यातायात समितिका कर्मचारी पक्राउ

यातायात समितिका कर्मचारी पक्राउ

कालिकोट :  जिल्ला प्रहरी कार्यालय कालिकोटले कर्णाली राजमार्गमा गाडी नचलाउने यातायात समितिका कर्मचारीहरूलाई पक्राउ गरेको छ । गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा जिल्ला प्रहरी कार्यालय कालिकोटले शुक्रबार कर्णाली राजमार्गमा गाडी नचलाएर काउन्टर बन्द गरी बसेका तीन वटा समितिका तीन जना कर्मचारीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय प्रमुख सुवासचन्द्र बोहोेराले गृह मन्त्रालयको निर्देशनअनुसार गाडी नचलाई काउन्टर बन्द गरी बस्ने जिल्ला सदरमुकाम मान्मस्थित काँक्रेबिहार बस व्यवसायी समितिका इन्चार्ज भरत शाही, कर्णाली यातायात व्यवसायी समितिका इन्चार्ज खगेन्द्र खड्का र मध्यपश्चिम बस व्यवसायी समिति जितेका काउन्टर इन्चार्ज कविन्द्र शाहीलाई पक्राउ गरिएको जानकारी दिए । उनले ती बस व्यवसायी समितिका कर्मचारीहरूलाई मन्त्रालयको निर्देशनअनुसार पक्राउ गरिएको बताए । उनले भने, ‘कालिकोट जिल्लाबाट बस छुटाउने मध्यपश्चिम बस व्यवसायी समिति, काँक्रेबिहार बस व्यवसायी समिति र कर्णाली यातायात समितिले शुक्रबार गाडी बन्द गरेका छन् । जिल्लामा रहेका अन्य रारा कर्णाली यातायात, बुलबुले यातायात र देउती यातायात प्रालिका जिपहरू भने सञ्चालनमा छन् ।’

यातायात क्षेत्रमा लामो समयदेखि जरा गाडरे बसेको सिन्डिकेट तोड्ने निर्णय सरकारले गरेपछि आन्दोलित यातायात व्यवसायीहरूको बन्दका कारण कर्णाली राजमार्ग अवरुद्ध हुँदा यात्रुहरू मर्कामा परेका छन् । कालिकोटदेखि सुर्खेत, जुम्ला, नेपालगन्ज, काठमाडौंतिर जाने यात्रुले शुक्रबार कर्णाली राजमार्गमा कालिकोटबाट गाडी नै पाएनन् । बाहिरबाट आएका गाडीहरू मान्ममै रोेकिएपछि यात्रुहरू मर्कामा परेका छन् । जिल्लाको तिलागुफा नगरपालिका वडा नं ४ निवासी खड्गबहादुर शाहीले गाडी नपाएर सुर्खेत जान नपाएको बताए । उनले बिहीबारै तिलागुफाबाट जिल्ला सदरमुकाम मान्म आए पनि शुक्रबार मान्मदेखि सुर्खेतका लागि गाडी नै नचल्दा मान्ममै बस्नुपरेको बताए ।

कर्णाली राजमार्गमा गाडी नचल्दा यात्रुका साथै गाडीधनीहरू आफैं मर्कामा परेका छन् । यातायात समितिको बन्दका कारण जिल्ला सदरमुकाम मान्मको जिरो प्वाइन्टमा रोकिएको गाडीका एकजना गाडीधनीले नाम नबताउने सर्तमा भने, ‘गाडीको किस्ता तिर्ने समय आएको छ, यो कम यात्रु पाउने समयमा पनि बन्द भएपछि गाडीको किस्ता कसरी तिर्ने, ‘समितिहरूले आफ्नो भाग खोसिएको भनेर गरिएको आन्दोलनले आफूजस्ता लगानीकर्ताहरूको लगानी धरापमा पर्ने भयो’, उनले भने, ‘अबको पाँच दिनमा मैले गाडीको किस्ता तिर्नुपर्छ । तर, समितिले गरेको बन्द कति दिनसम्म जाने हो । पाँच दिनमा गाडीको डिजेललगायत अन्य खर्च कटाएर ५६ हजार कसरी जम्मा गर्ने । उनका अनुसार यातायात व्यवसायीले गरेको आन्दोलनको मार गाडीधनीहरूलाई पनि परेको छ । बन्दको समर्थन गर्न मनै नभए पनि बाध्यताले गाडी बन्द गरेर बस्नुपरेको उनले बताए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.