सहरप्रति ऋणी छु

सहरप्रति ऋणी छु

भोजपुर दिल्पामा हुर्किएँ। उतै बित्यो स्कुले जीवन। देवकोटा, रिमाल, भूपि, इन्द्रबहादुर राई, वासु शशी, शंकर लामिछानेलाई गाउँमै पढेँ। त्यसपछि पञ्चायत सिध्याउनुपर्छ भन्दै कविता लेख्न थालेँ।

कविताको डायरी बोकेर गाईबस्तु चराइयो। लेकबेसी गर्दै ठूलो साहित्यकार बन्ने सपना सजाएँ। त्यही सपना पछ्याउँदै सहर पसेको आज तीन दशक बितिसकेछ।

२०४१ सालमा एसएलसी दिएँ। त्यसपछि सहर पस्ने योजना बनाएँ। काठमाडौंमा गएर ठूलो कवि बन्नुपर्छ भन्ने लाग्यो। अघिल्लो दिन घरसल्लाह गरेर भोलिपल्ट भालेको पहिलो डाँकमै ब्यूँझिएँ। लगाएँ सुरुवाल कमिज। ढल्काएँ टोपी। हातमा लौरो थियो। झोलामा हालेँ माना दुईएक चामल र गुन्द्रुक। अनि कविताको डायरी।

पिखुवा खोलाको किनारैकिनार हिँडियो। आँखामा आइरहन्थ्यो सपनाको काठमाडौं। वर्षौंपछि फर्किएका इन्डियन र बेलायती लाहुरेहरूको लस्कर भेटिन्थ्यो बाटैभरि। उनीहरूको रेडियोमा गुञ्जिरहेका हुन्थे शम्भु राईका गीतहरू। तोक्माले अड्याउँदै भारी बोकिरहेका हुन्थे भरिया दाइहरू। बाटोमा ओहोरदोहोर गरिरहेका भेटिन्थे। आउने र जानेको उस्तै ताँती। उनीहरूसँगै हाँस्दै गीत गाउँदै खोला किनारामा बास बस्दै, पिखुवाको २२ जंघार तरेर चार दिन चार रात हिँडेर धरान आइपुगियो।

धरान भानुचोकमा झन्डै फाइट पर्‍यो। भोजपुरको दादा नै थिएँ म। मलाई पहिलो पटक कसैले छोयो। सुरुवाल, कमिज, लौरो टेक्दै टोपी ढल्काउँदै आएको थिएँ। गाडीबाट ओर्लिनु पाको छैन, काठमाडौं काठमाडौं भन्दै सीता ट्राभल्सको 'खलासी'ले तान्न आयो। ए छुन्छस् मात्रै के भनेको थिएँ घर्‍याप्पै घेरेर झन्डै गोदेनन्। बालबाल बचेँ। धरान बजारमै पहिलो पटक कोकाकोला खाएँ। उँभै आयो। निल्नै सकिएन। ग्यास हुन्छ भन्ने के थाहा। त्यसपछि नाइटबस चढेर काठमाडौं आएँ।

कविताको पाण्डुलिपि बोकेर सरासर काका बुलु मुकारुङको कोठा पुगँे। काकालाई केही कविताहरू सुनाएँ। कविता सुनेर काका तर्सिनुभयो। काकाले भन्नुभयो, 'यस्तो पनि कविता हुन्छ ? के लेखेको यस्तो मार खाने कविता ? नारा भो नारा।' मेरो पञ्यायतविरुद्धको कविता सुनेर काका तर्सिनुभयो।

मैले जीवनको १६ वर्ष मात्रै गाउँमा बिताएँ। बाँकी ३५ वर्ष त यही सहरका गल्लीहरूमा बिताएँ। मलाई यही सहरले बचायो, यही सहरले बनायो।

पहिलो पटक काठमाडौं आउँदा दिशाभ्रम भयो। कता पूर्व, कता पश्चिम धेरै दिनसम्म ठम्याउँन सकिनँ। अप्ठ्यारो ठाउँबाट घाम झुल्केको जस्तो लाग्यो। त्यतिबेला ट्रली बस थियो। काम नै नभए पनि चढियो धेरै पटक। सिनेमा हेर्न गइयो। मिथुन चक्रवती त्यसबेला खुब चम्केको थियो। थोरैथोरै मिथुन त म पनि हुँ जस्तो लाग्थ्यो।

