रङ उडेको रंगेली
घरघरमा दीपावली गरेर विराटनगरले स्थापनाको शतवार्षिकोत्सव मनाइरहँदा २१ किलोमिटर परको रंगेलीमा भने 'ब्ल्याक आउट' गरियो। यता दियोको प्रकाशले सहर उज्यालो र रंगीन भइरहँदा २२ किलोमिटर परको रंगेलीलाई निस्पट्ट अँध्यारोले छोपेको थियो। विराटनगरवासी खुसीमा रमाउँदा रंगेलीवासी चरम पीडा र छटपटाहटले आन्दोलित थिए। तीन वर्षअघिको यो घटनाले विराटनगर र रंगेलीबीचको तिक्ततालाई एक पटक फेरि सतहमा ल्याइदिएको थियो।
मोरङको जिल्ला सदरमुकाम रंगेलीबाट विराटनगर सारिएको एक सय तीन वर्ष पुग्दै छ। यो अवधिमा दुवै सहरले आरोह र अवरोहका धेरै खुड्किला पार गरिसकेका छन्। विराटनगरले धेरै पाएको र रंगेलीले त्योभन्दा झन् धेरै गुमाएको क्षतिको क्षतिपूर्ति अझै भइनसकेको रंगेलीवासीको गुनासो यद्यपि छँदै छ।
तर, शताब्दी सहर विराटनगर प्रदेशको राजधानी थेग्ने हैसियमा पुग्दा सुदूर दक्षिणको रंगेली भने नयाँ नगरपालिकाका रूपमा विगतमा सदरमुकाम गुमाएको पीडाको शोधभर्ना गर्ने तर्खरमा गर्दैछ। रंगेली नगरपालिकाका मेयर दिलीपकुमार अग्रवाल भन्छन्, 'विगतको वैभवलाई आत्मसम्मानसँग जोड्दै र आगतको सम्भावना अनि चुनौतीलाई आत्मसात् गर्दै हामी फेरि उठ्ने प्रयास गर्दै छौं।' उनले यो ठाउँ ऐतिहासिक पक्षलाई जोगाउँदै पहिचान स्थापित गर्ने प्रयासमा अग्रसर बनेको बताए।
ऊ बेला के थिएन रंगेलीमा ? झापा, मोरङ र सुनसरीको सदरमुकाम थियो। आर्थिक रूपमा निकै चलायमान थियो यो सहर। तीन जिल्लाको केन्द्र बनेसँगै छिमेकी भारतसँगको व्यापार रंगेली नजिकैको नाकाबाट हुन्थ्यो। भारततर्फ चामल निर्यात गर्न कहलिएका र ठूला चामल मिल खुलेका थिए। राणकालीन धेरै सरकारी अड्डाका कारण रंगेलीले पूर्वकै प्रशासनिक केन्द्रको रूपमा ख्याति कमाएको थियो।
यहाँबाट उत्तर मधुमल्लासम्म व्यापार हुन्थ्यो। मधुमल्ला भएर रंगेलीको व्यापार कोसी पहाड र मेची पहाडका दक्षिणी जिल्लासम्म फैलिएको थियो। पूर्वको भद्रपुर आउजाउ रंगेली भएरै हुने गर्दथ्यो। त्यसबेला कोसी नदी पूर्व एवं मेची पश्चिमको भागलाई मोरङ भनिन्थ्यो। पछि रतुवा खोला पूर्वको भाग झापा र पश्चिमको भूभाग मोरङका रूपमा स्थापित भए। २०१७ को राजनीतिक परिवर्तनपछि मोरङको बूढीखोला पश्चिमको खण्ड सुनसरीमा रूपान्तरण गरी इनरुवालाई सदरमुकाम बन्यो।
ऊ बेला के थिएन रंगेलीमा ? झापा, मोरङ र सुनसरीको सदरमुकाम थियो। आर्थिक रूपमा निकै चलायमान थियो यो सहर। तीन जिल्लाको केन्द्र बनेसँगै छिमेकी भारतसँगको व्यापार रंगेली नजिकैको नाकाबाट हुन्थ्यो।
सदरमुकाम विराटनगर सार्न त्यसबेलाका राष्ट्रसेवकलाई खासै ठूलो कारण नै चाहिएन। भारतको बिहारअन्तर्गतको कुआडी र मदनपुर भएर फारबिसगन्जको रेल्वे स्टेसनसम्म समान लैजान र उताबाट ल्याउन हिउँदबर्खा दुवै याममा कठिन भएका भन्दै वि.स. १९७१ मा सदरमुकाम विराटनगर सारियो।
