बटौलीदेखि बुटवलसम्म
सुनिन्छ त फगत
ब्रोंकाइटिस भएका ट्रकहरूको खोकी
बस्ने उमेर भएका बसहरूको घ्यार्र घ्यार्र
लाहुरेहरूको बुटको आवाज
र मठ्याहा नेपाली बोली ? 'अच्छा यार'
कवि भूपि शेरचनको 'भैरहवा' शीर्षकको कवितामा बुटवलबारे लेखिएका गद्य हुन् यी। भूपिले लेखेका गद्यले विकसित हुँदै गरेको आधा शताब्दीअघिको बुटवललाई लक्ष्य गर्छ। लाहुरेहरू भारत प्रवेश गर्ने नाका र खस्यौलीका भट्टीहरूमा रात बिताउने चिनारी बुटवलको पछिल्लो इतिहास हो।
अहिले पश्चिम नेपालकै व्यापारिक केन्द्र मानिने बुटवल बटौली अथवा त्यसभन्दा पनि अझ प्राचीन नामबाट विकसित भएको हो। यो अहिले मात्रै होइन, सयौं वर्षअघि पनि गणराज्यको राजधानी र व्यापारिक नाका पनि थियो।
चीनको तिब्बत र भारतको गोरखपुरको व्यापारिक थलोको विश्राम नाका पहाडको फेदी मधेसको सिरान नै बटौली थियो। बुटवललाई रामदेखि बुद्धसम्म जोडेर इतिहास लेखिएका छन्। हिन्दु धर्मका भगवान् राम बटौली (तिनाउ पश्चिम) हुँदै गण्डकी नुहाउन गुल्मीको रिडी, पाल्पा रामपुरको रामनदी हुँदै गण्डकको भ्रमण गरी खस्यौली (तिनाउ पूर्व) हुँदै अयोध्या पुगेका प्रसंगहरू छन्। योगी नरहरिनाथको 'हाम्रो देश दर्शन' पुस्तकले बुटवलको इतिहासलाई द्वापर युगदेखि बुद्धकालसम्मको प्रसंगमा व्याख्या गरेको छ।
बुटवल बुद्धकालमा बुद्ध खेल्ने बुद्धवल्ली थियो। योगी नरहरिनाथको प्रसंग कोट्याउँदै डा. टीकाराम पन्थीले लेखेका छन् —बुद्धवल्लीबाटै बुटवल नामकरण भएको हो। यो सहर अहिलेको नभई उहिलेको थियो। बुटवल बुटवलमै सीमित थिएन, भलवारीदेखि मुर्गियासम्म फैलिएको थियो (बुटवल दर्पण : ०६६)।
आधुनिक बुटवल भूपिको कविताजस्तै लाहुरेको बुटको आवाजसँगै हुर्किएको हो। तत्कालीन समयमा खस्यौलीमा रहेका आठदस थकाली भट्टी र खरका छाप्राहरूले बुटवल कायम गर्यो। सिद्धार्थ राजमार्ग नहुँदासम्म सोही हालतमा बसेको बुटवल सडक बनेपछि बसपार्क हुँदै सहरमा विकसित बन्यो।
पछिल्लो दशक बनेका फराकिला सडकले सुन्दर देखिए पनि बुटवलका गल्ली र आवासको संरचना निकै कमजोर छ। कमजोर संरचनाका अग्ला घर निर्माण भएका छन्। मानवता हराएको मृत सहरको उपमाबाट बुटवल पिल्सिएको छ।
इतिहासको सहर हालको बुटवल नभई बटौली थियो। जुन तिनाउ तिरको जितगढी किल्लाको छेउमा खुम्चिएर बसेको छ। बटौली र खस्यौली नाम बुटवलमा विलय भए। खस्यौली गुल्जार हुँदै गयो। नुन र घिउ साटेर व्यापार चम्काउने बटौली सुनसान बन्यो। प्रशासनिक रूपमा बटौली–खस्यौली पञ्चायत पनि बनेको थियो। पछि प्रशासनिक नाममा पनि बटौली हरायो। अहिले बुटवल उपमहानगरपालिकाका नामले चम्किएको छ। कथ्यमा बटौली जीवित रहेपछि लेख्यमा बटौली हराइसकेको छ।
