ओखलढुंगाका पुलको यो हालत : कतै ठेकेदार गायब, कतै म्याद सकिएपछि शिलान्यास

ओखलढुंगाका पुलको यो हालत : कतै ठेकेदार गायब, कतै म्याद सकिएपछि शिलान्यास

ओखलढुंगा : ओखलढुंगालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने लिखु र मोलुङ करिडोरका मोटरेबल पक्की पुल ठेकेदारले काम नगर्दा वर्षौँदेखि अलपत्र छन्।

ओखलढुंगालाई मध्यपहाडी राजमार्गसँग जोड्ने मोलुङ एकवार सडकको मध्य भागमा पर्ने मान्द्रेदोभानको पक्की पुल पाँच वर्षदेखि अलपत्र छ। पुलको पिलर राख्न जग मात्रै खनिएको छ। ०७० असार ३० गते सम्झौता भएको उक्त पुल दुई वर्षमा सम्पन्न गर्ने सम्झौता गरिए पनि ठेक्का लागेको पाँच वर्षमा पनि निर्माण भएको छैन। थपिएको म्याद पनि ०७४ असारमै सकिएको छ।

रामेछापसँग जोड्ने लिखु नदीमा निर्माण थालिएको शिरिषेदेखि ओखलढुंगाको टारकेराबारी जोड्ने पक्की पुल ०६८ मै ठेक्का लागे पनि दुई वटा पिलर मात्रै निर्माण भएका छन्। उक्त पुल पनि दुई वर्ष भित्रै सक्नु पर्ने सम्झौता थियो।

ठेकेदारको लापरवाही र सकारी नियकाको प्रभावकारी अनुगमन नभएकाले ओखलढुंगालाई अन्य जिल्ला र मध्यपहाडी राजमार्गसँग जोड्ने मोटरेबल पुल अलपत्र अवस्थामा छन्। लिखु तथा मोलुङ करिडोरमा सडकको ट्रयाक खुलिसके पनि पुल नबन्दा सवारी आवागमनमा समस्या परिरहेको छ। 

ठेकेदारको लापरवाहीप्रति अनुगमन गर्ने निकायले मौनता साँधेको स्थानीयवासीको आरोप छ। उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र मास्के सडक पुल नबन्दा व्यवसायी, उपभोक्ता यात्रुहरू मारमा परेको बताउँछन्। 

म्याद सकिएपछि शिलान्यास  

सुनकोशी गाउँपालिका समेत जोड्ने मोलुङ खोलाको पक्की पुल ठेक्का लागेको पाँच वर्षमा पनि निर्माण हुन सकेको छैन। ठेक्का लागेको चार वर्ष पछि ०७४ साल असारमा तत्कालीन प्रमुख जिल्ला अधिकारी फणिनद्र दाहालले शिलान्यास गरेका थिए। शिलान्याससँगै ठेकेदारले कामलाई तिव्रता दिइहाल्ने बताएका थिए तर कामले कुनै गति लिएन। 

मोलुङ खोलाको पक्की पुल म्याद सकिएपछि भूतप्रेत पूजा गरेर शिलान्याश गर्दै तत्कालीन प्रमुख जिल्ला अधिकारी फडिन्द्र दाहाल।

जिल्लाको पूर्व र पश्चिम भेगलाई जोड्ने महत्वपूर्ण मोलुङ पुल प्राविधिक कारण देखाउँदै ढिला गरिएको छ। पुल निर्माणको जिम्मा लिएको राजेन्द्र लोकप्रिय जेभीका सब–कन्ट्रयाक्टर रवीन्द्र लामाले एक वर्षभित्र पुल निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाए पनि काम सुरु भएको छैन।

तर अहिले सब–कन्ट्रयाक्टर लामा आफै भागेपछि काम अलपत्र परेको ठेकेदार कम्पनीका प्रमुख भिमबहादुर साउदले स्वीकार गरे।
‘सबै काम गर्छु भनेर विश्वासमा मैले उसलाई काम दिएँ। स्काभेटर पनि उपलब्ध पनि गराएँ। तर उसले काम गरेन’ साउदले भने– ‘अब मेरो कम्पनीको नामको ठेक्का भएकोले आफै आएर काम गर्छु।’ उनले प्रतिबद्धता जनाए पनि निर्माण स्थलमा काम भएको छैन। 

२०७० असार ३० गते दुई वर्षभित्र पुल निर्माण सम्पन्न गर्ने सम्झौतामा ‘पाइल फाउन्डेसन’ प्रविधिबाट निर्माण गरिने भनिएको पुल निर्माणको पहिलो चरणमै चट्टान भेटिएपछि डिजाइन परिवर्तन गर्नै १८ महिना लागेको थियो। भूतप्रेत लागेको भन्दै तत्कालीन प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले ०७४ असारमा भूतप्रेत पूजा समेत गरेका थिए। 

पछिल्लो पटक थप गरिएको म्याद अनुसार २०७४ असार मसान्तभित्र पुल सम्पन्न गर्नुपर्ने थियो। तर उक्त मिति पनि त्यसै गुज्रियो। जिल्ला प्राविधिक कार्यालय प्रमुख विजयमुनी बज्राचार्यले हालसम्म ठेकेदारले करिब ५० लाख बराबरको मात्र काम गरेको बताए। अब काम नगरे कालो सूचिमा निकालेर कारवाही गर्नुको विकल्प नभएको उनले जनाए। 

