बहुरूपी सहरिया बुद्धिजीवी
सहरिया बुद्धिजीवी भन्नाले गाउँमा पनि बुद्धिजीवी प्राणीहरू हुन्छन् भन्ने भ्रमपूर्ण अर्थ लाग्छ। तर सहरका बुद्धिजीवीलाई गाउँमा उनीहरूका कोटीको बुद्धिजीवी छ भन्ने लागिरहेको छैन। त्यसैले उनीहरू नेपाल भन्नेबित्तिकै गाउँ र गाउँ भन्नेबित्तिकै गरिबी ठान्छन्। सहरिया बुद्धिजीवी वस्तु बजारको एक नम्बर दलाल हो। ऊ हरदम अरूलाई मूर्ख र आफूलाई एक नम्बरी विद्वान् भन्ठान्छ। आफ्नो बुद्धि र प्रतिभाको उपयोग देशले नगरेकोमा ऊ खिन्न हुन्छ, र आफ्ना सहबुद्धिजीवीहरूसँग विमर्श गर्न भट्टीतिर छिर्छ।
बुद्धिविलास भन्ने शब्द उसलाई मन पर्दैन। यस्तै प्रकारका बुद्धिजीवीहरूले २०७२ सालको भुइँचालोका धक्काका कारकहरूलाई सजिलै सम्झाउन खाना खाने प्लेटसँग तुलना गरेका थिए र कम बुद्धि भएकाहरूले ओहो जिमी नै हल्लाउने गरी आउने कत्रो प्लेट होला भनेर आश्चर्यचकित बनेका थिए। उनीहरूको विचारमा प्लेट भनेको त्यही हो।
जमिनमा पारेका चिरा र धाँजालाई उनीहरूले अंग्रेजीमा सम्झाएका थिए। सरकार र उसका अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूले भूकम्पपीडित गरिब ग्रामीण जनताको मनमा पारेका धाँजाको चौडाइ र गहिराइ बुझ्ने कुनै उपकरण उनीहरूसँग थिएन। सहरिया बुद्धिजीवी आफ्नो प्राचीन सभ्यता र भाषामा गर्व गर्छ, अरूलाई आन्दोलित बनाउँछ र स्वयम् चाहिँ रमिता हेरेर बस्छ। अनि आन्दोलनका रूप र परिणामबारे सहधर्मीहरूसँग बात मार्छ।
हुन त यो सहरिया बुद्धिजीवी गाउँबाटै उठेर आएको हो। तर सहरिया भएपछि उसको प्रेत पनि गाउँ फर्केको छैन। पहिले बारीको डिल र कान्लामा फलाएका अन्नले पढेको थियो, अहिले कालीमाटी तरकारी बजारबाट तरकारी बोकेर ल्याउँछ र गोलभेँडा कुन ऋतु विशेषमा फल्छ भन्ने कुरा चटक्कै बिर्सिइसकेको छ।
यो सहरिया बुद्धिजीवी राजनीतिक दल विशेषका विचार र कार्यक्रमबारे पूरै बेखबर छ। तिनका गुट–उपगुटको गोटी बनेर बसेको छ। उसलाई थाहा छ, राजनीतिक दल होइन, नेताको भोटोको फेर बढी परिणाममुखी हुन्छ। त्यसैले ऊ नियुक्ति सियुक्तिका लागि नेता विशेषका घरघरमा पुग्छ र नेतापत्नी र उनका छोराछोरीलाई नमस्कार गर्छ।
पढेको त उसले विश्वविद्यालयका पाठ्यपुस्तक मात्रै हो, त्यसैका भरमा उसले बुद्धिजीवीको पगरी गुँथी आएको छ। विश्वविद्यालयमा प्रोफेसरहरू सबैजसो चारण र भाट छन् र तिनले पद पाएपछि अन्तिम समयसम्म पनि मुलुकको रगत चुसिरहन्छन् भन्ने उसलाई थाहा नभएको होइन, त्यस्तो सांस्कृतिक ब्यूहरचनाबाट निस्कने कुनै उपाय उससित छँदा पनि छैन। उसकी स्वास्नी र छोराछोरीले सके मन्त्री, नभए राजदूत, त्यो पनि नभए कुनै संस्थानको हाकिम हुन नसकेकोमा उसलाई नामर्द ठानिरहेका छन्।
