यो सहर मेरो हो

यो सहर मेरो हो

मेरो अन्तस्करणमा रहेको चालीस वर्ष लामो सहर मेरो मष्तिष्कका पत्रहरू र हृदयका अनेक कोठाभित्र बिसाई बिसाई नाचिरहेको थियो। चालीस वर्षदेखि अनेक आयामहरूमा फैलिरहेको एउटा सहरका दृश्यअदृश्य विम्बहरूले मलाई कहिले एक्लै मुस्काउने र कहिले रुन मन लगाउने बनाइरहेका थिए।

यसैबीच जर्मन कवि हान्च उल्रिख त्राइखेल 'यो सहर कसको हो ? ' भन्ने प्रश्न कविता लिएर आइपुगेका थिए। विश्वभरिका कविलाई गरेको प्रश्न नेपाल आएर नेपाली कविलाई पनि गरेपछि आफूले नगरेका अनुभवहरू र आफूलाई नछोएका अनभूतिहरूसमेत बटुलेर लेख्नु थियो कविता। कविताको शीर्षक तय थियो। कविता आएर कविता लेख्नु थिएन।

कविता लेखेर कवितालाई ल्याउनु थियो। एउटा निश्चित परिधिभित्र भावनालाई दौडिनका लागि खाली रहेको एउटा अनन्त ठाउँलाई जतिसक्दो भरिने गरी सिँगार्नु थियो। चालीस वर्षको अनुभव र अनुभूतिलाई एउटा कवितामा अटाउन सम्भव त थिएन तर त्यही लक्ष्य लिएर लेख्नु थियो।

एउटा सहरको मूलबाटामा नांगै हिँडेको एउटा सानो बालकले बढ्दै गएर दुई कोरी उमेरको होउन्जेल हेरिरहेको, देखिरहेको सो सहरका अनेक चित्रहरू घुमिरहेथे मेरो स्मृतिमा। धेरैले चिनिएर एउटा चोकमा लगातार उभिइरहेको एउटा सालिकलाई कतै नहिँडीकनै चालीस वर्षमा अर्कै कुनै अपरिचित ठाउँ पुगेजस्तो लाग्छ लाग्दैन, मलाई थाहा छैन।

एउटा रूखले सडक किनारमा उभिरहँदा चालीस वर्षसम्म हरेक साँझ आफूमा बास बस्न आएका कति चरालाई सम्झिरहन्छ पनि थाहा छैन। चालीस वर्षदेखि एउटै ठाउँमा लम्पसार सुतिरहेको बाटाले कति जोर जुत्ताका छापलाई कहिल्यै बिर्संदैन वा चालीस वर्षसम्म एकनासले भित्तामा टाँसिइरहेको ब्ल्याकबोर्डले कति जोर आँखालाई कहिल्यै सम्झिँदैन, पनि थाहा छैन।

बालमन्दिरको लिटोको सुगन्ध र अभिनीत सुताइ, अनन्तराम बाको पसलको मिठाईको स्वाद, अञ्चलाधीश अफिसको सभाहल पहिलोपल्ट रंगाएको रङको गन्ध, नब्बे पैसामा आधा लिटर दूधसहित बिहानै घरअगाडि आइपुग्ने डेरीको बोतल, हस्पिटल चोकमा पड्किएको बमको त्रास, वीरेन्द्र सभागृहमा अनि देउराली रुँदाको चहलपहल, विनयको बल्छीमा अड्केर आएको माछाको छटपटाहट, बोर्डर काटेर लुक्दै आधा रातमा आइपुग्नुहुने निर्वासित हजुरबाको ओज, लक्ष्मीपूजाको साँझ पटकाले जलेर हस्पिटल पुगेको हात, सबै म यहीँ उभिँदाउभिँदै मैले हेर्दाहेर्दै कृष्णझुलाका बेला भीडमा चिमोट्ने केटीको नदेखेको अनुहारजसरी हराइसकेका थिए।

दौडमा सहरले आफ्नो वचनको शिष्टता हराउँदै गएको, आफ्नो इमानको गाग्री रित्याउँदै गएको र एउटा विचित्रको चेतनाप्रदेशतिर छिर्दै गरेको अनुभूत भइरहेको थियो।

आफूभित्र रहेर आफूसँगै बराल्लिइरहने हकलबरी फिन पनि यहीँ हिँड्दाहिँड्दै आफैंले थाहा नपाईकन कतै भागिसकेको थियो। यही फुटपाथमा हिँड्दाहिँड्दै कालक्रमसँगै आफूभित्र विभिन्न पात्रहरू प्रवेश गरेर क्रमशः एउटाबाट अर्को बनाउने खेलले आफूलाई कहिल्यै थिग्रिन दिएको थिएन।

बजार अड्डा चोक हेर्दाहेर्दै बिलाएर त्यहाँ उभिन आइपुगेको ट्राफिक चोक, त्यसकै चेपतिरबाट पैसा बोकेर दक्षिण बोर्डर पुगी सामान लिएर फर्किने ट्याप्पो, अचाक्लीको गर्मीलाई आफूभित्र खाँदेर धरानसम्म ओसार्ने आराथुनको घोप्टे बस, हिमालय रोडदेखि बसाइँ सर्दैसर्दै तल पुगेको बस स्ट्यान्ड, सुत्यासुत्यै गायब भएका मलाया रोड र बैंकरोडहरू स्मृतिभित्र छिरेर यो सहर यहीँ छ कि अहिले कतै गइसक्यो भनेर झस्क्याइरहन्थे।

