रोडमा मात्र न्यु होइन न्युरोड !
'अहिले न्युरोडमा जग्गाको भाउ के छ ? ' प्रश्न सुनेर न्युरोड क्षेत्रसमेत रहेको वडा नम्बर २२ का वडाध्यक्ष चिनीकाजी महर्जन अलमलिए। न्युरोडमा अहिले न कसैले जग्गा बेच्छ, न कसैले किन्छ। सबैभन्दा प्रमुख कुरो त न्युरोडमा किनबेचका लागि जग्गा नै छैन। यस्तो अवस्थामा जग्गाको भाउ सोध्नु आफैंमा अनौठो प्रश्न थियो।
तैपनि केही वर्षअघि न्युरोडमा भएको एउटा घरको बिक्री सम्झँदै उनले अनुमान लगाए, 'सायद आनाको सात करोड जति पर्छ होला।' यति बेला न्युरोडको मूल्य कति माथि पुगिसकेको छ, यहाँको जग्गाको यो अनुमानित भाउले पनि बताउँछ। न्युरोड यति बेला देशकै सर्वाधिक चल्ती र महँगो ठाउँका रूपमा परिचित छ।
'न्युरोड'को मौलिक नाम न्युरोड होइन। यसको पुरानो नाम त पाको पुखुलद्यांग हो। जुन बेला त्यहाँ पाको पुखुलद्यांग थियो त्यति बेला कुनै रोड बनिसकेको थिएन। जब रोड बन्यो त्यसैको नामबाट 'न्युरोड' बन्यो, र पाको पुखुलद्यांग हरायो। नयाँ सिर्जना हुँदा पुरानो लोप हुनु विकासकै एउटा स्वाभाविक प्रक्रिया हो जुन न्युरोडमा पनि लागू भयो।
न्युरोड काठमाडौंकै पुराना रोडहरूमध्येको एक हो। तर, यसको चमक यति तेजोन्मय छ कि काठमाडौंमा अहिले धेरै नयाँ रोडहरू बनिसक्दा पनि साँच्चै 'न्युरोड'को शान र गरिमा भने अहिले पनि यही रोडले धानिरहेको छ। जहिले गए पनि 'न्यु'को ताजगी देखिइरहनु नै न्युरोडको अनौठो विशेषता हो।
१९९० सालको भूकम्प आउनु अघिसम्म यो ठाउँमा बाटो बनेकै थिएन। खिचापोखरीदेखि हाल रञ्जना मल रहेको फसिकेबसम्म जाने एउटा गोरेटो थियो। त्यही गोरेटो हुँदै इन्द्रचोकसम्म पुग्न सकिन्थ्यो। टोलको नाउँ नै पुखुलद्यांग भएजस्तै त्यहाँ केही पुखु अर्थात् खुला पोखरीहरू थिए। ९० सालको भूकम्पले यो पूरा क्षेत्रको कायापलट गरिदियो। हुन त ९० सालमा देशमा राणाशासन थियो। तर, त्यति बेला आएको महाभूकम्पपश्चात् द्रुत गतिले राहत, उद्धार र पुनर्निर्माणको कार्य भयो।
त्यो गएको ०७२ सालवाला महाभूकम्पको भन्दा धेरै गुणा उच्चस्तरीय थियो। कुनै विदेशीको सहयोग लिइएको थिएन। घर बनाउन सर्वसाधारण जनताले लिएको ऋणसमेत पछि मिनाहा गरियो। त्यही बेला काठमाडौं नगरलाई नै नयाँ रूप दिन नगरको बीच भागमा चारैतिर छुने गरी एउटा फराकिलो बाटो बनाइएको थियो जो अहिले 'न्युरोड'को नामले परिचित छ।
बनाउँदा यसको नाम 'जुद्ध सडक' थियो। प्रधानमन्त्री जुद्धशमशेरले बनाएको कारणले सडकको नामै 'जुद्धसडक' हुन पुग्यो। चौबाटोको बीचमा जुद्धशमशेरकै सालिक थियो। सालिकसँगै जुद्धशमशेरले नै स्थापना गरेको 'जुद्ध बारुणयन्त्र' नामको दमकल सेवा पनि थियो। तत्कालीन काठमाडौंका लागि त्यो सडक यति फराकिलो थियो कि मानिसहरू जुद्धशमशेरको बुद्धि बिग्रेर त्यत्रो बाटो बनाएको समेत भन्ने गर्थे।
