बम भेटिएपछि राजमार्ग अवरुद्ध
विराटनगर : बम फेला परेपछि मोरङको सुन्दरहरैंचा नगरपालिका ४ र ५ को सीमानामा रहेको दुलारीस्थित पूर्व पश्चिम राजमार्ग अन्तर्गत आइतबार दुई घण्टासम्म अवरुद्ध भएको छ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेपाल कम्युनिस्ट पार्टीले बन्दको आह्वान गरेका बेला दुलारी चोकमा भने बट्टा बम फेला परेको हो । नम्बर नखुलेको मोटरसाइकलमा आएका दुई युवाले राजमार्गमा बिहान ७ ः १५ बजे शंकास्पद वस्तु राखेर भागेको जानकारी स्थानीय बासिन्दाले प्रहरीलाई दिएका थिए । बम भएको हल्ला चलेपछि राजमार्ग अवरुद्ध भएको हो ।
नेपाली सेनाको टोलीले बम डिस्पोज गरेका कारण कुनै मानवीय र भौतिक क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ। बम राखेको आसपासका क्षेत्रमा मानिस तथा सवारी साधन आवतजावतमा प्रहरीले पूर्ण रुपमा रोक लगाएको थियो । बमकै कारण पूर्वबाट पश्चिम र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेका सयौं साना तथा ठूला सवारी साधन दुई घण्टासम्म राजमार्गमै रोकिएका थिए । बम डिस्पोज गरिएपछि भने विहान ९ ः२० बजेदेखि यातायात पूर्ण रुपमा संचालनमा आएको जानकारी प्रहरीले दिएको छ ।
इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटवालले बम राख्नेको पहिचान हुन नसकेको र घटनाका विषयमा अनुसन्धान भइरहेको बताए । उनले बम राख्ने काम विप्लवकै कार्यकर्ताले गरेको हुन सक्ने बताए ।