वीरगन्ज नोस्टाल्जिया
मेरा लागि वीरगन्ज पहिलो सहर मात्र होइन, सबै थोक हो। मेरो जीवनको जग मात्र त्यहाँ खनिएन, व्यक्तित्व विकास पनि वीरगन्जमै भएको हो। मेरो शैक्षिक, साहित्यिक व्यक्तित्व निर्माणमा वीरगन्जकै अमूूल्य छाप रहेको छ। म काठमाडौं आउँदा हर हिसाबले परिपक्व भइसकेको थिएँ। साहित्य लेख्न र पढ्नसमेत थालिसकेको थिएँ।
नगरलाई परिभाषा गर्ने सरकारी मापदण्ड अलग भए पनि वीरगन्ज पहिलेदेखि नै सहरकै दर्जामा थियो। नगरकै रूपमा थियो। जनसंख्या थोरै भएकाले एकअर्कालाई चिन्न सजिलो थियो। घर अत्यन्तै कम थिए। टोलहरू पनि बन्ने क्रममा थिए। बस्ती घना हुन, विशाल सहर बन्न बेरै लाग्दो रहेनछ। सुरुमा वीरगन्जमा दुई, तीनवटा मात्र रोड थिए। कुनै ग्राभेल गरिएका त कुनै धुलाम्मे थिए। वीरगन्ज घुम्न म अहिले पनि गइरहन्छु। चिनजानका मान्छे र बालसखा भेट्दा औधी आनन्द लाग्छ।
वीरशमशेरले बसोबास सुरु गराएकाले वीरगन्ज नामकरण भएको चर्चा छ। छप्कैयामा पहिलोपटक राजभण्डारीहरू बसोबास गर्न थालेको भन्ने गरिन्छ। क्रमशः मारवाडी, व्यापारीहरूको बसोबास हुन थालेपछि यो एकाएक औद्योगिक नगरीका रूपमा विकास हुँदै गयो। यसरी हेर्दाहेर्दै वीरगन्ज एक सभ्यताकै रूपमा विकास भयो र आजको अवस्थामा आइपुग्यो। त्यहाँ व्यापारसँगै बौद्धिकता पनि फस्टाएको छ।
म केटाकेटी हुँदै जुद्ध हाइस्कुल निर्माण भइसकेको थियो। ३ कक्षादेखि एसएलसीसम्म म त्यहीँ पढेँ। कलेज पढ्दासम्म मेरा हेडमास्टर तीर्थराज मानन्धर हुनुहुन्थ्यो। मेरो पहिलो कविता १० वर्षको उमेरमा त्रिजुद्धकै कक्षामा लेखेको थिएँ। यही नै साहित्य क्षेत्रमा मेरो पहिलो प्रवेश थियो। मेरा हरेक साहित्यिक लेखनमा कतै न कतै वीरगन्जको प्रभाव परेकै हुन्छ। म लेख्न बस्दा मात्र होइन, सपना पनि उही मेरो प्यारो वीरगन्ज देखिरहेकै हुन्छु।
वीरगन्जमा उतिबेला पनि पाँचछवटा लाइब्रेरी थिए। हामी त्यहाँ पढ्न जान्थ्यौं। आलोपालो पढेर कथा सुनाउने पनि चलन थियो। वीरगन्जमा पहिलेदेखि नै साहित्यिक, सांस्कृृतिक गतिविधि हुने गरेको पढ्न पाइन्छ। जयविक्रम शाहको किताबमा अलौमा भएको ऐतिहासिक साहित्यिक सम्मेलनबारे पनि उल्लेख छ। त्यस्तै गिरीश गिरीको किताब अनि धच गोतामेको ‘घामका पाइला'मा समेत वीरगन्जको ऐतिहासिक छनक पाइन्छ।
वीरगन्ज हाम्रा लागि क्रीडास्थल थियो। सुरुमा त्यहाँ एउटा मात्र सिनेमा हल थियो। चटाइले बेरेर बनाएको छप्कैयाको सिनेमा हलको पनि सम्झना भइरहन्छ। त्यस्तै माईस्थानको कीर्ति सिनेमा हलको पनि धेरै याद आउँछ। यसको पनि फ्यान नै थिएँ। त्यहाँ भित्तामा कसैले प्वाल पारेको थियो। त्यही प्वालबाट हामी चियाउँथ्यौं। तर, दृश्यचाहिँ उल्टो देखिन्थ्यो। हाम्रो समूहमा रहेका तीनै जनालाई सिनेमा हेर्न लाग्ने ६ आना पैसा जुटाउन गाह्रो थियो। अहिलेजस्तो केटाकेटीका हातहातमा कहाँ पैसा पथ्र्यो र ?
