हावाहुरीले बर्दियामा करोडौं क्षति
गुलरिया : गएराति आएको हावाहुरीले बर्दियामा करोडौं रुपैयाँ बराबरको क्षति पुर्याएको छ। हुरीका कारण कच्चीघरका छाना र भित्ता उडाउने तथा रुख ढल्ने भएपछि बर्दियाका विभिन्न ठाउँमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्गका अनुसार हुरीले १० जना घाइते भएको र ५ सय घर पूर्ण क्षति भएको प्रारम्भिक जानकारी आएको छ। तथ्यांक संकलन भइरहेकाले वास्तविक क्षतिको यकिन विवरण आउन समय लाग्ने उनले बताए।
हुरीले बर्दियाको मधुवन, ठाकुरवावा, गुलरिया, बारबर्दिया नगरपालिका र गेरुवा गाउँपालिकामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक जनक भट्टराईले बताए।
यसैबीच, गएराति राजापुर नगरपालिका वडा नम्बर ३ नंगापुर स्थित मानबहादुर थारुको घरमा आगलागी हुँदा लाखौँको क्षति भएको उपरीक्षक भट्टराईले बताए। आगलागीबाट एउटा कच्ची घर, पशुपंक्षी, मोटरसाइकल गरी ६ लाख रुपैयाँ बराबरको क्षति भएको हो।