मान्द्रो बुनेरै महिला आत्मनिर्भर

मान्द्रो बुनेरै महिला आत्मनिर्भर

सिन्धुली ः सिन्धुलीको कमलाखोंच क्षेत्रअन्तर्गत सिर्थौलीका अति सीमान्तकृत दनुवार समुदायका महिला मान्द्रो बुनेरै आत्मनिर्भर बन्न थालेका छन्। परम्परागत पेसाका रूपमा लिइने दनुवार समुदायका महिला पुर्खाहरूले गर्दै आएको मान्द्रो बुन्ने पेसालाई आधुनिकीकरण गर्न थालेपछि आत्मनिर्भर बन्न थालेका हुन्।

जनजिब्रोमा मान्द्रो भनिए पनि उद्यमीको भाषामा यसलाई मन्द्राजी भन्ने गरिएको छ। यहाँका महिलाले समूह नै बनाएर यस्ता मान्द्रो बनाएर बिक्री थालेपछि उनीहरूले मासिक ७ हजारदेखि १२ हजार रुपैयाँसम्म आम्दानी लिन थालेका छन्। लघु उद्यम विकास कार्यक्रम÷साविक जिविस सिन्धुलीको सहयोगमा श्री सिन्धुली नामक सीप विकास संस्थाको प्रवद्र्धनमा तालिम र सामग्री सहयोग पाएपछि दनुवार समुदायका १६ भन्दा बढी महिला मान्द्रो बनाउँदै बिक्री गर्न थालेका हुन्। ‘हामीलाई पहिला केही थाहा थिएन’, मन्द्राजी बनाउँदै गरेकी उद्यमी चमारनी कुमरले भनिन्, ‘अहिले तालिमसँगै सामानसमेत पाएपछि मन्द्राजी बनाउन थालेका छौं। महिनाको सातआठ हजारभन्दा बढी आम्दानी हुने गरेको छ।’

पहिला पहिला श्रीमान् तथा ससुरा बाजेहरूले मात्र गर्ने गरेको यो पुख्र्यौली पेसा अहिले आफूहरूलाई पनि आम्दानीको राम्रो माध्यम बनेको कुमरको भनाइ छ। ‘हातमा अन्य सीप छैन, पढाइलेखाइ पनि छैन, घरपरिवार चलाउन दैनिक ज्यालामजदुरी गर्नुपर्ने बाध्यता थियो’, अर्की उद्यमी सतौनी अधिकारी भन्छिन्, ‘अहिले घरमै बसीबसी महिनाको १० हजारभन्दा बढी आम्दानी लिने गरेकी छु।’

गाउँमा केहीले व्यक्तिगत र केहीले समूह गठन गरेरै सामूहिक मान्द्रो बनाउने व्यवसाय सुरु गरेका छन्। कमलाखोचमा बसोवास गर्ने अति सीमान्तकृत दनुवार समुदायका महिलाको मान्द्रो बनाउने परम्परागत सीप हो। परम्परागत तरिकाबाटै उत्पादन गरिँदै आएको यस्तो व्यवसायले बजारीकरण र प्रचारप्रसारसमेत पाउन नसक्दा यो पेसा लोप हुँदै गएको थियो।

‘तर, पछिल्लो समय घरमै राम्रो आम्दानी लिन सकिने भएपछि बाँसका चोयाबाट बन्ने अति आकर्षक बुट्टेदार मान्द्रो राम्रो आम्दानीको स्रोत बनेको हो’, उनले थपिन्। ‘हरियो बाँसलाई टुक्र्याएर केही दिनसम्म ओइलाएपछि चोया बनाइन्छ। यसरी बनेको चोयामा पनि मध्यभागको नरम चोयालाई मन्द्राजी बनाउन प्रयोग गरिन्छ’, २० वर्षदेखि मान्द्रो बनाउँदै आएका दुधौली नगरपालिका–७ का शुकदेव दनुवार भन्छन्, ‘तयारी चोयालाई घाममा एक दिन सुक्न दिइन्छ। त्यसपछि उम्लिएको पानीमा रङ मिसाइन्छ र त्यसमा करिब १५ मिनेट तयारी चोयालाई डुबाइन्छ। त्यसलाई पुनः सुक्न दिइन्छ। यसरी सुकेको रंगीन चोयाबाट मान्द्रो तयार पारिन्छ। विभिन्न आकर्षक बुट्टामा बनाइने मन्द्राजी विभिन्न आकारमा बनाउन सकिन्छ।’

दनुवार समुदायका १६ भन्दा बढी महिलाले मन्द्रो बिक्री गरेर मनग्गे कमाउन थालेका छन्।

मन्द्राजीको मूल्य एक हजारदेखि २ हजार रुपैयाँसम्म पर्ने उद्यमी बताउँछन्। पाँचवटा बाँस लाग्ने मन्द्राजी बनाउन तीनदेखि चार दिन लाग्ने उद्यमी फुलिया अधिकारीले जानकारी दिइन्। दुधौली नगरपालिका सिर्थोलीकी पचरुखीका दनुवार महिला अहिले पूर्णिमा लघु उद्यमी समूह र राधिका लघु उद्यमी समूह गठन गरेर व्यावसायिक मान्द्रो उत्पादन गर्दै आएका छन्।

‘कलात्मक संस्कृति र सीपलाई जोगाइराख्न पनि संस्थाले १६ जना अति सीमान्तकृत महिलाका लागि प्राविधिक सीप तालिम तथा आवश्यक मेसिन औजारहरू प्रदान गरेपछि यसको धमाधम व्यावसायिक उत्पादन हुन थालेको हो’, अधिकारीले भनिन्। मन्द्रोको व्यावसायिक उत्पादनले लोपोन्मुख अवस्थामा दनुवार समुदायको अमूल्य कला संरक्षण भएको छ। साथै घर, कोठा, कार्यालय होटल, रेस्टुरेन्ट सजाउन र कार्पेटको विकल्पका रूपमा समेत प्रयोग गर्न सकिने भएको छ।

यसको बिक्रीवितरणका लागि बजार व्यवस्थापन गर्न सके अझ धेरै मान्द्रो उत्पादन गर्न सकिने उद्यमीहरूको भनाइ छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.