मैले पहिलोपटक लक्ष्मीप्रसाद देवकोटालाई वीरगन्जमै देखेँ। एसियाली लेखक संघको भेलाबाट फर्किएपछि उहाँलाई वीरगन्जमा भव्य स्वागत गरिएको थियो।
सानो मेसिन भएर होला, त्यहाँ सिनेमा देखाउँदा दुईपटक इन्टरभल हुन्थ्यो र तीन भागमा देखाइन्थ्यो। हामी दुई आनाका दरले पैसा उठाएर ६ आना बनाउँथ्यौं। अनि तीनै जनाले छुट्टाछुट्टै भाग हेथ्र्यौं। पछि भेला भएर आफूले हेरेका कथा आपसमा सुनाउँथ्यौं। अनि पूरा सिनेमाको मज्जा लिन्थ्यौं। यति गरिसक्दा मलाई संसार जितेजस्तो लाग्थ्यो।
हाम्रो पिताजी बिजुली कारखानामा हाकिम हुनुहुन्थ्यो। त्यहीँबाट सिनेमा हलमा पनि बिजुली लगिन्थ्यो। त्यसकारण उहाँहरूको सिनेमा हलसँग पनि सम्बन्ध थियो। उहाँहरूले सिफारिस गरिदिएकै भरमा हामी सिनेमा हेथ्र्यौं। म घरबाट दैनिक एक आना पैसा पाउँथे। ६ दिनमा बल्लबल्ल सिनेमा हेर्न पुग्ने ६ आना पैसा जुट्थ्यो। यो कुरा मैलै एक आनाको जमाना नामक किताबमा पनि उल्लेख गरेको छु।
म केटाकेटी हुँदा वीरगन्जमा हरेक सरस्वती पूजाका दिन त्रिजुद्ध स्कुल र ठाकुरराम क्याम्पस मिलेर सांस्कृतिक कार्यक्रम गर्थे। त्यस दिन देखाइने नाटक सबैभन्दा महत्वपूर्ण हुन्थ्यो। दिउँसो पूजा सकेपछि प्रसादस्वरूप खान पाइने मिठाईको त झन् कुरै नगरौं। त्यससँगै म अलिअलि गर्दै गीत लेख्न, गाउन पनि थालेँ। नाटक खेल्न, लेख्न र खेलाउन पनि थालेँ। यसरी मेरो कलाकारिता पनि वीरगन्जमै फस्टायो। अथवा भनौं, म अहिले जे छु त्यो सबै वीरगन्जले नै बनाएको हो।
वीरगन्जको अर्को के विशेषता छ भने त्यहाँका उद्योगी, व्यापारीहरू पनि कला, साहित्यमा रुचि राख्थे। कार्यक्रममा सहभागी हुन्थे। मनोरञ्जनका लागि मात्र होइन उनीहरू वीरगन्जलाई कलामा पनि अघि बढाउनुपर्छ भनेर लागिपर्थे। पुरस्कारको व्यवस्था गरिदिन्थे। कार्यक्रम आयोजना गरिदिन्थे। मैले साहित्यिक यात्राका क्रममा पाएका विविध पुरस्कारमध्ये वीरगन्जमै पाएको सम्मान महत्वपूर्ण लाग्छ। २०६० सालमा वीरगन्ज उपमहानगरपालिका र उद्योग वाणिज्य महासंघ वीरगन्जले संयुक्त रूपमा गरेको सम्मान मेरा लागि ज्यादै महत्वपूर्ण छ। वीरगन्ज मेरा हरेक कणकणमा छ, नसानसामा छ।
वीरगन्जमा स्वतन्त्रता सेनानी तेजबहादुर अमात्य बडाहाकिम हुनुहुन्थ्यो। उहाँलाई म नजिकबाट चिन्दथेँ। राणाशासनविरुद्ध भएको आन्दोलनदेखि पञ्चायतकालमा पनि वीरगन्ज प्रजातान्त्रिक सहरकै रूपमा रह्यो। त्यस बेला पहिलो क्रान्ति नै वीरगन्जबाट भएको थियो। अहिले पनि पर्सा मिलन केन्द्रले कात्तिक २६ गते काठमाडौंमा बसोबास गर्ने वीरगन्जका मान्छे भेला पारेर कार्यक्रम गर्छ। यसरी पहिलोपटक प्रजातन्त्रको जित भएको अनि क्रान्तिकारीको जित भएको ठाउँका रूपमा पनि यस ठाउँको महत्व छ।