सहरिया बुद्धिजीवीलाई बैंकबाट ऋण लिएर किनेको कार गुड्ने चिल्लो कालोपत्रेयुक्त फराकिलो बाटो चाहिएको छ। तर बाटो त्यस्तो छैन।
र ऊ पनि वास्तवमा नामर्द जस्तै भएर दाँत ङिच्याइरहेको छ। कसोकसो उसले उपत्यकामा ६ आना जमिनमा घर जोडेको छ, अरू जोड्न कुनै लाभकारी पदमा नपुगी सम्भव छैन। नेताजीहरू प्नि उसलाई आश्वासन दिइरहेका छन्। उसले प्राप्त गरेको ज्ञान यस मुलुकका हितमा लगाउन नसकेकोमा खिन्नता देखाउँछन्। ऊ नेताहरूलाई प्राज्ञिक राय दिनुको साटो आफैं स्वयम् नेताको गोटी बन्न तयार हुन्छ। किनभने भनिन्छ, उसले नेपाल बुझेको छ।
सहरिया बुद्धिजीवीको परिचय यत्तिले पूरा हुन्न। ऊ कर्णेल कद्दाफी, सद्दाम हुसेन, जर्ज बुस, सोनिया गान्धी, सिन्जो आबे र माओ च तुङदेखि तङ स्याओ पिङ र सी जिनपिङको ओबीओआरको प्रभावबारे गफ गर्न भ्याउँछ। द्वन्द्व चर्किने गरी अखबारका पातामा विचार लेख्छ। त्यसरी लेख्न बस्दा ऊ मुलुकलाई सत्तोसराप गर्ने सोचिरहेको हुन्छ। तर उसको प्रज्ञाले उसलाई नियन्त्रण गर्छ। अनि ऊ मुलुकका हितमा सकारात्मक हुँदै जान्छ। भौतिकशास्त्रविद् उदयराज खनालका मुखबाट सुनेकै भरमा उसलाई ब्रह्माण्डविद् वैज्ञानिक हकिङ्सको ब्ल्याक होलको सिद्धान्तबारे बोल्ने औधी चाख छ।
तर बिहान उठ्नेबित्तिकै ऊ पशुपतिनाथको कीर्तनमा सहभागी हुन्छ। त्यतिको संख्याका पुस्तकले दिएका ज्ञानले उसको धार्मिक आस्थालाई घटाएको देखिन्न। झन्झन् बढोत्तरी गरेको देखिन्छ। ज्ञान र विज्ञानको यो विरोधाभासपूर्ण लीलालाई उसले आत्मसात् गरेको छ। ईश्वरको अस्तित्व र अणु, परमाणु, चुम्बकीय ताकत र गुरुत्वाकर्षणका नियमहरूलाई उसका निजी र पारिवारिक बाध्यताहरूले चुनौती दिइरहेका छन्। त्यसैले ऊ दिग्भ्रमित मनुष्य हो।
सहरिया बुद्धिजीवी ती मानिसका पङ्क्तिमा पशुपतिनाथको दर्शनका लागि उपस्थित हुन्छ, जो अवकाश प्राप्त हुन्। र ३०, ४० वर्ष मुलुकलाई चुसेपछिको रगत पचाउन ती बाँदरहरूलाई चारो खुवाउन मकै किनेर छर्छन्। दाबीअनुसार, मानिस कहिल्यै रिटायर्ड हुन सक्दैन। तसर्थ, अवकाश प्राप्त बुद्धिजीवीहरूले अर्को एक चिर पदाकांक्षीहरूको लाम बनाएका छन्। तिनीहरू मुलुकलाई पासो थापेर बसेका प्राणीहरू हुन्, कुनै छानबिन आयोगमा भए पनि तिनलाई पर्नु छ।
त्यसैले कोटको खल्तीमा तिनीहरूले व्यक्तिगत विवरण हालेर हिँडेका छन्। नेतैपिच्छेका घरमा तिनका अनुभवको फेहरिस्त पत्र पुगिसकेको छ। यस मुलुकमा भ्रष्टाचार दूराचारको ग्राफ बढिरहेकै कारण नयाँनयाँ छानबिन आयोग बन्ने नै छन्, तसर्थ त्यस्ता विवरणहरू औधी कामलाग्दा वस्तु हुन्, बस् जरुरी त शक्तिसम्पन्न सिफारिसवालाको छ।
