मधेसी महिलाको सहर भोगाइ

मधेसी महिलाको सहर भोगाइ

मेरो जन्म सप्तरीको दक्षिणी भेगमा पर्ने कनकट्टा गाउँमा भएको हो। गाउँको जमिनदार परिवारमा जन्म भए पनि हाम्रो रहनसहन अत्यन्त सरल थियो। बिहानदेखि बेलुकासम्म घरायसी र कृषिकर्ममै बित्ने गथ्र्यो। गाउँका बालबालिका स्कुल पढ्न जाने, फूलबारी (बगैंचा)मा खेल्ने, पोखरीमा नुहाउने र खेतबारीमा घुम्ने गर्थे। मेरो पनि बाल्यकाल त्यसरी नै बितेको थियो। ग्रामीण समाजमा मनोरञ्जनका लागि नाच, रामलीला हेर्ने, मेला जाने चलन थियो। हामी बालबालिका पनि त्यही नाचको नक्कल गरेर खेल्ने गथ्र्यौं।

कहिलेकाहीँ श्रीमान्– श्रीमतीको अभिनय गरेर बालनाटक पनि गथ्र्यौं। आमा र काकीको सारी चोरेर लगाउने र उहाँहरूजस्तै बन्ने नक्कल गथ्र्यौं। गाउँमा कसैको घरमा मीठोमसिनो खानेकुरा पाकेको छ भने खान जान्थ्यौं। गाउँमा प्रायः सबैले माया गर्थे। गहँको सिजनमा समूह बनाएर बथुवा (बेथे) को साग टिप्न अर्को गाउँसम्म पुग्थ्यौं। आँपको बोटमा चढ्ने र त्यहाँबाट हामफाल्ने, पोखरीमा पौडी खेल्ने हाम्रो दिनचर्या हुन्थ्यो। कसैको बारीमा फलफूल फलेको छ भने सबैले खान्थे। कहिलेकाहीँ मागेर खाइन्थ्यो भने कहिलेकाहीँ चोरेर।

म रूख चढ्न खप्पिस थिएँ। दुब्लोपातलो ज्यान थियो मेरो, जस्तो रूखमा पनि चढ्न सक्ने। कसैको बारीबाट फलफूल चोर्नु पर्‍ यो भने साथीहरूले मलाई नै रूख चढ्न लगाउँथे। ग्रामीण समाज एक किसिमले सहज र सरल थियो। गाउँमा बिहेबारी, भोजभतेर हुँदा सबै मिलिजुली काम गर्थे।

मेरो गाउँबाट सहर लगभग आठ किलोमिटर टाढा थियो, सप्तरी सदरमुकाम राजविराज। त्यति बेला राजविराज जान सार्वजनिक सवारीसाधन थिएनन्। कहिलेकाहीँ हजुरबुवा धान बेच्न र चामल कुटाउन आफ्नै बयलगाडा लिएर जानुहुन्थ्यो। हामी त्यसमै चढेर बजार जान्थ्यौं। बयलगाडा नभएका बेला हिँडेर जानु पथ्र्यो। राजविराजमा पनि हाम्रो घर थियो। प्रायःजसो गाउँका मान्छेहरू खाद्यान तथा लुगाफाटा किनमेल गर्न सहर जान्थे। कहिलेकाहीँ बुवाले हामीलाई पनि सहर लिएर जानुहुन्थ्यो।

एकपटक हिन्दी सिनेमा 'राजा हरिशचन्द्र' हेर्न लानुभएको सम्झना छ। त्यसअघि मैले कहिल्यै पनि सिनेमा हेरेको थिइनँ। सिनेमा हलमा टिकट काट्न निकै भीड थियो। झ्यालको सानो प्वालमा मान्छेको ताँती लागेको थियो। बल्लबल्ल टिकट पाएका थियौं। सिनेमा हलमा भुइँमा बस्ने व्यवस्था थियो। अटेसमटेस गरेर भुइँमा बस्यौं। जब फिल्म सुरु भयो म त छक्क परेँ। कहाँबाट मान्छे आउँदा रहेछन्। माथितिर हेरेँ अनि अनुमान लगाएँ, सायद माथि लुकेर बसेको हुनुपर्छ।