सानो मेसिन भएर होला, त्यहाँ सिनेमा देखाउँदा दुईपटक इन्टरभल हुन्थ्यो र तीन भागमा देखाइन्थ्यो। हामी दुई आनाका दरले पैसा उठाएर ६ आना बनाउँथ्यौं। अनि तीनै जनाले छुट्टाछुट्टै भाग हेथ्र्यौं।
त्यस बेलादेखि नै वीरगन्ज र रक्सौलबीच घनिष्ठ सम्बन्ध थियो। यी दुई सहरबीच भौगोलिक अवस्थिति फरक भए पनि अन्य कनै कुरामा भिन्नता थिएन। फरक ठाउँजस्तो नै लाग्दैनथ्यो। हिँडेर आवतजावत गर्न सकिने ठाउँ भएकाले मान्छेहरू ओहोरदोहोर गरिरहन्थे। किनमेल, व्यापार बराबरी चल्थ्यो। वीरगन्जको पहिलो गन्तव्य नै रक्सौल थियो। यसका अलावा सिनेमा हेर्न र झुलन हेर्न पनि मानिस गइरहन्थे। यताका विद्यार्थी उता र उताका विद्यार्थी यता पढ्नका लागि आउजाउ गर्ने चलन थियो। हाम्रा दाइले पनि रक्सौलबाटै एसएलसी दिनुभयो।
त्यहाँ चिनेका मान्छे पनि धेरै थिए। दाइहरूका अधिकांश साथी पनि त्यतैका थिए। वारि र पारिको वेशभूषा, लवजमा पनि समानता थियो। सौहार्दपूर्ण वातावरण थियो। रक्सौल पुगेर फर्किंदा पनि सीमा छिचोलेर कतै गएजस्तो लाग्दैनथ्यो। मेरा सुरुआती लेखनको छपाइ पनि वीरगन्जबाटै भयो। यसमा दाइहरूको ठूलो सहयोग र मार्गदर्शन हुन्थ्यो। दाइहरू ईश्वरचन्द्र, धच गोतामे, गोपाल गौतमलाई समेत वीरगन्जले नै बनायो। उहाँहरू स्थापित हुनमा जन्मभूमि वीरगन्जकै हात छ।
मैले पहिलोपटक लक्ष्मीप्रसाद देवकोटालाई वीरगन्जमै देखेँ। एसियाली लेखक संघको भेलाबाट फर्किएपछि उहाँलाई वीरगन्जमा भव्य स्वागत गरिएको थियो। उहाँले त्यस कार्यक्रममा रुसको विश्वविद्यालयको चर्चा र प्रशंसा गर्नुभएको मलाई अहिले पनि याद छ। उहाँले उक्त विश्वविद्यालयका हरेक कोठामा चियाउँदै हेर्दा मात्र पनि जीवन जान्छ भन्नुभएको थियो।
पछि मैले त्यहाँ भ्रमण गर्ने अवसर पाएका बखत उहाँका कुरा झलझली सम्झेको थिएँ। उहाँलाई त्यति बेला कविता वाचनका लागि अनुरोध गरिएको थियो। उहाँले लेखनाथ पौड्यालको ‘पिँजराको सुगा' सुनाउनुभयो। पछि पुनः अनुरोध गरेपछि आफ्नै पागल कविता पनि सुनाउनुभयो। वीरगन्ज मेरो र हाम्रो परिवारको पारिवारिक पृष्ठभूमिसँग जोडिएको छ।
यसरी वीरगन्ज पहिलेदेखि नै साहित्यिक, सांस्कृतिक, राजनीतिक रूपमा अगाडि थियो। अहिले पनि वीरगन्ज महानगरका रूपमा विकास भइरहँदा देशकै महत्वपूर्ण व्यापारिक, औद्योगिक सहरका रूपमा मात्र होइन राजनीतिक रूपमा पनि केन्द्रमा र चर्चामा छ।
(साहित्यकार गौतमसँग समीरबाबु कट्टेलले गरेको कुराकानीमा आधारित)