वि.सं.१९२७ सालमा मोरङ जिल्लाको सदरमुकाम विजयपुरबाट सरेर रंगेलीमा ल्याइको इतिहास छ। 'त्यही बेलाबाट हो रंगेलीको अधोगतितर्फ लागेको,' स्थानीय सुरेश मि श्र भन्छन्, 'राणाकालबाट सुरु भएको यो क्रम लोकतन्त्रसम्म कायमै रह्यो।' पब्लिक माविका पूर्वप्रधानाध्यापकसमेत रहेका मि श्रको बुझाइमा अब फेरि रंगेली उठ्ने सम्भावना भने जागृत भएको छ।
माओवादी द्वन्द्वको प्रभाव सर्वत्र परेसँगै यसको बाछिटा रंगेलीमा नपर्ने कुरै थिएन। राजमार्ग आसपास नै बसोबास र विकास झांगिने क्रमले समेत गति लिँदा यो क्षेत्रका धेरै पहाडी समुदायका मानिस महेन्द्र राजमार्ग आसपासको उर्लाबारी, पथरी र त्यस मास्तिरको मधुमल्लासम्म पनि पुगे। धेरै त विराटनगरतिरै बसाइँ हिँडे। अलि हुनेखानेहरू काठमाडौंतिर लागे।
रंगलीका पत्रकार कुमोद अधिकारी भन्छन्, 'माओवादी द्वन्द्वको चपेटा र पछिल्लो मधेस आन्दोलन दुवैको रापले यो क्षेत्र अछुतो रहेन।' राजमार्गबाट सुदूर दक्षिणका धेरै सहर भद्रपुर र राजविराज आर्थिक, सामाजिक र सांस्कृति विचलनको सिकार भई 'सिङ्क' भएजस्तै रंगेली पनि 'मणि हराएको सर्प' बनेको उनले बताए।
'हिङ नभए नि हिङ बेरेको टालो' टालो भने झैं बहुसंख्यक मधेसी, मुस्लिम, मारवाडी र जनजाति अनि पहाडी बाहुन क्षेत्रीको मिश्रित बसोबास रहेको रंगेली अहिले पनि दक्षिणवर्ती क्षेत्रको केन्द्र नै मानिन्छ। छाडेर जाने धेरै थिए तर बस्नेले अहिले रंगेलीको साखलाई पुनस्र्थापित गर्ने प्रयास गरिरहेका छन्। मेयर अग्रवाल भन्छन्, 'यो ठाउँलाई बौराउन अब यहाँको पूर्वाधार विकाससँगै ऐतिहासिक पक्षलाई जगाउने काममा हामीले ध्यान केन्द्रित गरेका छौं।' निजी स्वार्थ अनि भविष्यभन्दा पनि नगरको समग्र सम्भावना तथा भविष्यलाई केन्द्रमा राखेर नगरपालिकाले अल्पकालीन र दीर्घकालीन विकासका कार्यक्रम अघि बढाएको बगडियाले बताए।
सरकारले मोरङको आँपगाछी र टकुवा गाविसलाई समेत समेटेर रंगेलीलाई नयाँ नगरपालिका घोषणा गरिएको छ। योसँगै नापी, मालपोत, इलाका प्रशासन पुनस्र्थापित भइसकेका छन्। जिल्ला अस्पतालले नयाँ भवनबाट सेवा सुरु गरिसकेको छ। जहाँ उपचारका लागि भारतीय नागरिकसमेत आउने गर्छन्। बैंक तथा वित्तीय संस्थाले फेरि सेवा सुरु गरेका छन्।
आसपासका गाविसहरूका बजार पनि बिस्तार हुँदै गएका छन्। तिनको किनमेलको केन्द्र रंगेली नै बन्दै छ। आलम भन्छन्, 'यो ठाउँ बूढो बाघ हो।
हुलाकी मार्गको निर्माणकार्यले गति लिएको छ। आमवाडी, गौरीगन्ज हुँदै भद्रपुर जोडिने यो सडक खण्डका मुख्य खोलानदी रतुवा र माइबिनयानीमा धमाधम पुल निर्माण भइरहेको छ। यसबाट दक्षिणको व्यापार र आउजाउका साथै मृतप्रायः भएको लाइफलाइन पुनर्जीवित हुने सम्भावना बढेको छ। सोही क्षेत्रका प्रदेशसभा सदस्य शिवनारायण गन्गाईं भन्छन्, 'राणाकालमा अधिकार खोसिएर टुहुरो झैं बनेको यो ठाउँ अब संघीय गणतन्त्रमा फस्टाउँदै छ।' हुलाकी मार्गमात्र भद्रपुरसँग जोडिने हो भने ऐतिहासिक लाइफलाइन मानिएको क्षेत्र फेरि गुलजार बन्ने उनले बताए।
