त्यो पाटन, यो पाटन
कुरा ५० वर्ष अघिको मात्रै हो।जावलाखेलमा पालिराखेको बाघ, सिंह कराएको आवाज मेरै घरमा मज्जाले सुनिन्थ्यो। त्यहाँ हुकुहुकु भनेर कराउने एउटा बाँदर पनि पालिएको थियो। यो बाँदर यति धेरै कराउँथ्यो— हामीले जतिखेर नि ‘ए हुकु करायो, हुकु करायो’ भनेको मलाई अझै सम्झना छ। अहिले चिडियाखाना पनि त्यहीँ छ। बाघ र सिंहका खोर पनि त्यहीँ छन्। ती कति कराउँछन् पनि होला, तर हामीले सुन्दैनौं।
सहरमा यहाँ यति धेरै मान्छे भए, जसले मान्छे र मोटरको भन्दा अरू आवाज सुनिन छाड्यो। ९० सालकै तुलनामा पाटनको जनसंख्या झन्डै दोब्बर भइसकेको छ। आधिकारिक तथ्यांक मलाई थाहा छैन। तर, २००९ सालतिरको जनगणनामा भक्तपुरतिर धेरै नेवार बस्ती थियो, त्यसपछि पाटन र थोरै काठमाडौंमा। काठमाडौंमा ५० प्रतिशत नेवार भए, पाटनमा ७५ र भक्तपुरमा ९० प्रतिशत थिए। त्यसपछि नेवार विस्थापित भएर बाहिर जान थाले र बाहिरका मानिस भित्र आउन थाले।
पहिले पातलो बस्ती थियो। तर अहिले घना बस्ती भइसकेको छ। सिंगापुर, कोरिया, मलेसियालगायत देशमा गएर पैसा कमाएर आएपछि हाम्रो पाटन सहरको बाहिरी इलाका सबै उनीहरूले कब्जा गरिसके। नेवारहरू त सबैलाई ठेलीठेली बीचमा ल्याएर ट्र्यापमा पारिसके उनीहरूले। पैसा देखेपछि सबैलाई लोभ जाग्छ नै। बाहिरका मानिसले धेरै पैसा दिने भएपछि कतिले त जग्गाजमिन र घर पनि बेचेर अन्तै गए।
यहाँ मेरै टोलमा तामाङदेखि, मुसलमानलगायत सबै जातका मानिसको बसोबास हुन थालेको छ। पहिले यस्तो हुँदैनथ्यो। पोडेहरूको पूरै पोडे टोल हुन्थ्यो। त्यहाँ अरू कोही बस्दैनथे। कसाई टोलमा कसाई मात्र बस्थे। ढुंगेधारा भएको ठाउँ वा धोबीचौरमा धोबी मात्रै बस्थे। तर, त्यो अहिले लागू भएन, जहाँ जो पनि बस्न थाले। त्यो बेलामा मल्लकालको नराम्रो प्रभाव के परेको थियो भने कसाईहरूले सहरको भित्री भागमा घर बनाएर बस्न नपाइने भन्ने थियो।
सहरको बाहिरी भागमा बस्नुपर्ने र धेरै ठूलो घर बनाउन नपाइने हुनाले झुपडीमा बस्नुपर्ने नियम नै थियो। भुइँतलामा सुँगुर पाल्ने र माथि आफू बस्ने। झ्याल पनि कतै हँदैनथ्यो। त्यही जग्गालाई उनीहरूले अहिले आनाकै दसौं लाखमा बेचेर अन्तै सरे। लगनखेलको बसपार्कबाट भित्रको बाटोमा पर्ने बस्ती पूरै पोडे टोल थियो। मच्छिन्द्रनाथको जात्रा हिँडाउने बेलामा पोडेहरूको झुपडीभित्रको सबै आन्द्राभुँडी देखिन्थ्यो। झिँगटी घर पनि बनाउन नपाउने, छ्वाली वा परालको छानो हुन्थ्यो उनीहरूको।
पाटनमा गुठी परम्परा ज्यादै राम्रो छ। तर, अहिले गुठीमा बसेर भागबन्डा लगाएर खाने अनि अन्त जाने प्रवृत्ति बढेको छ। त्यो बेलामा दरबार हाइस्कुलका मास्टरलाई गुठीकै पैसाबाट तलब खुवाइन्थ्यो। वीर अस्पतालका डाक्टरलाई गुठीले नै पालेको थियो। बिरामीलाई दाल, भात, मासु र औषधि पनि निःशुल्क दिइन्थ्यो।
