भारतीय सस्तो माछाले बजार ओगट्दै
बिर्तामोड : व्यापारीले भारतबाट मरेका माछा भित्र्याएर बिक्री गर्दा माछापालक किसान मर्कामा परेका छन्। मरेका भारतीय माछा सस्तोमा पाइने हुँदा उपभोक्ताले गुणस्तरभन्दा पनि मूल्यमा बढी महत्व दिने गरेकाले प्रतिस्पर्धा गर्न कठिन भएको किसानको गुनासो छ।
झापाको काँकडभिट्टा, भद्रपुरको मेची नदी र जिल्लाका अन्य साना नाकाबाट आइसमा राखेर भारतबाट मरेका माछा भित्याउने गरिएको छ। त्यस्ता माछा कैयौं दिन झापाबाट पहाडी जिल्ला ताप्लेजुङ र संखुवासभासम्म पुग्ने गरेको व्यवसायीले बताएका छन्। ढुवानीकर्ता सुदीप चौरासियाले कार्टुनमा प्याक गरेर ल्याइएका माछा ५ दिनअघि नै मारिएको हुने सुनाउँदै बरफमा राखेर व्यापारीले बजारमा पु¥याउने गरेको बताए। मरेका माछा आइसमा राखेर ल्याउँदा केही फरक नपर्ने तर्क गर्दै उनले व्यापारीलाई फाइदा हुने हुँदा मरेकै माछा माग गर्ने गरेको उनले सुनाए। आफूले दैनिक २ हजार किलो माछा भित्याउने गरेको उनले सुनाए।
माछा भित्याउँदा नाकामा कडाइ नहुनु, खुला नाका बढी हुनु र उपभोक्ता सचेत नहुँदा खुलेआम मरेका माछा भित्रिने गरेको जनाइएको छ। ‘उपभोक्तालाई सस्तो माछा भए पुगिहाल्यो, कहाँबाट ल्याएको, कहिले मारेको नसोधी किन्छन्’, बिर्तामोडका कपडा व्यापारी तारा सिटौलाले भने। झापाका बजारमा जिउँदोभन्दा मरेका माछा बढी बिक्री हुने गरेको उनको दाबी छ।
काँकडभिट्टामा रहेको पशु क्वारेन्टाइनका प्राविधिकले सामान्य प्रक्रिया पूरा गरी भारतबाट आयतीत माछा छाडिदिन्छन्। कर्मचारीले व्यापारीलाई पठाएको चिटको आधारमै अनुमतिपत्र दिने गरेका छन्। भारतबाट जस्तो माछा नेपाल आए पनि रोकिने र फर्किने अवस्था नरहेको कृषिथोकका एक माछा व्यापारी बताउँछन्।
यसरी सहजै भारतीय सस्तो मूल्यका माछा भित्रिँदा स्थानीय माछापालक किसानको उत्पादनले बजार नपाएको बुट्टाबारीका खेम बरालले बताए। ‘भारतबाट ल्याएको मरेको माछा प्रतिकिलो १ सय ८० देखि २ सयमा बिक्री गर्छन्’, उनले भने, ‘हामीले उत्पादन गरेको माछा जातअनुसार प्रतिकिलो ४ सयदेखि ७ सयसम्म पनि पर्छ अनि कसरी प्रतिस्पर्धा गर्नु ? ’
सरकारले माछापालनलाई प्रोत्साहन गर्न अनुदान कार्यक्रम ल्याए पनि व्यापारीले बढी नाफा कमाउने उद्देश्यले भारतबाट आयात गर्ने हुँदा किसान मर्कामा परेको उनको तर्क छ। भने, ‘सरकारले माछापालनमा प्रोत्साहन गर्नका लागि अनुदान कार्यक्रम ल्याउनु सकारात्मक भए पनि भारतीय माछा आयातमा कडाइ गर्न नसक्नु दुःखद् हो।’
बजारमा मागको ६० प्रतिशत हिस्सा भारतीय माछाले ओगटेको जिल्ला कृषि विकास कार्यालय झापाले जनाएको छ। कार्यालयको तथ्यांकअनुसार झापामा माछा उत्पादन वार्षिक सरदर १ हजार ८० टनसम्म छ। झापा जिल्लामा करिब ४ सय हेक्टरमा माछापालन भइरहेको छ।