स्थानीयको सहयोगले चार करोड रुपैयाँको लगानीमा पुनर्निर्माण भएको प्राचीन काली मन्दिर, सन्सारी माईस्थान, आदिवासीका देवस्थल आदिले धार्मिक रूपमा नेपाल र छिमेकी भारतका नागरिकलाई जोड्ने काम भएको छ। विगत जस्तै चामल, किराना, लत्ताकपडा आदि व्यापारले फेरि गति लिन थालेको छ।
पुरानो सदरमुकाममा बढ्दै गरेको चहलपहलले विकासको सम्भावनालाई थप उजागर गर्न थालेको छ। स्थानीय विकास मन्त्री लालबाबु पण्डितका स्वकीय सचिव तथा रंगेलीका बासिन्दा ओसिम आलम भन्छन्, 'रंगेली फेरि जाग्दैछ तर यसको लागि स्थानीयको सकारात्मक सोच र सरकारको सहयोग जरुरी छ।' आलमले विराटनगरकै जत्तिको इतिहास बोकेको यो ठाउँ अब फेरि लम्कनेमा आफू आशावादी रहेको बताए।
पूर्व–पश्चिम राजमार्ग बनेपछि हुलाकी राजमार्ग ओझेलमा परेर व्यापार हराउँदै गएको रंगेलीका वरिपरि बनेका नयाँ नगरपालिका र गाउँपालिकाको केन्द्रका रूपमा रंगेलीले स्थान जमाउन सुरु गरिसकेको छ। आसपासका गाविसहरूका बजार पनि बिस्तार हुँदै गएका छन्। तिनको किनमेलको केन्द्र रंगेली नै बन्दै छ। आलम भन्छन्, 'यो ठाउँ बूढो बाघ हो। अब यसले इतिहासलाई फेरि फर्काउँदै छ।' कृषिमा आधारित उद्योगको स्थापना, बढ्दो व्यापार, सीमावर्ती भारतीय क्षेत्रबाट हुने आयात निर्यातको बढ्दो क्रम र मुर्झाएको हुलाकी राजमार्गको चहलपहलले फेरि यो ठाउँले गति लिने आलमले बताए।
कुनै समय पूर्वकै व्यापारिक केन्द्रका रूपमा रहेको रंगेलीको आकार विगतमा खुम्चिए पनि अहिले फैलँदो क्रममा पुग्दै छ। आर्थिक र सामाजिक रूपमा फेरि चलायमान हुन प्रशस्तै चुनौती भए पनि सामूहिकताको भावनाले यसलाई चिर्न सकिने पूर्वप्रधानाध्यापक मिश्र बताउँछन्। 'सबै सकियो, गयो, भत्कियो भनेर बस्ने अवस्था छैन अब', उनले भने, 'स्थानीय सरकार सिंहदरबारका रूपमा हाम्रै ठाउँमा आएको छ तर नयाँ योजना र आत्मबलका साथ अघि बढ्ने जिम्मा हाम्रै काँधमा आएको छ।' विकासको दौडमा सधैं पछि पर्यो भनेर गुनासोसम्म गर्ने अवस्था नरहेको उनले सुनाए।
१० वर्षअघि विराटनगरबाट उर्लाबारी जोड्ने दक्षिणी क्षेत्र जोड्ने सडकको निर्माणपछि यो क्षेत्रका मानिसको आहतमा राहत मिलेको छ। अहिले विराटनगरबाट रंगेली हुँदै उत्तरतर्फ निस्कनेहरूका लागि यो सडक सहायक बनेको छ। भारतका कतिपय सीमावर्ती बजारसम्मको पहुँचका लागि समेत लिंकरोडहरू निर्माण हुँदै छन्। यसबाट पनि आशाको किरण पलाएको छ। पत्रकार अधिकारी भन्छन्, 'अब रंगेलीको साख फेरि फर्कनेमा हामी विश्वस्त हुन सक्छौं। तर, यसका लागि विकासको नयाँ सोच र योजना भने चाहिएको छ।'