दक्षिण कोरियाबाट सैनिक फिर्ता गर्दै अमेरिका
वासिङटन : अमेरिकाले कोरियाली द्वीपबाट आफ्ना सैनिक फिर्ता गर्ने निर्णय गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षा मन्त्रालय पेन्टागनलाई दक्षिण कोरियामा तैनाथ आफ्ना सैनिक फिर्ताको तयारी गर्न आदेश दिएका छन्।
यसलाई सौदाबाजीका रूपमा नलिन अमेरिकी अधिकारीले आग्रह गरेका छन्। दुई कोरियाबीच तनाव अन्त्य भएमा दक्षिण कोरियामा तैनाथ २८ हजार ५ सय अमेरिकी सैनिकको कुनै प्रयोजन रहने छैन। उत्तर कोरियाबाट दक्षिण कोरियाको सुरक्षा गर्न आफ्ना सैनिक राख्नुपरेको अमेरिकी भनाइ छ। अमेरिकी सैनिक कोरियामा राखेर राज्यको खर्च बढाउन नहुने ट्रम्पको भनाइ रहेको छ। जापानको सुरक्षार्थ मात्र त्यत्रो खर्च गर्नु उचित नभएको ट्रम्पको बुझाइ छ। अमेरिकी सेना तैनाथ भए पनि उत्तर कोरियाली आणविक खतराको त्रास रोक्न नसकेको भन्दै उनको असन्तुटि रहेको छ। हाल अमेरिकाले दक्षिण कोरियामा आफ्ना सैनिकका लागि ८० करोड अमेरिकी डलरभन्दा बढी खर्च गर्ने गरेको छ। त्यति नै रकम दक्षिण कोरियाले बेहोर्दै आएको छ। अमेरिकाले भने पूरै रकम दक्षिण कोरियाले बेहोर्नुपर्ने दबाब दिँदै आएको छ। अमेरिका र दक्षिण कोरियाबीच उक्त खर्चसम्बन्धी सम्झौता यसै वर्षको डिसेम्बरमा सकिँदै छ।
दक्षिण कोरियाबाट पूरै सैनिक फिर्ता गर्ने वा कटौती गर्ने भन्ने विस्तृत जानकारी अमेरिकी अधिकारीले दिएनन्।यसैगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग भेटवार्ताको तिथि निश्चित भएको जानकारी दिएका छन्। यो छिटै घोषणा गरिने उनले सञ्चारकर्मीलाई जानकारी दिए।
ह्वाइट हाउसले मार्चमा ट्रम्पले मे महिनामा नेता किमलाई भेट्ने जानकारी दिएको थियो। ट्रम्पले ट्विट गर्दै उत्तर कोरियाले परमाणु अस्त्र ध्वस्त नगरेसम्म उसमाथि लगाइएको प्रतिबन्ध नहटाइने पनि स्पष्ट पारेका छन्।
दक्षिण कोरियाका राष्ट्रपति ट्रम्पलाई भेट्न जाने
सोल ः दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ताको मिति र स्थान तय भएको छ।
दुई कोरियाका शीर्षस्थ नेताबीचमा भएको शिखर सम्मेलनका बारेमा मुन र ट्रम्पका बीचमा अमेरिकाको वासिङटनमा भेटवार्ता हुन लागेको हो। ट्रम्पको निमन्त्रणामा मुन वासिङटन जान लागेको दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसले शनिबार जनाएको छ। उनीहरूबीच यही मेको २२ तारिखमा वासिङटनमै भेटवार्ता गर्ने तय भएको अधिकारीले बताएका छन्। ट्रम्प र किमको शिखर बैठकअगाडि दक्षिण कोरियाका राष्ट्रपति मुनले ट्रम्पलाई भेटेर दुई कोरियाको शिखर बैठकका बारेमा बताउँदै ट्रम्प–किम वार्ताका लागि सहजीकरण गरिदिन लागेका हुन्।
ट्रम्प र मुनका बीचमा भेटवार्ता गर्ने कुरा दुई कोरियाको शिखर सम्मेलन हुनुपूर्व नै चर्चामा थियो। उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुनबीच गत अप्रिल २७ मा पानमुनजोममा शिखर वार्ता भएको थियो। शिखर वार्ता भएको ठाउँ दुई देशको सीमा क्षेत्रमा पर्दछ। उनीहरूका बीचमा दक्षिण कोरियाको पानमुनजोममा रहेको शान्तिगृहमा बिहानको समयमा झण्डै डेढ घण्टा वार्ता भएको थियो।
बैठकमा दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसहितको दुवै देशका नेताले एकापसमा पटकपटक भेटवार्ता गर्ने र सम्बन्ध थप मजबुत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए।
सन् १९५० देखि ५३ सम्म भएको कोरिया युद्धपछि विभाजित भएको दुई कोरियाको सीमा क्षेत्रमा वार्ता भएको हो। सन् १९५३ मा कोरियाली युद्ध सकिएपछि पहिलोपटक उत्तर कोरियाली नेता दक्षिण कोरिया आएका हुन्।