राजविराजमा स्कुल भर्ना भएपछि आमाले मलाई पनि चप्पल किनिदिनुभयो। बढ्ने उमेर भएकाले धेरै दिन टिक्ने गरी खुट्टाभन्दा अलिक ठूलो चप्पल। अरू बेला त ठिकै थियो तर वर्षामा चप्पलको पछाडिको भागले हिल्लो छ्याप्थ्यो।

अगाडिको ठूलो पर्दामा कहिले दाहिने तर्फबाट त कहिले देब्रे तर्फबाट मानिसहरू आउँथे। पहिलो सिनेमामा ठूल्ठूला मानिस देखेको बाहेक केही याद छैन। सहरमा ठूलाठूला घर, फराकिलो बाटो, साइकलको ताँती देखेर मन रोमाञ्चित भएको थियो। राजविराजको सिरहा रोडमा एउटा चार तलाको चिटिक्क परेको घर थियो। सबैले भन्थे यो मुसाई दासको घर हो। म फर्कीफर्की त्यो घर हेर्थें र मनमनै सोच्थेँ— यस घरमा बस्ने मान्छे कति भाग्यमानी होला। म पनि सहरमा बस्ने कल्पना गर्थें। बुवाले मलाई र दिदीलाई मिडो (युवतीले लगाउने लुगा) किनिदिनु हुन्थ्यो र सिंगहारा (समोसा) खुवाउनु हुन्थ्यो।

मेरो गाउँमा ७ कक्षासम्म मात्रै पढाइ हुने स्कुल थियो। मेरा समकक्षी केटी साथीहरूले ५ कक्षा नपुग्दै पढाइ छाडेका थिए। मलाई पढाइमा बढी रुचि भएकाले ७ कक्षा पढेपछि अगाडि पढ्न सहर (राजविराज) जाने निधो गरेँ। कक्षा ८ मा पढ्न राजविराज गएँ, त्यहाँ सबैले चप्पल लगाएका थिए। गाउँका हामी सबै खाली खुट्टा स्कुल जान्थ्यौं। राजविराजमा भर्ना भएपछि आमाले मलाई पनि चप्पल किनिदिनुभयो। बढ्ने उमेर भएकोले धेरै दिन टिक्ने गरी खुट्टाभन्दा अलिक ठूलो चप्पल किनिदिनुभयो।

अरू बेला त ठीकै थियो तर वर्षामा चप्पलको पछाडिको भागले हिल्लो छ्याप्थ्यो। नेपाली लेख्न आउँथ्यो तर बोल्न आउँदैन थियो। गाउँको स्कुलमा सबै विषय मैथिली भाषामै पढाइ हुन्थ्यो। विद्यार्थी र शिक्षक सबै मैथिली नै बोल्थे। मैले नेपाली बोल्न नजान्दा साथीहरूले स्कुलमा गिज्याउँथे। त्यति बेला आफू अरूभन्दा फरक रहेको र सहरभन्दा गाउँ नै ठीक भन्ने भावना मनमा पटकपटक आएको सम्झना छ।

राजविराजको स्कुलमा धेरैजसो सहरकै विद्यार्थी थिए। उनीहरूको लुगा चिटिक्क परेको हुन्थ्यो र कपाल पनि फरर। साथीहरूको कपाल टलक्क टल्केको थियो भने मेरो चिपचिप। एक दिन एकजना साथीलाई सोधेँ, 'तिमीहरूको कपाल कसरी फरर छ ? मेरो किन यस्तो ?' उनले भनिन्, 'कपालमा सेम्पु लगाऊ, तिम्रो पनि कपाल फरर हुन्छ। हरबल सेम्पु आउँछ, त्यो सस्तो पनि हुन्छ र धेरै टिक्छ। बरु किन्ने बेलामा म पनि तिमीसँग गइदिऊँला।' यो सेम्पु भन्ने शब्द मैले पहिलोपटक सुनेकी थिएँ।

