'घोस्ट सिटी'को पुनर्निर्माण
बन्दीपुरले बितेका सात दशकदेखि भोगेका अनेक घटनाको साक्षी हुँ म। किनकि म यही बस्तीमा हुर्किएँ। मेरो सहर बन्दीपुर के–कस्ता उथलपुथल बेहोर्दै अहिलेको यो अवस्थासम्म आइपुग्यो भन्नेबारे धेरैथोर भन्न सक्छु। बन्दीपुर पहिले कस्तो थियो, अहिले कस्तो छ र यो सहर कसरी यस्तो भयो ? यसबारे कुरा गरौं।
बन्दीपुरको कुरा गर्दा पृथ्वीनारायण शाहको शासनलाई पनि छुनुपर्छ। अध्ययनअनुसार उसबेला यहाँ मगर बस्ती थियो। पृथ्वीनारायण शाहले बाइसी÷चौबीसी राज्यलाई एउटै देश बनाउँछु भनेर विभिन्न ठाउँमा युद्ध गर्दै हिँडे र जित्दै गए। उनले उपत्यकाको कीर्तिपुरमा पनि आक्रमण गरे। उनको सैन्यले कीर्तिपुरेमाथि निकै दमन र अत्याचार गरेको बताइन्छ।
नाक, कान काटेर डोको भरेको बताइन्छ। पृथ्वीनारायण शाहले उपत्यकाका तीनै सहरमा आक्रमण थालेपछि त्यहाँका बासिन्दा त्रसित भएर भाग्न थाले। उपत्यका छोडेर अन्तै गए। रामेछाप, ओखलढुंगातिर पनि पुगे। केही बन्दीपुर आइपुगे। राम्रो हावापानी र व्यापारिक दृष्टिले उपयुक्त देखेपछि यहाँ बस्न थालेका हुन सक्छन् नेवारहरू। भोट र मधेसको आउजाउ गर्ने मूल बाटो थियो बन्दीपुर। उत्तरी भेगका लमजुङ, गोरखा निवासी सामान लिन भारत जाँदा त्यही क्षेत्र हुँदै अघि बढ्थे।
बसोबासका लागि नेवारलाई उपयुक्त भूमि बनिदियो, बन्दीपुर। विस्तारै नेवारको जनसंख्या बढ्दै गयो। किनकि उनीहरूका आफन्त पनि यहाँ आउन थाले। त्यसपछि बन्दीपुरमा बसिरहेका मगरहरू विस्थापित हुँदै गए।
नेवारहरू यहाँ आएपछि व्यापारिक हिसाबले बन्दीपुरको महत्व बढ्न थाल्यो। उत्तरी भेगका मानिस पनि सामान किनबेचका लागि बन्दीपुर नै आउन थाले। मान्छेहरू व्यापारमा अग्रसर हुन थाले। बन्दीपुर बिजनेसका लागि उपयुक्त ठाउँ बन्यो र बिस्तारै 'बिजनेस हब' बन्यो।
नेवारहरू व्यापारिक कौशलता मात्र लिएर बन्दीपुर पुगेनन्, उनीहरूले नेवारी परम्परालाई पनि सँगै लिएर गए। पहिले–पहिले झुपडीकै घरमा बस्ने भए पनि विस्तारै–विस्तारै पंक्तिबद्ध सुन्दर घर बनाउन थाले। विशेषगरी भक्तपुरको वास्तुकलालाई उनीहरूले बन्दीपुरमा पनि प्रयोग गरे। घरमा प्रयोग हुने काठमा बुट्टा कुँद्न थाले। यसमा केही शैली भने परिमार्जित भयो होला तर नेवारी परम्परा जीवित नै रह्यो।
महत्वपूर्ण व्यापार–केन्द्रमा रहेको बन्दीपुर केही समयमै 'घोस्ट टाउन' बन्यो। मान्छेहरू देखिन छाडे। कताकति बूढाखाडाहरू मात्र घाम तापिरहेका देखिन्थे। विरक्तलाग्दो बन्यो बन्दीपुर।
