३ वर्षमा सकिँदै काबेली बी १

३ वर्षमा सकिँदै काबेली बी १

फिदिम : अरुण काबेली पावरले निर्माण गरिरहेको काबेली बी १ जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। पाँचथर र ताप्लेजुङको सिमानामा बग्ने काबेली नदीमा तीन वर्षअघि आयोजना निर्माण थालिएको थियो। निर्धारित समयमा निर्माण सम्पन्न नभएपछि म्याद थप गरी काम अघि बढाइएको थियो। हालसम्म ९८ प्रतिशत काम पूरा भएकोे आयोजनाले जनाएको छ।

केन्द्रीय विद्युत् प्रणालीमा एक वर्षअघि नै २५ मेगावाट विद्युत् जोड्ने लक्ष्यका साथ २०७२ वैशाख १० गते आयोजना निर्माण गर्ने सम्झौता भएको थियो। सम्झौताको पाँच महिनापछि असोजदेखि आयोजना निर्माण थालिएको थियो। माघको पहिलो साता आयोजनाको सम्पूर्ण काम पूरा गर्ने लक्ष्य रहे पनि अहिलेसम्म निर्माण सम्पन्न नभएको हो।

१३२ केभीए विद्युत् प्रसारण लाइन काबेली करिडोरको काम नसकिएपछि जलविद्युत् आयोजनाको काम प्रभावित भएको सिभिल हाइड्रोपावर इन्जिनियर माधव भुर्तेलले जानकारी दिए। ‘माघ महिनामै परीक्षण उत्पादन गर्ने लक्ष्य राखेका थियौं’, उनले भने, ‘काबेली करिडोरको प्रसारण लाइनको काम नसकिएपछि उत्पादन गरिएको बिजुली बिक्री गर्न नसकिने भएकाले काममा ढिलाइ गरिएको हो।’

आयोजनामा सिभिलको काम करिब सकिएको छ। मेकानिकलको काम मात्र बाँकी छ। ‘मेकानिकलअन्तर्गतको होस्टिक सिस्टमको काम पनि अन्तिम चरणमा पुगेको छ’, उनले भने, ‘अब दुई महिनाभित्र आयोजनाको सम्पूर्ण काम पूरा हुन्छ। तर, उत्पादित बिजुली बिक्री गर्न नसकिने भएपछि कामलाई स्थगन गर्न कम्पनीमा छलफल भइरहेको छ।’

उनका अनुसार पाइपलाइन, ब्यारेज र विद्युत्गृह निर्माणको सिभिल वर्क सकिएको छ। विद्युत्गृहमा हाइड्रो मेसिन जडानको काम भइरहेको छ। इन्टेक र बालुवा थिगार्ने पोखरी निर्माण पनि पूरा भएको छ। ‘अब केही मेकानिकल काम मात्र बाँकी छ’, उनले भने, ‘कम्पनीले सम्पूर्ण काम सक्न आदेश दिए आयोजनाको काम तत्काल पूरा हुन्छ।’

विद्युत् प्रसारण लाइन निर्माणले गति नलिँदा यहाँ निर्माणाधीन आयोजना प्रभावित भएको जनाइएको छ। विद्युत् प्राधिकरणले वैशाख १० गतेभित्र प्रसारण लाइनको सम्पूर्ण काम सक्न निर्देशन दिए पनि पूरा भएको छैन।

पूर्वी पहाडबाट उत्पादित विद्युत्लाई केन्द्रीय विद्युत् प्रणालीमा जडान गर्ने उद्देश्यका साथ निर्माण थालिएको १३२ केभीए विद्युत् प्रसारण लाइन काबेली करिडोरको कामले गति नलिएको हो। उक्त प्रसारण लाइन सम्पन्न नभई यहाँ उत्पादित विद्युत्लाई विद्युत् प्रणालीमा जडान गर्न नसकिने भएकाले काममा ढिलाइ गरिएको आयोजनाको तर्क छ।

पाँचथरको याङवरक गाँउपालिकामा पर्ने साबिकका थर्पु, नागी र अमरपुर गाविस र ताप्लेजुङको साबिक थुम्बेदिन, चाक्सीबोटे, साब्लाखु र सिनाम आसपासमा आयोजना निर्माणाधीन छ। थर्पुको दाहाल गाउँबाट पाइप लाइन निर्माण गरिएको छ। ५ सय ८० मिटर लामो पाइप लाइन निर्माण गरी नागीको पीपलेसम्म विस्तार गरिएको छ। यही ठाउँमा विद्युत्गृह बनाइएको छ। ४ अर्ब लगानीमा निर्माणाधीन आयोजनामा नेपाल इन्भेस्टमेन्ट बैंकको नेतृत्वमा अन्य पाँच बैंकले लगानी गरेका छन्। ७० प्रतिशत लगानी बैंकले र बाँकी अन्य क्षेत्रबाट जुटाइएको आयोजनाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.