गाउँमा सधैं माटोले (घरआँगन पोत्ने एक विशेष प्रकारको माटो) कपाल धुने बानी, सहरमा आएर सेम्पु किन्नु पर्‍यो। आमा बजार आएको बेला पैसा मागेर हरबल सेम्पु किनेँ र लगाए। वास्तवमा सेम्पुले कपाल धोएपछि कपाल त फरर भएछ। आफ्नै कपाल हेरेर म फुरुंग भएकी थिएँ। त्यस्तै एकचोटि गर्मीयामको बेला छिमेकीको घरमा जाँदा टेबुल पंखा देखेको थिएँ, जुन चारैतिर घुम्थ्यो। मेरा लागि त्यो अनौठो चीज थियो। पंखा जताजता घुम्थ्यो म पनि त्यतैत्यतै घुम्थेँ र हेरेर छक्क पर्थें।

गाउँभन्दा सहरको जीवन सहज र मनोरञ्जक थियो। विस्तारै साथीहरूसँग कहिलेकाहीँ फिल्म हेर्न जान थालेँ। अजय देवगन र दिव्या भारतीको कुनै पनि फिल्म छुट्टाउँदैनथेँ। उनको लुगा र कपालको नक्कल गर्न थालेँ। गाउँमा बस्दाकी एउटी साधारण केटी सहरमा आएर आधुनिक बन्नेतिर लागेकी थिएँ। तर, सहरबजारमा गाउँजस्तो आफ्नोपन थिएन। सहरमा पैसाले जे पनि किन्न पाइने तर पैसा नहुनेका लागि रित्तो जिन्दगी हुन्थ्यो। हरेक चिज किन्नु पर्ने गाउँको जस्तो सित्तैमा केही पनि नपाइने।

सहरमा पैसाले जे पनि किन्न पाइने तर पैसा नहुनेका लागि रित्तो जिन्दगी हुन्थ्यो। हरेक चिज किन्नु पर्ने गाउँको जस्तो सित्तैमा केही पनि नपाइने।

२०५० सालमा राजविराजबाट एसएलसी पास गरेर नर्सिङ पढ्न सप्तरीकै भारदह गएकी थिएँ। भारदह राजविराजभन्दा सानो सहर थियो। नर्सिङको पढाइ सकेर पहिलोपटक आउट जब ट्रेनिङ (ओजेटी)का लागि इटहरी गएकी थिएँ। त्यहाँ राजविराजभन्दा फरक वातावरण थियो। इटहरी जाँदा बाटोमा पहिलोपटक चाउचाउ किनेर खाएकी थिएँ। इटहरी त्यति बेला सानो बजार जस्तो देखिए पनि राजविराजभन्दा बढी आधुनिक थियो। इटहरीमा केटीहरूले जिन्स पाइन्ट लगाउने, कपाल काट्ने र केटा साथीसँग हिँड्नु सामान्य थियो। तर, राजविराजमा यस्तो गर्नु अपाच्य थियो। त्यहाँ बस्दा मैले पहिलोपटक ममको नाम सुने।

इटहरीको ओजेटीमा हामी ६ जना केटी साथीको समूह थियो। ६ जनामध्ये म मात्रै मधेसी समुदायकी थिएँ, अरू सबै पहाडी समुदायका थिए। मम खानु, जिन्स लगाउनु उनीहरूका लागि सामान्य थियो तर मेरा लागि घरबाट बाहिर एक्लै बस्नु पनि ठूलो विषय थियो। इटहरीमा एउटा निकै नाम चलेको रेस्टुरेन्ट थियो, काजल। हामी ६ जना साथीले घरबाट पठाएको महिनाको खर्चबाट जोगाएर राखेको पैसाबाट एक दिन मम खाने निधो ग¥यौं। त्यति बेला एक प्लेट चिकेन ममको ६० रुपैयाँ पथ्र्य‍ो, जुन हामीजस्ता विद्यार्थीका लागि निकै महँगो थियो। तर पनि एकचोटि मम कस्तो रहेछ भन्दै चाख्ने योजना बनाएका थियौं हामीले।

