डोजरबिनै गाउँमा मोटरबाटो

डोजरबिनै गाउँमा मोटरबाटो

प्युठान ः हेबी इक्युपमेन्ट प्रयोग गरी गाउँ–गाउँमा सडक निर्माण गर्ने प्रवृत्ति पछिल्लो समय बढ्दै छ। स्थानीय जनप्रतिनिधि आएपछि चालु आर्थिक वर्षमा यो क्रम अझ बढेको छ। वातावरण प्रभाव मूल्यांकनबिनै जथाभावी निर्माण गरिएका सडकले विपत्ति पनि निम्त्याउने गरेको छ। भौतिक पूर्वाधार निर्माण गर्दा कम्तीमा १० प्रतिशत जन श्रमदान गर्नुपर्ने प्रावधान भए पनि उपभोक्ता यसप्रति जिम्मेवार बनेको पाइँदैन।

जिल्लाको दुर्गम गौमुखी गाउँपालिका–५ खुङका स्थानीयले डोजर प्रयोग नगरी गाउँमा मोटरबाटो निर्माण गरेका छन््। गाउँभरिका युवादेखि वृद्धवृद्धाले स्थानीय साधन प्रयोग गरी सडक निर्माण गरिरहेका छन्। गाउँदेखि वडा कार्यालय भवनसम्म पुग्न समस्या हुने भएकाले उनीहरूले सडक निर्माणमा पहल गरेका हुन्। ‘बिहान १० देखि साँझ पाँच बजेसम्म बाटो खन्छांै’, खुङ होर्रेका स्थानीय दीपक केसीले भने, ‘नास्ता खाएर आउँछौं। खाना बिहानसँगै लिन्छौँ।’

सुन्दरमेला, खुङखोला, खाल, छाप्रे, सुलिहाले, खुङपोखरी, होर्रे, रुपाचौर र रागाकाटेका स्थानीय सडक निर्माणमा जुटेका छन्। ‘चार वर्षदेखि सडक निर्माण भइरहेको छ’, गनपानीका स्थानीय राम मल्लले भने, ‘ज्यालादारीमा काम गरेका छौं।’

ग्रामीण सामुदायिक पूर्वाधार विकास कार्यक्रममार्फत सडक निर्माणका लागि २४ लाख रुपैयाँ आए पनि गाउँलेले स्थानीय स्रोतसाधनबाटै मोटरबाटो निर्माण गरिरहेको उपभोक्ता समितिका अध्यक्ष हुमबहादुर खड्काले बताए। ‘क्षति पनि नहुने। युवाले रोजगार पनि पाउने भएकाले जनताबाटै बाटो खनेका हौँ’, उनले भने।

नौ वटा बस्तीबाट अलग–अलग समूह बनाएर बाटो निर्माण गर्ने काम भइरहेको उनले जानकारी गराए। ‘८५ घरधुरीका जनता सडक निर्माणमा जुटेका छन्’, उनले भने, ‘धेरै ठाउँमा डोजर लगाएर सडक खनेको देखिन्छ। तर, हामी डोजरबिनै सडक निर्माणमा लागेका छौँ।’ गाउँमा पाइने गल, गैटी, छिना, बेल्चा, घनलगायत सामग्रीको प्रयोगबाट सडक निर्माण गरिएको छ। ‘ठूला मेसिन प्रयोग गर्दा बाढीपहिरोको जोखिम हुन्छ’, खड्काले भने, ‘स्थानीयबाट सडक खन्दा धेरै समय लाग्ला तर क्षति कम हुन्छ।’

श्रमिकले घनमिटरका आधारमा ज्याला बुझ्ने गरेका छन्। ‘गत वर्ष पनि बाटो खनेका हौँ’, खुङ सुलिआलेका ७० वर्षीय नरबहादुर कवँरले भने, ‘दिनमा आठ घण्टा काम गर्छांै।’ घर खर्च जुटाउन बाटो खन्ने काममा लागेको उनले सुनाए। धेरैजसो घरको आर्थिक अवस्था कमजोर भएका युवा सडक निर्माणमा लागेका छन्। गत वर्ष एक जनाले दैनिक सुख्खा सातदेखि आठ सय रुपैयाँसम्म बुझ्ने गरेका थिए। यस वर्ष केही रकम बढ्ने मजदुरले आशा गरेका छन्।

काम सकिएपछि एकमुष्ट ज्याला दिने व्यवस्था गरिएको ठूलाबेंसी–सिंकीपोखरी–रुपाचौर ग्रामीण सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष खड्काले बताए। ‘बाटो खनेर केहीले वर्षभरको खर्च जुटाएका छन्’, उनले भने, ‘सडक पूरा नहुँदासम्म बजेट माग गरिरहन्छौँ।’ कार्यक्रमअन्तर्गत डोजर प्रयोगबाट सडक निर्माण गर्न नदिने भएपछि स्थानीय आफंै कस्सिएको उनको भनाइ छ। ‘सुरुमा चामल लिएर गाउँलेले बाटो खनेका हुन्’, खड्का भन्छन्, ‘अहिले ज्यालाबाट काम गर्छौं।’ स्थानीयले चार मिटर चौडाइको सडक निर्माण गरेका छन्।

आर्थिक वर्ष ०५३/०५४ देखि जिल्लामा ग्रामीण सामुदायिक पूर्वाधार विकास कार्यक्रम (आरसीआई डब्लू) कार्यक्रम लागू भएपछि गौमुखी गाउँपालिका क्षेत्रका स्थानीयले चामलसँग सडक निर्माण गर्दै आएका थिए। ठूलाबेंसीदेखि दुर्गम गाउँ अर्खा पुग्ने सडकसमेत स्थानीयले खनेको आरसीआई डब्लू प्युठानका सब इन्जिनियर रामलाल शाहले जानकारी गराए। स्थानीयलाई रोजगारी दिने उद्देश्यले डोजरबाट सडक निर्माण नगरिएको उनको भनाइ छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.