पञ्चायतकालमा पीपलबोट नै त्यस्तो एउटा ठाउँ थियो जहाँ पुगेपछि सबै भूमिगत पार्टीका नेताहरू भेट्न सकिन्थ्यो। नेतालाई भेटेपछि कुनै न कुनै नयाँ कुरा आइहाल्छ। त्यसैले राजधानीबाट प्रकाशित हुने सबैजसो पत्रिकाका सम्पादकहरू पनि 'स्कुप' खोज्न पीपलबोट धाइरहेका हुन्थे।
तर, यो ठाउँ केबल रोडकै कारणले मात्र 'न्युरोड' भएको भने होइन। यहाँ रोडबाहेक अरू पनि त्यस्ता धेरै कुराहरू छन् जो तत्कालीन नेपालकै लागि नितान्त 'न्यु' थियो। यहाँ सडक बनाएपछि मानिस हिँड्न भनेर छुट्टै पेटीको पनि व्यवस्था गरिएको थियो। पेटीसमेत भएको नेपालकै पहिलो रोड पनि न्युरोड नै हो।
रोडको छेउछेउमा बनेका नयाँ घरहरू पश्चिमा देशहरूमा जस्तै एउटै डिजाइनमा बनाइएको थियो। यसरी समान आकारका घर बनाउने चलन पनि न्युरोडबाटै सुरु भएको हो। अहिले जुद्धशमशेरको सालिकदेखि इन्द्रचोकसम्म त्यसको एउटा अंश देख्न सकिन्छ।
नयाँ शैलीमा नयाँ बस्ती बनेपछि त्यसको बीच भागमै खुला ठाउँ चाहिन्छ भन्ने सोचले एउटा पार्क पनि बनाइयो, भूगोल पार्क। यो पार्क नेपालकै पहिलो व्यवस्थित पार्क हो। उपत्यकामा प्राचीनकालदेखि नै बस्ती बनाउँदा बीचबीचमा बहाल, बही, ननी, चोक आदि खुला स्थान राख्ने चलन रहेको देखिन्छ। आधुनिक शैलीको पार्कमा चाहिँ न्युरोडको भूगोल पार्क नै पहिलो हो।
नयाँ बस्ती बसाएपछि आगजनीजस्तो दुर्घटना भए तुरुन्त नियन्त्रण गर्नुपर्छ भनी न्युरोडमै पहिलोपटक दमकल सेवा पनि सुरु गरिएको थियो। जुद्ध वारुणयन्त्र नामको त्यो दमकल सेवा अहिले पनि सञ्चालित छ। दमकल मात्र होइन, न्युरोडका विभिन्न ठाउँमा आपत्कालीन अवस्थामा पानी तान्न सकिने 'फायर हाइड्रेन्ट'को व्यवस्थासमेत गरिएको थियो। नेपालमा पहिलोपटक फायर हाइड्रेन्ट राखिएको न्युरोडमै हो। आपत् परेको बेला यहाँ पाइप घुसाएर पानी तानेपछि आगो निभाउन सकिने गरी फोहोरा निस्कन्छ। राणाकालमै व्यवस्था भइसकेको यो आधुनिक सुविधा अहिले 'स्मार्ट सिटी'मा पनि पुनः फर्केलाजस्तो देखिँदैन।
नेपालको पहिलो सार्वजनिक सिनेमाघर पनि न्युरोडमै स्थापना गरिएको थियो। 'जनसेवा' नामको त्यो सिनेमाघर पछि एउटा काण्डमा आगो लगाई ध्वस्त पारियो। यो सिनेमाघरको नाम कतिसम्म लोकप्रिय छ भने अहिले त्यही ठाउँमा खडा गरिएको वडा प्रहरी कार्यालयको नामसमेत 'जनसेवा प्रहरी कार्यालय' राखिएको छ।
त्यही जनसेवा हल रहेको खुला ठाउँमा पछि सरकार आफैंले विशालबजार नामको व्यावसायिक मल खोल्यो। विशालबजार नेपालकै पहिलो बिजनेस मल हो। अहिले न्युरोड क्षेत्रमा मात्रै यस्ता बिजनेस मलको संख्या बीसभन्दा माथि पुगिसकेको छ।