आधुनिक बुटवल आफैंमा प्राचीन बस्ती भएको सहर भने मानिँदैन। बुटवल उपमहानगरपालिकाभित्र पर्ने विनायकपुर, तामनगर, सैनामैनाका केही क्षेत्र भने प्राचीन बस्ती रहेको बताइन्छ। सैनामैनादेखि बुटवलसम्म सिद्धार्थ गौतम नै जंगल सफारीका रूपमा आउने प्रसंगहरू विभिन्न ग्रन्थमा छन्। सैनामैना क्षेत्रमा भएका सामान्य उत्खननले बुद्धकालकै बस्तीको परिचय रहेको शंका दिलाएको छ।
आधुनिक बुटवल
अंग्रेजहरूलाई दुई सय तीन वर्षअघि हराएको जितगढी (बुटवल) क्षेत्र उहिलेको पनि राजधानी थियो। सेनवंशीय राजाहरूले यसलाई शीतकालीन राजधानीका रूपमा प्रयोग गरेका थिए। इतिहाससँग जोडिएको, ल्हासाको नुन र कपडाको व्यापारसँग जोडिएको बुटवलले एक सय वर्ष अघिदेखि मात्रै आधुनिक रूप पाएको हो।
'खस्यौलीमा जब ससाना भट्टीहरू बन्न थाले, तब बुटवलको स्वरूप देखिन थालेको थियो', इतिहाससम्बन्धी जानकार विमलबहादुर शाक्य भन्छन्, 'राजमार्गमा मोटर गुड्न थालेपछि साँघुरो बटौली सुक्दै गयो। लाहुरेहरूले खस्यौलीमै घर बनाउन थाले। अग्ला घर जहाँ बने, सहर त्यहीँ देखियो।'
बटौलीको सामाजिक र सांस्कृतिक स्वरूप निकै बेग्लै छ। यहाँको रैनाथे जाति के हो भन्न सकिने अवस्था छैन। बुद्धकालमा थारू र शाक्यवंशका मानिस बसोबास गर्थे भन्ने ग्रन्थहरूमा लेखिएका छन्। पाँच सय वर्षअघि पाल्पाका राजा मणिमुकुन्द सेनले काश्मीरबाट कशौधन (मधेसी) जातिलाई व्यापारका लागि बटौली ल्याएका थिए। कशौधनपछि नेवार जातिको बसोबास बटौलीमा रह्यो।
ल्हासाको नुन र सुन, पहाडी क्षेत्रको जडीबुटी, घिउ, तेलसँगको व्यापार बटौलीले धानेको थियो। पहाडी जिल्ला मात्रै होइन, हिमाली जिल्लाका जडीबुटी बेच्ने थलो पनि बटौली थियो। बुटवलसम्बन्धी जानकार रवीन्द्र गोपाल लाकौल भन्छन्, 'जंगल रहेको खस्यौली बुटवलका रूपमा विकास भयो। बजार पारि सर्यो, पहाडसँगको व्यापार राजमार्ग बनेसँगै सुस्ताउँदै गयो।'
०१७ सालमा हाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको क्षेत्रमा रुद्रशमशेरको दरबार थियो, जहाँ उनी वर्षैभर सिकार खेल्न पाल्पाबाट झर्थे। खस्यौली पूरै जंगल थियो। सिद्धार्थ राजमार्गको गोरेटो बनेपछि अमरपथ क्षेत्रमा १०/१२ वटा घर बने। पुल्चोकमा दुईचार छाप्रा थिए। पुलिस थाना हालकै इलाका प्रहरी कार्यालय भएकैै स्थानमा थियो।
सैनामैनादेखि बुटवलसम्म सिद्धार्थ गौतम नै जंगल सफारीका रूपमा आउने प्रसंगहरू विभिन्न ग्रन्थमा छन्। सैनामैना क्षेत्रमा भएका सामान्य उत्खननले बुद्धकालकै बस्तीको परिचय रहेको शंका दिलाएको छ।
