रामग्रामले बनायो मदिरा नियन्त्रण कानुन, सात बजेपछि वितरण गर्न नपाइने
परासी : मदिरा नियन्त्रण गर्न पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले स्थानीय कानुन निर्माण गरेको छ। स्थानीय सरकार सञ्चालनसम्बन्धी पास भएका विधेयकअन्तर्गत बनाइएको कानुनमा समय निर्धारण गर्दै मदिरा बिक्री वितरणमा रोकसमेत लगाइएको छ।
नगरपालिकाको दोस्रो नगरसभाले पास गरेको बजार अनुगमन निर्देशिकामा गर्मीको समयमा आठ बजेपछि र जाडोको समयमा ७ बजेपछि मदिरा बिक्री वितरणमा रोक लगाइएको उल्लेख छ।
निर्देशिका अनुसार तोकिएको समयभन्दा पछि होटल र अन्य सार्वजनिक स्थानमा बसेर मदिरा सेवन र बिक्री वितरण गर्न पाइने छैन। मदिराजन्य पदार्थले सामाजिक विकृति र हिंसाजन्य घटना बढाएको भन्दै समय सीमा निर्धारण गरिएको नगरप्रमुख नरेन्द्रकुमार गुप्ताले बताए।
त्यसैगरी बजार, चोक र भीडभाड हुने स्थानमा कार्यक्रम गर्न निषेध गरेको छ। राजनीतिक दल, संघसंस्थालगायतले आमसभा, सम्मेलन तथा अन्य कुनै कार्यक्रम गर्नु परेमा खुला स्थानमा रहेका सार्वजनिक चौर वा अन्य स्थानमा गर्नुपर्ने व्यवस्था गरिएको छ।
बजार क्षेत्रको चोक, मुल सडक नै ओगट्ने गरी कार्यक्रम हुन थालेपछि नगरपालिकाले कानुन नै बनाएर त्यसलाई रोक लगाएको नगरप्रमुख गुप्ताले जानकारी दिए। नगरपालिकाले बनाएको कानुनमा सार्वजनिक सडक नै छेक्ने गरी विवाह, वर्तवन्धन, पूजा पाठलगायतका अन्य घरायसी कार्यक्रम समेत गर्न नपाइने उल्लेख छ।