साक्षर बन्दै दलित बस्ती
भोजपुर : आमचोक गाउँपालिकास्थित बालंखा कात्तिके टोलका २८ वर्षीय चन्द्रबहादुर विकले अहिलेसम्म गरिबीका कारण विद्यालय शिक्षा लिन पाएनन्। अक्षर चिन्ने मौका कुर्दा-कुर्दै उनी २८ वर्षका भए। उनलाई अहिले आएर भने लेखपढ गर्ने मौका जुरेको छ, प्रौढ कक्षा जान थालेका छन्।
‘सानो छँदा छाक टार्नै गाह्रो भएका बेला पढ्ने कुरा सोचभन्दा पर नै थियो’, उनले भने, ‘तर, अहिले गाउँमै प्रौढ शिक्षा आएपछि केही पढ्न, लेख्न सिकिन्छ भनेर अधुरो इच्छा पूरा गर्न नियमित कक्षा धाउने गरेको छु।’
उनीजस्तै दलित समुदाय यति बेला अक्षर ठम्याउन थालेका छन्। गरिबीका कारण निरक्षर बनेका उनीहरूले पाकै उमेरमा भए पनि अक्षर चिन्न थालेका हुन्। स्थानीय ४१ वर्षीय बलबहादुर विक पनि दिनभर मेलापातको काम गरेर बेलुकी प्रौढ शिक्षा जाने गर्छन्। लेखपढ गर्ने उमेरमा अक्षर चिन्न नपाएपछि बैठक, तालिम, भेला, समारोहमा हस्ताक्षरको सट्टा औंठाछाप गर्नुपर्ने बाध्यता सुनाउँदै उनले नाम कोर्नकै लागि भए पनि प्रौढ शिक्षा लिँदै गरेको बताए।
पढ्न-लेख्न नजान्दा अरूले हेला गर्ने, नगन्ने भएकाले फुर्सदमा प्रौढ शिक्षा जान थालेको ३५ वर्षीया लक्ष्मी विकले सुनाइन्। ‘सानोमा बाबुआमाले पढ्न पठाएनन्, पढ्नुपर्छ भन्ने ज्ञान पनि थिएन’, उनले भनिन्, ‘अहिले आएर पढ्नुपर्ने रहेछ भन्ने थाहा भयो।’
गाउँका २५ दलित एक सामुदायिक संस्थामा आबद्ध भएर प्रौढ शिक्षा सञ्चालन गरी नियमित अक्षर चिन्न, पढ्न र नाम लेख्न थालेका छन्। दिनभर एकअर्काको मेलापातमा व्यस्त हुने उनीहरू बेलुकी पढ्छन्। दिउँसो काममा व्यस्त हुने भएकाले खाना खाएर बेलुकी ८ देखि १० बजेसम्म प्रौढ शिक्षा हुने गरेको सहजकर्ता जीवनकुमारी राईले बताइन्।
साक्षरता कक्षामा २५ वर्षभन्दा माथिका दलित महिला, पुरुष पढिरहेका छन्। कक्षामा अक्षर चिन्न मात्र नभई व्यावहारिक ज्ञान, सीपका विषयमा पनि छलफल हुने गरेको सहजकर्ता राईले सुनाइन्। उनका अनुसार महिला अधिकार, घरेलु हिंसा, महिला स्वास्थ्य, यौन रोग, गर्भवती महिलामा देखिने समस्याबारे पनि छलफल हुने गरेको हो।
आफ्नो हकअधिकार, समाज परिवर्तनको सवाल, निर्णय तहमा दलित र महिला सहभागिताको विषयमा पनि जानकारी लिइरहेको अर्की स्थानीय ३६ वर्षीया अनिषा विकले बताइन्। पढ्न, लेख्न नजान्दा पढे-लेखेकाहरूले सामाजिक कार्यमा कमै महŒव दिने, भेला, बैठकमा पनि सहानुभूति नदेखाउने समस्या भोग्नुपरेको उनले सुनाइन्। ‘पहिले-पहिले त गाउँका पढ्न, लेख्न जान्ने टाठाबाठाले बैठक, भेलातिर निर्णय गर्न त परै जाओस् वास्तै गर्दैनथे’, उनले भनिन्, ‘अहिले आएर आफ्नो नाम लेख्न जान्ने भएपछि सामाजिक काममा समान व्यवहार गर्ने र हेर्ने गर्छन्।’
उनीहरू अहिले बैठक गर्न, निर्णय लेख्न र संस्थाको हिसाबकिताबसमेत राख्न सक्ने भएका छन्। सुरुमा संस्थामा आबद्ध भएपछि बैठकको निर्णय लेख्न पनि अरूलाई गुहार्नुपर्ने अवस्थाका उनीहरूसँग औंठाछापका भरमा चल्नुपर्ने बाध्यता थियो।
उनीहरूले ०७२ असारमा एक जना सहजकर्ता राखेर पढ्न थालेका थिए। त्यति बेला १५ परिवारका ४५ जना निरक्षरलाई पढ्न र लेख्न जान्ने बनाउने लक्ष्यका साथ कक्षा सञ्चालन गरेको जनाइएको छ। त्यसपछि निरन्तर प्रौढ कक्षा सञ्चालन भइरहेको संस्थाका अध्यक्ष बलबहादुर विकले बताए। उनका अनुसार कक्षा सञ्चालनका लागि पढाउने, सिकाउने सहजकर्तालाई संस्थाबाट मासिक ३ हजारका दरले पारिश्रमिक दिने गरिएको छ।