अब पराले छानो पनि छैन, छ्वालीको छानो पनि छैन। पोडेहरू पनि पैसा पाएर कहाँ पुगे कहाँ ? यहाँ बेचेर अन्त ठूला घर बनाएर बसिरहेका छन्। अहिले उनीहरूले समेत सुँगुर पाल्न छाडिसकेका छन्। सुँगुरलाई छोए नुवाइधुवाई गर्नुपर्छ भन्ने चलन थियो। त्यसैले अहिले सुँगुरको सट्टा बंगुर पाल्न थालेका छन्। बंगुरको मासु सबैले खाने पनि गरेका छन्।
यहाँ नेवारहरूको गुठीगाना भएकाले मर्दापर्दा सबैले एकअर्कालाई सहयोग गर्ने चलन छ। मुर्दा गुठी, देवदेवताको गुठी अनि पूजाआजा गर्ने गुठी। सबैको काम छुट्टाछुट्टै हुन्छ। आइपर्ने व्यवहार टार्नुपर्ने भएकाले गुठियारहरू मिलेर बस्थे। विशेषगरी कृषक सबै एकै ठाउँमा बस्ने गर्थे। एकअर्कालाई पर्दा सघाउन पर्म जाने चलन भएकाले उनीहरू सितिमिती आफ्नो ठाउँ छाडेर अन्त गएको पाइन्न। तैपनि पैसा पाए कोहीकोही त आफ्नो ठाउँ छाडेर गएका पनि छन्। कतिको त परिवार ठूलो हुँदै जाँदा घर साँघुरो भएकाले अन्त बसाइँ सरेको पनि भेटिन्छ।
पहिले पाटनमा ढुंगाका मन्दिर बनाउन मासको दाल, खोटो, सालधूपलगायत सामग्री प्रयोग गरिन्थ्यो। गहतको झोलले भने ढुंगा काट्ने काम गरिन्थ्यो। पाटनका मन्दिरमा भएका खम्बाहरू सबै यसरी नै बनाइएको हो। घर बनाउन त पहेँलो र कालो माटो नै बढी प्रयोग हुन्थ्यो। तेले इँटाको घर बनाउँदा पहेँलो माटो हालिन्थ्यो। अरूलाई चाहिँ साधारण माटो नै हो।
सिमेन्ट भनेको के हो त्यति बेला थाहै थिएन नि। यो ९० सालपछि मात्रै आएको हो। यहाँ एउटा इन्जिनियरले सरकारी स्तरबाट घन्टाघरको अगाडि सरस्वती सदन बनाएका थिए। त्यो नै सिमेन्ट प्रयोग गरिएको पहिलो घर हो। उनले घरमा टप (छत) पनि निकालेर बनाएका थिए। त्यति बेला सारा मानिस त्यहाँ गए। उनीहरू छत भत्किएर हामी मर्ने पो हौं कि भनेर डराउँथे। तर पछि उनी आफैं त्यहाँ गएर उफ्रिएरै केही हुँदैन भन्दै सबैलाई देखाइदिएपछि सारा मानिस छक्क परेका थिए। त्यति बेला हामी त्रिचन्द्रमा पढ्थ्यौं। त्यसैले सबै आफ्नै आँखाले देखेका थियौं।
बाहिरबाट इन्जिनियरिङ पढेर आएका उनै वेदप्रसाद लोहनीले जनताको घरमा रत्नमान काजीको इन्द्रचोक नजिकै एट्खामा सिमेन्टले घर बनाइदिएका थिए। पछि उनका छोरा सरदार गुञ्जमान बसेका उक्त घर अहिले पनि जस्ताको तस्तै छ। त्यहाँ पनि पहिलोपटक सिमेन्टको घर देखेर वरिपरिका सबै छक्क परेका थिए। त्यति बेला सिमेन्ट बेलायतबाट आउँथ्यो र त्यो सिमेन्टलाई पोर्टल्यान्ड सिमेन्ट भनिन्थ्यो। छानामा हाल्ने जस्तापाता भने बेल्जियमबाट आउँथ्यो।