पालमा साइकल चढ्ने मानिससमेत भेट्टाउन गाह्रो हुने समयमा यही न्युरोडमा पहिलोपटक मोटरसाइकल भाडामा दिने पसल खोलिएको थियो भने मोटरसाइकलमा पेट्रोल हाल्ने पहिलो पेट्रोल पम्प 'नेपाल आयल स्टोर' पनि न्युरोडमै खोलिएको थियो।
त्यति मात्र होइन, नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड न्युरोडमै खोलिएको थियो। यही बैंकमार्फत नेपालको आर्थिक विकास आरम्भ भएको मानिन्छ। नेपालमा साइकल चढ्ने मानिससमेत भेट्टाउन गाह्रो हुने समयमा यही न्युरोडमा पहिलोपटक मोटरसाइकल भाडामा दिने पसल खोलिएको थियो भने मोटरसाइकलमा पेट्रोल हाल्ने पहिलो पेट्रोल पम्प 'नेपाल आयल स्टोर' पनि न्युरोडमै खोलिएको थियो।
यसरी काठमाडौंलाई आधुनिक सहरमा रूपान्तरण गर्ने कार्यको धेरैजसो पहिलो काम न्युरोडबाटै सुरु भएको पाइन्छ। न्युरोडको बीचमै अहिले पनि एउटा ठूलो पीपलको रूख छ। त्यो पीपलको बोट त्यहाँ कहिलेदेखि थियो भन्नसक्ने मानिस अहिले छैनन्। ९० सालको भूकम्प आउनुअघिसम्म उक्त पीपलबोटको चौतारीमै जोडेर एउटा सत्तल बनाइएको थियो। त्यो सत्तलमा स्थानीय मानन्धरहरूको गुठीगानासम्बन्धी काम हुन्थ्यो। न्युरोड बनाएपछि पीपलबोटलाई छुट्टै राखियो। र, मानन्धरहरूको गुठीघरलाई अलि परतिर सारियो। न्युरोडलाई अहिलेको अवस्थामा पु¥याउन उक्त पीपलबोटको पनि योगदान रहेको मान्न सकिन्छ।
२००७ सालमा प्रजातन्त्र स्थापना भएपछि राजधानीमा पत्रपत्रिका प्रकाशनको लहर नै चल्यो। नेपालकै जेठो पत्रिका 'गोरखापत्र' छापिने प्रेस न्युरोडमै थियो। सरकारले खोलेको राष्ट्रिय संवाद समितिको कार्यालय पनि न्युरोडमै थियो। यो संवाद समिति नै पछि गएर आजको राष्ट्रिय समाचार समिति बनेको हो। अरूतिर छापिने पत्रपत्रिकाहरू पनि त्यही पीपलबोटमा बेच्न ल्याइन्थ्यो। पत्रिका किन्न विभिन्न पार्टीका नेताहरू यही पीपलबोट पुग्थे। र, नेतालाई भेट्न कार्यकर्ताहरू पनि न्युरोडमै आउने गर्थे।
यसरी पीपलबोट सार्वजनिक जीवनमा अभ्यस्त मानिसहरू एकआपसमा भेटघाट गर्ने र राजनीतिदेखि आर्थिक नीतिसम्मको विषयमा बहस गर्ने प्रमुख थलोसमेत बनेको थियो। पञ्चायतकालमा पीपलबोट नै त्यस्तो एउटा ठाउँ थियो जहाँ पुगेपछि सबै भूमिगत पार्टीका नेताहरू भेट्न सकिन्थ्यो। नेतालाई भेटेपछि कुनै न कुनै नयाँ कुरा आइहाल्छ।
त्यसैले राजधानीबाट प्रकाशित हुने सबैजसो पत्रिकाका सम्पादकहरू पनि 'स्कुप' खोज्न पीपलबोट धाइरहेका हुन्थे। उता छेउछाउमा खोलिएका चिया र कफी पसलहरूमा साहित्यकारहरूको अर्को गोष्ठी पनि चलिरहेको हुन्थ्यो। नेपाली साहित्यमा प्रयोग भएका कतिपय नयाँ वाद र सिद्धान्तहरू न्युरोडको पीपलबोटमै फलेको यथार्थ ती वाद चलाउने साहित्यकारहरू सगौरव बताउने गर्छन्।