शनिबारको दिन, नुहाइधुवाइ गरेर २ बजेतिर हामी काजल रेस्टुरेन्ट पुग्यौं। मलाई लागेको थियो, त्यहाँ जाने बित्तिकै मम पाइन्छ। तर, त्यहाँ त अर्कै व्यवस्था थियो। पहिला अर्डर गर्नुपर्ने, अनि मात्रै मम बनाइने रहेछ। हामी चिकेन मम अर्डर गरेको लगभग आधा घन्टापछि मम आयो। आधुनिक प्लेट र काँटा चम्चासहित। जीवनमा पहिलोपटक काँटा चम्चा देखेको थिएँ। कसरी चलाउने थाहै थिएन। एकजना साथीले भन्यो मम काट्नु पर्दैन, सिंगै खानुपर्छ र तात्तातै खानुपर्छ अनि मात्रै मीठो हुन्छ।

मैले पनि त्यही गरें। तर, मम यति धेरै तातो थियो कि मुखमा राखेपछि मुख पोल्यो। निल्नु न ओकल्नु भएको थियो। हत्तपत्त पानी खाएँ। तर, मम धेरै नै स्वादिष्ट थियो। ओजेटी सकेर विराटनगरमा जागिर गर्न थालेँ। इटहरी र विराटनगरमा राजविराजभन्दा फरक समाज र संस्कृति रहेको अनुभव भयो। युवतीहरू जागिर गर्ने, साइकल चढ्ने सामान्य थियो। त्यहाँको समाज निकै नै खुला थियो। त्यसको तुलनामा राजविराज अलि संकुचित। इटहरी र विराटनगर जति नै विकसित रहे पनि मलाई आफ्नोपनको महसुस हुँदैनथ्यो। जसरी राजविराजमा बस्दा निर्धक्कसँग बस्थेँ, त्यस्तो आफ्नोपन महसुस मैले इटहरी र विराटनगरमा गर्न पाइनँ।

लगभग तीन वर्षको इटहरी र विराटनगर बसाइपछि २०५५ सालमा देशकै ठूलो सहर काठमाडौं आएँ। काठमाडौं आउनुको मेरो मूल उद्देश्य थियो, उच्च शिक्षा हासिल गर्नु। काठमाडौंप्रति मेरो मनमा अनेकौं चित्रहरू कोरिएका थिए। मेरो सपनाको सहर पनि थियो यो। पशुपतिनाथको मन्दिर, स्वयम्भू, सिंहदरबार र राजदरबारबारे बुवाको मुखबाट धेरै कुरा सुनेकी थिएँ। काठमाडौं आएको केही दिनपछि म ताहाचल कलेजमा आईएडमा भर्ना भएँ। काठमाडौंबाहिर हुँदा म आफूलाई निकै एड्भान्स ठान्थेँ तर यहाँ आएपछि मेरो त्यो भ्रम चकनाचुर भयो। काठमाडौंमा त जस्तोसुकै पढेलेखेकाले पनि मधेसीलाई हेप्ने गरेको अनुभव मैले गरेँ।

मधेसी समाजको एउटा तप्का काठमाडौं वा राज्यमा परिवर्तन चाहन्छ तर आफू र आफ्नो परिवारमा परिवर्तन चाहँदैन।

म कुर्तासुरुवाल र पायल लगाएर कलेज जान्थेँ। मेरो पायल देखेर मेरा समकक्षी र शिक्षकले पायलिया गीत गाउँदै जिस्क्याउँथे। त्यसपछि मैले कलेज जाँदा कहिल्यै पनि पायल लगाइनँ। साथीहरूले मलाई भारतबाट आएको इन्डियन भन्थे, कतिपयले त मस्र्या पनि भन्थे। मलाई साह्रै दुःख लाग्थ्यो। आफ्नै देशको राजधानीमा म किन हेपिएको छु ? यो देशले अझै पनि मधेसीहरूलाई आफ्नो देशको नागरिक किन ठान्दैन ?        मेरो मनमा यस्ता प्रश्नहरू पटकपटक आउँथे।

काठमाडौंबाहिर हुँदा लाग्थ्यो— म धेरै राम्रो नेपाली बोल्छु, पढ्नमा अब्बल छु, आधुनिक लुगा लगाउँछु तर काठमाडौं आएपछि थाहा भयो— म यो देशका लागि फरक प्राणी रहेछु। यसरी प्रत्यक्ष रूपको विभेद मैले कहिल्यै भोगेकी थिइनँ। अनि मनमनै सोच्थेँ— यो सहर मात्रै ठूलो र आधुनिक रहेछ, यहाँ बस्ने मान्छेहरूको मन धेरै संकुचित र विभेदित।

