सामुदायिक विद्यालयमा बढ्यो आकर्षण

सामुदायिक विद्यालयमा बढ्यो आकर्षण

लमजुङ : धेरै अभिभावकको रहर हुन्छ, आफ्ना छोराछोरीले खरर अंग्रेजी बोलून् । त्यसैले उनीहरूको रोजाइ निजी स्कुल हुन्छ । सामुदायिक विद्यालयले नै अंग्रेजी माध्यममा पढाउन थालेपछि खस्केको शिक्षाको गुणस्तर उकासिएको मात्रै छैन, निजी स्कुलका विद्यार्थीसमेत फर्केका छन् । यसको उदाहरण बनेको छ, मंगला माध्यमिक विद्यालय ।

मध्यनेपाल नगरपालिका ३ सोतीपसलको मंगला माविमा बोर्डिङ स्कुल छाडेर आउने विद्यार्थीको चाप बढदो छ । वरपरका कतिपय निजी स्कुल बन्दै भएका छन् भने चलिरहेकामा पनि विद्यार्थी अभाव हुन थालेको छ ।

प्रधानाध्यापक विष्णुहरि बास्तोलाका अनुसार भर्ना अभियान सुरु भएपछि करिब दुई सय नयाँ विद्यार्थी भर्ना भएका छन् । नयाँ आएका विद्यार्थी अधिकांश निजी विद्यालय छाडेर आएका हुन् । ‘हरेक वर्ष विद्यार्थी बढिरहेका छन्’, प्रधानाध्यापक बास्तोलाले भने, ‘विद्यार्थी धेरै हुने भएर नयाँलाई प्रवेश परीक्षा लिएर भर्ना गर्ने गरेका छौं ।’

विद्यालयका अनुसार २०७२ मा आठ सय १४ जना विद्यार्थी थिए । ०७३ मा आठ सय २६ पुग्यो भने ०७४ मा ९ सय २० जनाले अध्ययन गरेका थिए । यस वर्ष विद्यार्थी संख्या हजार नाघेको प्रअ बास्तोलाले बताए । विद्यालय वरपरका सामुदायिक तथा निजी विद्यालयमा पढ्दै आएका विद्यार्थी पनि मंगला आएका छन् । वरपरबाहेक छिमेकी जिल्ला तनहुँ, कास्कीका साथै काठमाडौंका निजी विद्यालय पढ्दै गरेका विद्यार्थी पनि आनोमा भर्ना हुन आएको सहायक प्रधानाध्यापक शशिराज घिमिरेले बताए । घिमिरेका अनुसार मंगला माविमा बोर्डिङ स्कुलका मात्र होइन, नजिकका सामुदायिक विद्यालयका विद्यार्थीसमेत भर्ना हुन आउने गरेका छन् ।

मंगला माविनजिकै रहेको निजी स्कुल सोतीपसलको रिस्ती विकास बोर्डिङ स्कुलमा अहिले विद्यार्थी अभाव भएको छ भने दुईपिप्लेको भविष्य निर्माण निजी स्कुलमा पनि खोजी खोजी विद्यार्थी भर्ना गर्नुपर्ने अवस्था छ । ‘यहाँको पढाइ राम्रो भएरै अभिभावकले विश्वास गरेका हुन्’, सहायक प्रधानाध्यापक घिमिरेले भने, ‘विद्यार्थीको पहिलो रोजाइ नै यहीँ हुन्छ ।’

विद्यालयमा १ देखि कक्षा ५ सम्म अंग्रेजी माध्यममा पठनपाठन गरिँदै आएको छ । ६ देखि १० सम्म नेपाली र अंग्रेजी दुवै माध्यममा पढाइ हुन्छ । विद्यार्थीको चाप बढेपछि विद्यालयले १६ जना शिक्षक निजी स्रोतबाट राखेको छ । सरकारी दरबन्दीका २२ र राहतमा दुई शिक्षक कार्यरत छन् । ‘यस वर्ष विद्यार्थी बढेकाले अझै शिक्षक थप्नुपर्ने अवस्था भएको छ’, प्रअ बास्तोलाले भने ।

विद्यालयका शिक्षक तीर्थराज तिवारीले विद्यार्थी बढेपछि कक्षाकोठा पनि अभाव भएको बताए । ‘एकैपटक २७ कोठामा पढाइ हुन्थ्यो । अब ३२ कोठा चाहिनेभयो’, तिवारीले भने ।

शिक्षकहरू सबैले आफ्ना बालबालिकालाई आफैंले पढाउने विद्यालयमा पढाउँदै आएका छन् । ‘हाम्रो विद्यालय गुणस्तरको हिसाबले जिल्लामै सर्वोत्कृष्ट छ’, प्रधानाध्यापक बास्तोलाले भने, ‘पढाइ राम्रो भएपछि अभिभावकले पनि राम्रो सहयोग गर्नुभएको छ ।’ निजी शिक्षक धान्न विद्यार्थीसँग शुल्क लिने गरिएको विद्यालयले जनाएको छ । ‘शुल्क भनेर त हैन, विद्यालय सहयोग भनेर दुई सयदेखि आठ सय ५० सम्म लिने गरेका छौं’, बास्तोलाले भने, ‘हामी हाम्रो खुसीले हैन, अभिभावकहरूको सल्लाह र व्यवस्थापन समितिको निर्णयको आधारमा लिन्छौं ।’ छोरी मंगला माविमा पढाइरहेका अभिभावक युवराज श्रेष्ठ प्राचार्य बास्तोलाको लगावले प्रशासन चुस्त भई विद्यालय जिल्लाकै उत्कृष्ट हुन सकेको बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.