बहुदलीय व्यवस्था आएपछि एमालेले उनलाई राष्ट्रियसभाको सदस्य निर्वाचित गरेको थियो। उनै गोल्छे सार्कीले एकपटक कांग्रेस नेता रामचन्द्र पौडेललाई राष्ट्रियसभाभित्रै गाला चड्काएको कुरा कसैले बिर्सेको छैन होला।
नेपाली पत्रिकाले नछाप्ने र छाप्न नसक्ने कतिपय कुराहरू भारतीय पत्रिकाहरूले छापिरहेका हुन्थे। त्यसैले भारतीय पत्रपत्रिका पनि नेपाली पाठकमाझ अत्यन्त लोकप्रिय थिए। नेपालमा त्यति बेला भारतीय पत्रपत्रिका वितरण गर्ने एकमात्र आधिकारिक निकाय सन्देशगृह पनि न्युरोडमै थियो। सन्देशगृहमा पत्रिका कुर्न आउने राजनीतिक पाठकहरूले पनि पीपलबोटको भीड बढाइदिएका हुन्थे।
कहिलेकाहीँ त्यही भीडका बीच नेताहरूको भाषण पनि चल्ने गथ्र्यो। पीपलबोटको त्यो राजनीतिक गुरुत्व कति सघन थियो त भन्दा एकपटक त्यहीँ वरिपरि बुट पालिस गर्ने गोल्छे सार्कीले काठमाडौं नगर पञ्चायतको एउटा चुनावमा उम्मेदवारीसमेत दिएका थिए। तर, अत्यन्त झिनो मतले हारे। बहुदलीय व्यवस्था आएपछि एमालेले उनलाई राष्ट्रियसभाको सदस्य निर्वाचित गरेको थियो। उनै गोल्छे सार्कीले एकपटक कांग्रेस नेता रामचन्द्र पौडेललाई राष्ट्रियसभाभित्रै गाला चड्काएको कुरा कसैले बिर्सेको छैन होला।
र, भनिरहनु पर्दैन— सबै खाले राजनीतिक सूचनाहरू उत्पादन हुने ठाउँ भएकाले पीपलबोटमा पञ्चायतका अधिकांश गुप्तचर पनि कोही नेता त कोही पत्रकार नै बनेर मजाले घुलिरहेका हुन्थे।यसरी नेपालको राजनीतिक, आर्थिक, सामाजिक मात्र होइन; आधुनिक सहरीकरणको क्षेत्रमा समेत विशिष्ट योगदान दिँदै आएको न्युरोड अहिले भने राजधानीको सबैभन्दा व्यस्त र ठूलो व्यापारिक 'हब' बन्न पुगेको छ।
यहाँको एउटै पसल कवलको भाडा पनि अहिले मासिक डेढ लाख रुपैयाँको हाराहारीमा पुगिसकेको छ। पछिल्लो समय ब्रान्डेड मोबाइलबीचको प्रतिस्पर्धाले पूरा न्युरोडलाई नै छपक्क छोपेको छ। अहिले मोबाइल कम्पनीहरू न्युरोडमा पसल थाप्न मात्र होइन, आफ्नो कम्पनीको एउटा साइनबोर्ड मात्र झुन्ड्याउन पनि घरधनीलाई वार्षिक लाखौं रुपैयाँ तिर्न तयार भएर आउने गर्छन्।
आजभन्दा पचास वर्षअघिसम्म पनि न्युरोडमा त्यस्ता घरहरू धेरै थिए जहाँ पसल कवलै हुँदैनथ्यो। घरको सबैभन्दा तल्लो तला अँध्यारो छिँडीकै रूपमा रहन्थ्यो। पसल बहालमा दिने र लिने चलन नै आएको थिएन। तत्कालीन रञ्जना हल जाने बाटोमै रहेको एउटा घरमा पसल भाडामा माग्नेहरू मात्रै आएर हैरान भएका घरधनीले पसलै नदेखिने गरी पर्खाल लाइदिएका थिए। कुनै बेला पसल होइन घरैघरले भरिएको न्युरोड अहिले पसलैपसलको भीडमा यसरी हराएको छ कि लाग्छ अब यहाँ 'घर' भनेकै छैनन्।