काकाको पछि लागेर रेडियो नेपाल पुगेँ। पाण्डव सुनुवारको चौतारी कार्यक्रममा गीत गाएँ। कवि बन्छु भनेर सहर पसेको मान्छे म, गायक पो बन्छु कि जस्तो लागिरह्यो। कहिले भक्तपुर, कहिले ललितपुर, कहिले सिनेमा घर, कहिले बसपार्क र रत्नपार्क घुम्दाघुम्दै महिना दिन बित्यो। एसएलसीको नतिजा आयो। त्यसबेला गोरखापत्रमा आउँथ्यो रिजल्ट। हेरेँ, मेरो त नामै छैन।

फेल भएपछि सम्झिएँ हिरोगिरी। गीत गाउने, नाच्ने रमाइलो गर्ने बानीले फेल भएँ। त्यसपछि गाउँ फर्किएँ। एक वर्ष तयारी गरेर एसएलसी पास गरेँ। त्यसपछि आमा र हजुर आमाले राँगा बेचेर १६ सय रुपैयाँ गोजीमा राखिदिनुभयो। त्यो पैसा लिएर फेरि काठमाडौं आएँ।

डेरा जीवन

त्यसपछि म आरआर क्याम्पसमा भर्ना भएँ। केही समय काकासँग बसेर पुतलीसडकमा एक्लै बस्न थालेँ। कोठाभाडा महिनाको तीन सय ५० रुपैयाँ थियो। ६ महिनाको लागि अस्थायी जागिरे भएँ। खाना पकाउन स्टोभ किनेँ, कराइ किनेँ। पाँच सयको खाट किनेँ। त्यतिबेला किनेको कराई अहिले पनि छ मसँग। एक रुपैयाँमा रायोको साग आउँथ्यो। त्यसलाई चट्ट धायो। टुक्राटुक्रा पा¥यो अनि दुईवटा आलु हालेर टन्न झोल हाल्यो। आहा ! कस्तो मीठो हुन्थ्यो।

मेरो सिरानीमा कविताको पाण्डुलिपि छुटेन। ठूलो साहित्यकार बन्छु भन्ने सपना जिउँदै थियो। कविता सुनाउन पाउने मञ्चको खोजीमा हिँड्न थालेँ। साहित्य सन्ध्या गएँ। प्रतिभा प्रवाहमा पुगेँ। पारिजातलाई पहिलो पटक त्यही भेटेँ। उहाँको अगाडि कविता सुनाएँ। त्यसपछि उहाँले मुकारुङ शब्द राम्रोसँग उच्चारण त गर्नु भएन तर कविताको प्रशंसा गर्नुभयो। निकै साधना गरेको कविता भन्नुभयो। त्यसपछि उहाँले नै 'उत्साह' भन्ने पत्रिकामा कविता छापिदिनु भयो।

क्याम्पस पढ्दा अनेरास्ववियुको राजनीतिमा होमिएँ। मेघालय काण्डमा आन्दोलन गरेका कारण हनुमानढोकामा तीन दिन जेल बसेँ। तीन दिनपछि राति छाडिदियो। मेरो एउटा थोत्रो साइकल क्याम्पसमै राखेको थिएँ। साइकल लिन आएँ। क्याम्पसको भित्तामा हेर्छु त पोस्टर नै पोस्टर। त्यहाँ लेखिएको थियो–हाम्रा नेताद्वय जगन्नाथ खतिवडा र श्रवणकुमार राई जिन्दावाद ! विद्यार्थी आन्दोलन अमर रहोस् ! पञ्चायती व्यवस्था मुर्दावाद ! !'