काठमाडौं बस्दा मैले अनुभव गरेँ— यहाँ कसैलाई कसैको मतलब छैन। सँगै बस्ने छिमेकीबीच पनि बोलचाल नहुने, जुन मेरो लागि अनौठो अनुभव थियो। जब कि मधेसमा छिमेकीबीच घनिष्ठ सम्बन्ध हुन्छ। जति मिल्ने र मीठो कुरा गर्ने साथी भए पनि आत्मीयता नहुँदो रहेछ। यस्तै आरोह र अवरोहबीच मैले काठमाडौंमा १० वर्ष बिताएँ। त्यसपछि जब म सार्वजनिक जीवनमा आएँ। अर्थात् मधेस र महिलाको पक्षमा लेखपढ र वकालत गर्न थालेँ, मलाई विभिन्न सेमिनार, गोष्ठीहरूका लागि निम्तो आउन थाल्यो।

त्यहाँ भेटेका साथीहरू यसरी गला मिल्थे, मानौं कहिल्यै नछुट्टिने सम्बन्ध छ। तर, त्यही साथी वा व्यक्ति अर्को सभा सेमिनारमा भेट्दा कहिलेकाहीँ बोल्दा पनि बोल्दैनथे। घरमा आएर यो कुरा श्रीमान्लाई सुनाउँदा उहाँ भन्नुहुन्थ्यो, 'हामी गाउँबाट आएकाहरू बढी इमोसनल हुन्छौं। सहरकाहरू बढी प्रोफेसनल हुन्छन्।' वास्तवमा हो रहेछ। कसैसँग कुनै काम लिनु छ भने पटकपटक भेट्ने, फोन गर्ने तर काम सकिएपछि वास्तै नहुने। यस्तै अनुभवका बीच म पनि यस्तै माहोलमा अभ्यस्त भएँ।

मधेस र महिलाबारे बोलिरहँदा र लेख्दा मेरो आफ्नै किसिमको पहिचान बन्दै गयो। आजको मितिमा काठमाडौंको समाजले मलाई एक महिला एक्टिभिस्टका रूपमा स्वीकारिसकेको भए पनि मधेसी समाजकै एउटा तप्काले शंकाको नजरले हेर्ने गरेको पाउँछु। मैले गर्ने काममा मधेसकै केही मानिस अनेक आरोप लगाउँछन्। काठमाडौंमा बस्ने केही मधेसीका लागि म फरक जन्तु भएकी छु। मेरा विचारहरूको प्रतिवाद गरे त चित्त दुख्ने थिएन तर उनीहरू मेरो लुगा, कपाल र मेरो लवाइखवाइमाथि टिकाटिप्पणी गर्छन्।

भाषणमा मधेसमा महिलालाई अगाडि बढाउनुपर्छ भन्छन् तर कतिपयले व्यवहारमा त्यो कुरा आत्मसात् गर्न चाहँदैनन्। कतिपयले त संस्कारहीन 'फटा पेन्ट' महिला अधिकारकर्मी भन्दै सामाजिक सञ्जालमा टिकाटिप्पणी गरेका छन्। मधेसी समाजको एउटा तप्का काठमाडौं वा राज्यमा परिवर्तन चाहन्छ तर आफू र आफ्नो परिवारमा परिवर्तन चाहँदैन।

समानताका लागि आन्दोलन गर्छन् तर आफ्नै समाजमा समानताको वकालत गर्नेलाई विभिन आरोप लगाएर चरित्र हत्यासम्म गर्न पछि पर्दैनन्; जसको भुक्तभोगी म स्वयं छु। काठमाडौंजस्तो सहरमा बस्नेहरूका पनि यस्ता संकुचित विचार देखेर म छक्क पर्छु। यसरी हेर्दा सप्तरीको एउटा गाउँबाट राजविराज, इटहरी, विराटनगर हुँदै काठमाडौंसम्मको यात्रामा मैले धेरै राम्रा, रोमाञ्चक र केही तीता भोगाइ सँगालेकी छु।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.