म सानो छँदा देख्थेँ— घरका छानाहरू फुसका हुन्थे। ढुंगाको 'वाल' लगाइएको हुन्थ्यो। पैसा कमाउनेचाहिँ भारतबाट टिन ल्याएर लाउँथे।म १०/१२ वर्षको हुँदा बन्दीपुरमा स्लेट खानी भेटियो। त्यसपछि मान्छेले ढुंगाको छानो लगाउन थाले। तर, गत ०७२ सालको भूकम्पपछि चाहिँ मान्छेहरूले ढंगाको छानो हटाएर टिन नै प्रयोग गर्न थाले। घरलाई भारी हुने भएकाले छानोमा अचेल कमैले ढुंगा प्रयोग गर्छन्।
सहर राम्रै थियो। सुन्दर थियो। जिल्ला सदरमुकाम भएकाले मानिसको आउजाउ पनि बाक्लै हुन्थ्यो। सहरमा चमकधमक थियो। तर, २०२३/२४ सालतिरबाट सहरको स्वरूप बदलियो। बन्दीपुरमा दुईवटा घटना भयो। पहिलो— जब पोखरा–काठमाडौं पृथ्वी राजमार्ग बन्यो, त्यसले बन्दीपुरलाई बाइपास गरिदियो। दोस्रो— बन्दीपुर सदरमुकाम सारियो।
बन्दीपुरलाई बाइपास गरेर सडक बनिसकेपछि यहाँको व्यापार चौपट भयो। व्यापारका लागि आउने साहूहरू सडकतिरै रुमल्लिन थाले। वरपरका मान्छेहरू पनि सामान किनबेचका लागि सडकतिरै जान थाले। चितवन सहरको पनि विकास भइसकेकाले मान्छेहरू व्यापारका लागि त्यता हिँडे। साहूहरू बन्दीपुर छोडेर चितवनतिर जान थाले। त्यसपछि व्यापार÷व्यवसाय र मान्छेको चहलपहल कम हुँदै गयो बन्दीपुरमा।
सदरमुकाम सरुवाले बन्दीपुरलाई झनै ठूलो घाटा लगायो। पञ्चायतको केही समयपछि भकाभक सदरमुकामहरू सार्न थालियो। यसै प्रक्रियामा बन्दीपुरको सदरमुकाम दमौलीमा सार्ने निर्णय भयो। सूर्यबहादुर थापा प्रधानमन्त्री थिए त्यति बेला। बन्दीपुरको सदरमुकाम सर्यो। हामीले त्यसको प्रतिरोध पनि गर्यौं। मलगायत अन्य केही साथीलाई प्रहरीले समात्यो पनि। बलजफती सदरमुकाम लगियो। सदमुकाम सरेपछि सरकारी कार्यालयमा काम गर्ने कर्मचारी पनि उतै गए। आर्मीहरू पनि गए। अस्पतालचाहिँ हामीले लैजान दिएनौं।राजाकै हुकमप्रमांगीबाट अस्पताल नसार्नू भन्ने निर्णय भएको थियो।
जिल्लाभरिका मान्छे आउँदा जुन चहलपहल हुन्थ्यो, त्यो हरायो बन्दीपुरमा। अफिसका देखि व्यापारिक मान्छे पनि यहाँ आउन छाडे। त्यसपछि बन्दीपुरवासी पनि बसाइँ सर्न थाले। मान्छेहरूको पलायन सुरु भयो। व्यापारीहरू अझै राम्रो व्यापार हुने आशामा चितवनतिर जान थाले। साना व्यापारीहरू डुम्रेतिर जान थाले। केही दमौलीतिर गए। पढेलेखेकाहरू काठमाडौंतिर गए। निम्न मध्यमवर्गीय मान्छेहरूचाहिँ त्यहीँ बसे।