पाटनका पुराना घर कस्ता थिए भनेर हेर्नलाई मेरै घर काफी छ। पछाडिको भाग ९० सालको भुइँचालोमा बिग्रिएकाले फेरि मर्मत गरेको हो। तर, अगाडिको भाग भने धेरै पुरानो हो। त्यो बेलामा पञ्चे झ्याल हाल्ने चलन थियो। हाम्रोमा पनि थियो, तर पछि कहाँ पुग्यो थाहा छैन। मूलद्वारमा वज्रसत्वको मूर्ति छ, दायाँबायाँ पनि बुट्टा नै हुन्छ। धेरैको घरमा यस्तै झ्यालढोका हुन्छ।
एक पैसामा १२ वटा सियो आउँथ्यो। जम्मै जापानको सियो, ठूलो सानो गरेर जुन छाने पनि पाइन्थ्यो। एउटा भेडाको पाँच रुपैयाँ पथ्र्यो। पाँच पैसाको दर बस्यो भनेर भतिजाहरू कराउँथे।
खान नपाए पनि घरमा एउटा झ्याल त राम्रो हालौं न भन्ने हुन्थ्यो। सन्झ्याल नभएको घरमा म जान्नँ भन्ने नेवारी चलचित्र राजमतीमा एउटा गीत नै छ। सन्झ्याल भनेको बुट्टैबुट्टा भएको कलात्मक झ्याल हो। यसको बीच भागमा डन्डी पनि हुने भएकाले घरमा कोही आए, बाहिर चियाएर हेर्न पनि सजिलो हुन्छ।
अहिले नयाँ आधुनिक घर बनेकाले पाटनको सौन्दर्य घट्दै गएको छ। तर पनि युनेस्कोले पाटनको दरबार स्क्वायरदेखि वरिपरि धेरै दूरीसम्मको क्षेत्रफलसम्मलाई विश्व सम्पदा सूचीमा राखिदिएको छ। तैपनि नगरपालिकाको आँखा छलेर नक्सापास गराई ठूलाठूला घर बनाउने क्रम नरोकिएकाले युनेस्कोले तीन वर्षका लागि हामीलाई खतराको घन्टीमा राखिदियो। नियम मिचेर जथाभावी घर बनाएको, घरमा सटर हालेको, झ्यालढोका जस्तो पायो त्यस्तै हालेको, धेरै तला थपेको लगायतका कारण जनाउँदै युनेस्कोले पाटनलाई विश्वसम्पदा सूचीबाट बाहिर निकालिदिएको थियो।
फेरि नेपाल सरकारले तिमीले भनेको हामी मान्छौं भन्दै अनुनयविनय गरेपछि अहिले फेरि राखिदिएको छ। यसका कारण पनि यहाँको सहर र यसको संस्कृति जोगिएको छ। सहरी क्षेत्रभित्र बाहिरको आउटलुकचाहिँ बिगार्न पाइन्न भन्ने युनेस्कोको नियम छ। भित्रको ट्वाइलेट बाथरुम, भान्सा वा अन्य कोठा एक नम्बर, दुई नम्बर जस्तो बनाए पनि पाइन्छ। पहिले त डकर्मी नाइकेले जस्तो भन्यो त्यस्तै बन्थ्यो घर पनि। पाटनमा धेरैका झिँगटीकै घर हुन्थे।
पहिले र अहिलेको सहरको संस्कृतिमा भने खासै फरक देख्दिनँ म। घोडे जात्रा चलिरहेकै छ, रथ जुधाउने र इन्द्र जात्रा पनि छँदै छ। परम्परामा पनि कमी आएको छैन। अलिकति शैली फरक भयो होला। तर मूल कुरा बिग्रिएको छैन। जात्राहरू गुठीले नै चलाउने हुनाले विधिविधानमा पनि कमी भएको छैन। मच्छिन्द्रनाथको पनि रथ बनाउनेदेखि रथ तान्नेसम्मका सम्पूर्ण खर्च र जिम्मेवारी गुठीले नै उठाउँछ। आफ्नै सचिवालय छ। क्याबिनेट पास गराउनुपर्दैन। आफ्नै सञ्चालक समितिले तय गरेर काम सञ्चालन गर्छ।
