सुनचाँदी व्यवसायी हत्यामा संलग्न ६ जना कारागार चलान
विर्तामोड :विर्तामोडका सुन व्यवसायी साजन मुखियाको हत्यामा संलग्न छ जनालाई शुक्रबार पुर्पक्षको लागि कारागार चलान गरिएको छ। जिल्ला अदालत झापाले पक्राउ परेका सबैलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।
कारागार चलान हुनेमा विर्तामोड-५ घर भइ राधे रिद्धिसिद्धी ज्वेलर्स सञ्चालन गर्दै आएका पारसकुमार देव, विर्तामोड-३ घर भइ पारसकै पसलमा म्यानेजरको रुपमा काम गर्दै आएका प्रकाश भन्ने चिरञ्जिवी ओली, सोही स्थानका दिपेश पौडेल, विर्तामोड-३ का राजेशरराज भन्ने राहुल साह र विर्तामोड-५ का सुजन चौधरी छन्।
सोही मुद्दामा संलग्न रहेका पिसिजी ज्वेलर्सका सञ्चालक प्रमोद विश्वकर्मालाई अदालतले नगद १८ लाख ५० हजार २ सय ३० रुपैयाँ धरौटी माग गरेको थियो। उक्त धरौटी रकम राख्न नसकेका कारण उनी पनि थुनामा गएको प्रहरीले जनाएको छ। हत्यापछि साजनबाट लुटिएको सुन प्रमोदले नै खरिद गरेको प्रहरीले जनाएको छ।
विर्तामोडको देवा ज्वेलर्सका सञ्चालक २६ वर्षीय साजन मुखियालाई फागुन २० गते दिउँसो १ बजे संगठित रुपमा मानव अपहरण गरी शरीर बन्धक बनाएर हत्या गरेको आरोपमा उनीहरु पक्राउ परेका थिए।