वीरगन्ज–काठमाडौं रेल : कोरियनलाई रोकेर भारतीयको हातमा

वीरगन्ज–काठमाडौं रेल : कोरियनलाई रोकेर भारतीयको हातमा

काठमाडौं : सरकारले कोरियन कम्पनी सुसुङलाई प्रारम्भिक अध्ययनको जिम्मा लगाउन थालेको काठमाडौंं—वीरगन्ज रेलमार्गको काम भारतीयले थालेको छ । बिहीबार भारतीय प्राविधिकको टोलीले काठमाडौंंको चोभार क्षेत्रमा रेलस्टेसन राख्ने ठाउँको निरीक्षण गरेको छ ।

भारतीय प्राविधिकको आँखामा रेलस्टेसनका लागि चोभारको हिमाल सिमेन्ट भएको स्थान परेको रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले बताए । यसअघि सरकारले चोभारमै अन्तर्राष्ट्रिय प्रदर्शनी हल र सुक्खा बन्दरगाह बनाउने घोषणा गरेको थियो । काठमाडौं–वीरगन्ज रेलमार्ग नेपालका निम्ति अहिलेसम्मकै सबैभन्दा उपयुक्त रेलमार्गको लाइनका रूपमा चिनिएको छ ।

रेल विभागले यो मार्गको सम्भावित रेखांकन गरेर रूट तय गर्ने प्रयास गरेको हो । सोही रेखाङ्कनलाई आधार मानेर विस्तृत परियोजना अध्ययन (डीपीआर) हुने भएकाले पनि भारतीय पक्षले आफैं रेखाङ्कन तय गर्ने भएपछि कोरियनको प्रस्ताव रोकिएको थियो ।

रेल विभागले काठमाडौं–वीरगन्ज रेलमार्गको अध्ययन गर्न प्रस्ताव मागेको थियो । सात कम्पनीमध्ये कोरियाली कम्पनी सुसुङ अध्ययनका लागि छानियो । उक्त कम्पनीलाई रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययनको जिम्मा दिन रेल विभागले गरेको तयारी सरकारी निर्देशनका कारण रोकिएको छ ।

भारतले बनाउने घोषणापछि अहिलेलाई प्रारम्भिक सम्भाव्यता अध्ययनको काम रोकिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव एवं प्रवक्ता राजेन्द्रराज शर्माले बताए । ‘रेल विभागले कम्पनी छनोट गरेर सम्झौता गर्ने अन्तिम तयारी गरिरहेको अवस्थामा भारतसँग रक्सौल–काठमाडौं रेलमार्गको सम्झौता भयो’, उनले भने, ‘यो सम्झौतापछि भारतले रेलमार्ग बनाइदिने भयो । जसले गर्दा प्रारम्भिक अध्ययनको काम अहिले स्थगन भएको छ ।’

रेल विभागले कोरियन कम्पनीसँग ६ महिनाभित्रै सम्भाव्यता अध्ययन गर्ने तयारी गरेको थियो । चैत तेस्रो साता भारतीय पक्षसँगको सहमतिपछि विभागको तयारी रोकिएको सिनियर डिभिजनल इन्जिनियर तथा प्रवक्ता उपाध्यायले बताए । ‘हामी काठमाडौंबाट वीरगन्जसम्मको एक सय किमि दूरीमा अध्ययन गरेर रेलको रूट तय गर्ने पक्षमा थियौं’, उनले भने, ‘हामीले दिएकै रूटमा भारतीय पक्षले रेलमार्ग बनाउँदा सकारात्मक सन्देश जाने थियो । हाम्रो आवश्यकताअनुसारको मार्ग पनि बन्थ्यो ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने भ्रमणमा रेलमार्गका विषयमा छलफल हुने र उपयुक्त निर्णय आउने अपेक्षा छ ।

यो रेलमार्ग निर्माण भएको अवस्थामा काठमाडौं—तराई द्रुतमार्ग दुई लेनको भए पुग्छ । निर्माणाधीन निजगढ विमानस्थलका निम्ति पपिन सहयोगी हुनेछ । एक सय किलोमिटरको यात्रा तय गर्दा गन्तव्यमा छिटो पुग्न सहयोगी हुने उल्लेख छ । यो रेलमार्ग निर्माण गर्दा विभागले ब्रोडगेजको प्रतिघण्टा दुई सय किलोमिटरको गतिमा दौडन सक्ने क्षमतालाई आधार बनाएर अध्ययन गर्ने तयारी गरेको छ ।

भारतको आर्थिक सहयोगमा बन्ने विद्युतीय रेलमार्गको एक वर्ष (आगामी चैतभित्रै) नेपाल सरकारसँगको परामर्शमा तयारी सर्वेक्षण, निर्माण मोडालिटी तथा विस्तृत परियोजना प्रतिवेदन तयार हुनेछ । भारतकै सहयोगमा जयनगर–जनकपुर–कुर्था रेलमार्ग निर्माण भइरहेको छ । यो रेलमार्ग सन् २०१८ भित्रै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।

जयनगर–बिजलपुरा–बर्दिवास र जोगबनी–विराटनगरको सीमा रेलमार्ग पनि भारतीयले नै बनाउने गरी प्राथमकितामा राखिएको छ । शुक्रबारबाट हुने मोदीको दुईदिने भ्रमणमा यो रेलमार्ग पनि छलफलमा पर्ने र उपयुक्त निर्णय आउने अपेक्षा छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.