त्यसपछि राजनीतिमा जोसिएर लागेँ। आन्दोलन गरेँ। कविता सुनाएँ। गितार बजाउँदै गीत गाएँ। कौसीबाट मलाई हेर्ने केटीहरूको भीड लाग्थ्यो। जहाँ म त्यहाँ भीड। तहल्का मच्चिन थाल्यो क्याम्पसमा। स्ववियुको चुनाव आयो। सभापति उठ्ने पालो मेरो थियो। तर मैले पाइनँ। त्यसपछि राजनीतिबाट विस्तारै छेउ लागेँ।

सपनामा आइरहने त्यो मैतीदेवी

मलाई राजनीति त्यति फापेन। कविता नै लेख्न थालेँ। त्यसबेला पुतलीसडक छाडेर मैतीदेवीमा बस्न थालेको थिएँ। त्यहाँ आठ वर्ष बसेँ। साहित्यिक माहोल बढ्यो त्यहाँ। साथीहरूको आउजाउ बाक्लो हुन्थ्यो। कोठाकोठा जस्तो रहेन। मिनी होस्टेल जस्तो हुन थाल्यो। गाउँबाट जर्किनका जर्किन लोकल रक्सी लिएर साथीहरू आउँथे।

रातभरि गफ गर्दै खाइन्थ्यो। कोठैकोठा भएको नेवारको घर थियो त्यो। कविदेखि वकिलसम्म, सरकारी कर्मचारीदेखि मजदुरसम्म त्यहाँ बस्थे। त्यो मेरा नयाँनयाँ साहित्यकार साथीहरू बन्ने पिक समय थियो। त्यहीँ भेट भयो कवि रमेश क्षितिजदेखि विप्लव ढकालसम्म। त्यहीँ भेट भयो नवीन सुब्बासँग। दुःख टु मच थियो। तर धेरै साथीहरू आउने जाने भइरहन्थ्यो। 'माथि माथि सैलुङ्गेमा' 'तिमी तारेभीर' र 'एलम्बर' नाटक, त्यहीँ लेखेँ। त्यहीँ बस्दा रेडियो नेपालमा पुरस्कार जितेर राजाको हातबाट पुरस्कार थापेँ।

कविता सुनाएँ। गितार बजाउँदै गीत गाएँ। कौसीबाट मलाई हेर्ने केटीहरूको भीड लाग्थ्यो। जहाँ म त्यहाँ भीड। तहल्का मच्चिन थाल्यो क्याम्पसमा। स्ववियुको चुनाव आयो। सभापति उठ्ने पालो मेरो थियो। तर मैले पाइनँ। त्यसपछि राजनीतिबाट विस्तारै छेउ लागेँ।

घरबेटीलाई भाडा नदिएको निकै महिना बितिसकेको थियो। घरीघरी ढोकामा आएर गनगन गरेर फकिन्थे घरबेटी। मैले राजाको हातबाट पुरस्कार थापेको उनले थाहा पाएछन्। त्यसपछि ढोकामा आएर गनगन गर्न थाले।

त्यहाँ बस्दाबस्दै एक पटक ठूलो उडुस आतंक मच्चियो। घरभरि सल्किएर बसी नसक्नु भयो। मट्टीतेल छर्किएँ, गएन। नुन छर्किएँ, गएन। तीन वर्षसम्म उडुसले दिनुसम्म दुःख थियो। कहाँबाट सल्कियो भनेर खोजबिन सुरु भयो। अन्तिममा पत्ता लाग्यो, झापाली साथीहरूले आँप र चामल ल्याउँदा उडुस पनि ल्याएछन्।

मैतीदेवीबाट धेरै ठाउँमा डेरा सरेँ। तर अहिले पनि त्यो अध्याँरो कोठा सम्झनामा आइबस्छ। झस्किन्छु बेलाबेलामा। कहिलेकाहीँ राति ऐंठन पर्छ। त्यो घर, अनि घरबेटीको अनुहार सपनामा देख्छु। झल्यास्स ब्यूँझन्छु। त्यो कोठामा मेरो केही सामान छुटेको छ जस्तो लागिरहन्छ। मेरो कमिज त्यही ढोकाको काँटीमा झुन्डिरहेको छ जस्तो लागिरहन्छ। म त्यसपछि ललितपुर सरेँ। त्यसपछि कोटेश्वर, बालुवाटार तीन दशकमा १५ ठाउँ जति सरेँ। सर्ने क्रम आज पनि जारी छ।