२०२४ सालबाट खस्किन थालेको बन्दीपुर २०३०/३२ सालसम्म आइपुुग्दा शून्य भयो। घरहरूमा मान्छे बस्न छाडे। मान्छे नभएपछि घरहरूमा चोरी बढ्न थाल्यो। काठपात बिग्रिन थाले। हामीले पनि धेरै वर्षसम्म पैसा दिएर घर हेर्न मान्छे राखेका थियौं।
महत्वपूर्ण व्यापारको केन्द्रमा रहेको बन्दीपुर केही समयमै 'घोस्ट टाउन' बन्यो। मान्छेहरू देखिन छाडे। कताकति बूढाखाडाहरू मात्र घाम तापिरहेका देखिन्थे। विरक्तलाग्दो बन्यो बन्दीपुर। सहर शून्य बन्यो। म पनि काठमाडौंतिर आएँ। तर, बेलाबेलामा पुगिरहन्थेँ। बसाइँ सरेर जानेहरू पनि बेलाबेलामा पुग्ने गर्थे। घर भत्किएको हुन्थ्यो। साथीभाइ कोही हुँदैनथे। गफ गर्ने मान्छे पनि भेटिँदैनथे। बन्दीपुर बर्बाद भयो भन्दै म न्यास्रो अनुहार लगाएर काठमाडौं फर्कन्थेँ। उदास–उदास हुन्थेँ।
बन्दीपुरमाथि मैले धेरै सोचविचार गरेँ। साथीहरूबीच सरसल्लाह पनि गर्यौं। अब पनि केही गरिएन भने यसको नामनिशाना बाँकी रहँदैन भन्ने लाग्यो हामीलाई। त्यसैले २०४९ सालमा मेरो अध्यक्षतामा 'बन्दीपुर सामाजिक विकास समिति' गठन गर्यौं। बन्दीपुरेहरूको पिकनिक आयोजना गरेर हामीले यो सहरलाई पुनर्निर्माण गर्ने प्रण गर्यौं। बन्दीपुरलाई सुन्दर सहर बनाउने योजनाका साथ हामीले तत्काल दुईवटा उद्देश्य राख्यौं। पहिलो, एकअर्कामा चिनापर्ची गरेर सम्बन्ध प्रगाढ बनाउने। अर्को, बाहिर बसेकाहरूले सहयोग गर्ने।
लामो समयदेखि बाहिर बसेकाले गर्दा धेरैले धेरैलाई चिन्नै छाडिसकेका थिए। त्यसैले बन्दीपुरका मान्छेलाई एकै ठाउँमा राख्नुपर्ने जरुरी थियो। त्यसका लागि हामी हरेक महिना मिटिङ बस्न थाल्यौं। हरेकपटक बेग्लाबेग्लै घरमा मिटिङ बस्थ्यौं। त्यसो गर्दा सम्बन्ध पनि सुध्रिन्थ्यो र चिनजान पनि प्रगाढ हुन्थ्यो। मर्दापर्दासमेत सबै बन्दीपुरेलाई जम्मा गर्न थाल्यौं। भोज, बिहे, पूजामा सबै बन्दीपुरेलाई बोलाउन थाल्यौं। एकअर्कालाई मद्दत गर्न थाल्यौं। एक भएर काम गर्नुपर्छ भनेर हामी अघि बढ्यौं। बन्दीपुरलाई सुन्दर बनाउन यो 'टेक्निक' एकदमै प्रभावकारी भयो।
मान्छेले टुरिस्टलाई ध्यान दिएर सामान राख्न थाले। त्यसबाट होटल बिजनेस पनि बढेको छ। पछिल्ला केही महिनामा पाँच सयदेखि एक हजारसम्म टुरिस्ट आउन थालेका छन् यहाँ।