कलेज पढ्दाका नायिकाहरूको केशबाट उम्किन खोजिरहने मेहन्दीको वासना यही सहरका लाइब्रेरी, बाटा र कफी सपहरूमा छरिई नै रहेका थिए तैपनि। कलेजका कोठा, ल्याबोरेटरी, बगैंचा हुँदै बाहिर पुगेर बीच सहरका फुटपाथहरूमा यत्रतत्र पोखिएका सम्झनाहरू अझै त्यहीं नै ओच्छिइरहेका थिए। शंकरको चियापसल घर बनाएर आफू डेरामा सरे पनि यहीँ थियो।

तर, सँगैका नायकहरूमध्ये धेरै ईमेल भइसकेका थिए जो अचेल भने भित्तामा टाँसेका फोटा भएर फेसबुकबाट चियाउन थालेका छन्। यहीँ भएका विजय, प्रकाश, केशवहरू पनि छ महिना–वर्ष दिन टाढाका भएका थिए। कसैलाई जागिर, कसैलाई व्यापार र कसैलाई बिहे मात्रले पनि खाएको थियो।

सहर आफ्नो भौतिक र अभौतिक दुवै अनुहार निरन्तर फेरिरहेको थियो। पुराना घरहरू खण्डहर भइरहेथे भने खेतहरूमा घरहरूको भीड बढ्दै गएको थियो। आँपका बगैंचा फाँडेर उभिएका स्कुलमा केटाकेटीहरूले किताबको चित्र हेरेर आँपको रूख चिन्नुपर्ने भएको थियो। हिजो धान रोप्दै बच्चोलाई दूध चुसाउने कतिपय आमाहरू त्यही ठाउँमा उम्रिएको वृद्धा श्रमका बरन्डामा बसेर बत्ती कात्न थालेका थिए। डाक्टरहरू सरकारी अस्पताल जाने बिरामीलाई मुलुकको सबैभन्दा निरीह प्राणी ठान्न थालेका थिए।

नागरिकहरूलाई सहरको चोकमा उभिएर निजी नर्सिङहोमका बिल पढेर सुनाउन पाए आफू हिजो भोकै सुतेको यथार्थ मेटिने थियो भन्ने लाग्न थालेको थियो। सरकारी स्कुलका शिक्षकलाई भेट्न परे कुनै राजनीतिकर्ताको निवासतिर जानुपर्ने भएको थियो। आजीवन परिवर्तनका लागि होमिएर सर्वश्व गुमाएका झन्डा बोक्ने हातहरू परिवर्तनपछि काटिएका, राज्यका निकायहरू उद्दण्डता र बेथितिहरूको कब्जामा परेका, नागरिकहरूका सोचबाट समाज र मुलुक हराएर आफू मात्र बाँकी रहेकाजस्ता मुलुकका साझा घाउहरू त छँदै थिए सहरसँग।

अनेक थरी चेतना र अनेक ध्येयका झुण्डहरूबीच आफू कहाँ छु भनेर आफैंले खोज्नुपर्ने स्थिति बनिरहेको थियो। यो उही मेरो पुरानो सहर हो वा अर्कै हो भन्ने लागिरहेको थियो।

मानिसहरू दौडिई नै रहेका थिए। बाँच्नै छोडेर दौडिरहेका मान्छेको यो दौड के भेट्टाउनका लागि हो भन्ने बुझिनसक्नु थियो। त्यस दौडमा सहरले आफ्नो वचनको शिष्टता हराउँदै गएको, आफ्नो इमानको गाग्री रित्याउँदै गएको र एउटा विचित्रको चेतनाप्रदेशतिर छिर्दै गरेको अनुभूत भइरहेको थियो। मान्छे कुँदिएर अझ सुन्दर मान्छे हुँदै थियो वा कुँदिएको भ्रममा खिइएर सकिँदै थियो बुझ्न कठिन भइरहेको थियो।

अनेक थरी चेतना र अनेक ध्येयका झुण्डहरूबीच आफू कहाँ छु भनेर आफैंले खोज्नुपर्ने स्थिति बनिरहेको थियो। यो उही मेरो पुरानो सहर हो वा अर्कै हो भन्ने लागिरहेको थियो। सहर अझै मेरै थियो या थिएन भन्ने प्रश्न उब्जिरहेको थियो।

आफूलाई चम्किला लुगाभित्र सकसका साथ थुनेर बाहिर आफू बाँचेको अभिनय गरिरहेका मान्छेहरू, आफ्नो लघुताभाष छोप्नलाई ठूलो भएझैं गरेर हिजोको आफूदेखि डराउँदै जोगिएर बाँच्न खोजिरहेका मान्छेहरू र गाउँमा आफूलाई नभेटेपछि खोज्दै सहर पसेका मान्छेहरू विभिन्न दृश्यहरूमा अभिनय गरिरहेथे। आफू पनि कतै तिनै दृश्यमा हराएँ कि भनेर खोजूँजस्तो लाग्न थालेको थियो। सहरलाई बनाउन या भत्काउन आफू कहाँकहाँ सामेल भएँ भन्ने बुझ्न गाह्रो भइरहेको थियो।

एउटा सहर हरेक बिहान राजनीतिले खाएका र राजनीतिलाई खाएका, दायित्वले थिचिएका र दायित्वलाई कुल्चिएका, इमानले शिर ठाडो पारेका र बेइमानीले स्वर ठूलो बनाएका मान्छेहरूसँगै ब्यूँझिएर दिनभर आफूमाथि तिनको लडाइँ सहेर थिलथिलो भई हरेक साँझ लखतरान भएर सुतिरहेथ्यो। त्यही सहरको माटालाई पहिलोपल्ट टेकेर हिँड्न सिकेको थिएँ र अझै त्यही सहरको परिचयसँगै बाँचिरहेको थिएँ। त्यो जे थियो जस्तो थियो मेरै थियो। मैले सहरलाई ग्रहण गरेँ र त्राइखेललाई उत्तर दिएँ- यो सहर मेरो हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.