अणुबमको घाउमा पनि उम्रेको थियो ‘एकता-वृक्ष’

अणुबमको घाउमा पनि उम्रेको थियो ‘एकता-वृक्ष’

काठमाडौं : केही महिना अघिसम्म कीर्तिपुरमा यसका १० बोट हुर्काइएको थियो। तर सशस्त्र प्रहरीको क्याम्प यहाँ आएर बस्दा त्यसको नास भएको विज्ञहरूको आरोप छ। बिरुवाको महत्व बुझेर पनि सरकारी निकायबाटै संरक्षण हुन नसकेको प्रतिक्रिया उनीहरूको छ।

बर्खामा हरियो र हिउँदमा पहेलो रङ हुने यो बिरुवालाई पवित्र वनस्पति मानिन्छ।

‘मैले कतै पढेको थिएँ, परमाणु बमले समेत नमार्ने बिरुवा नेपालमा पनि पाइन्छ रे’, पार्टी एकता निश्चित भइसकेपछि बुधबार प्रधानमन्त्री केपी ओलीले भोलिपल्ट बालुवाटारमा हुने पुष्पकमल दाहालसहितको वृक्षरोपणबारे चर्चा गर्दै सन्निकटहरूसँग भने, ‘त्यो बिरुवा पाइन्छ भने ल्याऔं, रोपौंला।’ प्रधानमन्त्री ओलीको इच्छा र आग्रह बुझेपछि खोजियो, जिन्गो वाइलोवा।

राणाकालमै जापानबाट नेपाल भित्रिएको तर दुर्लभ बन्दै गएको यो वनस्पति आफ्नै चरित्र र गुणका कारणबाहेक एमाले–माओवादी केन्द्रको एकीकृत पार्टी घोषणाअघि बालुवाटारमा ‘एकता–वृक्ष’का रूपमा रोएिकाले पनि चर्चित बनेको छ। ‘यसको विशेष गुणकै कारण प्रधानमन्त्री ओलीले यसबारे सोधखोज गर्नुभएको हो’, प्रधानमन्त्री ओलीका सञ्चार संयोजक रामशरण बजगाईंले भने, ‘एकता–वृक्षका रूपमा रोपिएपछि यसबारे सोधखोज गर्नेहरू बढेका छन्।’

चीनमा उत्पत्ति भएर जापानमा फैलिएको ‘जिन्गो वाइलोवा’ संसारका सबैभन्दा पुराना वनस्पतिमध्ये पर्छ। दोस्रो विश्वयुद्धमा अमेरिकाले जापानको नागासाकीमा परमाणु बम खसाल्दा ६ महिनासम्म पानी परेन र कुनै प्रजातिको बोटबिरुवा पनि उम्रिएन। तर, त्यहाँको जमिनमा ६ महिनापछि ‘जिन्गो वाइलोवा’ पलाएपछि यसको महत्व बढ्दै गएको मानिन्छ। परमाणु बमले समेत नष्ट गर्न नसकेपछि ‘जिन्गो वाइलोवा’सम्बन्धी थप अध्ययन र अनुसन्धान गरी जापानले यसको संरक्षणको अभियान नै चलाएको छ।

फलफूल निर्देशनालय कीर्तिपुरका फलफूलविज्ञ धनबहादुर थापा पतझड बिरुवा वर्गमा पर्ने ‘जिन्गो वाइलोवा’ राणाकालमा नेपालमा भित्रिएको बताउँछन्। थापा भन्छन्, ‘राणाकालबाहेक २०४४ सालताका पनि यो बिरुवा जापानबाट नेपाल ल्याइएको थियो। यसलाई जापानमा भगवान्का रूपमा पुज्ने गरिएको थापा बताउँछन्। ‘जिन्गो वाइलोवा’ अहिले विश्वमै लोप हुने अवस्थामा छ। नेपालमा बोटानिकल गार्डेन गोदावरी र वागवानी केन्द्र कीर्तिपुरमा मात्र छ, यो वनस्पति। वागवनी केन्द्र कीर्तिपुरले गमलामा हुर्काएको ‘जिन्गो वाइलोवा’लाई बालुवाटार ल्याई रोपिएको हो। हाँगा काटेर रोप्दा पनि यो सहजै सर्छ।

कीर्तिपुरको वागवानी परिसरभित्र जिन्गो वाइलोवाको हुर्किसकेको एउटा बोट देख्न सकिन्छ। बालुवाटारमा पनि सो बिरुवालाई चासो दिएर हुर्काउन वनस्पतिविज्ञ थापाको आग्रह छ। बर्खामा हरियो र हिउँदमा पहेलो रङ हुने यो बिरुवालाई पवित्र वनस्पति मानिन्छ। परमाणु बमले समेत मार्न नसक्ने प्रजातिको बिरुवा रोजेर रोप्नुले पार्टी एकताको बलियो सन्देश दिएको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सूर्य थापाले बताए। ‘बलियो एकताको सन्देश प्रवाह गर्न यो वृक्ष काफी देखियो’, उनले भने।

सबै वनस्पति नष्ट हुँदा पनि ‘जिन्गो वाइलोवा’ बिरुवा नष्ट नहुने जापनी विज्ञहरूले उल्लेख गरेका छन्। चिनियाँ वैज्ञानिकहरूले गरेको अध्ययनअनुसार सिल्भर एप्रिकोट उपप्रजातिमा पर्ने यो बिरुवाको १० अर्बभन्दा बढी कोषिका हुने उल्लेख छ, जबकि मानिसको शरीररमा तीन अर्ब कोषिका मात्र हुन्छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.