तेलेलेक संरक्षण अभियान सुरु

तेलेलेक संरक्षण अभियान सुरु

दिपायल : डोटीको बीच भागमा पर्ने महाभारत शृंखलाअन्तर्गत पर्ने तेलेलेक क्षेत्र संरक्षणका लागि सरकारी तवरबाट पहल सुरु गरिएको छ। प्राकृतिक स्रोतको खानी तथा पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना रहेको तेलेलेक क्षेत्र असुरक्षित बन्दै गएपछि संरक्षणको पहल सुरु भएको हो।

जिल्ला वन कार्यालय र शिखर नगरपालिकाको संयुक्त आयोजनामा उक्त क्षेत्रको संरक्षणको लागि काम सुरु भएको हो। तेलेलेक संरक्षणका लागि जिल्ला वन कार्यालय डोटीले सम्भावना अध्ययन कार्य अघि बढाएको जिल्ला वन अधिकृत बद्रीकुमार कार्कीले बताएका छन्। जसका लागि वन व्यवस्थापन कार्ययोजना निर्माण र वातावरणीय परीक्षण प्रतिवेदन निर्माणका लागि आवश्यक तयारी भइरहेको समेत कार्कीले बताएका छन्।

तेलेलेक क्षेत्रमा जिल्ला वनको अनुपस्थिति तथा स्थानीयको उदासीनताको फाइदा उठाउँदै भइरहेको चोरी सिकारी नियन्त्रण गर्न एकिकृत अभियान थालिएको हो। जिल्ला वन कार्यालय, शिखर नगरपालिका र स्थानीयले तस्करी नियन्त्रणका लागि एकिकृत अभियानअन्तर्गत पहिलो चरणमा सचेतना कार्यक्रमलाई तीव्र पार्ने निर्णय गरेका छन्। अन्य स्थानीय तहसँग पनि समन्वय गरी अघि बढ्ने जिल्ला वन कार्यालयले जनाएको छ। वन व्यवस्थापन कार्ययोजना निर्माण र वातावरणीय परीक्षण प्रतिवेदन निर्माणपश्चात् संरक्षणका काम अघि बढ्ने बताइएको छ।

सो क्षेत्रमा वर्षौंदेखि चितुवा, मृग, बँदेल, चित्तल, दुम्सी, कालिजलगायत तस्करी भइरहेको छ। तस्करहरूले काँचो तथा सुकुटी मासु पहाडी जिल्ला, तराईका मुख्य बजार तथा काठमाडौंसम्म पुर्यािउने गरेका छन्। तस्करीका कारण वन्यजन्तु लोप हुने अवस्थामा पुगेका छन्।

जनप्रतिनिधि, पत्रकार, जिल्ला वन कार्यालयका कर्मचारीलगायत संयुक्त टोली पहिलो पटक सामूहिक रूपमा तस्करहरूलाई निरुत्साहित पार्न तेलेलेक क्षेत्रमा अनुगमन गरी फर्किएको छ। अनुगमनका क्रममा तस्करले प्रयोग गरेका स्थान, वन्यजन्तु शिकार गर्ने तरिका, मारिएका वन्यजन्तुका हाड, छाला तथा उनीहरूले प्रयोग गरेका सामग्री फेला परेका छन्। ‘तीन दिनसम्म जंगल घुमेर ठाउँ ठाउँमा तस्करहरूले वन्यजन्तु मारेका प्रमाणहरू भेटायौं, उनीहरूले प्रयोग गर्ने नाका, सहयोग लिने माध्यमहरूको पनि पहिचान गरेका छौं’, जिल्ला वन अधिकृत बद्रीकुमार कार्कीले भने ‘तेलेलेकमा भेटिएका गोठाला, आसपासका स्थानीयसँग त्यसबारे छलफल पनि गरिएको छ, अब सामूहिक रूपमा तस्करविरुद्ध अघि बढ्ने भएका छौं।’

‘लामीताल र गद्दीभैंसी क्षेत्रमा जिल्ला वनले वन रक्षकहरू राखेर क्याम्प खडा गर्नुपर्छ’, लामो समयदेखि तेलेलेकमै भैंसी पाल्दै आएका गोरखबहादुर मल्लले सुझाव दिए, ‘त्यस्तो भयो भने तस्कर जहाँसुकै भए पनि उनीहरूको चाल थाहा पाउन सकिन्छ, तत्काल पक्राउ गर्न सहज हुन्छ।’ आफूहरूले विरोध गर्दा तस्करहरूबाट असुरक्षित हुने डरले आवाज उठाउन नसकेको उनीहरूको प्रतिक्रिया थियो।

धार्मिक, ऐतिहासिक, प्राकृतिक पर्यटकीय क्षेत्रका हिसाबले प्रसिद्ध तेले क्षेत्र डोटीको शिखर नगरपालिका, जोरायल गाउँपालिका, केआईसिंह गाउँपालिका, डडेलधुराको गन्यापधुरा गाउँपालिकाको बीचमा पर्छ। यो क्षेत्र बाघ, भालु, चित्तल, घोरललगायत विभिन्न वन्यजन्तु, लोपोन्मुख जडीबुटी, बहुमूल्य काठ पैदावारलगायत प्राकृतिक स्रोतका लागि महत्वपूर्ण मानिन्छ। यस क्षेत्रमा घण्टेश्वर, काफली, लाटा गन्यापजस्ता जिल्लाकै प्रसिद्ध धार्मिकस्थलसमेत रहेका छन्। घना जंगल रहेको यो क्षेत्रको बीचमा लामिताल, देउताल, खकरताललगायत दर्जनौं ठूला तथा साना तालहरू रहेका छन्।

पछिल्लो समयमा खुला चरिचरण, अव्यस्थित बसोबासका कारण वन अतिक्रमण, डढेलो, वन्यजन्तु, जडीबुटी, काठ पैदावारको चोरीनिकासी बढेसँगै यो क्षेत्र खतरामा परेको छ। यस क्षेत्रमा वनजंगल विनास बढेपछि आसपासका पानीका मुहानसमेत सुक्ने खतरा बढ्दै गएको छ। डडेलधुराको गन्यापधुरादेखि डोटीको नापानी क्षेत्रसम्म विस्तारित तेले क्षेत्रलाई संरक्षित क्षेत्र वा राष्ट्रिय निकुञ्ज घोषणा गरिनुपर्ने लामो समयदेखि स्थानीय तवरबाट मागसमेत हुँदै आएको छ।

शिखर नगरपालिकाले तेलेलेक क्षेत्रलाई मुख्य पर्यटकीय स्थल बनाउने घोषणा गरेको छ। तेलेलेकको बढी क्षेत्र शिखर नगरपालिकामा पर्छ। पर्यटकीय स्थल बनाउन तेलेलेकमा रहेका वन्यजन्तु तथा जडीबुटी संरक्षणका लागि जिल्ला वनसँगै सहकार्यमा जाने प्रतिबद्धता नगरपालिकाले गरेको छ। जिल्ला वनसँग मिलेर शिखर नगरपालिकाकाले कार्ययोजना बनाएर अघि बढ्ने नगरप्रमुख सीताराम जोशीले बताए। ‘वन्यजन्तु र जडीबुटी तेलेलेकका गहना हुन्’, नगर प्रमुख जोशीले भने, ‘हामीले समुदायको सहयोग जुटाई संरक्षणका लागि के गर्नुपर्छ त्यसका लागि अघि बढ्न तयार छौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.