देशमा बहुदल आएपछि मण्डले राष्ट्रवादका अथक गायकहरू सम्भावित बेरोजगारीको त्रासले काँपिरहेका देखिन्थे। लगत्तै तिनले अचुक बुटी खोजे। तिनीहरू रेडियो, प्रज्ञा प्रतिष्ठान आदिमा पुगेर इन्द्रेणी राष्ट्रवादको प्रभावकारी वकालत गर्न थाले। तिनको स्टुडियो नेता विशेषहरूको चुनावी प्रचार यन्त्रमा रूपान्तरित भयो। आस्था फेरियो। विचार बदलियो।
सहरिया बुद्धिजीवीको अन्योल लर्तरो छैन। उसलाई यस साँघुरो सडकमा कार दौडाउनु छ। यस्तो गर्न पाउनु अधिकार हो कि होइन भन्नेबारे उसले धेरै पटक आत्ममन्थन गरेको छ।
अनि तिनका लागि कुर्सी खाली गराइयो। अनि परिणाम सबैका सामु छ, हिजो लोकतान्त्रिक आन्दोलन दबाउन न्वारानदेखिको बल लगाएको सहरिया बुद्धिजीवी बदलिँदो नेपालको तस्बिरको भाष्यकार भएको छ। अब तिनका दिन सकिए, न्यायपूर्ण संस्था र समाजको उदय भयो भन्नेहरू उदास मुद्रामा बसिरहेका छन् र आन्दोलनका बेला लागेको चोट सम्झिँदै इन्द्रेणी राष्ट्रवादको चर्तिकला हेरिरहेका छन्।
सहरिया बुद्धिजीवीको भ्रमणको घेरा साँघुरिएर बालुवाटार, सानेपा र पेरिसडाँडा अनि सातदोबाटो, बूढानीलकण्ठ, धुमवाराहीमा सीमित भएको छ। आफ्नो योग्यता र क्षमतालाई पक्कै पनि चिनिनेछ भन्नेहरू त्यस्ता शक्तिपीठहरूभन्दा कोसौं टाढा छन्।सहरिया बुद्धिजीवीलाई बैंकबाट ऋण लिएर किनेको कार गुड्ने चिल्लो कालोपत्रेयुक्त फराकिलो बाटो चाहिएको छ। तर बाटो त्यस्तो छैन। ऊ पार्किङको समस्याले सताइएको सहरवासी हो। यो चारआने बहुल सहरवासीको सहर हो।
त्यसो त कैंयौं रोपनीमा फैलिएका राणाकालीन दरबार पनि यहाँ छन्, चौधरी, अग्रवाल, खेतान, ज्योति, दुगड, गोल्छाजस्ता व्यापारिक घरानाका महल पनि यहाँ छन्। तर तिनको संख्याभन्दा रैथाने नेवार र मधेस पहाडबाट छिरेका चारआनेहरूको संख्या हजारौं गुना बढी छ। पहिले पहिले सहर जानु भनेको असन इन्द्रचोक र ठमेल जानु थियो, अहिले बूढानीलकण्ठ, सानेपा, कोटेश्वर, लेले, चोभार पनि सहरमा जोडिएका छन्।
त्यसैले सलाइको बट्टाजत्रा साँघुरा कोठामा बसेर फिटकीरी, धूप र तिल चामल बेच्ने साहुहरू अझै सहर भनेको उही पुरानो काठमाडौंलाई नै ठानिरहेका छन्। तिनको व्यापारिक सभ्यतामाथि आधुनिक मलहरूले धावा बोलिरहेका छन्। सहरिया बुद्धिजीवीलाई यसमा चित्त बुझेको छैन। तर ऊ असनका गल्लीमा कार गुडाउन चाहन्छ। यो विडम्बनालाई कसरी बुझ्ने हो, समस्या यही हो।
उपत्यकका तीनवटै सहर मोटरगाडी नभएकै बेला स्थापना गरिएका थिए, आजको जस्तो महत्वाकांक्षाले तीव्रता दिएको दौडधूप पनि थिएन। त्यति बेलैको आवश्यकतामा आधारित सभ्यता थियो त्यो। आजको जस्तो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिनमा हजारौं हजार मानिसको आवत्जावत पनि थिएन। हो, एम्बुलेन्सको साइरन नसुनिने उस बेला पाल्की र डोकालाई नै पर्याप्त मान्नुपथ्र्यो। अग्निशमन यन्त्रको काम गाग्री र बाल्टिनले गर्ने बेला थियो। अब तिनबाट काम चलाउन सकिन्न।