अर्कोतिर बन्दीपुरलाई सुन्दर सहर बनाउनु थियो। यसका लागि के निर्णय भयो भने हरेक वर्ष एउटा परिवारबाट एक वा दुईजना व्यक्ति बन्दीपुर जानैपर्ने। त्यसरी जाँदा जोसँग जे सीप छ, उसले त्यो काम गर्नुपर्ने। जस्तो, डाक्टर छ भने त्यहाँ गएर स्वास्थ्य क्याम्प सञ्चालन गर्नुपर्ने। मचाहिँ शिक्षासम्बन्धी कार्यक्रम गर्थें। ट्रेनिङ दिन्थेँ। यसरी, पहिलेका सबै बन्दीपुरे समयसमयमा बन्दीपुर गएर सरसहयोग गर्न थाले। कामहरू गर्न थाले। बन्दीपुर फेरि केही मात्रामा सक्रिय हुन थाल्यो।
बन्दीपुरलाई आर्थिक रूपले सम्पन्न बनाउन विभिन्न सम्भावना खोज्न थाल्यौं। पर्यटक मुख्य सम्भावना थियो। पर्यटक लोभ्याउने लिस्टहरू तयार पार्न थाल्यौं। बन्दीपुर विस्तारै उकासिँदै थियो। विद्यालयहरू थपिँदै थिए। मान्छेहरू पनि घरजग्गा किनेर बस्न थालेका थिए। विशेषगरी गुरुङ, मगर मुख्य बन्दीपुरमा आउने क्रम बढ्यो। श्रीमान्हरू विदेशी आर्मीमा हुन्थे। श्रीमतीहरू घरजग्गा किनेर छोराछोरी पढाउन बन्दीपुर नै बस्थे।
विभिन्न जातजातिका मान्छे बन्दीपुरमा बसाइँ सरेर आएपछि भिन्नभिन्न सांस्कृतिक कार्यक्रमहरू देखिन थाल्यो। बसाइँ सरेर आउनेहरूले परम्परा पनि बोकेर आउँथे। त्यसलाई उनीहरू बन्दीपुरमा प्रयोग गर्थे। सांस्कृतिक हिसाबले मात्र होइन, प्राकृतिक रूपले पनि बन्दीपुर मनमोहक ठाउँ नै हो। यहाँबाट हिमालय शृंखला बहुतै सुन्दर देखिन्छ।धौलागिरिदेखि लाङटाङको हिमाली 'रेन्ज' देखिन्छ।
पर्यटक लोभ्याउन प्राकृतिक, सांस्कृतिक कुराहरूले महत्वपूर्ण भूमिका खेल्छ। ती कुराहरू हामीसँग छँदै थियो। त्यसपछि हामीले बन्दीपुरमा टुरिस्टहरूले खोज्ने सुविधामा ध्यान दिन थाल्यौं। पर्यटकलाई राम्रो र स्तरीय खान÷बस्न दिनुपर्छ भन्ने थियो। आतिथ्य सत्कारमा ध्यान दिनुपर्छ भनेर सबैलाई सचेत गरायौं। सहरभित्रका बाटो मर्मत गर्नेदेखि लिएर नियमित सफाइ पनि गर्यौं। डुम्रेबाट हामीले बन्दीपुरसम्म बाटो जोड्यौं।
बाटो जोडिएपछि चाहिँ केही समस्या आइपर्यो। बन्दीपुर सहरभित्रै बस, ट्रक, ट्याक्टर गुड्न थाले। तिनीहरूको कम्पनले घरहरू थर्कन थाले। ऐतिहासिक रूपमा बनेका घरहरू त ध्वस्त हुने सम्भावना देखियो। सभ्यता जोगाउनकै लागि भए पनि सहरभित्र मोटर कुद्न बन्द गरिदियौं। सहरको बाहिर भेगमा मात्र गाडी गुडाउन पाइने नियम बन्यो। अहिले पनि सहरभित्र गाडी जान पाउँदैन। हरियाली सहर बनाउन हामीले गमलामा फूलहरू रोप्यौं। विभिन्न बिरुवा रोप्यौं।
सहरलाई उकास्न हाम्रो मुख्य ध्यान पर्यटनमा थियो। पर्यटकलाई नै ध्यानमा राखेर हामीले काम गर्यौं। पर्यटककै लागि होटल, होमस्टेहरू खुलेका छन्।अहिले त बन्दीपुरमा 'रजिस्टर्ड' होटल मात्र ६५ वटा छन्। स्तरअनुसारका होटल छन्। सस्तो, महँगो जस्तोमा बसे पनि हुन्छ। जति धेरै 'अफोर्ड' गर्न सक्यो उति सुविधा पाइन्छ। टुरिजममा हामीले निकै प्रगति गर्यौं। 'लन्ली प्लानेट'मा बन्दीपुरबारे पनि लेखियो।घोस्ट टाउन फेरिँदै गयो।