सुरुमा तीन करोड ३२ लाख ५५ हजार १ सय ६९ लागतमा सम्झौता भएको पुलको रकम पछिल्लो डिजाइन पश्चात ४ करोड ९ लाख २५ हजार २ सय ७ पुर्‍याइएको छ। स्वीस सरकारको सहयोगमा निर्माण गरिने पुलको ठेक्का तत्कालीन जिल्ला विकास समितिले लगाएको हो। यसको प्राविधिक सहयोग स्थानीय सडक पुल परियोजना (एलआरबीपी) ले गरेको छ। 

मोलुङ खोला पुल ८० मिटर लम्बाई र ५ मिटर चौडाईको निर्माण हुनेछ। ठेकेदार कम्पनीले काम गर्न नसकेपछि सरोकारवालाको दबाबमा पेश्की बापत् दिइएको ३३ लाख २५ हजार रकम जिल्ला विकास समितिले फिर्ता लिएको थियो। सम्झौता लगत्तै दिइएको पेश्की रकम निर्माण कम्पनीको बैंक ग्यारेन्टी रकमबाट जफत गरि फिर्ता लिइएको हो।

ठेकेदार कम्पनीको तर्फबाट भने सीताराम भट्टराई र हर्कबहादुर श्रेष्ठ प्रतिनिधि रहेर ठेक्काको जिम्मा लिएका थिए। उनीहरूले काम नगरेपछि हाल सब–कन्ट्रयाक्टरको रुपमा रहेका रवीन्द्र लामाले जिम्मा लिएका थिए। 

लिखुमा ६ वर्षमा जग मात्रै 

लिखु नदीको निर्माणाधीन पुल

ओखलढुंगा र रामेछाप जोड्ने लिखु नदीको पक्की पुलको पनि ६ वर्षमा जग मात्र निर्माण गरिएको छ। ठेकेदारको लापरवाहीका कारण ०७० सालमै निर्माण सकिनुपर्ने पुलको ६ वर्षमा जग मात्रै हालिएको हो। पुलसँग गर्नुपर्ने सहायक निर्माणका काम पनि अलपत्र छोडिएका छन्। दुई वर्षभित्र पुल निर्माण सम्पन्न गर्ने गरी २०६८ सालमा कन्काइ ओमबुद्ध जेभी नामक कम्पनीले ठेक्का सम्झौता गरको थियो। 

६० मिटर लामो मोटरेवल पक्की पुल निमार्णका लागि ठेकेदार कम्पनीले ५ करोड ८६ लाख रुपैँयामा ठेक्का सम्झौता गरेको हो। तर, ठेक्का लिएको ६ वर्ष बितिसक्दा समेत पुलको जगमात्र उठाइएको छ। स्टिल ट्रसको काम र पुलसम्म पुग्ने सडक निर्माणको प्रारम्भिक काम समेत सुरु गरिएको छैन।

स्थानीयहरूले भने कमिसनको चक्करमा सम्झौता थपिरहेकोे आरोप लगाएका छन्। कम्पनीले भने निमार्ण समाग्रीको अभावमा पुल निमार्णको काम समयमै सम्पन्न हुन नसकेको बताउँदै आएको छ। 

दुई जिल्ला जोड्ने केन्द्रविन्दुको रुपमा रहेको लिखु नदीमा निर्माणाधिन पुल अधुरो भएपछि नागरिकहरुले सास्ती खेपिरहेका छन्। ‘वर्षौदेखि पिलर मात्र अलफल देखिएका छन्, पुल बन्न यही चालले १० वर्ष बित्ने भो’ स्थानीय युवा यादव पौडेलले भने।

हिउँदको समयमा लिखु नदीमा हेलिएर बस ओखलढुंगाको गाम्नाङ्टारसम्म पुग्छ। वर्षा याममा भने सवारी साधन रामेछापको साघुटारसम्म मात्र जाने गर्छन्।

पुल नहुँदा त्यस क्षेत्रका बिरामीलाई समेत अस्पतान लैजान बोकेर लैजानु पर्ने बाध्यता छ। वर्षायाममा लिखु नदीमा भेल आउने भएकाले खाद्यन्न र निर्माण सामग्री ढुवानी बन्द हुने गरेको छ। 

केही समयअघि पुल पुलको निरीक्षणका लागि निर्माणस्थल पुगेका ओखलढुंगा र रामेछापका संसदहरूले अधुरो पुल निर्माणलाई तत्काल अगाडि बढाउन पहल गर्ने प्रतिवद्धता जनाए पनि ठेकेदारले काम थालेका छैनन्। 

दुईवटा महत्वपूर्ण सडक करिडोरका पक्की पुल नबन्दा ढुवानी र छोटो दूरीमा आवतजावत गर्ने जिल्लाबासीको सपना अधुरै छ। पुल नबनेकै कारण खाद्यन्न तथा निर्माण सामग्री ढुवानी गर्न लिखु तथा मोलुङ करिडोरका बासिन्दा महँगो मूल्य तिरेर वैकल्पिक बाटो प्रयोग गर्न बाध्य छन्, भने खोलामा लोड अनला्ड गर्दा अतिरिक्त मूल्य तिर्नुपर्ने अवस्था छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.