मेसिनले चिया मजदुरलाई पिरलो

मेसिनले चिया मजदुरलाई पिरलो

 बिर्तामोड : झापा अर्जुनधारा-५ की चिया मजदुर इसारा बस्नेत पहिले चिया बगानमा पस्नासाथ खुसी हुन्थिन् । चियापत्ती टिपाइबाट आम्दानी राम्रै हुन्थ्यो । तर, अहिले परिस्थिति बदलिएको छ । हातले गर्ने काम मेसिनले गर्न थालेपछि उनमा रोजीरोटी गुम्ने हो कि भन्ने पीर बढेको छ ।

झापाका चिया बगानमा मेसिनबाट चियापत्ती टिप्न थालेपछि कम्पनीले मजदुर घटाउन थालेका छन् । भएका मजदुरलाई पनि मेसिनले नभेट्ने चिया टिपाउन पठाउँदा आम्दानी घटेको छ । ‘हात बाँधेर बस्दा परिवार पाल्ने बाटो छैन’, चिया मजदुर बस्नेतले भनिन्, ‘खोल्साखाल्सीमा गएर भए पनि टिप्नै पर्ने बाध्यता छ । यसरी सानो क्षेत्रमा टिप्दा चियापत्ती कम हुन्छ । पारि श्रमिक पनि थोरै पाइन्छ ।’

बगान प्रशासनले सजिलो ठाउँमा मेसिनले टिप्ने र बाँकी स्थानमा मात्र महिला मजदुरलाई खटाउने गरेको छ । चिया कारखानाहरूले पर्याप्त कामदार नपाउँदा समस्या परेको भन्दै चिया टिप्ने मेसिन भिœयाएका हुन् । मेसिन चलाउन पुरुष नै प्रयोग गर्ने गरेकाले महिला मजदुर अझै बढी मर्कामा परेको बिर्तामोड नगरपालिका-२ की धीरमाया लिम्बूले बताइन् ।

‘हामीलाई मेसिन चलाउन पनि त्यति दिँदैनन्, हामी मेसिनले छाडेको चियापत्ती मात्र टिपेर कसरी बाँच्नु ? ’, उनले प्रश्न गरिन् । चिया टिप्ने मेसिनले कारखानालाई फाइदा भए पनि चियापत्ती मात्र टिपेर जीविकोपार्जन गर्दै आएका मजदुरको रोजीरोटी भने गुम्ने अवस्था देखिएको छ ।

मेसिन भित्रिएसँगै बगानमा काम गर्ने महिला कामदार निराश बन्दै गएका छन् । टोक्ला चिया कमान आयाबारीमा २ सय ७५ जना चिया मजदुरले स्थायी रूपमा काम गरिरहेका छन् । मजदुर ७२ प्रतिशतभन्दा बढी महिला छन् ।

१४ किलोको मेसिन बोक्न नसक्ने, मेसिनले हरेक पटक टिप्दा चियाको उचाइ बढ्नेलगायत समस्याका कारण उनीहरूमा हर्षभन्दा पनि निराशा बढेको पाइएको छ । मेसिनमा काम नगरे खोल्सा, नाला र अप्ठेरो ठाउँमा चियापत्ती टिप्नुपर्ने र ठेक्का नपुगे आधा हाजिरामा चित्त बुझानुपर्ने भएकाले उनीहरू समस्यामा परेका हुन् ।

काम गर्न नसके घर फर्कनू भन्ने बगान प्रशासनको बोलीले झन् समस्या हुन थालेको चिया मजदुर मनमाया सुनामले दुखेसो पोखिन् । जीवनको ऊर्जाशील समय चिया टिपेर बिताए पनि मेसिन आएपछि मजदुरलाई उपेक्षा गरेको अधिकांश महिला चिया मजदुरको गुनासो छ ।

टोक्ला चिया बगानका राजु सिन्हाले अझै हातले चिया टिप्ने १ सय ५० भन्दा बढी मजदुरको आवश्यकता रहेको बताए । मजदुर अभाव भइरहेको बेला ओचाई कम्पनीको मेसिन वरदानका रूपमा आएको उनको तर्क छ । मजदुर अभावको समस्या समाधान, खर्च घटाई आम्दानीमा वृद्धि तथा गुणस्तरीय चिया उत्पादनका लागि मेसिनको विकल्प नरहेको उनले बताए ।

मजदुर अभावका कारण चिया टिप्न नभ्याउने, त्यसपछि गुणस्तरको उत्पादन नहुने समस्या भएका कारण विकल्पको खोजीमा प्रविधि प्रयोगमा ल्याइएको चिया कम्पनीले जनाएको छ । पूर्वमा सोक्तिम, इलाम, कन्याम, चिलिमकोट र टोक्ला चिया बगानमा यो प्रविधि दुई वर्षअघि भिœयाइएको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.