त्यो गल्ली, त्यो दारु अड्डा

यो तीन दशकको सहर बसाइमा धेरै गल्ली चहारेँ। त्यसमध्ये सबैभन्दा धेरै हिँडेको मैतीदेविको गल्ली नै हो। पुतलीसडक र डिल्लीबजारको गल्ली पनि धेरै हिँडियो। गल्ली वरपरका भट्टी पसलहरूमा जाँड पनि खाइयो। कति ठाउँ लडेँ, गनिसाध्य छैन। कति वटा घडी हरायो त्यो पनि भनिसाध्य छैन। तर रक्सी खाएर कसैलाई हानि गरिएन।

डिल्लीबजार पीपलबोट मास्तिर एउटा दारु अड्डा थियो। पहिलापहिला धेरै नेता तथा कार्यकर्ताहरू त्यहाँ दारु खान पुग्थे रे। त्यहाँ रक्सी साह्रै मीठो पाइने। पसलेका अनुसार त्यहाँ दारु खानेहरू कोही सांसद भए कोही मन्त्री भए भन्थे। अर्को अड्डा छ असनभित्र। पहिलापहिला खुब गइन्थ्यो। आजभोलि जान्न।

के राम्रो के नराम्रो ?

काठमाडौंबारे मेरो आफ्नै धारणा छ। काठमाडौंमा अवसर छ। काठमाडौं देशको ऐना हो। विविध संस्कृतिको संगमस्थल हो, काठमाडौं। मेहनत गरियो भने आफूलाई बनाउन सकिन्छ यहाँ। सपना पूरा गर्न सघाउन सक्छ काठमाडौंले।

तर मलाई सहरका एलिटहरू असभ्य लाग्छ। कहिलेकाहीँ त लाग्छ– संसारमै नभएको असभ्य मानिसहरू यहाँ बस्छन्। यहाँका एटिलहरू आफ्नो घरमा मार्बल बिछ्याउँछन्। अनि घरअगाडिको सडकमा फोहोर फाल्छन्। आफू कुकुर पाल्ने, पिसाब गराउन सार्वजनिक ठाउँमा लैजाने। अर्काको गमलाबाट फूल चोरेर मन्दिरमा चढाउने। सब पाखण्डीहरू छन्। तिनीहरूकै असभ्य व्यवहारले सहर कुरूप भएको छ। घरभाडा बढाएको बढायै गर्छन्। कुनै नियम कानुनले उनीहरूलाई छुँदैन। आफ्नै कोठामा खुर्सानी झ्याइँ पार्नसमेत हुन्न !

तर म काठमाडौंका रैथानेलाई गाली गर्दिनँ। काठमाडौंको विरोधमा कविता पनि लेखेको छैन। सहरको विकृत संस्कृतिबारे आलोचनात्मक दृष्टि लगाउनु पर्छ भन्ठान्छु म। सहर कुरूप बनाउनुमा हाम्रो पनि त हिस्सा छ।

सहरले के दियो के लियो ?

सहरले प्रत्येक मानिसलाई केही दिन्छ, मानिसबाट केही लिन्छ। सहरले मबाट पनि केही लिएको छ, केही दिएको छ। सहर सहर हुनमा धेरै मान्छेको योगदान छ। सहरले आफ्नो पहिचान मानिसबाटै बनाउँछ। एकअर्कामा संवाद सहचार्य गराउन सहज बनाउँछ सहरले। म सहरप्रति ऋणी छु। मैले जीवनको १६ वर्ष मात्रै गाउँमा बिताएँ। बाँकी ३५ वर्ष त यही सहरका गल्लीहरूमा बिताएँ। मलाई यही सहरले बचायो, यही सहरले बनायो। हुन सक्छ मैले एक फोकटा जमिन लिन सकिनँ हुँला। यो अलग पाटो भयो।

(कवि मुकारुङसँग राजु स्याङ्तानले गरेको कुराकानीमा आधारित)
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.