स्मार्ट लाइसेन्स बनाइदिन्छु भन्दै ठग्ने पक्राउ
बिर्तामोड : यातायात व्यवस्था कार्यालय मेचीबाट सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) बनाइदिने भन्दै ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका ४ निवासी २८ वर्षीय जीवन भुजेल रहेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार विभिन्न १६ जना व्यक्तिबाट स्मार्ट कार्ड बनाइदिन्छु भन्दै भुजेलले नगद ८ हजार देखि ३५ हजारसम्म लिएका थिए।
भुजेलले २ लाख ६५ हजार ठगी गरेको पीडितले दिएको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनी टोलीले मंगलबार पक्राउ गरेको बताए।उनलाई अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
त्यसैगरी मानव बेचबिखन मुद्धामा फरार एक अभियुक्तलाई पनि प्रहरीले पक्राउ गरेको छ। साबिक राजगढ ६ घर भई हाल दमक नगरपालिका-४ मा खाजा पसल गरी बस्ने ४५ वर्षीय ममतासिंह राजपुत पक्राउ परेको प्रहरी कार्यालय झापाले जनाएको छ।
झापा जिल्ला अदालतले मानव बेचबिखन तथा ओसारपसार मुद्दा लागेका सिंहलाई २०७२ मंसिर २० गते १० वर्ष कैद सजाय तथा ५० हजार जरिवानासहितको फैसला सुनाइसकेको छ। उनलाई अदालतमा पेश गरी मंगलबार झापा कारागार भद्रपुर चलान गरिसकेको प्रहरी नायव उपरीक्षक बस्नेतले जानकारी दिए।