आवश्यकता बढेका बढ्यै छन्। एउटै घर बारेर वा टुक्र्याएर ससाना अँध्यारा सुरुङहरूमा बदलिएको यो सहरमा आगलागी नहोला, अथवा कोही बिरामी नपर्लान् भन्ने भएन। त्यसर्थ यति पुरानो सहरभित्र नयाँ र फराकिलो पूर्वाधार छि¥यो। कतिलाई मर्का पनि प¥यो। अनि ती विकासका नाममा नागरिकका अधिकार छिनिएकोमा रिसाए। सहरिया बुद्धिजीवी तिनीहरूको जुलुसमा पनि उपस्थित भयो। उता ऊ राज्यसँग पनि उभिएको छ। किनभने उसलाई न्युरोड, नघल, असन, त्यौड, कमलाक्षी, ठँहिटी र भोटाहिटीमा कार कुदाएर सपिङ गर्नु पनि छ। उसलाई यहीँनिर चरम दुविधा छ।
सुन्धारामा पानी रसाउने जराहरू चपक्कै सुक्ने गरी काठमाडौं मल नामको विशाल संरचना उसैले खडा गरेको हो। टुँडिखेलको खरीको रूख उसैले काटेको हो।
राज्यले विकास गर्न चाहेको छ। यसका लागि पूर्वाधार बनाउनुपर्छ। तर राज्यको पूर्वाधार पनि सहर पसेर दायाँबायाँका घर भत्काइरहेको देखेपछि सहरिया बुद्धिजीवीको मन नराम्ररी कुँडिएको छ। यो पूर्वाधार गल्लीभित्रै छिर्नुपर्छ भन्ने त थिएन। तर बाटो र अन्य सार्वजनिक जग्गालाई अतिक्रमण गरी व्यक्तिलाई बेच्ने परिपाटीले बाटो झन् साँघुरिएको छ भन्ने सत्यलाई उसले जान्न चाहेकै छैन। त्यसलाई फराकिलो पार्न भाइकाजी कसिएका छन्, उस्तै राखिराख्न रैथानेहरू कस्सिएका छन्। यसरी कस्सिँदै जाँदा समाज चुँडिने हो कि भन्ने उसलाई डर छ।
सहरिया बुद्धिजीवीको अन्योल लर्तरो छैन। उसलाई यस साँघुरो सडकमा कार दौडाउनु छ। यस्तो गर्न पाउनु अधिकार हो कि होइन भन्नेबारे उसले धेरै पटक आत्ममन्थन गरेको छ। ‘पैले बुझ्न कठिन, बुझ्यो अति कठिन, झन्झन् बुझ्यो झन् कठिन’ भन्ने सुक्तिश्लोक सहरिया बुद्धिजीवीका लागि घतलाग्दो पहेँली हो।
उसलाई लाग्छ, उसले धेरै बुझेको छ र दुःखको कारण पनि यही हो। गाँजा आपूर्ति र प्रयोगमा रोक लगाएर झोंछेंको गल्ली उजाड पारेकोमा उसको दुःखेसो पनि छ, उता तिनै पश्चिमी मुलुकले गाँजालाई औषधीय उपयोगका निम्ति खुला गर्ने नीति बनाएका छन्। सहरिया बुद्धिजीवीले यसको भेउ पाएको छैन। अमेरिकालाई औषधि बन्ने वस्तु नेपालका लागि किन विष भएको हो भन्नेबारे उसलाई शंका लागिरहन्छ।
यस सहरले हाम्रा महाकविको उल्टो बिम्ब रचना गरेकोमा सहरियालाई आश्चर्य लाग्छ। महाकवि लप्टनको पसलमा जान्थे अथवा हातमा खसीको टाउको झुन्ड्याउँदै हल्लाउँदै हिँड्थे भन्ने बिम्ब बनाएको छ यसले। यसले नै हो विराट् प्रतिभा र मन्त्री भइसकेका उनीजस्ता प्रभावशाली व्यक्तिलाई तन्नम गरिब देखाएको।
