मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण रोकियो
काठमाडौंः वैदेशिक रोजगारीका लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण शुक्रबारदेखि बन्द भएको छ । मलेसिया जाने कामदारको वायोमेट्रिक स्वास्थ्य परीक्षण गर्दै आएका ३९ स्वास्थ्य परीक्षण मेडिकल सेन्टरले सरकारी निर्णयको विरोध गर्दै कामदारको स्वास्थ्य परीक्षण रोकेका हुन् ।
बिहीबार मात्रै श्रम तथा रोजगार सामाजिक सुरुक्षा मन्त्री गोर्कण विष्टले मलेसिया जाने कामदारमाथि आर्थिक भार थप्ने गरी अवैधानिक रुपमा दर्ता भएका संस्थाको खारेजी गर्ने र रकम असुली बन्दका लागि परराष्ट्र मन्त्रालयमार्फत मलेसिया सरकारसँग कुटनितिक पहल गर्ने निर्णय गरेका थिए । मन्त्री निर्णयलगतै गृहमन्त्रालयले पनि अवैधानिक रुपमा कामदारसँग बढी रकम असुली गर्ने संस्था तथा व्यक्तिमाथि निगरानी गर्न जिल्ला प्रसाशन कार्यालयलाई परिपत्र गरेको थियो ।
सरकारी निर्णयसँग कामदारलाई असहजता गर्न व्यवसायीले स्वास्थ्य परीक्षण र माइ ग्राम भने संस्थाको काम बन्द गरेका हुन् । कामदारको स्वास्थ्य परीक्षणका मलेसिया सरकारको स्वीकृतिमा ३० वटा मेडिकल सेन्टरले सिन्डिकेट गर्दै ४५ सय रुपैयाँ लिइरहेका थिए ।
गृह मन्त्रालयको परिपत्र र श्रम मन्त्रालयको खारेजी गर्ने निर्णय लगत्तै पक्राउ परिने डरले स्वास्थ्य व्यवसायीले स्वास्थ्य परीक्षण रोकेका हुन् । सरकारले माइग्राम्स, बायोमेट्रिक, आईएससी, भिएलन र ओएससीको सबै काम कारवाही तत्काल बन्द गर्न कुटनीतिक पहल थालेको थियो ।
मलेसिया जाने नेपाली कामदारहरुले विभिन्न नाममा अतिरिक्त शुल्क बुझाउनुपर्छ । भिसा शुल्कबापत नेपालस्थित मलेसियन दूतावासले सात सय रुपैयाँ लिन्छ । त्यसबाहेक कामदारले झण्डै १७ हजार रुपैयाँ विभिन्न संघसंस्थाहरूलाई बुझाउनुपर्छ । भीएलएन नामक संस्थाले भिसा प्रक्रियाका नाममा पाँच वर्षदेखि ३२ सय रुपैयाँ असुल्दै आएको छ ।
त्यस्तै, वान स्टप सेन्टरले राहदानी संकलनका नाममा २८ सय रुपैयाँ संकलन गर्छ । माइग्राम नामको संस्थाले पनि दुई वर्षदेखि नेपाली कामदारबाट स्वास्थ्य परीक्षणका नाममा प्रतिकामदार ३२ सय रुपैयाँ शुल्क उठाउँदै आएको छ ।
यसैगरी जिएससी भन्ने संस्था खडा गरेर (आईएससी)का नाममा प्रतिकामदार थप ३ हजार २ सय रुपैयाँ थप शुल्कको भार पनि थोपरिँदै आएको छ । यसैबीच मन्त्रालयले केही दिन कामदार विदेश जान नपाउँदा कुनै समस्या नआउने जनाएको छ । तर, मन्त्रालय कामदारमाथि शोषण गर्नेहरुको धम्कीबाट पछाडि नहट्ने भएको छ ।