पाटनमा गुठी परम्परा ज्यादै राम्रो छ। तर, अहिले गुठीमा बसेर भागबन्डा लगाएर खाने अनि अन्त जाने प्रवृत्ति बढेको छ। त्यो बेलामा दरबार हाइस्कुलका मास्टरलाई गुठीकै पैसा तलब खुवाइन्थ्यो। वीर अस्पतालका डाक्टरलाई गुठीले नै पालेको थियो। बिरामीलाई दाल, भात, मासु र औषधि पनि निःशुल्क दिइन्थ्यो। अहिले गुठीको जग्गा सबै स्वाह भयो, सबै बेचेर खाइसकेका छन्। जंगबहादुर राणाले श्री ३ भनेर पदवी लिएका गुठीकै कारण हो। लमजुङ जिल्लाभरिको पूरै जग्गाजमिन उनकै थियो। त्यहाँको तिरो र आम्दानी जति सबै उनकै। त्यसैले लमजुङको राजा हुँदाहुँदै पछि गएर श्री ३ हुन पुगे।
पाटनका करिब ९५ प्रतिशत मानिसका आयआर्जन खेतीपातीबाटै हुन्थ्यो। कतिले व्यापार र घरेलु उद्योग पनि सञ्चालन गर्थे। घरमै कपडा बुन्थे। धेरैले लगाउने एककाने जुत्ता पनि घरमै बनाइन्थ्यो। कोहीकोहीले भने मृगको छालाले बनाएको जुत्ता लगाउँथे। पहिले हरेक घरमा तान हुन्थ्यो। अहिले घरेलु तान चल्दैन। आफूले ओड्ने खास्टो र लगाउने हाकु पटासी सबै आफैं बनाउँथे। यसलाई जोगाउन नसक्नु सरकारको कमजोरी हो। सबसिडाइज गरेर भए पनि त्यसको संरक्षण गर्नुपथ्र्यो।
अहिले बाटो बनाएर सुविधा त दियो तर मेरै घर अगाडिको सडक पनि भीडले हिँड्नै नहुने भयो। घटीमा पनि दिनको दुई कोस त हिँडेरै गइन्थ्यो। साधन केही थिएन। मोटर त राणाजीहरूले मात्रै चढ्थे। सरदार, काजी र सुब्बाहरूले चाहिँ घोडा चढ्थे।
ढिकीमा धान कुट्ने र चुलोमा आगो बालेर भात पकाउने चलन पनि गयो। दाउरा लिन टाढाटाढासम्म जानुपथ्र्यो। जात्रामा चिउरा बनाउनुपथ्र्यो। घरमै बनाएको रक्सी खान पाइन्थ्यो। अहिले त वाइन र ह्विस्की किनेर ल्यायो, सकिहाल्यो। राइस कुकुर आएपछि कसौंडी किन चाहियो र, तर कसाँंडीको स्वाद कुकरमा कहाँ हुन्छ र ?
पहिले मोटरबाटो थिएन। जहाँ पनि हिँडेरै पुगिन्थ्यो। अहिले बाटो बनाएर सुविधा त दियो तर मेरै घर अगाडिको सडक पनि भीडले हिँड्नै नहुने भयो। घटीमा पनि दिनको दुई कोस त हिँडेरै गइन्थ्यो। साधन केही थिएन। मोटर त राणाजीहरूले मात्रै चढ्थे। सरदार, काजी र सुब्बाहरूले चाहिँ घोडा चढ्थे।
पचास वर्षअगाडि तलब पचास रुपैयाँ भए पनि शिरमा एक तोला सुन जडित टोपी लगाउन पाइन्थ्यो। त्यति बेला सुन तोलाको पच्चीस, तीस मात्रै थियो। चाँदी तीन सुका र तीन मोहरमै आउँथ्यो। एक पैसामा १२ वटा सियो आउँथ्यो। जम्मै जापानको सियो, ठूलो सानो गरेर जुन छाने पनि पाइन्थ्यो। एउटा भेडाको पाँच रुपैयाँ पथ्र्यो। पाँच पैसाको दर बस्यो भनेर भतिजाहरू कराउँथे। हामी गएर छानेर जुन भेडा ल्याए पनि पाइन्थ्योे।