यसले नै महाकविलाई चुरोट खुवाएको हो, रिमालजस्ता क्रान्तिकारीलाई बौलाहा बनाएर खुकुरी हातमा थमाएको यसैले हो। शंकर लामिछाने, भूपि शेरचन र हरिभक्त कटुवालले पिउने मदिरा यही सहरिया बुद्धिजीवीको भट्टीमा उपलब्ध थियो। यहाँका मन्दिरमा कुँदिएका कामक्रीडारत मूर्तिकलाको स्रष्टा यही सहरिया बुद्धिजीवी हो।
राणाशासन फाल्न यही सहरिया बुद्धिजीवी अघि सरेको थियो, पञ्चायत जोगाउन पनि उही क्रियाशील थियो। ऊ कहिले भरतशमशेर भएर, कहिले सुवर्णशमशेर भएर उपस्थित भयो। ऊ कहिले कालेबाजेको सहयोगी भयो, कहिले कमलराज रेग्मी र मोहम्मद मोहसिनका रूपमा गाउँफर्क नीतिकार पनिजाँबुसको हर्ताकर्ता भयो। उसैले पद्मरत्नको चुनावी पर्चा लेख्यो, उसैले रामराजाको बमकाण्डमा भूमिका बनायो। उसैले माओवादी बाबुराम, एमाले झलनाथ र कांग्रेसी विजय गच्छदारसँग लगनगाँठो कस्यो।
अष्टलक्ष्मीलाई भूमिगत बनाउने र कर्ण ह्योजुलाई घोचीघोची मार्ने काम उसैको प्रेरणाले सम्भव भएको हो। सुन्धारामा पानी रसाउने जराहरू चपक्कै सुक्ने गरी काठमाडौं मल नामको विशाल संरचना उसैले खडा गरेको हो। टुँडिखेलको खरीको रूख उसैले काटेको हो। मदनशमशेरसँग गएर क्रिकेट खेल्ने, नरशमशेरको टिमसँग फुटबल खेल्ने र त्रिपुरेश्वरमा रंगशाला बनाउने बुद्धि उसकै हो। भनेपछि, सहरिया बुद्धिजीवीकै कारण हो, गणेशमानले ढलयात्रा गर्नुपरेको।
खासमा सहरिया बुद्धिजीवी पुस्तकालय संस्कृतिमा विश्वास गर्दैन। गर्दो हो त, ओली र प्रचण्डका सदाबहार शिक्षामन्त्री गिरिराजमणिले केन्द्रीय पुस्तकालय, त्रिवि केन्द्रीय पुस्तकालय, केशर पुस्तकालयलगायतका पुस्तकालय उपयोगमा ल्याउने थिए। प्रचण्ड महोदयका विचारमा त धेरै पढ्नु राम्रो कुरा होइन। त्यसैले माओवादी क्रान्तिकारीहरू नपढिकनै पढिरहेका छन्। धेरै बुद्धि भएर काम छैन भन्ने उनको विचार छ, जसलाई सहरिया बुद्धिजीवीहरूले स्वीकार गरेका छन्।
सहरिया बुद्धिजीवीको रिसको पारो त्यतिबेला उकालिन्छ, जब उसको कारका लागि उपयुक्त सडक छैन। तर, उसलाई लाग्छ, यी ससाना गल्लीहरूको मौलिक साँघुरोपन बचिरहनु जरुरी छ। ऊ यसलाई नै उपत्यकाको संस्कृति हो भन्न चाहन्छ। यसका निम्ति ऊ जुनसुकै शक्ति केन्द्रमा धाउन तयार छ।
यी थरीथरीका शक्तिकेन्द्रहरू यसै सहरिया बुद्धिजीवीलाई पर्खेर बसेका हुन्छन्, जसरी दुग्धस्नान र चन्दन लेपनका लागि श्री पशुपतिनाथ भट्ट र उपभट्टहरूलाई पर्खेर बसिरहेका हुन्छन्। एकै पटक क्रान्तिकारी र दमनकारी दुवै हुन सक्ने यस्तो अनौठाको जीवको नाम हो, सहरिया बुद्धिजीवी।
अहिले ऊ भारत, अमेरिका वा बेलायतको राजदूत हुन पाए हुन्थ्यो भन्ने ध्याउन्नमा छ। दलगत आस्था बदलिरहने र एकबाट अर्कोमा छिटोछिटो सरुवा भइरहने उसको क्षमताले एक दिन ऊ पक्कै राजदूत बन्नेछ। म त्यही खबर सुन्न बसेको छु।