बुटवलमा थकाली, गुरुङ, तामाङ, मगर जातिको बसोबासको इतिहास ८० वर्ष हाराहारीमा छ। क्षेत्री, बाहुनहरू निकै पछि बुटवल झरे। बुटवलमा नेवारको बसोबास भने १९औं शताब्दीबाट भएको हो। करिब दुई वर्षदेखि नेवारहरू व्यापारको सिलसिलामा बुटवलमा आएको पाइन्छ। पद्म चैत्य विहार स्थापनाको सय वर्षदेखि बुटवलमा बौद्ध गतिविधि हुने गरेका थिए। उक्त विहार १९७१ सालमा स्थापना भएको थियो।
बुटवलमा थकालीहरूको बसोबास भएको १९९५ सालतिरबाट भएको हो। मुस्ताङबाट बसाइँ सरेर आएका रुद्रविलास तुलाचनले रूपन्देहीको भैरहवामा कपडा पसल खोलेका थिए। केही वर्ष त्यहीँ व्यापार गरे। त्यसपछि अहिलेको पुरानो बाटौलीको गणेशस्थान मन्दिर नजिकै कपडा पसल खोलेका थिए। उनी नै पहिलोपटक बुटवलमा व्यवसाय गर्ने थकाली हुन्।
२०१० सालपछि बुटवलमा थकालीहरूको बसोबास बढ्दै गयो। सडकमा भट्टी चलाउनेहरू थकाली होटल नाम लेखेर होटल गर्न थाले। कपडा व्यापारी पनि प्रशस्त थिए। त्यति बेला ब्रिटिस आर्मीमा थकाली, नेवारहरूलाई भर्ती गरिँदैनथ्यो। थकालीहरू छट्टु हुने र नेवार अल्छी हुन्छन् भन्ने आरोप थियो। त्यसैले बुटवल झरेका थकालीहरूले आफ्नो थर थापा, क्षेत्री बनाएर भर्ती भएका थिए। उनीहरूले अहिले बल्ल थर परिवर्तन गर्न थालेका छन्।
बुटवल क्षेत्रमा २००० सालतिरबाट गुरुङहरूको बसोबास सुरु भएको भने पनि प्रामाणिक तथ्य भेटिँदैन। आर्मीमा भर्ती हुने भन्दै बुटवल आएका गुरुङ यहीँ बस्न थालेका हुन्। २०१२ सालमा जितबहादुर गुरुङ बुटवलमा बसोबास गर्न थालेका हुन्। उनी पर्वतबाट बुटवल झरेका थिए। दुई सय चार बिघा जमिन लिएर उनी बुटवलमा बस्न थालेका थिए। त्यतिखेर तामाङहरूले पनि गुरुङ थर बनाएर बस्ने गरेका थिए। ब्रिटिस आर्मीमा भर्ती हुनका लागि उनीहरूले त्यसो गरेका हुन्। २०१६ सालपछि गुरुङहरू बसाइँ सरेर बुटवल आउने क्रम बढेको थियो। अहिले बुटवल नगरपालिकाभित्र आठ सय घरधुरी गुरुङ समुदायको बसोबास छ।
बुटवलमा तामाङहरूको बसोबास सुरु भएको झन्डै ५६ वर्ष नाघिसकेको बताइन्छ। तर, त्यतिखेर तामाङहरूले आफूहरूलाई गुरुङ भनेर बसेका थिए। आर्मी, प्रहरीमा भर्ती हुन उनीहरू थापा, क्षेत्रीको थरमा पनि बसे। तामाङ नै भनेर बुटवलमा बस्ने पहिलो व्यक्ति नर्बु लामा हुन्। उनी २०३७ सालमा बुटवल आएका थिए। बुटवल उपमहानगरपालिकामा शेर्पाहरूको त्यति ठूलो संख्या छैन। जनगणना २०६८ अनुसार बुटवलमा शेर्पाको संख्या जम्मा २६ छ। तीमध्ये पुरुषको संख्या १० र महिलाको संख्या १६ जना छ।