महत्वपूर्ण व्यापारको केन्द्रमा रहेको बन्दीपुर केही समयमै 'घोस्ट टाउन' बन्यो। मान्छेहरू देखिन छाडे। कताकति बूढाखाडाहरू मात्र घाम तापिरहेका देखिन्थे। विरक्तलाग्दो बन्यो बन्दीपुर। सहर शून्य बन्यो।
मान्छेले टुरिस्टलाई ध्यान दिएर सामान राख्न थाले। त्यसबाट होटल बिजनेस पनि बढेको छ। पछिल्ला केही महिनामा पाँच सयदेखि एक हजारसम्म टुरिस्ट आउन थालेका छन् यहाँ। होटल मात्र होइन, होमस्टेलाई पनि 'सिस्टमेटिक' ढंगबाट चलाउन थाले बन्दीपुरेले। त्यसमा उनीहरूले प्याकेजमा काम गर्थे। सस्तो दरमा पाहुनालाई स्वागत गर्न थाले। खानपिनको राम्रो प्रबन्ध गरे। अहिले ३५ वटा त होमस्टे नै छ यहाँ। त्यो पनि दैनिक भरिन्छन्।
पहिले पहिलेचाहिँ बन्दीपुरको मुख्य आयस्रोत कृषि र व्यापार थियो। व्यापारबाट राम्रो कमाइ हुन्थ्यो। हरेकको घरमा 'तान' हुन्थ्यो। अहिले प्रायःले टुरिस्टलाई ध्यान दिन्छन्। त्यहीँ फलाइएका तरकारी खुवाउँछन्।
अहिले बन्दीपुरमा तीनवटा पक्षमा ध्यान दिनुपर्छ भनेका छौं। अंग्रेजीको 'टीएचई' अर्थात् टी भनेको टुरिजम, एच भनेको हेल्थ, ई भनेको एजुकेसन। यी तीन पक्षलाई प्राथमिकता दिएर बन्दीपुर अघि बढिरहेको छ। यी तीन पक्ष एकअर्काका परिपूरक बन्न सक्छन्। शिक्षा, स्वास्थ्य र पर्यटनमा बन्दीपुर राम्रो छ। हामी यसलाई अझै उत्कृष्ट बनाउनेमा छौं। मलाई लाग्छ, अब बन्दीपुरले गुणस्तर 'मेन्टेन' गर्नुपर्छ।
नेपालमा धेरै गाविस 'प्रमोट' भएर नगरपालिका बने। हाम्रो बन्दीपुर पनि नगरपालिका बनेको थियो कुनै समय। तर, अहिले फेरि गाउँपालिका भएको छ। दुई वर्षपहिले यसलाई गाउँपालिका बनाइयो। त्योभन्दा पहिले लगभग चार वर्षसम्म बन्दीपुर नगरपालिका थियो। जनसंख्या नपुगेको भन्दै फेरि गाउँपालिका बनाइयो। आँबुखैरेनी लगायतका ठाउँ गाभिँदा नगरपालिकाका लागि जनसंख्या पुग्ने थियो तर आँबुखैरेनी र बन्दीपुर जोडेर नगरपालिका बनाउने भन्दा तनाव उत्पन्न भयो। नगरपालिकाको नाम पनि बन्दीपुर र केन्द्र पनि बन्दीपुर हुनुपर्ने हाम्रो सर्त थियो। तर, हाम्रो प्रस्ताव आँबुखैरेनीले मानेन।
(श्रेष्ठले बन्दीपुर सहर पुनर्निर्माणका लागि महत्वपूर्ण भूमिका खेलेका छन्। किरण दहालसँगको कुराकानीमा आधारित)