ज्योतिषीलाई साइत हेराएर सुत्केरी

ज्योतिषीलाई साइत हेराएर सुत्केरी

 बिर्तामोड : झापा बिर्तामोड नगरपालिका–५ की २९ वर्षीया दीपा पौडेल (नाम परिवर्तन)लाई चिकित्सकले वैशाख १८ गते सुत्केरी हुने समय दिएको थियो। तर, उनी सुत्केरी हुने समयभन्दा चार दिनअघि नै बिर्तामोडस्थित मनमोहन अस्पताल पुगिन्।

ज्योतिषीले वैशाख १८ गते बच्चा जन्माए बच्चाको जन्मकुण्डली र भविष्य राम्रो नहुने बताएपछि ज्योतिषीकै सल्लाहबमोजिम उनी बच्चा जन्माउन अस्पताल पुगेकी हुन्। उनले भनेकै साइतमा शल्यक्रिया गरेर बच्चा जन्माइन्। परिवारको आग्रहमा चिकित्सकले शल्यक्रिया गरिदिए।

ताप्लेजुङ फुङलिङका एक जोडीले पनि ज्योतिषीले भनेकै समयमा चिकित्सकलाई आग्रह गर्दै घण्टा र मिनेट मिलाएर शल्यक्रिया गरी वैशाख १४ गते बच्चा निकाले।

झापामा शल्यक्रिया गरी बच्चा जन्माउने क्रम बढेको छ। बिर्तामोडमा रहेका पाँच निजीसँगै जिल्लाभर रहेका सरकारी अस्पतालमा प्रत्येक दिन चिकित्सकले दिएको समयअगावै ज्योतिषीको सल्लाह लिएर बच्चा जन्माउन आउनेको संख्या बढ्दै गएको जनाइएको छ। बिर्तामोडस्थित बीएन्डसी, मनमोहन, बिर्तासिटी, कञ्चनजंघा, कनकाईलगायत अस्पतालमा दैनिक दर्जनौं महिलाले शल्यक्रियाबाट बच्चा जन्माउने गरेका छन्। इलाम, पाँचथर र ताप्लेजुङबाट पनि झापामा शल्यक्रिया गरी बच्चा जन्माउन आउनेको संख्या बढेको स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. मुक्ति भट्टराई बताउँछन्। ‘एउटा अस्पतालको मात्र तथ्यांक हेरेर हुँदैन तर जिल्लाभरिको तथ्यांकलाई हेर्दा नर्मलभन्दा शल्यक्रिया गर्नेको संख्या बढी छ’, उनी भन्छन्।

पाठेघरको मुख सानो, बच्चाको टाउको ठूलो भएको, बच्चा उल्टो, तेर्सो वा अन्य नमिलेको, बच्चाको मुटुको धड्कन सामान्यभन्दा कम वा बढी भएको अवस्था, साल पाठेघरको मुखमा रहेको, बेथा लगाएर पनि डेलिभरी नभएको वा पहिलेको बच्चा पनि शल्यक्रियाबाट भएको र आमाको अस्वाभाविक रूपमा रक्तचाप बढे शल्यक्रियाबाट बच्चा जन्माउनुपर्ने चिकित्सक बताउँछन्। तर, हिजोआज शल्यक्रिया गरेर त्यसमा पनि ज्योतिषीका घडापला मिलाएर बच्चा जन्माउने क्रम बढेको हो।

शल्यक्रिया गर्नेको संख्या बढ्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालयले बताएको छ।

झापामा ०७१÷७२ मा १४ हजार १ सय १ जनाको प्रसूति गराइएकोमा ७ हजार ३ सय ५९ जनाको सामान्य र ६ हजार ३ सय २४ जनाले शल्यक्रिया गरेको जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्यांक छ। ०७२÷७३ मा ७ हजार ३ सय ७४ जनाको शल्यक्रिया गरी बच्चा जन्माएका थिए। एक वर्ष अवधिमा सामान्यभन्दा शल्यक्रिया गर्नेको संख्या १ हजार ५० ले बढेको जनाइएको छ। अझै शल्यक्रिया गर्नेको संख्या बढेर आर्थिक वर्ष ०७३÷७४ मा ८ हजार १ सय ६८ जना पुगेको जनस्वास्थ्य कार्यालयको तथ्यांक छ।

ज्योतिषीको सल्लाह लिएर शल्यक्रिया गर्न आउनेको संख्या बढी रहेको र त्यसपछि सामान्य रूपमा बच्चा जन्माउन सक्दिनँ भन्ने महिला बढी रहेको चिकित्सक बताउँछन्। पहिलो पटक शल्यक्रिया गर्दा दोस्रो पटक पनि गर्नुपर्छ भन्ने गलत मानसिकता बोकेर आउने पनि बढिरहेको चिकित्सक भट्टराईको भनाइ छ। कति निजी अस्पतालले त सामान्य रूपमा बच्चा जन्माउँदा अस्पताल र चिकित्सक शुल्क नपाउने तर शल्यक्रिया गर्दा मोटो रकम पाउने हुँदा गर्भवती र परिवारलाई शल्यक्रियाका लागि उक्साउने पनि गरेको उनी सुनाउँछन्।

प्राकृतिक रूपमा बच्चा जन्माउनु स्वास्थ्यका लागि राम्रो भन्ने ज्ञान हुँदा पनि ज्योतिषीलाई हेराएर राम्रो साइतमा बच्चा जन्माउने चाहना, पीडा सहेर बस्न नसक्ने हुँदा बच्चा जन्माउन महिलाले शल्यक्रिया रोज्ने गरेको अर्जुनधाराका अहेब दीवाकर पौडेल बताउँछन्।

ग्रामीण भेगको तुलनामा सहरी क्षेत्रका गर्भवतीले बच्चालाई जन्म दिन शल्यक्रिया नै रोज्ने गरेको डा. भट्टराई सुनाउँछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.