मेवार छ । जनसंख्याको सन्तुलित वितरणमा राज्यले ध्यान दिने हो भने रोजगारीका लागि भइरहेको बाह्य स्थानान्तरणको विकल्प स्वदेशमै खोज्नुपर्छ ।
(राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. गुरुङ राष्ट्रिय जनसंख्या परिषद् विज्ञ सदस्य छन्)