पहिले राजतन्त्र थियो। बाहिरी कुनै शक्तिसँग जुध्नुप¥यो भने पाटनका मानिस सबै एकजुट भइहाल्थे। तर, अहिले संघीय गणतान्त्रिक लोकतन्त्र आएको छ। परिवर्तन त त्यसै भइहाल्यो नि। घरैपिच्छे पार्टीका मानिस छन्। बाबु एउटा पार्टी, छोरा अर्कै, अनि नाति फेरि अर्कै पार्टीमा हुन्छन्। धेरै पार्टी भएर बिग्रियो अब त। उस्तै सिद्धान्त भएका पार्टी पनि मिल्न सकेका छैनन्।
यहाँ २००७ सालमा प्रजातन्त्र आएपछि गोरखा दल भनेर जम्मा एउटा पार्टी थियो। दिउँसै गोरखा दलले खुकुरी भिरेर नयाँ सडकमा नारा लगाउँथ्यो। गोरखा दलका नाइके भरतशमशेरले त्रिपुरेश्वरको गेस्ट हाउसमा गृहमन्त्रीलाई दिउँसै आक्रमण गरेका थिए। त्यो बेला ललितपुर, भक्तपुर र गाउँगाउँमा रक्षा मण्डल भनेर यो शक्ति पारिचालन भएको थियो। कुन बेला गोरखा दल आउँछ भनेर जनता त्राहीत्राही हुन्थे। तर, पछि बल्ल यो साम्य भयो।
भूकम्पपछि त मठमन्दिरको अवस्था निकै नाजुक हुँदै गएको छ। टुँडाल पनि चोर्ने, मूर्ति पनि चोर्ने। मन्दिर छ तर देवता छैनन्। सरकारले राहतको पैसा दिन सकेको छैन। मेरै घर भत्किएको छ। दुई चोटि जाँचेर गए, मैले गुनासो पनि गरेँ। तर, ५० हजार पनि पाएको छैन। कति पर्खने अब ? ऋण काढेर भए पनि केही बनाइयो, अझै बाँकी छ।
पहिले ९० सालमा त एउटा हाकिमसहित तीनचार जनाको टोली आउँथ्यो। त्यसमा एक जना एस्टिमेट गर्ने मानिस हुन्थ्यो। उसले कति बिग्रियो भनेर लेखिदिएपछि अड्डामा गए पैसा दिइहाल्थ्यो। कत्ति आनन्द है, शंका पनि छैन। बिग्रिएको घर पनि बनाउन पाइहालिथ्यो। पहिले राणाहरूको पालामा बरु, जत्ति ऋण दिए पनि मिनाहा गथ्र्यो।
जे जस्तो भए पनि पाटनको कलाकौशल र संस्कृति आज पनि बाहिरी मात्रै होइन, भित्री रूपमा पनि जीवितै छ। आज पनि कलाकारहरूले बनाएका कलाकृतिले पाटन सजाउने मात्रै नभई विदेशमा निर्यात पनि गरिन्छ।
हुन त पाटन शब्दको अर्थ नै एक समृद्ध सहर भन्ने हो। पहिले पाटनलाई पटन भन्ने गरिन्थ्यो। पटनको अर्थ राम्रो सहर भन्ने बुझिन्छ। अलि गुल्जार भएको सहर भनेको हो। यसलाई ललित पटन पनि भनिन्थ्यो। ललित पटन भनेको ललितपुर हो। सायद त्यति बेला काठमाडौंभन्दा पनि समृद्ध भएकाले यसको नाम पाटन रहन गएको हुन सक्छ।
यो गोर्खालीहरूले भन्ने गरेका शब्द हो। हामी नेवारहरूले त यो ठाउँलाई यल भन्थ्यौं। तिम्रो घर कहाँ हो भन्यो भने सबै नेवारको मुखमा यल भन्ने नै सुनिन्थ्यो। यल भनेको प्यारो। युपग्राम लिच्छवीकालीन शब्द हो। आजभन्दा १५ सय वर्षअगाडि प्रयोग हुने यो शब्दबाट अपभ्रंश हुँदै यल शब्द आएको हो। कसैले किराती राजा यलम्बरबाट यल आएको हो पनि भन्ने गर्छन्। वास्तवमा चाहिँ युपग्रामबाट नै यल आएको हो। युप भनेको लिंगो गाडिएको भन्ने बुझिन्छ।
(रामकला खड्कासँग गरिएको कुराकानीमा आधारित)